सोझो कुरा: हिंस्रक समाज र महिला हिंसा
विनाेद त्रिपाठी
२०७५ असोज १० गते ११:०५ मा प्रकाशित
यो लेख आरम्भ गर्नुअघि म स्मरण गराउन चाहन्छु, नेपालमा नयाँ खालका महिला हिंसाको केन्द्रविन्दु भारत हो । जस्तै, एसिड आक्रमण, अपहरण, नाबालिका माथिको चरम अपराध ।’
मैले यसअघि धेरैपटक भारतसँगको खुला सिमाना रहेसम्म नेपालमा बलात्कारका घटना बढेको बढ्यै गर्छन् भनेर लेखहरू लेख्दै आएको थिएँ । आज यो लेखमा त्यसैलाई निरन्तरता दिँदै छु । नवलपरासी कावासोतीकी वसन्ती परियारलाई ३ दिनअघि खले बिकले एसिड प्रहार गरे ।
उनको अवस्था अहिले चिन्ताजनक छ । रौतहट चन्द्रपुर नगरपालिकाका दुई दिदीबहिनी सम्झना र रोशनी दासमाथि स्थानीय रामबाबु पासवानले एसिड छ्यापे । दिदी सम्झनाको आइतबार मृत्यु भयो । बहिनी रोशनी ठूलो पीडा सहेर उपचाररत छिन् । दुवैजना किशोरी हुन् ।
४ वर्षअघि सीमा बस्नेत र संगीता मगर एसिड आक्रमणबाट राजधानी काठमाडाैँमै मरेतुल्य भए । निकै दर्दनाक घटना थियो त्यो । त्यसपछि साना ठूला एसिडका घटना निरन्तर भएका छन् । हिंसाको निकृष्ट रूप बलात्कार हो । हिंस्रक समाजमा बलात्कार हुन्छ । हिंस्रक व्यक्तिले बलात्कार गर्छ । बलात्कार गर्न नपाएपछि जीवन समाप्त पार्ने क्रुर शैलीको विकास अहिले फैलिएको छ ।
सुन्नै नसकिने यस्ता क्रुरता हाम्रो समाजले किन पचाइरहेको छ ? लागौँ, यो विषयतर्फ । हिंसाको कुरा गर्दा माओवादी युद्ध सम्झनुपर्ने हुन्छ। ०५२ देखि ६२ साल अवधिमा नेपाल हिंसामय बन्यो । यो अवधिमा प्रतिहिंसा जन्मियो । जस्तै, अपहरणको सौदाबाजी । समाजमा हिंसा चाहनेलाई माओवादी युद्ध सिकाइ बन्दै गयो ।
माओवादी युद्धमा महिलाको सहभागिता उल्लेख्य रह्यो ।दुर्गम भेगका बालिकादेखि विपन्न परिवारका छोरी युद्धमा सामेल भए । युद्धमा महिला हिंसाका खबर बाहिर आए । सहकर्मीबीच हुने हिंसाले माओवादीभित्र कारबाहीका चरणहरू चले ।
जबरजस्ती माओवादी युद्धमा सहभागी गरिएका युवतीहरू हिंसाबाट पीडित भएका समाचार अझै ताजै छन् । जुन मुलुक हिंसाबाट गुज्रिएको हुन्छ, त्यहाँ महिला हिंसा भयावह बन्छ ।
अफ्रिकाका कंगो, क्यामरुन, हैटीदेखि एसियाका अफगानिस्तान, पाकिस्तान, श्रीलंका, म्यानमार लगायतका मुलुक यसका उदाहरण छन् । युद्धमा सबैभन्दा बढी मारमा महिला र बालबालिका पर्छन् । यसको भोगाइ हामीले गरिसकेका छौँ । नेपालको ठूलो हिंसा माओवादी युद्ध हो । माओवादी युद्धको आश्रयस्थल भारत थियो । भारतका विभिन्न शक्तिकेन्द्रले माओवादी हिंसालाई सहयोग गरे । फलस्वरूप हिंसाको त्यो रूप अहिले नेपाली समाजमा फरक रंगबाट फैलिएको छ ।
माओवादी युद्ध सुरु हुनुअघि नेपालमा अपहरण लगायतका जघन्य अपराध खासै थिएनन् । ‘एकथरीको भनाइ छ । अहिले सञ्चार माध्यमका कारण हिंसाका खबर बाहिर आएकोले बढी देखिएको हो ।’ यो निकै गलत तर्क हो । अहिलेको पुरानो पुस्तालाई एकपटक सोधेर हेरौँ, त्यतिबेला आमा, दिदीबहिनीहरू निर्धक्कसँग एक्लै मेलापात जाने, इष्टमित्रको घरमा जाने, वन खेतबारीमा एक्लै काम गर्ने गर्थे ।
गाउँगाउँमा छोरीहरू निर्धक्क जिउँथे । एक्लै घुम्दा कुनै पुरुषको हिंसा थिएन । अहिले कुनै पनि महिला एक्लै हिँड्ने वातावरण छैन । स्थिति यति डरलाग्दो बनेको छ । पहिले, महिला अधिकार कम थियो, तर अपराध हुँदैनथ्यो । अहिले महिला अधिकार बढी छ, तर महिलामाथि त्यही अनुपातमा अपराध चुलिएको छ ।
बल्झियो समस्या
हाल भइरहेका बलात्कारका नयाँ आयामहरू कसरी सिर्जना भए, यो गम्भीर पक्ष हो । बलात्कार विकसित मुलुकमा पनि हुन्छ । विकसित मुलुकमा हुने बलात्कार जघन्य हुँदैन । जसरी अहिले अफ्रिकन र दक्षिण एसियन मुलुकमा बलात्कारका नयाँ शैली चलेको छ, यो क्रुरता विकसित मुलुकमा छैन । हाम्रा समाचार बलात्कारीलाई प्रचार गरेजस्तो डरलाग्दो चित्रणमा केन्द्रित छ ।
दैनिक सम्प्रेक्षित बलात्कारका समाचारले अपराधीलाई प्रोत्साहन गरेजस्तो भएको छ । अब समाचार पस्किँदा फरक शैली नअपनाएसम्म मिडियाले बलात्कार न्यूनीकरणमा भूमिका खेल्न सक्दैन । कञ्चनपुरकी निर्मला पन्तको हत्यापछि प्रदेश ७ मा मात्रै बलात्कारका २८ वटा घटना भइसके ।
यो एउटा प्रदेशमा साउनमा १० र भदौमा १७ वटा बलात्कारका घटना भएको खबर प्रहरीको रिपोर्टमा उल्लेख छ ।निर्मलाको साउन १० गते बलात्कारपछि हत्या भएको थियो । निर्मलाको हत्यापछि कञ्चनपुरमा मात्रै ९ वटा बलात्कारका घटना भए ।
अब घोत्लिएर सोचौँ, समाचार दिएकै कारण बलात्कारमा किन कमी आएन ? यसको मतलब बलत्कारका समाचारलाई प्राथमिकता नदिने भनेको होइन ।तर, समाचारले अपराधीलाई भयभित पार्ने खालको हुनुपर्छ । समाचार सुन्ने, पढ्ने र हेर्ने अपराधीले जीवनभर पछुतो महसुस गर्ने प्रकारको हुनुपर्छ ।
हाल सार्वजनिक भएका समाचारले अपराधी उम्कने बाटो देखाइदिएका जस्ता अपराधी पक्षपोषण जस्ता देखिएका छन् ।हाम्रा समाचारले पीडित पक्ष वा समाचार पढ्ने पाठक नै भयभित हुने खालका छन् । अबका मिडियाले सूचना दिने होइन। अपराधीलाई कारबाही गर्ने खालका समाचार दिनसक्नुपर्छ । कुनै बेला सामाजिक सञ्जालको प्रयोग थिएन ।
त्यतिबेला जनतालाई सूचना दिने माध्यम मिडिया मात्र थिए ।अहिले हरेक नागरिक सामाजिक सञ्जालबाट तुरुन्तै सूचना पाउँछन् । पत्रकारले सूचना होइन, समाचार पस्कन सक्नुपर्छ। पीडित पक्षको भनाइ राखेर जोडदारका साथ समाचार दिँदा बलात्कारका घटना दोहोरिने सम्भावना कम हुन्छ । यसका लागि मिडिया र सञ्चारजगत गम्भीर रूपमा परिस्कृत हुन आवश्यक छ ।
समाधान के ?
अब माथिकै अनुच्छेदमा फर्कौं । हिंसाग्रस्त समाजले सुन्दर वातावरण निर्माण गर्न सक्दैन । हाम्रा केही राजनीति पुष्ठभूमि हिंसाबाट जन्मिए । हरेक हिंसाका घटनाक्रममा दोषीले कारबाही भोग्नुपरेको छैन । माओवादी युद्धकालका दोषी अहिले सर्वोच्च पदमा आसीन छन् । उनीहरू कुनै न कुनै पीडित पक्षका तर्फबाट अपराधीमा करार भइसकेका छन् ।
तर, समाज चुप छ । यही अवधिमा भारतबाट डरलाग्दो अपराधका घटनाहरू नेपालभित्र प्रवेश पाए । एसिड आतंक यसैको उदाहरण हो । एसिड प्रहार गरेर अपराध गर्ने पहिलो मुलुक भारत हो ।त्यहि सिकेर नेपालका अपराधीहरू अपराध गर्न उद्धत छन् । खुला सिमाना छ । भारतबाट विभिन्न सामान भित्रिन्छन् । अपराधका सिकाइ पनि भित्रिएका छन्।
अपराध गर्नेले एसिड किन्न चीन गएको उदाहरण छैन । अहिलेसम्मका काण्डमा एसिड भारतबाट ओसारिएको प्रस्ट छ । जसरी निर्मला पन्तका अपराधीले दुई महिनासम्म कारबाही पाएका छैनन्, त्यसरी नै हिजो १७ हजार नागरिक अनाहकमा मर्ने र मार्ने अवस्था सिर्जना गर्नेले कारबाही भोग्नुपरेको छैन । अनि अपराधीलाई कति प्रोत्साहन मिल्यो होला ?
सोझो अनुमान गरौँ त । हरेक घटनाका अपराधीलाई तुरुन्तै कारबाही भएको भए, अन्य अपराधीलाई प्रोत्साहन मिल्दैनथ्यो । चाहे त्यो राजनीतिका नाममा चलेको अपराध होस्, वा व्यक्तिगत इबिका कारणले भएको अपराध । जुनसुकै अपराधीलाई कारबाही नभएसम्म यो समाज सुरक्षित भूमिमा रूपान्तरण हुनै सक्दैन ।
अन्तमा, निष्कर्षसहित
हालसम्म भएका अपराधमा हाम्रो समाज र हाम्रा परिवार कहीँ न जोडिएको छ । हाम्रा जात जोडिएका छन् । हाम्रा पार्टीहरू टाँसिएका छन् । मधेस, पहाड र हिमालका नाममा अपराध बढेका छन् । अहिले जातजाति, वर्ग, धर्म, भेग आदिका नाममा संघसंस्था छन् । जात मात्र होइन, अहिले थरका आधारमा पनि संस्था खुलेका छन् ।
यी संघसंस्थाले अधिकारका कुरा मात्रै उठाएका छन् । अब आफ्नो जात, थर, धर्म वा सम्प्रदायभित्र जन्मिएका अपराधीलाई कानुनी कठघरामा ल्याउन पहल गर्नुपर्छ । पहिचान र अधिकार मात्र होइन, कर्तव्य पनि निर्वाह गर्यो भने त्यस्ता जात, धर्म वा वर्गको प्रतिष्ठा बढ्नेछ ।
सबैले भन्न सक्नुपर्यो, हाम्रो संगठनको, हाम्रो धर्मको, हाम्रो जातको, हाम्रो थरको त्यो अपराधीलाई कारबाही होस् । यो महानता नदेखाएसम्म अपराधीले धर्म, जात र राजनीतिका नाममा संरक्षण पाइरहन्छ । कुन जातका मानिस धेरै अपराधमा संलग्न छन्, सम्बन्धित जातको संस्थाले निगरानी थाल्नुपर्छ ।
हामी जात वा धर्मका आधारमा अधिकार खोज्न सक्छौँ भने यही आधारमा टेकेर आफ्नै घर भित्रका अपराधीलाई कानुनी कठघरमा उभ्याउन किन सक्दैनौँ । अर्को कुरा, हाम्रा पुस्ताका पुष्ठभूमिमा रगतको खोलो बगेको छ । राजनीतिका नाममा खेलिएका अपराधका खेलाडीलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याएर कारबाही गर्नु पहिलो आवश्यकता हो ।
त्यसपछि भारतबाट आयातित अपराध रोक्न खुला सिमाना प्रणाली बन्द गर्नुपर्छ । भारतको खुला सिमानाले मधेस नेपालकै फरक भूमिजस्तो हुँदै गइरहेको छ । भारतबाट भित्रने अपराधले मधेसलाई थिचिरहेको छ । पहाडजस्तो निर्धक्क स्वतन्त्र घुमफिर गर्ने वातावरण मधेसमा छैन । मधेसका घरानियाहरू काठमाडौंमा बस्छन् ।
सघींयतामा मुलुक गए पनि मधेसमा महिलाहरूका लागि स्वतन्त्रपूर्वक जीवन जिउने वातावरण निर्माण हुन सकेको छैन । अझै पुरुषहरूको पकड छ । अतः समाज हिंस्रक रहेसम्म महिला हिंसा बढिरहन्छ । पहिला हाम्रो समाज हिंसामुक्त बनोस्, त्यसपछि स्वतः महिला हिंसा अन्त्य भएर जानेछ ।
प्रतिक्रिया