पत्रकारिता र समाजः नेपाली सन्दर्भ

‘एकै साथ पत्रकार र दलगत प्रतिनिधि बन्नु विरोधाभाषपूर्ण हुन्छ । वास्तविक पत्रकार बन्नु भनेकै पार्टीको होइन आम जनताको प्रतिनिधि बन्नु हो ।‘

-मोहन नेपाली  स्रोतहरूले दिएका विवादास्पद सूचना, आधिकारिक स्रोतहरूप्रति पहुँचको समस्या तथा पत्रकारहरूका आफ्नै आर्थिक संकट, नैतिक तथा मानसिक विकासको स्तरजस्ता पक्षहरूले समाचार सम्प्रेषणमा प्रभाव पार्नु स्वाभाविकै हो । तर, पत्रकारहरूलाई शत्रुको रूपमा गालीगलौज गर्दै हिँड्नु कदापि उन्नत संस्कृति मानिदैन ।

बरु, पत्रकारहरूको सूचना सम्प्रेषण सम्बन्धी काममाथि तर्कसंगत समालोचनात्मक विश्लेषण गरी पत्रकारिता क्षेत्रलाई थप विकसित र जिम्मेवार बनाउन सहयोग पु¥याउनु बुद्धिमानी हुन्छ । यदि १० बर्षे द्वन्द कालमा नेपाली पत्रकारहरूले बन्दुकको स्तुतिगान मात्रै गरेर बसेका भए त्यतिखेर जति जनधनको क्षति भयो त्यसको हजारौँ गुणा बढी क्षति हुने सम्भावना थियो ।

नेपाली पत्रकारहरूले आ–आफ्नो क्षमता र विवेकअनुसार गरेको कामले नै विश्वका द्वन्दरत कैयौँ मुलुकहरूमा झैँ लाखौँको संख्यामा नरसंहार यहाँ हुन पाएन । बुद्धभूमिमा १० वर्षमा १५ हजारको हाराहारीमा नेपालीहरू मारिनु निकै ठूलो क्षति हो, जसको घाउले नेपाली समाजलाई लामो समयसम्म असर गर्नेछ ।

०६३ मा शान्ति प्रक्रियाको औपचारिक थालनीपछि पनि नेपालमा साम्प्रदायिक हिंसाको आगो लगाउने धेरै प्रयास भएकै हुन्, जात, धर्म र क्षेत्रको बहानामा । विश्वका अन्य मुलुकका पत्रकारहरूमा झैं नेपाली पत्रकारहरूमा पनि राजनीतिक, आर्थिक र सामाजिक पृष्ठभूमि र रुझानमा आधारित आ–आफ्नै किसिमको मनोढाँचा र राजनीतिक दृष्टिकोण हुनु स्वाभाविक हो ।

तैपनि, समग्रतामा नेपाली पत्रकारहरूले परम्परागत शैलीमै पत्रकारितालाई अगाडी बढाइरहँदा पनि साम्प्रदायिक हिंसालाई सचेततापूर्वक निरुत्साहित पार्ने ढंगले नै काम गरेको तथ्यलाई नजरअन्दाज गर्न सकिन्न । यस सम्बन्धमा द्वन्द–संवेदनशील पत्रकारिताको अभ्यास गर्दा समाजका राजनीतिक, सामाजिक तथा संस्कृतिक पक्षहरूसंग पर्याप्त मात्रामा अवगत हुनु आवश्यक छ ।

गुदी कुरा के हो भने वेलाबखतमा जानीनजानी हुने त्रुटिका बावजुद नागरिकका मौलिक हक तथा मानव अधिकारका पक्षमा नेपालीपत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण छ । पत्रकारहरू जन–जीवनमा महत्व राख्ने विषयवस्तुबारे यथासम्भव ताजा तथ्यहरूको खोजी र संकलन गर्छन्, मापदण्ड बमोजिमको ढाँचामा लेख्छन् र जनसमक्ष प्रस्तुत गर्छन् ।

पत्रकारहरूको आफ्नै विषयगत गहनता, विश्लेषणात्मक क्षमता, भाषागत दक्षता एवं जनसम्पर्कको खुबीजस्ता केही गुणहरूले पनि उनीहरूले खोजेर दिने सूचनाको गुणस्तरमा प्रभाव पार्छन् । त्यसैले, पत्रकारका क्षमता वृद्धिसम्बन्धी कार्यक्रमहरू नियमित प्रक्रियाकै रूपमा जारी रहन्छन् । तर, पत्रकारको क्षमता वृद्धि पनि समाजको क्षमता वृद्धिसँग सम्बन्धित हुन्छ ।

विद्यालय, कलेज, विश्वविद्यालय तथा कार्यस्थलमा जनता राम्ररी खारिने रणनीतिक वातावरण उपलब्ध छ भने उनीहरूमा समालोचनात्मक एवं विश्लेषणात्मक सामाजिक मनोविज्ञानको निर्माण हुन जाँदा त्यसको उर्वर प्रभाव पत्रकारहरूको पुस्तामा पनि पर्न जान्छ । यस प्रकार, पत्रकारिता र सामाजिक मनोविज्ञान निरन्तर एकार्कालाई प्रभावित पारिरहेका हुन्छन् । कुनै पनि मानव र मानवद्वारा सञ्चालित संस्था आलोचना बाहिर हुँदैन भने कुरा जगजाहेर नै छ ।

त्यसैले, अन्य व्यक्तिहरू र संस्थाहरूका बारेमा झैँ आम सञ्चारका माध्यमहरूका बारेमा पनि तथ्य र कामको परिणामका आधारमा टिकाटिप्पणी हुनुलाई स्वाभाविकरूपमा लिनुपर्दछ । आफ्ना मनमा परेका छापहरू, विश्वासहरू र अवचेतन मनमा स्थापित लतहरूमा आधारित दृष्टिकोण बमोजिम नै मानिसहरूमा फरक फरक धारणाहरू बन्छन् र मानिसहरूबीच भिन्नताको सिर्जना हुन्छन् ।

यसैलाई मानव समाजको अन्तर्निहीत द्वन्द भनेर बुझ्न सकिन्छ । समाजका मानिसहरूले पत्रकारितासम्बन्धी भिन्दाभिन्दै धारणा बनाउनु सामान्य हो । यो पत्रकारिता र समाजबीचको अकाट्य सम्बन्धको द्योतक हो । पत्रकारिता र समाजबीच अक्षुण सम्बन्ध भएकोले नै वर्तमान युगमा एउटाको अस्तित्वविना अर्कोको अस्तित्व कल्पना गरिन्न । यस हिसाबले, पत्रकारिता र समाज एकले अर्कोलाई हेर्ने दुई आँखा हुन् ।

समाजले आफ्नो अनुहार पत्रकारिताको ऐनामा हेर्दछ भने पत्रकारिताले आफ्नो मुहार समाजको ऐनामा हेर्दछ । एकातिर, पत्रकारिताले समाजबाट प्राप्त कच्चा पदार्थलाई प्रशोधन गरी समाजलाई नै वितरण गर्दछ भने, जसको कारण समाजले पनि प्रशोधित हुने मौका पाउँछ । अर्काेतिर, समाजले पनि पत्रकारितालाई प्रशोधन गर्छ । यसरी, पत्रकारिता र समाज एक अर्काका परिपूरक क्षेत्रहरू हुन् । समाजले नै पत्रकारहरूको उत्पादन गर्छ ।

समाज नै पत्रकारहरूको लागि खारिने र माझिने ठूलो विश्वविद्यालय र प्रयोगशाला पनि बन्न सक्छ । यस्तै, पत्रकारहरूले पनि गुणस्तरीय सूचना उत्पादन र वितरण गरी समाजलाई रूपान्तरण गर्न भूमिका खेल्न सक्छन् । नेपाली पत्रकारहरूले पत्रकारिताका बाहिरी र परम्परागत रूप तथा ढाँचामा सीमित भई यसको सार पक्षमा गहिरिन सकेनन् भने समाजको हरेक पुस्ताले पत्रकारिता क्षेत्रलाई ज्यादै सतही ढंगले बुझ्नुका साथै विषयवस्तुका हिसाबले केवल प्रचारात्मक व्यवसायको रूपमा ग्रहण गर्नेछन् ।

समकालीन नेपाली समाजले यदि पत्रकारितालाई खास गरी प्रचारात्मक व्यवसायको रूपमा बुझे भने यसबाट स्वयं पत्रकारहरूको पुस्ताको दृष्टिकोण निर्माणमा समेत प्रतिकूल प्रभाव पर्नेछ । तसर्थ, समाजका अन्तर्निहीत समस्याहरू, तिनका कारणहरू र परिणामहरूलाई वस्तुगत रूपले उजागर गर्नुपर्ने पत्रकारिताको सैद्धान्तिक दायित्वलाई मूलतः जोड दिनु उचित देखिन्छ । सही पत्रकारिता र लोकतन्त्र एक अर्कालाई गतिशील बनाउने शक्तिहरू हुन् ।

आम मानिसहरू एकैपटक धेरै ठाउँहरूमा पुग्न सम्भव हुन्न । उनीहरूले अनेक प्रकारका सूचनाका स्रोतहरूप्रति पनि पहुँच राख्न सक्तैनन् । तर पत्रकारिता क्षेत्रले आफ्नो विशिष्ट दायित्वकै रूपमा विविध ठाउँहरू र स्रोतहरूबाट सार्वजनिक महत्वका ताजा सूचना ल्याएर प्रविधिको प्रयोगद्वारा आम मानिसहरू समक्ष प्रस्तुत गरिदिन्छ । फलस्वरूप, एकै ठाउँमा बसी बसी मानिसहरू विविध विषयबारे अवगत हुन्छन् र वादविवाद गर्नुका साथै आ–आफ्ना धारणा र विश्लेषण बनाउन सक्ने हुन्छन् ।

मुख्यतः जनताका मुद्धाहरूको प्रतिनिधित्व गरेर नै पत्रकरिता क्षेत्रले आफ्नो औचित्य पुष्टि गरेको हो । बहुसंख्यक जनताका जीवनमा महत्व राख्ने विषयवस्तुलाई सिद्धन्ततः पत्रकारिताले समेट्ने कारणले यसलाई स्थायी रूपमा जनताको प्रतिनिधित्व गर्ने क्षेत्रको रूपमा गणना गरिन्छ । संसद नै नभएको बेलामा पनि पत्रकारहरूले जनप्रतिनिधिको भूमिका निर्वाह गरिरहेका हुन्छन् । त्यसैले, एकै साथ पत्रकार र दलगत प्रतिनिधि बन्नु विरोधाभाषपूर्ण हुन्छ ।

वास्तविक पत्रकार बन्नु भनेकै पार्टीको होइन आम जनताको प्रतिनिधि बन्नु हो । प्रायशः सञ्चार माध्यमले सार्वजनिक गरेका महत्वपूर्ण सूचनाकै आधारमा विभिन्न दलका निर्वाचित संसदहरूले संसदमा आवाज उठाउने गर्छन् । यसप्रकार, निर्वाचित दलीय प्रतिनिधिहरूले समेत पत्रकारितामार्फत प्रशस्त खुराक प्राप्त गर्ने गरेको तथ्य स्पष्ट छ । सूचना तथा सञ्चार प्रविधिले सुसज्जित वर्तमान दुनियाँमा सूचना सम्प्रेषण गर्ने माध्यमको संख्यामा भारी वृद्धिका बावजुद आम मानिसको मानसिक सतहीकरण एवं स्थूलीकरण पनि डरलाग्दो समस्याको रूपमा विश्वभरि विस्तार भइरहेको छ, जुन नेपालकै सन्दर्भमा पनि त्यत्तिकै सत्य हो ।

नेपालजस्तो सांस्कृतिक उपनिवेशको लागि उर्वर प्रयोगशाला मानिने देश मानसिक सतहीकरण र स्थूलीकरणको समस्याबाट झन् बढी पीडित हुनु स्वाभाविक हो । बजार अर्थतन्त्रको राप र चापको बीचमा नेपाली समाजलाई मानसिक रूपले समालोचनात्मक र विश्लेषणात्मक ढंगले तिखार्न नेपाली पत्रकारहरूले विषय वस्तुको प्रकृति र गुणस्तरलाई विशेष ध्यान दिनु सार्थक हन्छ । पत्रकार एकातिर र समाज अर्कोतिर रहेर यान्त्रिक ढंगले मात्र काम गर्ने मनोबनोट संस्थागत र सुदृढ भयो भने समाज सुसूचित भन्दा कुसूचित हुने खतरा बढ्छ ।

समाजको वस्तुगत विश्लेषण गरेर नै पत्रकारिता फाँटले आफ्नो रणनीतिक दायित्व निर्वाह गर्न सक्छ । नत्र, विकृति र बेथितिहरू व्यापकरूपमा फैलिरहने र प्रतिक्रियामुखी सूचना सम्प्रेषण गरिरहने परम्परा कायमै रहने छ । पत्रकार र समाज बीचको सम्बन्धलाई व्यावसायिक दृष्टिकोणबाट मात्र नहेरी मानवीयता, सामाजिक न्याय तथा मानवअधिकारको कोणबाट समेत आत्मसात गर्नु आवश्यक छ । उत्साहजनक नै मानुपर्छ कि नेपाली पत्रकारिता आज शासकहरूको कथनमा मात्रै सीमित नभई विषयवस्तु र नीतिगत खोतलखातलतर्फ क्रमशः अगाडी बढ्दै छ ।

सरोकारवाला पक्षहरूले आफ्नो समाजको वस्तुवादी विश्लेषण गरी ठोस नीति निर्माण गर्न आवश्यक सूचना प्राप्त गरुन् भन्ने हेतुले नीतिगत समाचार र विश्लेषणलाई पर्याप्त ठाउँ दिनु उचित हुन्छ । नेपालमा चैत्र ०७४ सम्ममा ८ सय ५७ वटा एफ. एम. रेडियो स्टेसनहरू तथा १२३ वटा टिभी च्यानलहरूले लाइसेन्स प्राप्त गरेका छन् ।

हजारौँ पत्रपत्रिका तथा अनलाइन पोर्टलहरूसमेत दर्ता भएको सन्दर्भलाई विचार गर्दा सञ्चारका माध्यमका लागि हामी धनी छौँ भन्ने अर्थ लाग्छ । अब, क्रियाशील सञ्चार माध्यममा कार्यरत पत्रकारहरूको क्षमता वृद्धि गर्ने र उनीहरूलाई नेपालको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणतर्फ परिचालन गर्ने प्रश्नलाई रणनीतिक एवं योजनाबद्ध ढंगले सम्बोधन गर्नुपर्दछ ।

प्रतिक्रिया