वर्तमान सरकारले चल्तीका सबै गाली पाइसकेको छ । भएजति गाली सकिएका छन् । भन्न बाँकी अब सायद केही छैन । यी गाली गोलीभन्दा कम शक्तिशाली छैनन् । सरकारका हरेक निर्णयमा गाली वर्षेका छन् । जनताका गालीले सरकार थला पर्न लागेको छ ।
सरकारले राम्रो गरे पनि नराम्रो गरे पनि घुमाइफिराइ गालीमै परिणत हुन्छ । सरकारले बोल्यो कि पोलिहाल्छ । केही ग¥यो कि विरोध आइहाल्छ । गरे पनि सुख छैन । नगरे पनि उस्तै गाली । यहाँ प्रतिपक्षले गाली गरेको छैन । प्रतिपक्ष आफँैभित्र तिरमिराएको छ ।
प्रतिपक्षले आफ्नै धोती सम्हाल्न सकेको छैन । सरकारलाई के गाली गर्नु बिचरा ! आखिर कहाँबाट आइलागे यस्ता गालीका वर्षा ? सरकारप्रति यति घृणा कसरी पैदा भयो त ? यो जान्न आवश्यक छ ।
पुस ५ गते बिहीबार अमेरिकी निवर्तमान राष्ट्रपति बाराक ओबामाले काँधमा पोको बोकेर अस्पतालतिर लागेको समाचार संसारभर फैलियो । नेपालका मिडियाले पनि यो समाचारलाई प्राथमिकता दिए । सबैको प्रतिक्रिया थियो, ‘हाम्रा नेता पनि यस्तै भइदिएको भए कस्तो हुन्थ्यो ।’ सर्वसाधारण जनतालाई नेतामा महानता भइदिए हुन्थ्यो भन्ने मात्र चाहना छ ।
यही महानताले मुलुक बन्नेछ भन्ने सबैलाई ज्ञान पनि छ । जब कुनै देशका राष्ट्रपति, प्रधानमन्त्री र नेताहरू जनताको सामिप्यमा पुगेका हुन्छन्, त्यही उदाहरण दिएर हाम्रा नेताहरू यस्तो भए हुने नि भन्दै नेपाली जनता कामना गरिरहेका हुन्छन् । पछिल्ला दिनहरूमा अरूका देशका राम्रा उदाहरण दिएर नागरिकले नेतालाई सचेत मात्र पारेका छैनन्, यस्तै गतिलो काम गरून् भनेर गाली रूपी कामना गरिरहेका छन् । यी गाली स्वतःस्फुर्त जनताबाट आएका हुन् । यसमा राजनीति पूर्वाग्रह देख्नु सरकारको महाभूल हो ।
यदि, जनताको कठघरामा उभ्याउने हो भने हरेक नेताहरू चप्पलमा फर्कन सक्नुपर्छ । एउटा कोठाको डेरामा फर्कनुपर्छ । पिजा होइन, हिजो आफ्नी आमाले गाउँमा पकाएर दिएको ताप्केको रोटीमा अघाउन सक्नुपर्छ । होइन भने हालसम्मको खर्च, हाल भइरहेको सम्पत्ति कहाँबाट कसरी आयो सबै एक-एक हिसाब जनतालाई दिनुपर्छ । नेताले दिएको हिसाब जनतालाई चित्त बुझ्यो भने गाली होइन ताली दिनेछन्
तर, विडम्बना हाम्रा नेताहरू खोला तर्न अरूको बुई चढेको, खराब आचरण भएका व्यक्तिको घरमा गएर खाना खाएको, ठग ठेकेदारको घरमा बसेको र थेग्न नसक्ने माला लगाएको यस्तै/यस्तै विचित्रका हर्कत जनताले देख्दै आएका छन् । चेपाङ गाउँमा पोको बोकेर पुगेको, मुसहर बस्तीमा चामलको बोरा लिएर गएको र बागमती किनारमा सिटामोलका झोला बोकेर गएको कुनै नेताको उदाहरण छैन ।
हामा नेताहरू केही गरी हाले भने यस्तो औकात देखाउँछन्, एकजनालाई राहत दिन्छन्, तर हजारौँलाई आहत पुर्याउँछन् । सुटुक्क र खुसुक्क ठूला काम गर्ने महानता कुनै नेतामा छैन । सानो काम ठूलो प्रचार खोज्छन् । सुटुक्क त हाम्रा नेताले घुसखोरी र भ्रष्टाचार मात्र गर्छन् ।
बिहानै मिडिया हे¥यो भने दिनभरि घोर अन्धकारबाहेक केही देखिँदैन । नेताले दलाली गरेको, राष्ट्रपतिले महँगो गाडी मागेको, प्रधानमन्त्री धर्मान्तरतिर जागेको, मन्त्रीहरूले तेलको पैसा खल्तीमा हालेको, सहयोगीहरूको तलब मन्त्रीहरूले खाएको, घर हुनेले डेरा भाडा बुझेको यस्तै खालका लाजमर्दो विषय मानसपटलमा घुम्छ ।
अनि जनता पीडाले छट्पटिन्छन् । यही कारणले गाली वर्षिन्छ । सरकार जनतासँग माफी माग्दैन । कारबाहीको भागिदार बन्दैन । उल्टै अन्टोसन्टो कुरा बनाएर समाचारहरूको खण्डन गर्न थाल्छ । लाग्छ, अब सरकारले गलत गर्ने ठाउँ बाँकी राखेको छैन । सायद, यही भएर हुनपर्छ, जनताले पनि भएभरको गाली वर्षाएका हुन् ।
यहाँ विचारणीय कुरा के छ भने यस्तो भ्रष्टाचार पहिले पनि हुन्थ्यो । कांग्रेस सरकारका पालामा पनि थियो । विभिन्न संयुक्त सरकारका पालामा पनि थियो । तर, इन्धनको पैसा मन्त्रीले खल्तीमा हालेको जस्ता निन्दनीय समाचार यही सरकारका पालामा किन बाहिरियो त ? यो प्रश्नको उत्तर जान्न सबैले आवश्यक छ ।
हाम्रा पुर्खा बाँदर हुन् वा होइनन् यो कसैलाई थाहा छैन । तर, मानिसको पुर्खा मानिस नै हो भन्ने सबैलाई थाहा छ । अथवा हरेकका वंशज आफ्नै हुन् । सुरुको बिन्दुमा उत्पत्ति भएको पुस्ता हरेक मानिसको निरन्तरता वंशज बनेर अहिले जीवित बनेर बाँचिरहेको छ । त्यही वंशाणुगत गुण हामीसम्म आइपुगेको छ ।
पहिलेका शासकहरूका सन्तान अहिले निरीह छन् । लिच्छवीकालीन, मल्लकालीन, शाहकालीन र राणाकालीन शासन हँुदै पछिल्लोपटक पञ्चायत र हाल बहुदल व्यवस्था प्रत्यक्ष नेपाली समाजले व्यहोरिसकेको छ । अहिले राजतन्त्ररहितको बहुदलीय शासन हामीले भोगिरहेका छौँ । शोषणमा परियो भन्दै अहिलेका शासकले आन्दोलन, युद्ध र विद्रोह गरेर देशको बागडोर आफ्नो हातमा लिइसकेका छन् । हिजोका शासक चुपचाप छन् ।
बुबा, आमाको पालामा विपन्न भएका होइनन्, जिजुबाजेकै पालादेखि विपन्न थिए । राष्ट्रपतिदेखि मन्त्री सबैका सार्वजनिक भएका पारिवारिक इतिहासले यो सिद्ध गरिसकेको छ । जसको वंशाणुगत गुण जस्तो छ, त्यो अनन्तसम्म रहिरहन्छ । गाउँबाट झरे, अलिअलि पढे, आन्दोलन गरे अनि अहिले सरकार चलाए । गरेको यही हो । त्यो वंशाणुगत गुण त त्यही रगतमा छ । लुट्नुपर्छ अनि खानुपर्छ भन्ने गुण । ‘अधिकार मागेर होइन, खोसेर पाइन्छ’ भन्ने सिकेर आएका हुन् । त्यसैले, जनताको पैसा खोसेर खाएका हुन् । लुटेर खान सिकेका हुन् । अहिले गरेकोे त्यही हो । जुन जनताले भनेको लुटतन्त्रमा बदलिएको छ ।
हिजोका शासकले जनता लुटेनन् । उनीहरूको जन्मजात नै खानदानी थियो । अहिलेका नेताहरू जस्तो गाउँबाट खान नपुगेर सहर झरेर राजनीति गरेर पैसा लुटेर पहिलेका शासकको जीवन चलेको होइन । पुर्खादेखिको सम्पत्ति परिचालित थियो । जतिवेला जमिनको उपभोग गर्न राज्यका कुनै कानुन थिएनन् ।
त्यहीवेला जोडजाड गरेको पुख्र्यौली सम्पत्तिले पहिलेका शासक परिवारले अहिलेसम्म आफ्नो जिन्दगी धानिरहेका छन् । तर, अहिलेका शासकहरू गाउँको पाखोबारी चटक्क छोडेर सहरमा महल ठड्याएका छन् । यो महल बनाउने पैसा कहाँबाट आयो ? यो जीवनशैलीको खर्च कसरी आयो ? यही बिन्दुबाट अनुसन्धान थाल्नुपर्छ, अनि वर्तमान शासकलाई अहिले वर्षिरहेको गाली थामिन सक्छ । यदि, जनताको कठघरामा उभ्याउने हो भने हरेक नेताहरू चप्पलमा फर्कन सक्नुपर्छ । एउटा कोठाको डेरामा फर्कनुपर्छ ।
पिजा होइन, हिजो आफ्नी आमाले गाउँमा पकाएर दिएको ताप्के रोटीमा अघाउन सक्नुपर्छ । होइन भने हालसम्मको खर्च, हाल भइरहेको सम्पत्ति कहाँबाट कसरी आयो सबै एक/एक हिसाब जनतालाई दिनुपर्छ । नेताले दिएको हिसाब जनतालाई चित्त बुझ्यो भने गाली होइन ताली दिनेछन् ।
हिजोका शासकहरू शाह, राणा वा कुनै खानदानका व्यक्तिहरू अहिले गुमनाम छन् । तर, यो संख्या सानो छैन । चुपचाप मात्र बसेको हो । अहिले, रुकुम, रोल्पा, राजविराज वा ताप्लेजुङबाट आएकाहरू चर्चामा छन् । हिजोका शासकको शैली पछ्याउन चाहन्छन् । त्यही बिलासपूर्ण जीवन बिताउन चाहन्छन् । फलस्वरूप लुट्नुको विकल्प छैन । अहिले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्रीहरू र नेताहरू सबै शासकहरूले लुटिरहेका छन् । भएको यही हो ।
राजनीतिमा उलटपुलट हुने गर्छ । हामीले धेरै कालखण्डमा यस्ता उल्टिएका परिवर्तनहरू भोग्यौँ । पछिल्लोपटक जनताको अथवा गरिब वर्गको शासन आउने र दुःखका दिन सकिने भनेर अहिलेका शासकले रगतको खोलो बगाउन धेरै मानिसको बलि चढाए । यो तत्कालीन इतिहास साक्षी छ ।
जब यिनले शासन आफ्नो हातमा लिए, तब हिजोका शासकभन्दा सय गुना अघि बढेर शोसक बन्न थाले । मोजमस्तीमा बरालिन थाले । धर्मकर्म बिर्सिए । मानवता त्यागे । हिजो एकथरी जनताको रगत चुसे । अहिले ज्यूँदा जनताको पसिना खाइरहेका छन् । किनकि कुनै नेताले मिहिनेत गरेर कमाएको पैसाले वर्तमान जीवन बिताएका छैनन् ।
प्रधानमन्त्रीले नेपाल टेलिभिजनमा ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्छन् । तर, कहिल्यै जनताको जवाफ दिँदैनन् । पार्टीबाट प्रशिक्षित कार्यकर्ताले कार्यक्रम चलाउँछन्, उनको उत्तर दिन्छन् । कार्यकर्ताको उत्तर दिन त पार्टी कार्यालय छ । विभिन्न मञ्च छन् । किन अनावश्यक रूपमा आँखामा छारो हाल्ने ? जनताका कैयौँ प्रश्न त्यहाँ पुग्छन्, एकाध छानेर मात्र उत्तर दिएर कपटपुर्ण जवाफदेहीता प्रधानमन्त्रीले देखाइरहेका छन् ।
यो तुरुन्त रोक्नुपर्छ । प्रधानमन्त्री जवाफदेही हुने वित्तिकै अधिकांश समस्या समाधान हुन्छन । अहिले राष्ट्रपतिलाई पनि गालीको वर्षा छ । यसको कारण अर्को लेखमा खोजौँला । तर, सरकारसँग जोडिएका विषय प्रधानमन्त्रीसँग सम्बन्धित छन् । प्रधानमन्त्रीलाई सुरुबाटै आफ्नै पार्टीभित्र गाली वर्षियो । निर्वाचन परिणाम आउँदै गर्दा केपी ओली इतर पक्ष शान्त थियो । ओली पक्षमा अहम्ता चुलियो । विपक्षीसँग ईष्र्याको राजनीति सुरु भयो ।
त्यो प्रवत्ति पार्टीभित्र फैलियो । फलस्वरूप त्यसैको सिकारमा ओली पर्दैै गए । हाल चलिरहेको केन्द्रीय समितिको बैठकका वाणहरू ओलीतिरै सोझिएका छन् । एकातिर, जनताका गाली वर्षिएका छन् । अर्कोतिर, पार्टीभित्रको शक्तिशाली समूह खनिएको छ । यो सकस सम्भवतः ओलीका लागि अन्तिम हुनेछ । अब सरकारले गर्न केही बाँकी छैन । जनताको आशा निराशामा स्वत विसर्जन हुँदै छ । अहिले वर्षिरहेको सरकारलाई गाली यही निराशाहरूको विसर्जन हो ।
प्रतिक्रिया