एमाले उपत्यका संयोजकमा कृष्णगोपाल

काठमाडौं, २९ जेठ । नेकपा (एमाले)ले काठमाडौं उपत्यकामा पार्टी कामको संयोजन गर्ने जिम्मेवारी केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठलाई दिएको छ ।

उपत्यका संयोजक राजेन्द्र श्रेष्ठ संघीयताका मुद्दामा पार्टीसँग असन्तुष्टि जनाउँदै बैठकमा समेत आउन छाडेपछि आइतबार बसेको स्थायी कमिटी बैठकले आन्दोलनलगायत उपत्यकाको कामको संयोजनको जिम्मा तत्कालका लागि कृष्णगोपाललाई दिएको हो ।
पार्टीले कार्य विभाजनको अर्का निर्णय नगरुन्जेल कृष्णगोपालले उपत्यकाको कामको संयोजन गर्नेछन् । ४ असारमा काठमाडौंमा हुने राष्ट्रिय कार्यकर्ता भेलाको व्यवस्थापन गर्नसमेत जिम्मेवारी पाएका उपत्यका समन्वय कमिटीका संयोजक राजेन्द्र श्रेष्ठ राजीनामा दिने घोषणा गर्दै निष्क्रिय बसेपछि भेलाको व्यवस्थापन सहज बनाउन अर्का जिम्मेवारी तोकिएको सचिव युवराज ज्ञवालीले बताए । ‘राष्ट्रिय भेलाको व्यवस्थापन नै उपत्यकाले गर्नुपर्ने हुन्छ, तत्कालका लागि कृष्णगोपाल श्रेष्ठलाई उपत्यकाको काम संयोजन गर्ने जिम्मेवारी दिइएको छ,’ ज्ञवालीले सौर्यसँग भने, ‘राजेन्द्र श्रेष्ठ काममा नफर्कुन्जेल वा नयाँ कार्यविभाजन नहुन्जेलका लागि लागू हुने गरी यो सहमति भएको छ ।’
राज्य पुन:संरचनामा एकल जातीय पहिचानका पक्षमा पार्टीले अडान नलिएको भन्दै असन्तुष्ट रहेका अन्य जनजाति नेताहरूको जिम्मेवारी भने एमालेले परिवर्तन गरेको छैन । असन्तुष्ट रहेका उपाध्यक्ष अशोक राई मोर्चा संगठन प्रमुख, पोलिटब्युरो सदस्य पृथ्वी सुब्बा गुरुङ, लोकतान्त्रिक आदिवासी जनजाति संघ इन्चार्ज र विजय सुब्बा राष्ट्रिय जनसांस्कृतिक महासंघको इन्चार्ज छन् । राजेन्द्र श्रेष्ठबाहेक अन्यको जिम्मेवारीमा हेरफेर नभएको सचिव ज्ञवालीले बताए ।
बैठकले राष्ट्रिय कार्यकर्ता भेलापछि जिल्ला र निर्वाचन क्षेत्रमा पनि भेला र कार्यकर्ता परिचालनसम्बन्धी अभियान चलाउने निर्णय गरेको छ । ४ र ५ असारको राष्ट्रिय भेला तयारीका लागि आइतबार स्थायी कमिटी बैठक बसेको हो । बैठकमा भेलाको सहभागिताका विषयमा छलफल भएको थियो । भेलामा केन्द्रीय कमिटी, सल्लाहकार परिषद्, केन्द्रीय आयोग र निकायहरू, अञ्चल सचिव, विभागका सचिवहरू, जिल्ला अध्यक्ष र जनसंगठनका प्रमुखसहित पाँच सय बढी कार्यकर्ता सहभागी हुनेछन् । शनिबार बसेको केन्द्रीय कमिटी बैठकले ४ र ५ असारमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको थियो । भेला व्यवस्थापनको जिम्मेवारी भने उपत्यका समन्वय कमिटीलाई दिइएको छ ।
‘राष्ट्रिय भेलामा सहभागिताका मापदण्डका विषयमा छलफल भएको छ,’ वरिष्ठ नेता माधवकुमार नेपालले बैठकपछि भने, ‘राष्ट्रिय भेलापछि जिल्ला र निर्वाचन क्षेत्रमा पनि भेला र परिचालनका काम अघि बढाउने निर्णय भएको छ ।’ कार्यकर्ता भेलामा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन र संघीयताका विषयमा पार्टीभित्रको विवादबारे सोमबार बस्ने स्थायी समितिले निर्णय लिने पनि नेपालले बताए । संघीयताका विषयमा रहेको मतभेद राष्ट्रिय भेलाअघि नै टुंग्याउने निर्णय यसअघि केन्द्रीय कमिटीले गरेको थियो ।

प्रतिक्रिया