‘आर्थिक अभावले पढाइ छाड्न नपर्ने’

बाँके । संघीय सांसद महेश्वर गहतराज अथकले अब गरिबी र आर्थिक अभावको कारण कसैले पढाइ छाड्न नपर्ने पताएका छन् । लक्ष्मी माध्यमिक विद्यालयको ५८औँ वार्षिक दिवसको अवसरमा बोल्दै सांसद गहतराजले कानुनी व्यवस्था भएअनुसार शैक्षिक सफलता र समृद्धि अब विद्यार्थीको परिश्रममा निर्भर रहेको घोषणा गरे ।

सांसद गहतराजले मंगलबार बाँकेस्थित लक्ष्मी माध्यमिक विद्यालयको ५८आँै वार्षिक दिवसको अवसरमा चार कोठे भवनको शिलान्यास गरेका छन् । राप्ती सोनारी–२ कचनापुरस्थित लक्ष्मी माध्यमिक विद्यालयको वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी शिक्षाआर्जनबाट वञ्चित हुनुनपर्ने बताए ।

कार्यक्रमका विशेषअतिथि पूर्व शिक्षा मन्त्री प्रेमबहादुर भण्डारीले शिक्षा सबैका लागि र साझा विषय भएकाले शिक्षामा बाहिरी रहेको पैसा रोक्न देशभित्रै गुणस्तरयुक्त शिक्षा प्रदान गर्न पाउने गरी शैक्षिक विकास आजको आवश्यकता भएकोे बताए ।

राप्ती–सोनारी गाँउपालिका अध्यक्ष लाहुराम थारूले सांसद अथकको प्राथमिकतामा राप्ती सोनारीको विकास परेकोमा धन्यवादज्ञापन गर्दै समग्र राप्ती सोनारीको शैक्षिक स्तर उकास्न दलभन्दामाथि उठेर सहकार्य गर्न तयार रहेको उद्घोष गरे ।

राप्ती–सोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले सरकारी विद्यालयमा अनिवार्य अंग्रेजी माध्यमको पढाइ र दिवा खाजाको व्यवस्था मिलाउन सांसद अथकसँग आग्रह गरिन् ।

सो विद्यालयका प्रधानाध्यापक लक्ष्मणप्रसाद आचार्य र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामदास थारूले विद्यालयका नाममा झन्डै २४ बिघा जग्गा रहेकाले प्राविधिक शिक्षालयका रूपमा विकास गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका अतिथि मदन भण्डारी फाउन्डेसनका केन्द्रीय सदस्य सूर्य ढकालले २१आँै शताब्दी सुहाउँदो शिक्षा हासिल गर्न विद्यालय, अभिभावक र राजनीतिक दलका नेता कार्यकर्ता एकमना एकताका साथ पूर्वाधार निर्माणमा जुट्नुपर्ने बताए ।

प्रतिक्रिया