सापटीकाे लगानीबाट राजुले दिए दर्जनाैंलाई राेजगारी

मान्छेमा आँट र जाँगर भयो भने पाखुरा चलाएर खान अरूको देश जानु पर्दैन यहीँ हुन्छ, भन्ने कामको गतिलो उदाहरणका पात्र बनेका छन् नुवाकोटका राजु तामाङ । काम गरेर खान लाज मान्नु हुँदैन भन्ने भावना भएका उनलाई न कहिल्यै वैदेशिक रोजगारीको मोहले तान्यो न कसैकोमा शैक्षिक प्रमाण–पत्र देखाउँदै जागिर माग्दै हिँड्न रहर लाग्यो । आफैँ साहु आफैँ कामदारजस्तै भएका छन् अहिले उनी फूलको व्यवसाय गरेर । आफू मात्रै आत्मनिर्भर भएका छैनन्, उनी आफूजस्तै दर्जनौंलाई बाँच्ने आधार दिएका छन् उनले ।

अरूको देशमा दुःख गर्नुभन्दा आफ्नै देशमा दुःख गर्छु, अरूको जागरिले बन्ने होइन बेरोजगारीलाई रोजगारी दिने बन्छु भन्ने महत्वाकांक्षी सोच भएका युवा राजु पुष्प व्यवसामार्फत प्रत्यक्ष तथा अप्रत्यक्ष गरी दुई दर्जनभन्दा बढीलाई रोजगारी दिन सफल भएका छन् । ०६६ सालमा काठमाडौंको कमलादी प्रज्ञा प्रतिष्ठानको पछाडि सटर भाडामा लिएर पुष्प पसल सञ्चालनमा ल्याएका तामाङले चिनजानको मित्रहरूसँगबाट ५ लाख रुपैयाँ सापटी लिएर फूलको व्यापार सुरु गरेको बताए ।

०५८ सालमा ड्याफोडिल फ्लावर्समा काम सुरु गरेका उनले त्यतिखेर रुचिअनुसार काम गर्न थाले । पढाइको क्रममा बिहान र बेलुकाको खाली समयमा पुष्प व्यापार गर्ने आफ्नै दाजु पर्नेको फूल पसलमा काम गर्दागर्दै पुष्प व्यापारमा रुचि बढ्दै गएको राजु बताउँछन् । उनी भन्छन, ‘पढाइ सकिएपछि म सँग बिदेसिने, नेपालमै नोकरी गर्ने वा आफँै पुष्प व्यवसायको काम सुरु गर्ने भन्ने तीन विकल्प अगाडि आए ।’ आफूले पसल सुरु गर्नुभन्दा अघि उनले तलब नलिइकन सित्तैमा काम गरेको बताए ।

उनले भने, ‘मैले पसल सुरु गर्दा फूलको खासै राम्रो बजार थिएन । न्यून मूल्यको मात्र फूल बिक्री हुँदा मनमा खिन्नता पनि आउँथ्यो । देशको राजनीतिक माहोल त्यति राम्रो नभएका कारण बजार त शून्य नै थियो । तर, जब देशमा गणतन्त्र स्थापना भयो राजनीतिक अस्थिरता कम हुँदै गयो । बजारमा पनि केही सुधार आउन थाले । पछि म यस क्षेत्रबाट पलायन हुनबाट रोकिएको हुँ ।’ सुरुका दिनमा उनले ऋण लिएर व्यापार सुरु गरेका थिए । फूलको व्यापारले जीवन धान्न गाह्रो हुन्छ, भन्दै उनका नजिकका साथी र आफन्तले भन्थे, उनलाई विदेश जान सल्लाह दिन्थे । तर, राजुले विदेशी भूमिमा काम गर्न नजाने बरु भिख माग्नु परे पनि आफ्नै भूमिमा माग्छु भन्दै अडान लिएर आफ्नो व्यवसाय अगाडि बढाउँदै लगे ।

त्यतिखेरको समयमा आफूभित्र भएको आत्मविश्वासले गर्दा नेपालमा पुष्प व्यवसाय अहिले यो अवस्थासम्म पु¥याएको बताउने उनले व्यवसाय सुरु गरेको एक वर्षसम्म सोचेजस्तो नाफा कमाउन सकेनन् । ५ लाखको लागनीबाट सुरु गरेको उनको व्यवसाय अहिले २५ लाखभन्दा माथिको पुगेको छ, भने वार्षिक कमाइ १५ देखि २० लाख हुने गरेको उनले सुनाए । हालको पुष्प व्यापार सामान्यतया सन्तोषजनक अवस्थामा चलिरहेको राजु बताउँछन् । हाल उनले कमलादिसँगै महाराजगञ्जमा पनि पुष्प पसल सञ्चालन गरिरहेका छन् । उनको पसलमा ९ जनाले प्रत्यक्ष रोजगारी पाएको उनले सुनाए । प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई दर्जनभन्दा बढिले रोजगारी पाएका छन् ।

शिक्षाशास्त्र संकायमा स्नाकोत्तर र एलएलबी गरेका राजुको कर्म र पढाइमा मेल खाँदैन । पढ्दापढ्दै उनको मानसिकता पढाइ अनुसारको कामतिर नगइकन व्यापारतिर गएको हो । कर्ममा विश्वास गर्ने उनी सानो तिनै भए पनि व्यापार नै गर्न पर्छ भन्ने सोचाइमा थिए । त्यसैले, आज उनी सफल फूल व्यवसायी भएका छन् । पत्रपत्रिका र सञ्चार माध्ययममा कुनै सफल उद्योगी व्यवसायीको समाचारमा आउँदा उनी पनि सफल व्यवसायी बन्न उत्सुक हुन्थे । आफूले पढेका विषय नमिले पनि आफू काममा सफल हुनेमा उनी ढुक्क थिए । आफूले लिएको शिक्षा अनुसारको काम गरेकोमा उनलाई कुनै पछुतो छैन । उनी भन्छन्, सर्टिफिकेट र कामको मेल खानुपर्छ भन्ने नै छैन । लगनशील भएर काम गरे जहाँ पनि सफलता पाइन्छ ।’ कामप्रति ढुक्क हुँदै उनले भने ।

सामाजिक सेवामा पनि उत्तिकै सक्रिय राजु आफ्नो व्यवसायमा असर नपर्ने गरी थुप्रै काम गरिरहेका हुन्छन् । उनले भूकम्प गएको वेला देशको विभिन्न स्थानमा गएर सक्दो राहत वितरण गरेका थिए । सामाजिक काममा लागेका विभिन्न संघ÷संस्थाका कार्यक्रमहरूमा पनि वेला–वेला सहयोग गरिरहेका हुन्छन् । त्यसो गर्दा आनन्द लाग्ने उनी बताउँछन् ।

नेपाली युवाहरूमा बेरोजगारी भइयो भन्दै बिदेसिने प्रवृत्ति बढ्दै गएकोमा उनलाई चिन्ता लाग्छ । काम गर्न आँट गर्ने हो भने नेपालमा सबैको भविष्य रहेको उनको धारणा छ । तर, धेरै युवाहरूलाई घरपरिवार तथा समाजवाट नै विदेश जान र दुःख गरेर पैसा कमाउन प्रेरित गर्ने गरेको उनको बुझाइ छ ।

उनी भन्छन, ‘कोही करले त कोही रहले परदेश लाग्छन्, तर, जब विदेशमा गएर दुःख पाउँछन् अनि त्यति वेला नेपाललाई सम्झन्छन् ।’ युवाहरू नेपालमा आउने चुनौतीलाई फेस गर्न नचाहेर वा नगरेर बिदेसिने गरेको उनको बुझाइ छ । यो संस्कारले देशलाई झन् झन् खाडलमा पु¥याइरहेको उनी ठान्दछन् । उनको विचारमा देशमा केही गर्न सके मात्र देश र मातृभूमिप्रति सम्मान हुन्छ । राष्ट्रप्रतिको प्रेम भाव दर्शाउँदै उनले भने, राष्ट्रको उन्नतिका लागि सबै नेपालीको दायित्व रहेको उनले बताए ।

पुष्प व्यवसायीहरूको छाता संस्था ‘फ्लोरिकल्चर एसोसिएसन नेपाल’ को कार्यसमिति सदस्यसमेत रहेका उनका अनुसार केही समय अगाडिसम्म नेपालमा भूकम्पले गर्दा पुष्प व्यवसायमा समस्या आएको थियो अहिले बजार सामान्य अवस्थामा आएको छ । उनका अनुसार बजारमा व्यापार विस्तार हुँदै गएको छ । व्यवसायीहरू उत्साहित छन् । फूलको सौखिन गर्नेहरू बढ्दै गएका छन् । फूलको प्रयोग नहुने कुनै क्षेत्र नै छैन । मानिसको जन्मदेखि मृत्यु पर्यन्तसम्म फूलको प्रयोग हुन्छ । अत्यन्तै सम्भावना भएको क्षेत्र नै पुष्प व्यवसाय हो । फूलबाट पाइने आनन्द सुनले दिँदैन त्यसकारण फूलको बजार धेरै नै बढेको छ । तर, नेपालको उत्पादनले माग धान्न सकिरहेको छैन ।

फ्लोरिकल्चर एसोसिएसनले नेपालमा पुष्प विकासका लागि धेरैभन्दा धेरै काम गरेको राजु बताउँछन् । उनी भन्छन्, ‘पुष्प विकासमा भएका जति उपलब्धि छन्, ती सबै व्यवसायीहरूको अगुवाइमा नै भएका छन् । सरकारले त पछाडिबाट सीमित मात्रामा सहयोग गरेको हो । पुष्प विकासमा व्यवसायीहरूले मिहिनेत नगर्ने हो भने यो क्षेत्रले विकासको फड्को मार्न सक्दैन ।’

सरकारको सहयोगमा एसोसिएसनमार्फत अनुदान वितरण, अनुदानमै बिउ बीजन बाँड्ने र सरकारकै सहयोगमा विभिन्न आधुनिक प्रविधिसम्बन्धी तालिमहरू सञ्चालन भइरहेको छ । पुष्प विकासका लागि फूलहरूको बजारीकरण गर्न आमउपभोक्तालाई जानकारी दिन एसोसिएसनले महत्वपूर्ण योगदान गरेको छ । भर्खरै मात्र ‘फ्लोरा एक्स्पो २०१९’ सम्पन्न भएको छ । जसमा अवलोकनकर्ताको उपस्थितिले अझैं पुष्प व्यवसायको विकासमा केही गर्ने हौसला मिलेको उनले बताए ।

त्यस्तै, पुष्प व्यवसायीको हकहितका लागि लड्दै आएको एसोसिएसनले फूल किसान तथा व्यवसायीको उत्थानका लागि आवश्यक पर्ने सबै प्रकारका काम गरिरहेको छ । उक्त संगठनले वर्षमा दुइपटक मेला आयोजना गरिरहेको छ । काठमाडौं बाहिर पनि विभिन्न मेला महोत्सव आयोजना गर्ने तयारी गरिरहेको उनले बताए । नर्सरीमा आवश्यक पर्ने तालिम र पसल सञ्चालनका लागि आवश्यक पर्ने तालिम पनि दिइरहेको छ । फार्महरूमै गएर पनि एसोसिएसनले तालिमहरू दिने गरेको उनले जानकारी दिए । त्यसरी दिइने तालिमबाट व्यवसायी र किसानका लागि फाइदा पुगेको उनी ठान्दछन् ।

पुष्प विकासमा विद्यमान चुनौतीहरू
व्यवसायी राजुका अनुसार पुष्प व्यवसायीहरूका लागि अत्यन्तै ठूलो चुनौती रहेको उनले बताए । नयाँ उत्पादन गर्न निकै मिहिनेत गर्नुपर्ने हुन्छ । कुनै पनि व्यक्तिले आफ्नै लगानी गरेर प्रतिस्पर्धामा आउन निकै गाह्रो छ । वित्तीय संस्थाले ऋण दिनका लागि जग्गा धितो खोज्छ पसल चलाउनेसँग जग्गा हुँदैन । पसल हेरेर तथा व्यवसायका आधारमा कुनै पनि वित्तीय संस्थाले ऋण दिँदैनन् । त्यसैले, व्यवसायीका लागि लगानी लिन धितोको समस्या छ । अर्कोतर्फ भाडामा जग्गा लिएर फूल खेती गर्न पनि भाडामा एकरुपता नभई मनोमानी रहेको उनले बताए ।

फूलको खेती गर्न भाडामा जग्गा लिन चाहनेका लागि राज्यले भाडाको मापदण्ड तय गरेका कारण व्यवसायीलाई मर्का परेको उनले बताए । यसका साथै व्यवसाय सञ्चालन गर्दा दक्ष जनशक्ति आवश्यक पर्ने र आफूहरूले भने जस्तो दक्ष जनशक्ति नपाउने गरेको उनले गुनासो गरे ।

फूलको ८० प्रतिशत बजार नेपाली उत्पादनले धानेको उनी बताउँछन् । नेपाली उत्पादनले पूर्णरूपमा धान्न अझै कति वर्ष लाग्न सक्छ भन्ने नसकिने उनले बताए । उनले भने ‘आयातलाई रोक्न सक्ने संयन्त्र छैन, तर अवको १० वर्षमा आयत शून्यमा झार्न सकिएला ।’ नेपाली पुष्प बजारलाई आत्मनिर्भर बनाउन सरकारले पुष्प खेतीलाई सरकारले प्रवद्र्धन गर्नुपर्ने उनको धारणा छ । उनी भन्छन्, ‘सरकारले रैथाने फूलदेखि विदेशी फूलको बीउ तथा बिरुवामा विशेष सहयोग गर्नुपर्छ । साथै, फूलको बजारलाई सरकारले नीति नियम तथा अन्य बाधा अड्चन भएको ठाउँमा खोलेर सहयोग गर्नुपर्छ ।’ त्यसो गर्न सकियो भने नेपाली उत्पादनले स्थान पाउने उनको दाबी छ ।

हाल सरकारले विशेष गरेर उत्पादनको क्षेत्रमा अनुदान दिइरहेको भए पनि त्यसलाई पारदर्शी बनाएर मात्रा बढाउदै लैजानुपर्ने राजुको तर्क छ । उनका अनुसार यसअघि सरकारले अनुदान दिँदै आएको भए पनि मुलुक संघीय संरचनामा गएपछि अनुदानको स्पष्टता भएको छैन ।

तर, यसअघि सरकारले दिएको अनुदानका कारण नै हालसम्म भएका फूल व्यवसायले प्रगति गरेका हुन् । अबका दिनमा निजी क्षेत्रले मात्रै कति धान्न सकिन्छ, भन्न नसकिने कुरामा उनले चिन्ता व्यक्त गरे । मुलुकको नयाँ संरचनाले यस क्षेत्रको विकासमा असर पर्न नहुने उनको माग छ ।

प्रतिक्रिया