प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’, राजधानी ‘गोदावरी’

धनगढी । प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ कायम गरिएको छ ।  शुक्रबार दोस्रोपटक बसेको प्रदेश सभाको बैठकले प्रदेशको नाम र राजधानी दुईतिहाइ बहुमतले स्वीकृत गरेपछि नाम सुदूरपश्चिम र राजधानी गोदावरी काम गरिएको हो ।

बैठकमा सहभागी ३८ जना सत्तापक्षी सांसदले प्रस्तावको पक्षमा मतदान गरेपछि प्रदेश सातको नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ कायम भएको छ । नेकपा संसदीय दलका नेता तारा लामा तामाङले प्रदेशको राजधानी र नाम प्रस्ताव गरेकी थिइन् ।

प्रतिपक्षी कांग्रेसले प्रदेशको नाम सुदूरपश्चिम स्वीकार गरे पनि राजधानीमा अस्वीकार गरेको छ । कांग्रेसले धनगढी हुनुपर्ने माग गर्दै आएको छ । माग संसद्बाट पास नहुने देखेपछि कांग्रेसका सांसदले बैठक सुरु भएलगत्तै आफ्नो धारणा राखेर सभाहलबाट बाहिरिएका थिए ।

तटस्थ बसेका राष्ट्रिय जनता पार्टीका सांसद पनि कांग्रेससँगै बाहिरिएका थिए । कांग्रेसका सांसद सभाहलबाट बाहिरिएपछि प्रस्तावविरुद्ध मत परेन ।

कांग्रेस सांसद डिल्लीराज पन्तले संसद् सचिवालयमा प्रदेशको राजधानी धनगढी नगरपालिका कायम गरियोस् भनी प्रस्ताव दर्ता गराए पनि संसद् बैठकमा पेस भएन । बैठक अवरुद्ध गरेपछि दिउँसो १ बजे बोलाइए पनि ३ बजे पुनः सुरु भएको थियो ।

बैठकमा प्रदेशको राजधानी र नामको प्रस्तावमाथि बहस तथा छलफल भएपछि मतदान भएको थियो । लामाको प्रस्तावलाई नेकपाकै सांसद वीरमान चौधरी र शान्ति नेपालीले समर्थन गरेका थिए ।

स्वीकृत भएको प्रतिवदेनअनुसार स्थायी राजधानी कैलाली जिल्लाको गोदावरी नगरपालिकाको वडा नम्बर ४ र २ तेघरीस्थित नेपाली सेनाको ब्यारेक रहेको स्थानदेखि उत्तरपश्चिम, गोदावरी–धनगढी–डडेल्धुरा सडकदेखि पश्चिम, गोदावरी खोलादेखि पूर्व र गोदावरी बजारदेखि दक्षिणको चारकिल्ला क्षेत्रमा पर्ने भएको हो ।

कांग्रेसले भने गोदावरी राजधानी तोकिएकोमा शुक्रबार पनि विरोध प्रदर्शन गरेको छ । प्रदर्शनकारीले अस्थायी राजधानी बनाउँदा राज्यको ठूलो बजेट खर्च भइसकेको अवस्थामा धनगढीलाई नै स्थायी राजधानी बनाउनुपर्ने माग गरेका थिए ।

प्रतिक्रिया