आज चौथो अन्तर्राष्ट्रिय योग दिवस

 

सौर्य समाचार

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार जुन महिनाको २१ औँ तारिख अर्थात् असार ७ गते बिहीबार देशभर विविध कार्यक्रम गरी चौथो अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन सुरु गरेको हो । अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए । प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाले समर्थन गरेका थिए । यो प्रस्तावलाई हाल विश्वका धेरै देशले समर्थन गरिसकेका छन् ।

संस्कृत भाषाको योग शब्दको अर्थ जोड्नु भन्ने हुन्छ । ‘योगश्चित्तवृत्तिनिरोधः’ अर्थात् मनमा आउने विभिन्न विकारलाई हटाउने प्रक्रियालाई नै योग भनिन्छ । योग दिवसका अवसरमा विभिन्न संघ संस्थाले बिहीबार विविध कार्यक्रमको आयोजना गर्ने भएका छन् । योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्ति लगायतको सकारात्मक गुणको विकास हुन्छ ।

सभामुख कृष्णबहादुर महराको उपस्थितिमा बिहीबार बिहान ६ बजे नेपाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा योग शिविर सञ्चालन गरिने छ । कार्यक्रममा मन्त्रीलगायत विशिष्ट सरकारी अधिकारीको पनि उपस्थिति रहने आयोजक पतञ्जली योग पीठले जनाएको छ ।

यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आयुर्वेद विभागको आयोजनामा बिहान ६ बजे स्वास्थ्य सेवा विभाग टेकुबाट र्यारली सुरु गरिने आयुर्वेद विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले जानकारी दिए । र्यारलीमा विद्यार्थी, कर्मचारी, सर्वसाधारणलगायतको सहभागिता रहने छ । मन्त्रालयमा आएपछि योग अभ्याससहितको विशेष कार्यक्रमको आयोजना गरिने जनाइएको छ । कार्यक्रमलाई उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सम्बोधन गर्ने कार्यक्रम छ ।

योग दिवस मूल आयोजक समितिका तर्फबाट शिक्षा मन्त्रालयले दिउँसो साढे एक बजे प्रज्ञा प्रतिष्ठानमा विचार गोष्ठीको आयोजना गरेको छ । गोष्ठीमा नेपाल संस्कृत विश्वविद्यालय योग विभाग प्रमुख डा. हरिप्रसाद पोखरेल, आचार्य पथिक, सोनाम साथी र स्वामी आनन्द अरूणले प्रवचन दिनुहुने मन्त्रालयका प्रवक्ता सूर्यप्रसाद गौतमले जानकारी दिए । कार्यक्रम कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा हुनेछ ।

नेपालको अमूल्य निधिका रूपमा रहेको योग, प्राणायाम, आयुर्वेद र जडिबुटीको विकास एवं विस्तार गरी हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै स्वस्थ, समुन्नत र समृद्ध बनाउने अभियानका साथ योग दिवसको कार्यक्रम गर्न लागिएको हो । योगको उत्पत्ति नेपाली भूमिमै भएको विश्वास गरिन्छ । भगवान् शिवले पत्नी पार्वतीलाई पहिलोपटक योग शिक्षा दिएको विभिन्न शास्त्रीय वर्णन पाइन्छ ।

शिव र पार्वतीबीचको संवादलाई प्रचारप्रसार गरी योग संसारभर फैलिएको थियो । बीचमा लुप्तप्रायः भए पनि पछिल्लो समयमा अन्तर्राष्ट्रिय एवं राष्ट्रिय योग दिवस मनाउन थालेपछि यसको पुनर्जागरण भएको छ ।

प्रतिक्रिया