पृथ्वीमा भूकम्प नगएको दिनै हुँदैन । ससाना हलचल दिनहुँ भइरहन्छन् । जापान विश्वकै बढी भूकम्प जाने देशमा चिनिन्छ । चार रिक्टर स्केलसम्मको भूकम्पीय धक्का मात्र बाहिर आउने गर्दछन् । यसभन्दा कम रिक्टरका भूकम्पले कुनै असर नगर्ने हुनाले खासै बाहिर ल्याएको पाइँदैन । नेसनल अर्थक्विक इन्फरमेसन सेन्टरले दिएको तथ्यांकअनुसार सन् १९६० मे २२ मा चिलीमा गएको ९ दशमलव ५ रिक्टर स्केलको भूकम्प नै विश्वको शक्तिशाली भूकम्पको रूपमा रहेको छ ।
त्यस्तै विश्वका अन्य देशजस्तै नेपाल पनि भूकम्पीय जोखिममा रहेको देश मध्ये एक मानिन्छ । भारतीय प्लेट र तिब्बतीयन प्लेटका कारणले नेपाल भूकम्पीय जोखिममा रहेको विज्ञहरूको विश्लेषण रहेको छ । यसै कारण नेपालमा ससानादेखि ठुल्ठूला भूकम्पहरू नेपालमा बारम्बार आइरहेका छन् । जसले लाखौँ जनधनको नोक्सान भइरहको छ । भूकम्पको इतिहास केलाउँदा हरेक ८० देखि सय वर्षमा नेपालमा ठूला भूकम्प गएको देखिन्छ । १२१८ साल असार शुक्ल तृतीय सोमबारका दिन गएको भूकम्पलाई नेपालको पहिलो विनाशकारी भूकम्प मानिन्छ ।
यो भन्दा पहिले पनि गएका थिए होलान् त्यसको इतिहास भेटिँदैन । त्यस समयमा भूकम्पको मापन गर्ने कुनै यन्त्र नभएकाले कति रिक्टरको गयो भन्ने कुनै वैज्ञानिक आधार छैन । तर, त्यतिखेर भएको क्षतिको अनुमानका आधारमा विज्ञहरूले ७ दशमलव ७ रिक्टरको हुनसक्ने अनुमान गरेका छन् । यो भूकम्को पराकम्प एक महिनासम्म गएको भनिएको छ । यस भूकम्पले तत्कालीन राजा अभय मल्लको निधन हुनका साथै कैयौँ सर्वसाधारणको मृत्यु भएको थियो । धेरै मन्दिर र पुरातात्विक सम्पदा ध्वस्त हुन पुगेका थिए ।
मानिसहरू एक महिनासम्म सहर बाहिर गएका थिए । त्यस्तै १३१६ सालमा अर्काे शक्तिशाली भूकम्प गएको थियो । धेरै मानिसको मृत्यु भएको, महामारी फैलिई अनिकाल परेको कुरा उल्लेख भए पनि कति क्षति पु¥याएको, कति मानिस मरेका थिए भन्ने कुनै आँकडा फेला परेको छैन । काठमाडौंलाई केन्द्रविन्दु बनाएर १४६५ सालमा अर्काे भूकम्प गएको इतिहास छ । यस भूकम्पमा परी रातो मच्छिन्द्रनाथको मन्दिर पूरै भत्किएको थियो । यसवेला काठमाडौंका अधिकांश मठमन्दिर र घरहरू भत्केका थिए ।
इतिहासविदका अनुसार यो भूकम्पले ठाउँठाउँमा जमिनमा धाँजा फाट्नुका साथै पानीका पूराना मूल सुकेर नयाँ स्थानमा पलाएका थिए । त्यसैगरी १७३७ सालमा गएको अर्काे भूकम्पले त्यस समयमा राजा श्रीनिवास मल्ल घाइते भएका थिए । काठमाडौं नै केन्द्रविन्दु भएको यस भूकम्पका कारण धेरै धनजनको क्षति हुन पुगेको थियो । तर, अन्यको तुलनामा कम नै क्षति भएको मानिन्छ । एकैदिनमा २१ पटकसम्म भूकम्पको धक्का १८२४ असार १ गतेका दिन गरिएको थियो । हालसम्म यसले पु¥याएको धनजनको क्षतिको अभिलेख भेटिएको छैन ।
तर, २१ पटकसम्मको भूकम्पको धक्काले पक्कै पनि धेरै धनजनको नोक्सान भएको अनुमान भने लगाउन सकिन्छ । १० जेठ १८६७ मा अर्काे भूकम्प गएको थियो । यस भूकम्पका परी काठमाडौं उपत्यका धेरै घर तथा मठमन्दिरहरू नष्ट भएका थिए । सबैभन्दा बढी क्षति भक्तपुरमा भएको थियो । १८८० सालको यमपञ्चकमा पनि भूकम्प गएको थियो । यस दिन पनि १७ पटकसम्म भूकम्पको धक्का महसुुस भएका थियो । यसले पनि ठूलै विपत्ती ल्याए पनि कुनै क्षतिको आधिकारिक तथ्यांक भने छैन । काठमाडौंमा अर्काे भूकम्प १२ भदौ १८९० मा साँझ ६ बजेतिर गएको थियो ।
यसको पाँच घण्टापछि करिब ११ बजे अर्काे भूकम्प गयो । यसले राजा प्रजा सबैलाई खुलाचौरमा वास गराउन वाध्य पारेको थियो । राजाहरू भण्डारखालमा र सर्वसाधारण टुँडिखेलमा रात बिताएका थिए । काठमाडौंमा रहेका दुई ओटा धराहरामा एउटा पुरै त अर्काे केही आधा भत्किएको थियो । यस भूकम्पका भक्तपुर, ठिमी, साँखु र बनेपा सहर बढी प्रभावित भएका थिए । एक महिना नबित्दै १८९० कै असोज १० गते राती अर्काे भूकम्प गयो । एक महिना अगाडि नभत्केर बाँकी रहेका संरचनालाई यसले भत्काइदियो ।
यो घाउ सेलाउन नपाउँदै १८९१ असार र असोजमा पनि भूकम्प गएको थियो । पानीसमेत परेका कारण बागमतीमा बाढीसमेत आएको थियो । १९९० माघ २ मा गएको भूकम्पलाई नेपालको भूकम्प इतिहासमा सबैभन्दा ठूलो विनाशकारी भूकम्प मानिन्छ । संखुवासभाको चैनपुर केन्द्रविन्दु भएको ८ दशमलव ४ रिक्टर स्केलको भूकम्पले देशलाई तहसनहस बनाएको थियो । अभिलेखअनुसार उक्त भूकम्पमा परी ८ हजार ५ सय १९ जनाको मृत्यु भएको थियो । काठमाडौं उपत्यकामा मात्र करिब ४ हजार ५ सय जनाले ज्यान गुमाएका थिए भने करिब १ लाख मानिस घाइते भएका थिए ।
करिब २ लाख ७ हजार भौतिक संरचना भत्किएका थिए । धरहरा तथा घण्टाघर क्षतिग्रस्त भएका थिए । सात लाखभन्दा बढी मानिस बेघरबार भएका थिए । खानेपानीको आपूर्ति बन्द हुनुका साथै ५० प्रतिशत पुल ध्वस्त भएका थिए ।बझाङ जिल्लालाई केन्द्रविन्दु बनाएर ६ दशमलव ४ रिक्टर स्केलको भूकम्प २०३७ सालमा गएको थियो । यसले सुदूरपच्चिमका बैतडी, बाजुरा र दार्चुला जिल्ला बढी प्रभावित भएका थिए । करिब २ हजार ५ सय घर ध्वस्त हुनुका साथै १ सय २५ जना मानिस मरेका र २ सय ४८ घाइते भएका थिए । ०४५ भदौ ५ गते बिहान पौने ५ बजे अर्काे शक्तिशाली भूकम्को धक्का महसुस भयो ।
उदयपुरलाई केन्द्रविन्दु बनाएर एगएको ६ दशमलव ७ रिक्टर स्केलको भूकम्पमा परी करिब ८ सय जनाको ज्यान गएको थियो । करिब ७ हजार घर भत्किएका थिए । यसले नेपालको पूर्वीभागलाई बढी प्रमावित पारेको थियो भने उपत्यकालाई आंशिक असर पारेको थियो । भारतको सिक्किम केन्द्रविन्दु बनाएर गएको ०६८ साल असोज १ गते गएको ६ दशमल ९ रिक्टर स्केलको भूकम्पले नेपालमा धेरै नोक्सान नगरे पनि ५ जनाको मृत्यु हुनाको साथै ३० जनाभन्दा बढी घाइते भएका थिए ।
तीन वर्ष अगाडि ०७२ वैशाख १२ शनिवार दिउँसो ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७ दशमलव ८ रिक्टर स्केलको भूकम्पले धेरै जनधनको नोक्सान पुर्यायो । ८ हजार ५ सय ५६ जनाको ज्यान गयो भने २२ हजार ३ सय ९ जना घाइते भएका थिए । २ हजार ६ सय ७३ सरकारी भवनहरू पूर्ण क्षति, ३ हजार ७ सय ५७ वटा सरकारी भवनमा आंशिक क्षति भएको थियो । ६ लाख २ हजार २ सय ५७ वटा सर्वसाधारणका घर पूर्ण क्षति हुनुका साथै २ लाख ८५ हजार ९९ वटा आंशिक क्षति भएका थिए । यस भूकम्पका परी उपत्यकाका तिनै सहरका मठमन्दिरलगायत धरहर पूर्ण रूपमा ध्वस्त भएका छन् ।
जसको पुनर्निर्माण कार्य भइरहको छ । यस भूकम्पपछि लगत्तै १३ र २९ गते गएको ठूलो पराकम्पले सिन्धुपाल्चोक र दोलखा जिल्लालाई झन् प्रभावित पारेको थियो । यस भूकम्पपश्चात् नेपाल सरकारले पुनर्वासका लागि भूकम्प प्रवावितलाई तीन लाख रूपैयाँको आर्थिक सहायता घोषणा गरेको थियो । यसरी हेर्दा नेपाल उच्च भूकम्पीय जोखिममा रहेको देखिन्छ । यसबाट बच्ने उपाय र न्यून धनजनको जोखिमका लागि आवश्यक पूर्व तयारी गर्नु नै आजको आवश्यकता देखिन्छ । (विकिपिडियाको सहयोगमा)
प्रतिक्रिया