जुम्ली घोडाको व्यापार घट्यो

नरेन्द्रसिंह कार्की, दार्चुला । एक महिना लगाएर जुम्लाबाट दार्चुलाको जौलजीवि मेलामा ल्याइएका जुम्ली घोडाको व्यापार घटेको छ । दशैंको टीका लगाएर जुम्लाबाट हिँडेका घोडा व्यापारी जौलजीवि पुगेपछि घोडा खरिद गर्ने ग्राहक नआउँदा निराश छन् । विगतमा सयौँ घोडाको व्यापार हुँदै आएको जौलजीवि मेलामा गाउँगाउँसम्म सडक पहुँच पुग्नु तथा युवामा घोडाप्रति आकर्षण हुन नसक्दा हरेक वर्ष घोडाको व्यापार घटेको हो ।

जौलजीवि मेलाको आकर्षणको रूपमा घोडाको कारोबार यस वर्ष भएको छैन । हरेक वर्ष जुम्ला र बाजुराबाट मेलामा घोडाको कारोबार हुने गरेको छ । ‘जुम्ला र बाजुरा जिल्लाबाट मेलामा पु¥याइएका घोडा विगतमा पहाडी जिल्लामा राम्रो व्यापार हुँदै आएको थियो’, चन्दननाथ नगरपालिका ८ जुम्लाका घोडा व्यापारी जयबहादुर रोकायाले भने, ‘पहाडसम्मै गाडी पुग्नु, हरेक वस्तुको मंहगी बढेका कारण घोडा व्यापार सुस्ताएको छ । यसपटक जुम्ला र बाजुराबाट तीन दर्जन बढी घोडा मेलामा पु¥याइएको छ ।’

एक महिना लगाएर घोडा बिक्री गर्न आए पनि अहिलेसम्म तीन÷चार जना भारत अल्मोडाका स्थानीय घोडा हेर्न मात्रै पुगेका छन् । जुकोट–३ बाजुराका सत्यराज शाही घोडाको कारोबार नभएकोमा चिन्तित छन् । ‘हाम्रा बाजे बुबाको समयदेखि जौलजीवि मेलामा घोडा व्यापार गर्न सुरु गरेका हौँ, यो मेलामा मात्रै विगतमा पाँच छ सय घोडाको व्यापार सजिलै हुन्थ्यो’, उनले भने, ‘तर दुई चार वर्षयता घोडाको व्यापार कम हुँदै आएको छ ।’

बाटोमा घोडाका लागि चाहिने दाना घास महंगो हुँदै गएको छ । ‘विगतमा १० रुपैयाँ पूला घास घोडाको लागि पाइन्थ्यो, अहिले पचास रुपैयाँ भारु पर्छ । ‘सबैमा महँगी बढ्यो, तर हाम्रा घोडा ३५ हजार (भारु)मा पनि बिक्री हुँदैनन् । यो मूल्य नै बढी भयो भन्छन्’, शाहीले भने, ‘लागत मूल्य नै नआएपछि कसरी घोडाको कारोबार गर्नु ।’ जौलजीविको मेलालाई घोडे मेलाको रूपमा पनि जुम्ली घोडाले चिनाएको हो ।

बाजुराकै ६४ वर्षीय भरतबहादुर शाहीले मेलामा घोडाको व्यापार गरेको ४० वर्षभन्दा बढी भयो । ‘हाम्रा बाजे बुवाले घोडाको व्यापार गर्न सिकाए । हाम्रो पुस्तासम्मले परम्परागत घोडा व्यापार छोडेका छैनौँ, तर यसरी नै व्यापार सुस्तायो भने आगामी वर्षदेखि घोडा व्यापारको लागि दार्चुला आइँदैन’, उनले भने ।

उनका अनुसार हुम्ला जुम्लामै डेढ दुई लाख रुपैयाँमा घोडा बिक्री हुन्छ तर यहाँ ३० देखि ४० हजार भारुमा पनि बिक्री हुन मुस्किल छ । ‘बाटोभरि घाँस, दाना मंहगो भयो, घोडा राख्ने ठाउँमा स्थानीयले भाडा बढाए, यस्तो अवस्थामा परम्परा धान्न सकिँदैन,’ उनले दुखेसो गरे ।

जुम्ली घोडा नेपाल भारतका पहाडी क्षेत्रका स्थानीयले खरिद गरेर लिने गरेका थिए । अहिले सडक पहँुच पुगेसँगै कारोबारमा पनि कमी भएको हुनसक्ने शाही बताउँछन् । ‘पहिले गाउँमा सडक नपुगेको वेला घोडा किन्न ग्राहकको भीड लाग्थ्यो । घोडा हेर्न तँछाडमछाड नै चल्थ्यो, मूल्य पनि राम्रै पाइन्थ्यो, तर अहिले घोडा ल्याइसक्यौँ, किन्न कोही आउँदैनन’, उनले भने ।

तर, जुम्ली घोडा खरिद गर्नेहरूको भनाइमा अहिले घोडा अत्यन्त महँगो भएको छ । भारत अल्मोडा चौखिट्टाका स्थानीय हिक्मत सिंहले भने, ‘घोडा खरिद गर्न आएका हाँै, तर अहिले घोडाको मूल्य धेरै बढ्यो । अल्मोडाको उच्च पहाडी क्षेत्रका लागि जुम्ली घोडा राम्रो हुने गरेकोले यहाँ आएका हौँ । विगतमा यही क्षेत्रमा आएर लगेका घोडा राम्रा छन् । एक दुइदिन हेर्छौं, मूल्य मिल्यो भने घरका लागि घोडा लिन्छौँ ।’

जुम्ली घोडा पहाडी क्षेत्रमा सामान ढुवानी र चढ्नको लागि राम्रो मानिन्छ । अन्यभन्दा पनि चिसो ठाउँमा हुर्केका घोडा पहाडी क्षेत्रमा बचाउन सकिन्छ । ‘पहाड चढ्नका लागि भारतको हल्दानीमा पाइने घोडाभन्दा जुम्ली घोडा राम्रो छ’, अर्का भारतीय नागरिक कैलाश जोशीले भने, ‘घोडाको आयु मान्छेकै जस्तै हो । जीवनमा एउटा घोडाको सहारा बनाऊँ भनेर आएका छौँ । पहिला १५/२० हजार भारुमा घोडा सजिलै मिल्थ्यो, तर व्यापारीले महँगो मूल्य भन्दैछन् ।’

मालिकार्जुन गाउँपालिका–७ उकु जौलजीविका स्थानीय शेरसिंह खत्रीले विगतको तुलनामा घोडाको व्यापार नभएको बताए । ‘हरेक वर्ष मेरो जग्गामा घोडा राखेर व्यापार गर्छन् । पहिले ५/६ सय घोडा यहाँ आउँथे । पूरै बगर घोडाले भरिन्थ्यो, अहिले हेर्नुस् केही छैन । घोडा खरिद गर्ने मान्छे छैनन् । सडक पुग्यो, गाडी मोटरसाइकल किन्नतिर मान्छे लागे’, उनले भने । दश वर्ष अघिसम्म घोडाप्रति स्थानीयको आकर्षण थियो । बुढापाकाहरू अहिले पनि घोडा पाल्न सोखिन छन्, तर युवा पुस्तामा घोडाप्रति मोह छैन । यसबाट पनि घोडाको व्यापारमा कमी आएको बताइन्छ ।

प्रतिक्रिया