हाम्रो इच्छा, गरिखाने शिक्षा

शिक्षण संस्था शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखानाको रूपमा चित्रित हुंदै छन्। शिक्षित बेरोजगारहरूको संख्या विकराल बन्दै छ । शैक्षिक प्रमाणपत्रहरू मूल्यहीन कागजी खोष्टा सावित हुनु वर्तमान शिक्षा पद्धतिप्रति गम्भीर प्रश्न हो । समृद्ध देश सुखी नेपाली सरकारी नारालाई सार्थक बनाउनको लागि वर्तमान शिक्षा नीतिमा आमूल परिवर्तन गर्नुको विकल्प छैन ।

ठगी खाने र मागिखाने भन्दा पनि गरिखाने शिक्षा आजको आवश्यकता हो । खाने शिक्षालाई गुणस्तरीय जनमुखी, प्रगतिशील जीवनोपयोगी आदी विशेषणबाट सम्बोधन गरिएको पाइन्छ । गुणस्तर प्राप्तांकको आधारमा निक्र्योल गर्ने प्रचलन प्रशस्तै छ । जसको कारणबाट आमा बुबाको अर्थ नबुझने तर डयाड ममको संस्कारमा हुर्कने, दूध कहाँबाट आउँछ भन्दा डेरीबाट भन्ने गाई भैंसीको जानकारी नराख्ने कृषिमा हलो, फाली, करुवा दाँते आदीको बारेमा जानकारी नहुने सैद्धान्तिक ज्ञान मात्र भएको तर अल्प व्यवहारिक ज्ञान भएका नागरिक भन्दा आफ्नो परिवेशलाई समेत साक्षत्कार गर्ने गराउने गरेर सिक्ने खालको शिक्षाको अवलम्बन गरिनु पर्दछ ।

शिक्षाले व्यवहारमा परिवर्तन ल्याउनुपर्दछ । माछा मारेर खुवाउने भन्दा पनि माछा मार्न सिकाउने खालको जाँगरिलो पौरखी शिक्षा हुनुपर्दछ । अतः दैनिक जीवनमा प्रयोग गर्ने विषय र विधि सिकाउने खालको शिक्षा हुनुपर्दछ । कुनै व्यक्तिको प्रमाण पत्रको प्राप्तांक भन्दा पनि उसले देखाउने वानि व्यवहार, चालचलन, चरित्रको आधारमा गुणस्तरीय शिक्षा परिभाषित हुनुपर्दछ ।

मानवजीवनको चौतर्फी विकासका लागि जीवनोपयोगी शिक्षा अपरिहार्य हुन्छ । शिक्षाको प्रमुख उद्देश्य व्यक्तिको अन्तरनिहीत प्रतिभालाई प्रस्फुटन गराएर उत्कृष्टता हासिल गर्नेतर्फ उन्मुख गराउनु हो । सामाजिक, सांस्कृतिक, धार्मिक रहनसहन, मूल्य मान्यता पहिचान र समायानुकुल परिमार्जन तथा परिस्कृत गर्र्दै जीवनशैलीमा उतार्न सक्षम सकारात्मक नागरिक शिक्षाले उत्पादन गर्नुपर्दछ ।

शिक्षाले दैनिक जीवनमा आइपर्ने चुनौतीलाई सहजरूपमा सामना गर्न सक्ने सिर्जनात्मक एवं रचनात्मक प्रतिभाको विकास गर्न सक्नु पर्दछ । श्रमप्रति आस्था र विस्वास राख्ने लगनशील पौरखी नागरिक उत्पादनगर्नेे उद्देश्य केन्द्रित शिक्षाका नीति तथा कार्यक्रम हुनुपर्दछ ।

रोजगारीको लागि नेपालीहरू भौतारिँदै कस्तुरीले आफूमा भएको सुगन्धित बिनाको ज्ञान नभएर कहाँबाट बास्ना आयो भन्दै भौँतारिएर हिँडेजस्तै मृगतृष्णाको रूपमा आफ्नै देशमा उपलब्ध पेसा अंगाल्न हिच्किचाउँदै हजाराैँ, लाखौं रूपैयाँ खर्च गरेर खाडी मुलुकको प्रचण्ड गर्मीमा जोखिमपूर्ण वातावरणमा तरकारी, फलफूलखेती, भेडा चराउने, गधा जोत्ने जस्ता कृषिजन्य काम गर्न तँछाड मछाडका साथ पुगेका छन् ।

अर्कोतर्फ छिमेकी देशहरूबाट रोजगारिका लागि नेपाल आएर फलफूल तरकारी र अन्य सामान बेच्न सहर बजारमा मात्र नभएर विकट गाउँहरूमा पनि छ्याप छ्याप्ति पुगेको पाइन्छ । तर, गर्वका साथ त्यही काम स्वदेशमा नेपालीले किन गर्दैनन ? त्यो भन्दा तल्लो स्तरको काम गर्न मुगलान नै पस्नुपर्ने किन ? यस्तो मनोवैज्ञानिकतालाई कसरी परिवर्तन गर्न सकिएला ? आफ्नो देशमा रोजगारी नपाएमा चारैतिर अभावै अभावबाट छटपटिई निराश भई विरक्तिएर विदेसिएका नेपाली झन् कष्टकर, अमानवीय व्यवहार सहन बाध्य भएर बिचल्लीमा परेको समाचार छापामा बग्रेल्ती पाइन्छ ।

यसरी तावाबाट उम्केको माछा भुंग्रोमा परेर तड्पिएको चरितार्थ त्यहाँ पाइन्छ । त्यही पेसा स्वदेशमा गर्दा र विदेशमा गर्दा समाजको र व्यक्तिको हेराइमा फरक हुनाको कारण के हो ? हाम्रो शिक्षाले विदेसिने जनशक्तिलाई स्वदेशमा नै प्रयोग गर्न के गर्नुपर्ला ? आदी प्रश्नको विश्लेषणबाट सार्थक निष्कर्षमा पुग्न विलम्ब गर्नु हुँदैन ।

पेपर पेन्सिल परीक्षाको आधारमा मात्रै विद्यार्थीको उपलब्धिस्तर गणितीय प्रस्तुति गरिने परम्परालाई निरुत्साहित गर्दै शिक्षाको मूल मर्मअनुसार व्यवहारमा सकारात्मक परिवर्तनको आधारमा मूल्यांकन गर्ने उपायहरू खोजिनु पर्दछ । उच्च अंक प्राप्त गर्नेले त्यसको औचित्य पुष्टि गर्न व्यवहारमा उतार्न सक्नुपर्दछ । हाम्रो मूल्यांकन पद्धति कसरी विश्वसनीय र वस्तुनिष्ठ बनाउन सकिन्छ भन्ने चिन्ता र चिन्तन गर्नुपर्ने देखिन्छ ।

किनकी एकसय पूर्णांकमा सरदर ३२ प्रतिशत मात्रै विषयवस्तु जानेमा उत्तिर्ण हुने पद्धतिलाई पुनरावलोकन गरिनुपर्दछ । त्यसप्रकारको परीक्षाबाट पनि सरदर ५२ प्रतिशत अंक मात्रै विद्यार्थीले प्राप्त गरेको अध्ययन अनुसन्धानले पुष्टि गरेको छ । कतिपय विषयमा पूर्णांक प्राप्त गर्नु आठौँ आश्चर्य भएको छ । अर्कोतर्फ कतिपय विशिष्ट श्रेणीमा उतीर्ण भएकाहरू जसलाई उच्च गुणस्तर भनिन्छ, उनिहरूको अपेक्षाकृत व्यवहार सकारात्मक भएको देखिन्न ।

त्यसकारण सिर्जनशील लगनशील प्रतिस्पर्धी उत्साहि, उर्जाशील सफल नागरिक बनाउने खालको व्यवहारिक पौरखी शिक्षा आजको आवश्यकता हो । जसअनुसार श्रमप्रति सम्मान जगाउने धारणाको विकास गराउनु पर्दछ । पौरखी नागरिक बनाउन वर्तमान शैक्षिक पद्धतिलाई विद्यार्थी केन्द्रित गरिनुपर्दछ । त्यस्तै, विद्यालयको वातावरण विद्यार्थीको जीवनपद्धति र अनुभवलाई सम्बोधन गर्ने खालको हुनुपर्दछ । पौरखी नागरिक बन्ने अभ्यास विद्यालयमा आयोजना गरिने क्रियाकलापमा विद्यार्थीको अधिकतम संलग्नतामा सम्पन्न गर्ने नीतिलाई प्राथमिकता दिइनुपर्दछ ।

साथै, उनीहरूको पारिवारिक, आर्थिक, सामाजिक सांस्कृतिक मूल्यमान्यता संस्कार एवं भावना आदीलाई मध्यनजर राखेर शैक्षिक नीति तर्जुमा गरिनुपर्दछ । राज्यले तोकेको पाठयक्रमको अतिरिक्त तिव्र गतिमा परिवर्तन आएको विज्ञान र प्रविधिलाई विद्यालयमा प्रवेश गराउनुपर्दछ ।

विद्यालयको वातावरण विद्यार्थीको वैयक्तिक एवं पारिवारिक विभिन्नतालाई उच्च मूल्यांकन गरेर सोहीअनुसार अधिकतम संवोधन गर्ने खालको बालमैत्री हुनुपर्दछ । कक्षाकोठा विद्यालय परिसर स्वस्थ स्वच्छ एवं चित्ताकर्षक हुनुपर्दछ । अतः शिक्षकले सर्वप्रथम बालबालिकालाई पढ्नुपर्छ, अनि मात्र त्यसलाई सम्बोधन गर्ने गरी विषयवस्तु र विधिको छनोट गरिनुपर्दछ ।

अभिभावकले अँगालेको पेसालाई सम्मानपूर्वक कक्षा शिक्षणमा प्रवेश गराई छलफल गराउनुपर्दछ । विद्यार्थीलाई सामाजिक, सांस्कृतिक कार्यक्रमको तर्जुमा र सम्पन्न गर्न जिम्मेवारीपूर्वक सक्रिय सहभागी गराउने परिस्थिति बनाउनुपर्दछ । विद्यार्थीले सामान्यतया ६ घण्टा मात्रै विद्यालय र बाँकी १८ घण्टा घरपरिवार र समुदायमा बिताउँछन् । तसर्थ घरपरिवार र समुदायप्रति जिम्मेवार र जवाफदेहीपूर्वक व्यवहार गर्ने ल्याकतको विकास उनीहरूमा गरिनुपर्र्र्र्र्र्र्र्दछ ।

घरपरिवारमा पनि सहज शैक्षिक वातावरण बनाउन विद्यालयले विद्यार्थीको पठनपाठन बारेमा अभिभावकसँग निरन्तर सम्पर्क राख्ने नीति लिनु पर्दछ । त्यसकारण त्यहाँको वातावरण पनि बालबालिकाको रुचि, क्षमताअनुसार दिनानुदिन विज्ञान र प्रविधिमा भइराखेको प्रगतिको उच्चतम् प्रयोगको अभ्यास गर्ने गराउने सहज अवसर पाउने खालको हुनुपर्दछ ।

उनीहरूको जीवनशैलीलाई सुविधासम्पन्न, प्रभावकारी र प्रभावशाली बनाउँदै निरन्तर समाज र देशलाई प्रगतिन्मुख बनाउन प्रयत्नशील जिम्मेवार नागरिक बनाउने खालको प्रगतिशील शिक्षा आजको खाँचो हो । बालबालिकाभन्दा हामी जान्ने छौँ हामीले भनेको मात्र उनीहरूले मान्नुपर्दछ भन्ने पुरातनवादी सोचका आधारमा उनीहरूलाई जबरजस्त लाद्ने खालको विषयवस्तु र विधिभन्दा पनि उनीहरूको क्षमता मागअनुसारको शैक्षिक वातावरण बनाउने पौरखी नागरिक उत्पादन गर्ने पहिलो शर्तको रूपमा लिन सकिन्छ ।

कार्यकुशलतालाई निखार दिन स्थानीय आवश्यकता अनुसारको खपत हुने जनशक्ति उत्पादन गर्ने खालका पाठ्यक्रम निर्माण र कार्यान्यवन गरिनुपर्दछ । व्यावसायिक शिक्षाको प्रयोगात्मक कक्षामा उत्पादित सामान बजारसम्म लाने र ग्राहकलाई बेच्ने अभ्यास गराएर उनीहरूमा आत्मबल र आत्मविश्वास गराउनु पर्दछ ।

शिक्षण संस्थामा मानवीय लगायतका साधन स्रोतको उच्चतम प्रयोग गर्ने वातावरण सिर्जना गर्नु पर्दछ । शिक्षाकर्मीहरूको पेसागत दक्षता र समर्पण बढाउने खालका सेवासुविधाको व्यवस्था गरिनुुुपर्दछ । त्यस्तै, शिक्षक र त्यससँग आवध शिक्षाकर्मीहरूको पेसागत दक्षताको मूल्याकंन विद्यार्थीको उपलब्धीको आधारमा गरिनुपर्दछ । त्यस्तै, बालबालिकाको सक्रिय सहभागिता विद्यालयभित्र तथा बाहिरका कार्यक्रममा प्रत्यक्ष र परोक्ष रूपमा बढाउन बाल क्लबलाई स्थापना गरी सक्रिय बनाउनु पर्दछ ।

उनीहरूमा आत्मबल र आत्मविश्वासको वृद्धि र विकास गर्न सामाजिक परोपकारी कार्यकलापमा प्रत्यक्ष सहभागी हुन प्रोत्साहित गरिनु पर्दछ । किनकि, विद्यार्थीहरू भविष्यका कर्णाधार र वर्तमानका साझेदार हुन भन्ने मान्यता अनुरूप उनीहरूको सलग्नतालाई उच्च प्राथमिकता दिइनुपर्दछ । त्यसैगरी विद्यार्थी विद्यालयबाट भागेर घर जानेभन्दा पनि घरबाट भागेर विद्यालय आउने खालको उत्साहजनक स्वस्थ वातावरण विद्यालयमा सिर्जना गर्न सक्यौँ भने उनीहरूले आफ्नो क्षमता चाहनाअनुरूपको व्यवहारिक ज्ञान सीप अभिवृद्धि हासिल गर्न सक्छन् ।

कक्षाकोठा र क्रियाकलाप लोकतान्त्रिक अभ्यास र अनुभूति दिने हुनुपर्दछ । अनुशासनको नाममा भावना र विचार प्रष्फुटन हुनलाई कुण्ठित गर्ने परम्परालाई निरुत्साहित गरिनुपर्दछ । ठूलो मान्छेभन्दा पनि असल नागरिक बन्न प्रे्ररित अर्थात् आफ्नो खुट्टामा आफैँ उभिने पौरखी नागरिक बन्ने अभ्यास गर्ने थलोको रूपमा विद्यालय बन्नुपर्दछ ।

अतः उच्च प्राप्तांकलाई मात्र गुणस्तर देख्ने सामाजिक संस्कार संस्कृति र भौतिक उपलब्धिलाई मात्र प्राथमिकता दिइने प्रगतिशील शिक्षाभन्दा श्रमप्रति सम्मानपूर्वक व्यवहार गर्दै परिश्रमको मूल्य र मान्यतालाई मर्यादित बनाउनेतर्फ प्रयास गर्ने खालको शिक्षा आजको खाँचो हो । जसले श्रमको पूजा गर्दै भेदभावरहित भावना र व्यवहार भएको संस्कारयुक्त तथा कुनै कुरा सिकेपछी त्यसको आधारमा अन्य कुराहरू रचना र सिर्जना गर्दै परिवर्तित विश्व श्रम बजारमा खरो प्रतिष्पर्धा गर्नसक्ने सभ्य, सुशील तथा स्वाभिमानी देशभक्त पौरखी नागरिक उत्पादन गर्ने गरिखाने शिक्षा आजको आवश्यकता हो ।

प्रतिक्रिया