काठमाडौं । विभिन्न जिल्लामा फरकफरक रहेको एम्बुलेन्स सेवाको आपतकालीन नम्बरलाई एउटै बनाउने भएको छ । बिरामी भएर परेको समस्या एकातिर र समयमै एम्बुलेन्स नपाइने समस्या अर्कोतिर हुँदा र विभिन्न नम्वरमा फोन गर्नुपर्ने बाध्यतालाई हटाउन नेपाल एम्बुलेन्स सर्भिस (नास) ले सबै एम्बुलेन्स एउटै टेलिफोन सेवामार्फत उपलब्ध गराउने भएको हो । स्वास्थ्य मन्त्रालय र नेपाल एम्बुलेन्स सर्भिस (नास) बीच आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा (एमओयु) करिब डेढ महिनाअघि सम्झौता भएको छ ।
सम्झौतापछि नासले काठमाडौं उपत्यका, चितवन, पोखरा र बुटवलबाट १० वटा एम्बुलेन्स सेवा सुचारु गरिसकेको छ भने सेवा दिनका लागि एउटै नम्बर १०२ छुट्याएको छ । काठमाडौ उपत्यकाका हकमा सेवाग्राहीले सेवा लिँदा ६ सय ५० रुपैयाँ लाग्नेछ । चितवनबाट काठमाडौं आउने वा काठमाडौंबाट चितवन जानको लागि ८ हजार ५ सय लाग्ने नासका प्रमुख सञ्चालन अधिकृत (चिफ अपरेटिङ अफिसर) अमित जोशीले बताए ।
नासले देशभर फैलिएर रहेका स्वास्थ्यचौकी, अस्पताल, हेल्थकेयर संस्थाहरूमा सञ्चालन हुने एम्बुलेन्स सेवाहरूको एउटै नम्बर १०२ प्रयोगमा ल्याउने जानकारी दिए । १०२ बाट सञ्चालन भएका चार वटा एम्बुलेन्स काठमाडांै उपत्यकामा छन् भने चितवनमा एक, पोखरामा दुई र बुटवलमा एक वटा रहेको छ । दुई वटा भने तयारी अवस्थामा राखिएको छ । ‘हामी भक्तपुर वा बनेपामा एउटा एम्बुलेन्स राख्ने तयारीमा छाैँ ।’
उनले भने, बाँकी रहेको अर्को एम्बुलेन्स कुनै विग्रेको खण्डमा प्रयोगका लागि जोगाएर राख्छौँ ।’ उक्त एम्बुलेन्सभित्र प्यारामेडिक्ससहित, (एडि) अटोमेटिक डेफ्लेटर, इसिजी मनिटर र औषधिहरू उपलब्ध हुनेछन् । नासका अनुसार पोखराबाट काडमाडौंको लागि करिब १५ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ । ‘सकेसम्म चाँडै सबै एम्बुलेन्सका लागि १०२ नम्बर प्रयोगमा ल्याउँछौँ ।’ जोशीले अगाडि भने, ‘हामीले जिपिएस सिस्टम बनाएका छौँ ।
अफिसमै बसेर कुन एम्बुलेन्स कहाँ छ र के गर्दै छ, कतिको स्पिडमा कुदेको छ, सबै हेर्छौं यस्तो हुँदा हामीले भनेकै समयमा जुनसुकै ठाउँमा सेवा दिन सक्छौँ ।’ एम्बुलेन्स निर्देशिका २०७३ को बुँदा १२ मा स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स सञ्जालका लागि देशभर एउटै नम्बर हुनुपर्ने व्यवस्था उल्लेख गरेको छ । चिकित्सा महाशाखा प्रमुख डा. दीपेन्द्ररमन सिंहले नेपालमा हाल लगभग १४ सय ५० एम्बुलेन्स रहेकोे जानकारी दिए ।
‘१०२ नम्बरले एम्बुलेन्स समस्या हट्दै जान्छ, उनले भने, भर्खरै नाससँगको सहकार्यमा एम्बुलेन्सलाई एउटै नम्बरमा ल्याउने भएका छौँ केही एम्बुलेन्स अहिल्यै ल्याएका छाँै विस्तारै सबै एम्बुलेन्स यस्तै प्रणालीमार्फत हामी अगाडि बढ्छौँ र सेवा दिन्छौँ ।’
प्रतिक्रिया