जिल्ला कारागार धुलिखेल काभ्रेपलाञ्चोकमा रहेका कैदीबन्दी थुन्से, मुढा र पोते बुनेर आम्दानी गरिरहेका छन् । उनीहरूलाई कारागार प्रशासनले विभिन्न सीपमूलक काम गर्न प्रेरित गरेर सो आम्दानी गर्ने माध्यम बनाएका हुन् ।
उनीहरूको आचरणमा सुधार गर्नका लागि बचेको समयलाई आर्थिक उपार्जनमा लगाएपछि सीपमूलक काममा व्यस्त भएको कैदीबन्दीको भनाइ छ । बहुविवाह मुद्दामा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका हिक्मतसिं लामा भन्छन्, ‘दुर्ई जनाले दिनमा ४०÷४१ सम्म थुन्से बुन्दै आएका छौँ,’ दिनको एक जनाले २०÷२१ सम्म बुन्ने गरेको उनको भनाइ छ ।
बन्दी जीवनमा परेपछि त्यतिकै बस्नुभन्दा केही गर्नुपर्छ भन्ने हेतुले चार महिना अगाडिदेखि उक्त काम गरिरहेको उनले बताए । उनका अनुसार चोया काट्ने अर्कै, बिट गर्ने अर्कै र बुन्नका लागि चकटी बनाउने अर्कैले गर्दछ । त्यसरी काम गरेबापत दिनको १०० देखि १२० सम्म कमाइ हुन्छ । ‘कमाएको पैसाले जेलभित्रको खानाखाजाको अतिरिक्त खान मन लागेको खाजा खाने र बाँकी रहेको पैसा घरमा श्रीमतीलाई पठाउने गरेको छु,’ उनले भने ।
अर्का ज्यान मुद्दामा बन्दी जीवन बिताइरहेका रामकृष्ण न्यौपानेले छ–सात महिना अगाडिदेखि थुन्से बुन्ने काम गरेको बताए । कारागारभित्रै थुन्से बुन्ने सीप सिकेको बताउने उनले सो कामबाट महिनाको दुई÷तीन हजार आम्दानी गरेको बताए । ‘कमाएको सबै पैसा घरमा पठाउँछु’ उनले भने ।
त्यसैगरी, बालविवाह मुद्दामा बन्दी जीवन बिताइरहेका राम दनुवारले कारागारभित्रैको सोही ठाउँको अर्को कुनामा मुढा बुन्ने काम गरेका छन् । दिनको एक÷दुईसम्म मुढा बुन्ने गरेको बताउने उनले सो कामबाट आम्दानी गर्न सजिलो भएको बताए । ‘यही आएर मुढा बुन्ने सीप सिकेको हुँ, उनले भने, ‘एउटा मुढा सकाएको २०० पाउँछु, महिनाको काम हेरेर रु ६ हजारदेखि आठ हजारसम्म कमाउँछु ।’ कमाएको सबै पैसा घरमा पठाउने गरेको उनको भनाइ छ । त्यसरी, काम गरेको दुई÷तीन महिना भएको बताए । उनका अनुसार मुढा बुन्ने काममा चार÷पाँच जना लाग्ने गरेका छन् ।
अर्का बन्दी जीवन बिताइरहेका सुप्रिम वाइबाले १५ महिना अगाडिदेखि निरन्तर मुढा बुन्ने काम गर्दै आएका छन् । त्यहीँ सीप सिकेर निरन्तररूपमा काम गरिरहेका उनले दिनको रु १५० देखि २०० सम्म कमाउने गरेको बताए । राम्रोसँग सीप सिक्न एक महिना लाग्यो’ उनले भने, ‘अहिले दिनको दुई÷तीन सम्म मुढा तयार गर्छु, यही पैसाबाट क्याम्पस पढिरहेको छु ।’
जबर्जस्ती करणी मुद्दामा बन्दी जीवन बिताइरहेका उनी त्यसरी काम गरेसँगै क्याम्पससमेत अध्ययन गरिरहेको बताए । ‘अहिले कक्षा ११ मा ग्रामीण विकास विषय लिएर पढ्दै आइरहेको छु’ उनले भने, ‘बिहान उठेर बाहिर निस्केपछि ७ बजेबाट काम गर्ने र बेलुका भित्र पसेपछि फुर्सद भएको वेलामा पढ्ने गर्छु ।’
कारागारभित्रका मुढा बुन्ने काम हेर्ने संयोजक सुरज थापाले एउटा मुढा बनाएबापत रु १६० पाउने गरेको बताए । सामान ल्याएको पैसा कटाएर बाँकी बचेको पैसा उनीहरूले नै पाउने गरेको उनको भनाइ छ । बाँस, रंग, धागोलगायतका सामान बाहिरबाट ल्याएर बनाउने गरेको थापाले बताए । उनका अनुसार त्यसरी बनाएको मुढा प्रतिगोटा रु ४५० मा बिक्री हुन्छ । दिनको २५÷३० मुढा उत्पादन हुने उनको भनाइ छ ।
‘पानी पर्दा कहिलेकाहीँ रोकिनेबाहेक अरू वेला निरन्तर रूपमा काम भइरहन्छ,’ थापाले भने, ‘कच्चा पदार्थ बाहिरबाट ल्याउनुपर्ने भएकाले कहिलेकाहीँ काम नहुने हुन्छ, त्यसबाहेक काम निरन्तर चलिरहेको छ ।’
जिल्ला कारागार प्रमुख जंगबहादुर राईले कारागारमा कैदी बन्दी जीवन बिताइरहेकाहरूलाई निस्केको समयलाई कसरी उपयोग गर्ने भन्ने हिसाबले सीपमूलक कामलाई प्राथमिकता दिएको बताए । आफु प्रमुख भएर आएको वेला २०-२५ जनाले मुढा र थुन्से बुन्ने काममा व्यस्त रहेको पाइएकामा आफू आएपछि त्यसलाई बढावा दिँदै लगेको बताए । व्यक्तित्व विकास, आचरण सुधार गर्दै फूसर्दको समयलाई कसरी सदुपयोग गर्ने भन्ने कुरालाई उपयोग गर्नका लागि सीपमूलक काम आवश्यक रहेको उनले बताए । ‘भएका कैदी बन्दीहरूमध्ये अहिले ४०-५० जना मुढा र थुन्से बनाउने काममा संलग्न भइसकेको छ ।’ उनले भन्ने, ‘व्यक्तिगत रूपमा संगठनको हितको लागि पहल गर्ने क्रममा मैले विगत दुई महिनादेखि पोते उन्ने कामको व्यवस्था गरेर काम भइरहेको छ ।’
उत्पादन भएको सबै सामानहरू त्यहीबाट बिक्री भइरहेको जिल्ला कारागार प्रशासनले जनाएको छ ।
पोते उन्ने काम भने सुरुवाती चरणमा भएकाले त्यति कमाउने अवस्था नभएको र अरूमा भने कमाइ राम्रो भइरहेको उनको भनाइ छ । कारागारमा भएका २ सय ३० जनामध्ये थुनुवा(बन्दी) ७९ जना र कैदी १५१ जना रहेका छन् । आफैँले गर्दै आएको साप्ताहिक रूपमा अनुगमन निरीक्षणको क्रममा पनि काम गर्नेहरूलाई उत्साह र उत्प्रेरणा दिँदै आएको बताउनुभयो । अब बिस्तारै त्यसलाई बढाउँदै लाने उनले बताए ।
प्रतिक्रिया