काठमाडौं । बिरामी वा दुर्घटनामा परेकालाई अस्पतालमा प्रदान गर्ने रगत गुणस्तरको नपाइएको रहस्य खुलेको छ । बिरामीलाई आवश्यक पर्नेबित्तिकै दिइने रगतको पूर्णरूपमा परीक्षण नहुने गरेको रहस्य खुलेको हो । जसका कारण रगतदातामा रहेका विभिन्न रोग बिरामीलाई पनि सर्ने गरेको देखिएको छ ।
केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकुले रगत सुपरीवेक्षण प्रतिवेदन (हेमोभिलिजेन्स) २०१८ सार्वजनिक गर्दा दुई जनाको रगतमा भिरिङ्गी र एचआइभी देखिएको उल्लेख गरेको छ । प्रयोगशालाका अनुसार बिरामीलाई दिनका लागि राखिएको रगतमा भिरिङ्गी र एचआइभी देखिएको हो । कुनै पनि व्यक्ति वा डोनरबाट रगत दिएर सुरक्षित रगत संकलन, भण्डारण, परीक्षण, रगततत्वको निर्माणदेखि बिरामीले प्राप्त गर्ने अवस्थालाई ‘हेमोभिलिजेन्स’ भनिन्छ ।
प्रयोगशाला अन्तर्गत रहेको रक्तसञ्चार ब्युरोले काठमाडौंका सरकारी र नीजि गरी चार अस्पताललाई अध्ययनका लागि रगतको नमुना पठाउन भनिएको थियो । तर दुई अस्पतालमा मात्रै उक्त सुरपरीवेक्षण गरेको थियो । अध्ययनका लागि दुई अस्पताल (परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र नेपाल क्यान्सर अस्पताल हरिसिद्धी) बाट रगत लिएको थियो ।
नमुनाका लागि १२ वटा शंकास्पद नमुनाका रूपमा राखेर रगतको परीक्षण अध्ययन भएको थियो । शंकास्पद राखिएका मध्येबाट दुईवटा रगतमा समस्या भेटिएको ब्युरोकी प्रमुख डा. रेखा मानन्धरले जानकारी दिइन् । ‘दुईमध्ये एउटामा एचआइभी र अर्कोमा भिरिङ्गी फेला परेको छ’, उनले भनिन्, ‘बाँकी १० वटामा भने सामान्य ज्वरो आउने, चिलाउने जस्ता समस्या देखिएको छ ।’
दुई अस्पतालमा मात्रै गरिएको अध्ययनमा यस्तो नतिजा आएपछि ब्युरोले अध्ययनको दायरा बढाउँदै लैजान जानकारी दिइएको छ । प्रयोगशालाका अनुसार निजी अस्पतालले भने रगतको नमुना परीक्षणका लागि नदिएको जनाएको छ । राष्ट्रिय हेमोभिजिलेन्स वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक प्रा.डा. हरिशचन्द्र उप्रेतीले रगत जीवन बचाउने ‘इमर्जेन्सी मेडिसिन’ भएकाले यसमा लापरवाही गर्न नहुने बताए । ‘रगत दिने र लिने मात्रै यसको काम सकिने होइन’, उनले भने, ‘कहाँबाट ल्याइयो, कसरी दिइन्छ, कति प्रयोग हुन्छ र रगतको गुणस्तर कस्तो छ भन्ने कुरा महत्वपूर्ण हो ।’
रगत खपतको विवरण दिँदैनन्
सरकारी तथा निजी क्षेत्रका अस्पतालले वार्षिक कति रगत खपत गर्छन् भन्ने रिपोर्टिङ जनस्वास्थ्य प्रयोगशालामा नगराएको जनाएको छ । अस्पतालले वार्षिक रूपमा खपत गर्ने रगतको तथ्यांक राखी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा अनिवार्य जानकारी (रिपोर्टिङ) गर्नुपर्ने प्रावधान रहे पनि हालसम्म कुनै अस्पतालले रिपोर्टिङ नगरेको बताइएको छ । अस्पतालले रगत कति खपत गर्छन् तीमध्ये रगतका कति प्रकारका तत्व प्रयोगमा आउँछन् र रगतको तत्व बिरामीका शरीरमा नमिलेका कारण कतिको अकालमा मृत्यु भयो भन्ने कुनै जानकारी छैन ।
प्रतिक्रिया