राजधानीमा हैजाका बिरामी

सौर्य समाचार

काठमाडौं । संघीय राजधानीमा हैजाका बिरामी फेला परेका छन् । झाडापखाला लागेर राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराउन आएका एक बिरामीमा हैजाको जीवाणु देखिएको हो । ती बिरामीको नमुनालाई हामीले पटकपटक परीक्षण ग¥याँै अस्पताल स्रोतले भन्यो, ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुनः परीक्षण गर्दा पनि हैजाकै जीवाणु भएको प्रमाणित भएको छ ।’ सामान्यतया यो हैजा देखिने मौसम होइन र यसअघि अहिलेको मौसममा कहिल्यै पनि हैजाका जिवाणु फेला परेका थिएनन् ।

‘करिब ५० वर्षको अवधिलाई हेर्दा सामान्यतया मुलुकमा हैजा अबको डेढ–दुई महिनापछि मात्र देखिनुपर्ने हो’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा.शेरबहादुर पुनले भने, ‘यसपटक भने समयभन्दा पहिले नै हैजा देखिएकाले खानपानमा विशेष चनाखो हुन आवश्यक छ ।’ उपत्यकामा हरेक वर्ष हैजाका जीवाणु फेलापर्ने गरेको छ । अनियन्त्रित रूपमा चौलानीजस्तो पातलो दिसा हुने रोगलाई बोलीचालीमा झाडापखाला भनिन्छ भने रोगीको पखालामा ‘ब्याक्टेरियम भिब्रियो कोलेरी’ नामक जीवाणु देखियो भने त्यसलाई हैजा भनिन्छ । भिब्रियो कोलेरीबाट संक्रमित दूषित खाना वा पानी खाँदा कुनै पनि व्यक्तिलाई हैजा हुन सक्छ । हैजा सरुवा रोग हो ।

चिकित्सकका अनुसार महामारीमा हैजा संक्रमित व्यक्तिको दिसाबाट अन्य व्यक्तिमा फैलिन्छ । हैजा लागेमा धेरै मात्रामा वान्ता र पखाला हुनाले शरीरमा भएको पानी निस्किन्छ र बिरामी निकै कमजोर भएर जान्छ । शरीरमा पानीको मात्रा र खनिज तथा लवणको तत्काल आपूर्ति नभएर बिरामीको मृत्युसमेत हुने गर्दछ । समयमै उपचार यसको एक मात्र उपाय भएको चिकित्सकको भनाइ छ ।

हैजाको सुरुआत पखाला र वान्ताबाट भए पनि समयमै उपचार नभए ज्यानै जान सक्ने औँल्याउँदै डा. पुनले भने, ‘शरीरमा हैजाको जीवाणु भित्रिएपछि प्यास बढी लाग्छ, नाडी मन्द हुन्छ, पिसाब कम आउँछ र मानिस बेहोस हुन सक्छ ।’ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार हैजाका जीवाणु शरीरमा प्रवेश गरेको दुई घण्टादेखि पाँच दिनसम्ममा रोगको लक्षण देखिन सक्छ । रोग नियन्त्रणका लागि पानी र खानपानमा बढी ख्याल गर्न चिकित्सकले सुझाव दिएका छन् ।

प्रतिक्रिया