संखुवासभा । संखुवासभाका ६ वटा स्थानीय तह अति नै दुर्गममा परेका छन् । जिल्लाका १० वटा स्थानीय तहमध्ये ६ वटा स्थानिय तहलाई सरकारले अति नै दुर्गममा वर्गीकरण गरेको हो । सरकारले हाल स्थानिय तहलाई वर्गिकरण गर्ने क्रममा प्रकाशित प्रारम्भिक प्रतिवेदनमा यस्तो देखिएको हो । सरकारको वर्गिकरण अनुसार सङ्खुवासभाको पाँचखपन नगरपालिका, चिचिला गाउँपालिका, भोटखोला गाउँपालिका, मकालु गाउँपालिका, सभापोखरी गाउँपालिका र शिलिचोङ गाउँपालिका अति नै दुर्गममा परेका छन् ।
सरकारको प्रारम्भिक प्रतिवेदनमा जिल्लाका दुई स्थानिय तह दुर्गममा परेका छन भने मध्यममा पनि दुई स्थानिय तह परेका छन् । दुर्गममा मादि नगरपालिका र धर्मदेवी नगरपालिका परेको हो भने मध्यम वर्गमा खाँदबारी नगरपालिका र चैनपुर नगरपालिका मध्यम वर्गामा वर्गिकरण गरेको हो ।
सरकारले ७ सय ५३ वटै स्थानीय तहलाई वर्गीकरण गर्ने काम अन्तिम चरणमा पु¥याएको छ । राज्य पुनर्संरचनापछि पहिलो पटक स्थानीय तहको प्रशासनिक वर्गीकरण हुन लागेको हो । दुर्गममा परेका सङ्खुवासभाका स्थानिय तहरूमा अझै पनि बाटो, बिजुली, शिक्षा, स्वास्थ्य जस्ता पूर्वाधार सबै स्थानीय तहमा समान छैन । भौगोलिक अवस्था पनि एकनासको छैन ।
स्थानीय तहको राय सुझावलाई समेत समेटेर परिमार्जन सहित सरकारले अन्तिम प्रतिवेदन तयार पार्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताए । उनका अनुसार स्थानीय तहको यातायातको सुविधा, प्रदेश राजधानीदेखिको दूरी, जिल्ला सदरमुकामदेखिको दूरी, स्थानीय तहमा उपलब्ध शिक्षा, स्वास्थ्य सेवा, दूरसञ्चारको सेवा, विद्युत सेवाको पहुँच र नियमितता, मानव विकास सूचकांक, भौगोलिक अवस्थिति र स्थानीय तहको स्तरलाई आधार मानेर विवरण तयार पारेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीका अनुसार स्थानीय तह कार्यान्वयनमा आएपछि नाम, सीमा, संरचना हेरफेर भएकाले नयाँ वर्गीकरण गर्न लागिएको हो । सबै स्थानीय तहलाई चार वर्गमा बाँडिएको छ । अति नै दुर्गमलाई क, दुर्गमलाई ख, मध्यम ग र सुगमलाई घ वर्गमा राखिएको छ । प्रारम्भिक प्रतिवेदनमा १ सय ६२ अतिदुर्गम, २ सय १८ दुर्गम, २ सय ७५ मध्यम र ९८ सुगम वर्गमा परेका छन् । यो वर्गीकरणमा सबैभन्दा बढी २ सय ७५ स्थानीय तह मध्यम अर्थात् ‘ग’ वर्गमा परेका छन् ।
प्रतिक्रिया