‘जुन संस्कार तथा संस्कृतिहरू समय अनुकूल परिमार्जन हुँदैनन् तिनीहरूको लोप सुनिश्चित छ । संस्कृति बचाउने हो भने कुसंस्कारहरू पूरै त्याग्नुपर्छ र संस्कारहरूलाई युग सापेक्षअनुसार व्यवहारिक बनाउँदै लैजानुपर्छ । बाबुआमाको काजकिरिया छोरीले गर्नुहुँदैन भन्ने कुसंस्कार अब करिब–करिब हटेको छ । छोराकै पर्खाइमा १ दर्जन छोरी पाउँदा पनि नपुगेर २–३ जना विवाह गर्ने कुसंस्कार हटेको छ ।’
-अञ्जु कार्की नेपालमा सबैभन्दा धेरै प्रयोग हुने एउटा उखान छ, ‘अर्थ न वर्थ गोविन्द गाई ।’ तर, अधिकांशले यो उखानलाई असान्दर्भिक प्रयोग गर्ने गरेका छन् । यो उखानको शाब्दिक तथा लाक्षणिक अर्थ के हो ? धेरैजसो प्रयोग कर्ताहरूलाई नै थाहा छैन ।
पहाड तराई दुवैतिरको हिन्दू समुदायमा बेहुली अन्माएर पठाएपछि गाउँभरीका महिला जम्मा भएर संस्कृत भाषाको एउटा श्लोक भन्ने चलन छ । त्यो श्लोकलाई ‘गोविन्द’ भनिन्छ । त्यो श्लोकको सुरुदेखि अन्त्य बेहुला तथा जन्तीलाई गाली तथा श्राप नै श्रापले भरिएको हुन्छ ।
तराईको मधेसी समुदायमा यो श्लोक स्थानीय भाषामा पनि गाइन्छ जसलाई ‘गारी’ भन्ने चलन छ । तराईका महिलाले ‘गोविन्द’ गाउँदा स्थानीय भाषा प्रयोग गर्ने भएकोले अर्थ बुझेका हुनसक्लान् तर पहाडतिर भने अर्थ नै नबुझी गोविन्द गाइन्छ । जसका कारण उखान नै बनिसकेको छ,‘अर्थ न वर्थ गोविन्द गाई ।’
गोविन्द गाउने प्रचलन किन र कहिलेदेखि सुरु भयो ? भन्ने यकिन अभिलेख पाइँदैन । किंवदन्तिअनुसार कुनै जमनामा मुसलमानहरूले हिन्दूका छोरीहरूलाई जबरजस्ती उठाएर लैजाने गर्थे । संगठित मुसलमानहरूको त्यो हर्कत रोक्नका लागि असंगठित हिन्दूहरूमा ताकत थिएन । पुरुषहरू आक्रमणको डरबाट भाग्थे, महिलाहरू जम्मा भएर श्राप दिन थाल्थे, त्यही श्रापलाई नै पछि ‘गोविन्द’ गाउने भन्न थालियो ।
त्यसले परम्पराको रूप लियो ।‘गोविन्द’ गाउने परम्परा यतिवेला लोपोन्मुख अवस्थामा छ । आफ्नै ज्वाइँलाई त्यति नमिठो श्राप कसरी दिनु ? भनेर होइन कि ? गोविन्दका श्लोकहरू नयाँ पुस्तामा हस्तान्तरण नभएका कारण लोप भएको हो । त्यतिवेला मुसलमानहरूले विवाह भएका र रजस्वला नभएका हिन्दू महिलालाई जबरजस्ती उठाएर लैजाँदैनथे । त्यसैकारण रजस्वला नहुँदै छोरीको विवाह गर्ने परम्परा बसाइयो ।
त्यतिवेला यो परम्परा सुरक्षाका कारण अत्यन्त सान्दर्भिक थियो । रजस्वला नहुँदै छोरीको विवाह गर्नु ठूलो पुण्य र रजस्वला भएकी छोरीलाई घरमा राख्नु ठूलो पाप भनेर हिन्दू धर्मग्रन्थमा उल्लेख गरिनु त्यतिवेलाका लागि आवश्यकता नै थियो । यतिवेला युग फेरिएको छ । तर, धर्मग्रन्थमा उल्लेखित यस्ता प्रावधानहरू अझै च्यातिएको छैन ।
बालविवाह अपराध हो भनेर कानुन बनाइएको छ तर यो कानुन कतिपय समुदायमा अझै कार्यान्वयन हुन सकेको छैन । लुकिछिपी बालविवाह गराउने प्रचलन अझै छ । लोग्ने मरेपछि श्रीमतीलाई जिउँदै जलाएर मार्ने कहालीलाग्दो प्रचलन नेपालमा थियोभन्दा अहिलेको पुस्तालाई आश्चर्य लाग्नु स्वभाविकै हो। जंगबहादुर राणाको मृत्युपछि उनका १० जना रानीहरू सती गएका थिए भन्ने अभिलेख इतिहासमा छ ।
सतीप्रथालाई कानुनतः दण्डित गर्ने परिपाटी चन्द्रशमशेरका पालामा सुरु भएको हो । चन्द्रशमशेरको शासन समाप्त भएको १ सय वर्ष बितेको छैन । तर, अझै पनि हिन्दू पुराणहरूमा सती जानु भनेको ठूलो पुण्य हो भन्ने कुरा संसोधन गरिएको छैन । गरुडपुराणमा भनिएको छ, ‘लोग्नेको मृत्युपछि जुन स्त्री सती जान्न ऊ सात जुनी नरकमा पर्छे ।’
गरुडपुराण नलगाए ‘मृत आत्माले शान्ति पाउँदैन भनिएको छ’ तर गरुडपुराण सुन्न बसेकी मृतककी स्त्रीलाई गरुडपुराणका शब्द शब्दले घोच्ने गर्छ । आफू ठूलो पापमा डुबिरहेको र सात जन्मसम्म नरकमा डुब्नुपर्ने भयका कारण शोकमाथि झन् सन्ताप थप्छ । जिउँदै मान्छेलाई जलाउनु भनेको अपराधको परकाष्टा हो ।
तर, अपराधको यो पराकाष्ठाको पक्षमा पुराण सुनाउँदै हिँड्नेहरूलाई संस्कृति जगाउने नाममा कारबाहीको दायरामा ल्याउन राज्यले सकिरहेको छैन । जुन वेला पाप र धर्मका आडमा मानिसलाई सचेत गराउनुपथ्र्यो त्यतिवेला अनेकन धर्मग्रन्थ तथा विविध परिपाटीको विकास गरियो । त्यो संस्कार कालान्तरमा संस्कृति बन्न गयो ।
संस्कार संस्कृति बन्यो ठिकै हो । तर कुसंस्कार पनि संस्कृति बनेको छ । विभिन्न कुसंस्कृति तथा युगअनुसार व्यवहारमा प्रयोग आउन नसक्ने संस्कारलाई परिमार्जन गर्दै समयसापेक्ष बनाउने राज्यको कर्तव्य हो । समाजका अगुवाहरूको पनि यो कर्तव्य हो । अव्यवहारिक संस्कतिलाई परिमार्जन गरी व्यवहारिक नबनाउने हो भने लोप हुन्छन् ।
उदाहरणका लागि गुरुङ जातिमा परम्परागत विवाह पद्धति लोप हुँदै गएको पाइन्छ । गुरुङ समुदायको परम्परागत विवाह पद्धति निकै झन्झटिलो तथा बोझिलो छ । केटाकेटी कहाँ गएर दुई महिना काम गरेर बस्नुपर्ने र केटीले मन पराइ भने मात्रै विवाहको कार्यक्रम अघि बढाउने संस्कार गुुरुङ समुदायमा थियो ।
यो संस्कारलाई व्यवहारिक रूपमा युग सापेक्ष परिर्वतन गर्दै लैजानुपर्नेतर्फ गुरुङ समुदायले ध्यान दिन सकेन जसका कारण मागी विवाह लोप हुने खतरा बढ्यो । गुरुङ समुदायको अन्त्येष्टि संस्कार पनि बोझिलो थियो, तर यसलाई व्यवहारिक रूपमा परिमार्जन गर्दै लगे । जुन संस्कार तथा संस्कृतिहरू समय अनुकूल परिमार्जन हुँदैनन् तिनीहरूको लोप सुनिश्चित छ ।
संस्कृति बचाउने हो भने कुसंस्कारहरू पूरै त्याग्नुपर्छ र संस्कारहरूलाई युग सापेक्ष व्यवहारिक बनाउँदै लैजानुपर्छ । यतिवेला १३ दिनको मृत्यु संस्कारलाई सात या तीन दिनमा झार्ने मामिलामा विवाद उत्पन्न भएको छ । डा.उपेन्द्र देवकोटाको निधनपछि यो विवाद सतहमा प्रकट भएको छ ।
१३ दिनको मृत्यु संस्कार सात या तीन दिनमा झार्नु हिन्दू धर्म विपरीत रहेको भन्दै एकथरीले अभियान सुरु गरिरहेका छन् । तर, सचेत तथा विद्धत परिवारले भने छोट्याउन थालिसकेको छ । दुई वर्षअघि राजेश्वर देवकोटाको मृत्यु संस्कार तीन दिनमा सम्पन्न गरिएको थियो । कुसंस्कार अन्त्य र संस्कारको परिमार्जनका लागि धार्मिक गुरुहरू नै अग्रसर भए सबैभन्दा उत्तम हुने रहेछ ।
केही दशकअघि योगी नरहरिनाथले छोरीको व्रतबन्ध गर्ने अभियान नै सुरु गरेका थिए । यो अभियानविरुद्ध त्यतिवेला पुरातनवादी पण्डितहरूद्वारा औंला नउठाइएको होइन, तर योगी नरहरिनाथको उचाइका अघि कोही टिकेनन् । उनको यो अभियानकै प्रतिफल हो ।
‘यतिवेला छोरीले पनि बाबुआमाको मृत्यु संस्कार गर्न थालेका छन् ।’ बाबुआमाको काजकिरिया छोरीले गर्नु हुँदैन भन्ने कुसंस्कार अब करिब–करिब हटेको छ । छोराकै पर्खाइमा एक दर्जन छोरी पाउँदा पनि नपुगेर २–३ जना विवाह गर्ने कुसंस्कार हटेको छ ।
प्रतिक्रिया