‘विश्वमा जनसंख्याको चाप गणितीय रूपमा वृद्धि भएको छ तर जमिन भने एक इन्च पनि बढ्नेवाला छैन । बरु जमिन भने दिनहुँ घट्दो रूपमा रहेको छ । यसले गर्दा प्राकृतिक सम्पदा र वातावरणमाथि आक्रमण र असन्तुलन बढिरहेको छ ।‘
प्रत्येक सालको अप्रिल २२ का दिन विश्व पृथ्वी दिवस मनाइन्छ । सर्वप्रथम सन् १९७० को अप्रिल २२ तारिखमा अमेरिका एक्लैले पहिलोपटक यो दिवस मनाएको थियो । अमेरिकी सिनेटर जेराल्ड नेल्सनको अगुवाइमा पर्यावरण शिक्षा कार्यक्रमका रूपमा यो दिवस मनाइएको थियो । अमेरिकाले यो दिवस मनाएको हालसम्म ४८ वर्ष भइसकेको छ । पृथ्वीमा मानवले गर्ने विनासकारी कारणले गर्दा नै वातावरण विग्रेको देखेर अमेरिकाले यो दिवस मनाउन थालेको हो ।
पृथ्वीको बढ्दो उष्णीकरण , ओजोन लेयर पातलिने स्थिति ब्ल्याक होल , अम्लवर्षा, हिमाल पग्लन थाल्नुजस्ता परिणाम भोग्न मानव समुदाय बाध्य भएपछि यसका कारक तत्वहरूबारे अनुसन्धान हुन थाले । यी कुराहरूलाई मध्यनजर गरी सन् १९९२ जुनमा ब्राजिलको रियोडि जेनेरोमा पृथ्वी शिखर सम्मेलन भयो । जसले मौसम परिवर्तनका कारक तत्वहरूको नियन्त्रण जैविक विविधताको संरक्षण र एजेन्डा २१ जस्ता महत्वपूर्ण सिद्धान्त प्रतिपादन र कार्यान्वयनका लागि घोषणा गर्याे ।
राष्ट्रसंघको निर्णयपछि हाल विश्वका एकसय ९२ भन्दा बढी देशहरूले यो दिवस भव्यताका साथ मनाउँन थालेका छन् । सन् २००९ मा राष्ट्रसंघको ६३औँ महासभा बैठकले अप्रिल २२ को दिनलाइ विश्व पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । मौसमको यो ध्रुवीय फरक अनि विविधताको अवसरमा पृथ्वी दिवसको मिति तोकिएको छ । यसै क्रममा यो दिवस मनाउनुको मुख्य तात्पर्य भने संसारमा बढ्दो वातावरणीय प्रदूषणका कारण यो दिवस मनाउन थालिएको हो ।
हरेक अप्रिल २२ का दिन पृथ्वीको उत्तरी गोलाद्र्ध वसन्त र दक्षिणी गोलाद्र्ध शरदको मौसमयुक्त हुने गर्द छ । यसरी पृथ्वीको सिर्जना साढे चार अर्ब अघि भए तापनि करिब डेढ अर्ब वर्षसम्म यसमा कुनै पनि जीवजन्तुको उत्पत्ति हुन सकेन । केही समयपछि मात्र एक कोशीय जीवको अस्तित्वका साथै चालिस लाख वर्ष जति अघि मानिसको उत्पत्ति भएको मानिन्छ । यिनको उत्पत्ति, विकास र अन्त्य पनि यही प्रकृतिमै हुन्छ ।
त्यसैले एक अर्काको अस्तित्व र सम्बन्ध अन्योन्याश्रित रहेको छ । प्रकृतिका सन्ततिहरूमध्ये मानिस सर्वश्रेष्ठ उपहार हो । र यसको सम्बन्ध प्रकृतिसँग अरूको भन्दा गहिरो र व्यापक सम्बन्ध छ । आजको एक्काइसौँ शताब्दीको खुड्किलोमा जनसंख्या वृद्धि धेरै जटिल समस्याहरू जन्म भएको छ । यसको असर सोझै प्रकृतिमा पर्न गई वातावरणीय असन्तुलनको स्वरूपको रूपमा आज यसले मानव जातिलाई नै ठाडै चुनौती दिइरहेको छ ।
विश्वमा जनसंख्याको चाप गणितीय रूपमा वृद्धि भएको छ तर जमिन भने एक इन्च पनि बढ्नेवाला छैन । बरु जमिन भने दिनहुँ घट्दोरूपमा रहेको छ । यसले गर्दा प्राकृतिक सम्पदा र वातावरण माथि आक्रमण र असन्तुलन बढीरहेको छ । यी कारणले गर्दा ठूलाठूला महामारी र डरलाग्दा रोगहरूको उत्पति भइराखेको वर्तमान परिवेशमा फोहोर मैलाको उचित र वैज्ञानिकरूपले विसर्जन गर्नुपर्ने टड्कारो स्थिति विद्यमान भएको छ ।
मानव समाजले विज्ञानको चरम सिमामा पुगेर उल्लेखनीय उपलब्धीहरू हासिल गरेको छ । सञ्चारको विकासले गर्दा आजभोली मानिसहरू विश्वलाई Global village पनि भन्ने गर्दछन् । मानवले जति जति उन्नति गर्यो उति उति समस्या र संकटहरू आइलागेका छन् । एकातिर सफलताहरू उल्लेखनीय उपलब्धीहरू हासिल गरेको छ भने अर्कोतर्फ सम्पूर्ण जीव चराचरको साझा घर पृथ्वीमा जीवको लागि ठूलो संकट आइलागेको छ ।
मानिसले अन्धो भएर एकपक्षीयरूपमा गरेको चरम भौतिक विकासले साझा धर्तीको पर्यापरणीय सन्तुलन क्षतविक्षत भएको छ । मानव जातिको हितको लागि गरिएको विज्ञान प्रविधिको विकासको कारणले गर्दा पृथ्वीको माटो, हावा, आकाश, पानी, प्रकाश आदि तत्वहरू प्रदूषित भएका छन् । सन् १९७० बाट सुरुवात भएको यो दिवस सन २०२० सम्म पुग्दा ५०आैँ वर्षमा प्रवेश गर्नेछ ।
त्यसवेलासम्म पृथ्वीको प्रदुषण कम गर्दै स्वच्छ अनि हराभरा पृथ्वीको महत्वाकांक्षी योजना पूरा गर्न विश्व समुदायले बेलैमा सोच विचार पुर्याउनुपर्ने आजको समय माग हो । वातावरणमा पर्न गएको नराम्रा असरहरूको इतिवृतान्तको व्याख्या गर्न जरुरी छ । यसर्थ २०औँ शताब्दीयता पृथ्वीको बढ्दो तापमान अर्को ठूलो चुनौती हो । वर्षेनी शून्य दशमलव १८ डिग्री सेन्टिग्रेटका दरले पृथ्वीको तापक्रम वृद्धि भइरहको छ । जसका कारण पृथ्वीको उत्तरी ध्रुवमा अवस्थित बरफका चुचुराहरू पग्लिँदै गएका छन् ।
सूइबाट आउने परावैजनी किरणलाइ रोक्ने ओजोन तहको नास, डरलाग्दा आँधी तुफान र सुनामीजस्ता प्राकृतिक विपद्का घटनामा वृद्धि भइरहेका छन् । यी सबै कुराका लागि अन्य कोही नभएर स्वयं मानिस नै जिम्मेवार छन् । तेश्रो विश्वका ८० प्रतिशत प्राणीहरूले फोहोर वासस्थानमा जीवन बिताउन बाध्य भएका एकातिर छन् भने अर्कोतिर एक अर्ब तीस करोड प्राणीहरू वासविहिन एवं जटिल अस्वस्थ पर्यावरणमा जीवन निर्वाह गरेका छन् ।
प्रदूषणकोे केन्द्र मानिएका विश्वका हरेक सहर तथा उद्योग धन्धाहरूलाई बर्सेनि दश करोडभन्दा बढी सल्फर डायोअक्साइड हावामा मिसिन्छ । यसले स्वच्छ वातावरणलाई दूषित वा अम्ल वर्षामा परिणत गरिदिन्छ ।घना सहरीकरणले ध्वनि प्रदूषित गराई यहाँ धेरै राष्ट्रहरू कोलाहलपूर्ण परिवेशमा बाँचेका छन् । विश्वको सबैभन्दा बढी ध्वनि प्रदूषितकोे रूपमा चिनिने कायरोमा प्रतिवर्ष पाँच प्रतिशत मानिसहरू बहिरा हुन पुग्दछन् ।
हाम्रो देशको कुरा गर्ने हो भने पनि पृथ्वी दिवसका अवसरमा विभित्र जनचेतनामूलक कार्यक्रम गरिँदै छ । देशमा पर्यावरण एवं वातावरण संरक्षणका क्षेत्रमा कार्यरत सामाजिक संघसंस्थाहरूले पृथ्वी दिवसका अवसरमा विविध कार्यक्रम गर्दै आएका छन् । यस्ता कार्यक्रममा सरकारी अधिकारीहरूले उपस्थिती जनाई ऐक्यबद्धता जनाउने गर्दछन् । पृथ्वी दिवसका दिन विभित्र कलेज र विद्यालयका विद्यार्थीहरूले पृथ्वीमा भइरहेको बढ्दो प्रदुषणका विरुद्ध चेतनामूलक ¥यालीको आयोजना गर्दछन् ।
कतिपय देशहरूमा पृथ्वी दिवसलाई अप्रिल १६ देखि २२ सम्म सप्ताहव्यापी कार्यक्रमका रूपमा मनाइन्छ । यसरी प्रविधि र व्यस्तताका बाबजुद पनि प्रकृतिमा रमाउँदै रुख रोप्ने, हरियाली बढाउने, साइकल चलाउने र सकेसम्म पुनःप्रयोग गर्न मिल्ने उर्जाको प्रयोग, प्लाष्टिकको कम प्रयोग अनि वातावरणीय संरक्षणको ज्ञान आजको आवश्यकता हो । निष्कर्षमा भन्नुपर्दा विश्वमा प्रति मिनेट ३२ हेक्टर जमिन रुखविहिन भएका छन् । एउटा मनुष्यलाई प्राण वायुका लागि १२ वटा गोब्रे सल्लाका रुखहरूको आवश्यकता पर्दछ ।
त्यस्तै, एक हुर्किएको सय वर्षको भोजपत्रले करिब ८ सय घरका एक वर्षको हावालाई शुद्ध पार्ने कार्य गर्दछ । यस क्रममा एक स्वस्थ भोजपत्रका रुखले सात हजार जीवात्मालाइ वासस्थान दिन्छ । त्यस्तै, अनुसन्धानबाट थाहा भएको छ वायुमण्डलमा भएको करिब २१ प्रतिशत प्राणवायु अक्सिजन संसारका प्रत्येक व्यक्तिले स्वास क्रियामा प्रयोग गर्दछन् । एक व्यक्त्तत्व लागि स्वास फेर्नका लागि मात्र पनि ६ वटा रुखको जरुरत पर्दछ । एउटा स्वस्थ मानिस दिनको २२ सय चोटी सास फेर्छ र यसरी सास फेर्दा उपयोगमा ल्याइएको वायुको महत्व खाएको भोजनको मात्रा भन्दा झण्डै २० गुणा बढ्ता हुन्छ ।
एक वृक्षले सरदर २.७ के.जी. प्राणवायु वायुमण्डलमा फ्याँक्छ । प्रतिवर्ष बिरुवाबाट ८० लाखदेखि २ करोड हेक्टर जंगलको विनाश , त्यसबाट लोप भएका १३० जातका जंगली चराहरू स्तनधारी जन्तुहरू र १० प्रतिशत फूल फूल्ने जातका रुखहरू वर्षेनी बग्दै गएको माटोको इतिहास, मरुभूमीकरण भएका ८० करोड हेक्टर भूमि र प्रतिवर्ष ६० लाख हेक्टरका दरले उर्वरा भूमि मरुभूमीकरण हुने तथ्यले केही वर्षभित्रमा वातावरणीय र भौगोलिक दृष्टिले समेत पृथ्वीको नक्सा नै बदलिन सक्ने संकेत मिलेको छ ।
अर्कोतिर सांसारिक सुखभोगलाई वर्तमानमा मात्र केन्द्रित नगरी हाम्रा भावी सन्ततिले समेत समानरूपमा जीवनयापन गर्ने अवसरलाई क्षीण पार्नु हुँदैन भन्ने कुरामा जोड दिइएको छ । अन्तमा के भन्न सकिन्छ भने भौतिक उन्नतिले क्रमशः उब्जाएका नकारात्मक पक्षहरू विचार गर्दा प्राकृतिक सन्तुलन बिग्रन गई मानव सभ्यताकै लोप हुने हो कि भन्ने चिन्ताले सबैलाइ पिरोलेको छ ।
प्रतिक्रिया