मानसिक समस्या लुकाउनु हुँदैन

नेपालीलाई मानसिक स्वास्थ्यको गम्भीर प्रकृतिको रोग भएपछि राँचीबाट उपचार पाउनुपर्छ भन्ने अवधारणा चलिरहेको वेलामा नेपालमा कहीँकतै पनि मानसिक स्वास्थ्यको समस्या समाधान गर्ने ठाउँ थिएन । मानसिक स्वास्थ्य अस्पताल एउटा पुरानो अस्पताल हो ।

अस्पतालमा आउने बिरामी देशभरि रहेका विभिन्न ठाउँबाट गम्भीर प्रकृतिका मानसिक स्वास्थ्य समस्या भएका मानिसहरू उपचारका लागि आउने गरेका छन् । मानसिक स्वास्थ्य समस्या हरेक उमेर समूहका व्यक्तिमा देखापर्ने भएकाले नजिकका बिरामीहरू बालबालिका, किशोरावस्था, प्रौढ र वृद्ध सबै उमेर समूहका आउने गरेका छन् ।

मानसिक स्वास्थ्य समस्या फरक–फरक प्रकृतिका रोग हुनसक्छ । तर, हाम्रो आमधारणामा चाहिँ मानसिक स्वास्थ्य समस्या भन्नेबित्तिकै विशेषगरी विक्षिप्त स्वास्थ्य समस्या भएको मानिसहरू भन्ने बुझिन्छ । यस्तो समस्याको उपचार गर्नेभन्दा पनि परिवार स्याहारमा थाकेर पुनःस्थापना गर्न पाए वा अस्पतालमा लगेर छोडिदिन पाए भारबाट मुक्त हुन पाइन्थ्यो भन्ने धारणा आज पनि छ ।

त्यसैले गर्दा कतिपय हाम्रोमा आउने बिरामीहरू उपचार गरी राम्रो भएर फलोअपमा रहनुभन्दा पनि बरु लामोसमय अस्पतालमा नै बस्नपाए हुन्थ्यो भन्ने छ । मानसिक समस्या भएका बिरामीका लागि कुरुवा राख्न अस्पतालले कर लगाउनुपर्ने अवस्था छ । अरू बिरामीलाई जस्तै मानसिक स्वास्थ्य समस्या भएका बिरामीलाई स्याहार गर्नुपर्छ भन्ने बुझाउन जरुरी छ ।

फरक उमेरसमूहमा फरक किसिमको मानसिक समस्या
बालबालिकामा सिकाइको समस्या, व्यवहारको समस्या, एक ठाउँमा बस्न नसक्ने र बढी चकचक गर्ने समस्या हुन्छ ।
युवावस्थाका किशोरकिशोरीहरूमा छोप्ने रोग भएका बिरामी बढी हुन्छन् । यो उमेर समूहका व्यक्तिमा गम्भीर प्रकृतिको रोग (साइकोसिस) भएका र म्यानियाका बिरामी हुन्छन् ।

केही मानिसमा डिप्रेसनको समस्या (एन्जाएटी) चिन्ताको समस्या पनि हुने गरेको छ । आजभोलि विभिन्न खालको लागुऔषधको प्रयोग विशेषतः रक्सीको सेवनपछि देखिने मानसिक स्वास्थ्य समस्या हो । मदिरासेवन गर्ने सुरुआतदेखि र मदिराको लत लाग्ने विषय नै मानसिक स्वास्थ्य समस्या हो ।

तर, हाम्रो जनमानसमा त्यस्ता स्वास्थ्य समस्याभन्दा बढी त्यसबाट देखिने अन्य जटिल समस्या, जस्तैः (निन्द्रा नपर्ने, कानमा विभिन्न खालको आवाज आउने, डर लाग्ने) हुन्छ । यस्ता लागुऔषधको प्रयोगपछि देखिने जटिल समस्याले मानसिक समस्या भयो अब उपचार गर्नुपर्छ भन्ने कतिपयको बुझाइ छ । वृद्धवृद्धामा बढी बिर्सने समस्या हुन्छ ।

यस्ता समस्या भएका बिरामीलाई उपचार गर्दा चिकित्सकलाई नै समस्या
मानसिक समस्या भएका बिरामीलाई उपचार गर्दा चिकित्सकलाई विभिन्न चरणमा समस्या हुन्छ । गम्भीर खालको मानसिक विचलन भइसकेको बिरामी छ भने उपचारको सुरुआतमा नै बढी रिसाउने, हिंसात्मक व्यवहार गर्ने समस्या हुन्छ । यस्ता समस्याका बिरामीले हिंसात्सक गतिविधि बढी गर्ने हुन्छन् ।

उपचार गरिरहेको समयमा चिकित्सकलाई बिरामीले गालीगलौज गर्ने पनि हुन्छ । कडा प्रकृतिको मानसिक रोग भएकाले मात्रै यस्तो गर्दछन् । यसलाई (एग्रेसिप भायलेन्ट केस) भनिन्छ । उनीहरू अलि बढी रिसाहा प्रवृत्तिकै हुन्छन् । बढी हिंसात्मक खालको व्यवहार भएका बिरामीलाई आकस्मिक उपचारको माध्यमबाट स्वास्थ्य सेवा दिनुपर्ने हुन्छ ।

त्यसका लागि सुरक्षित स्थानमा उपचारको सुरुआत गरी परिस्थितिको मूल्यांकन गरेर बिरामीलाई सेवा दिनुपर्छ । उपचारको क्रममा चिकित्सकले औषधिको प्रयोगबाट अथवा अन्य साधनको प्रयोगबाट अन्य बिरामीलाई भन्दा गम्भीर प्रकृतिको मानसिक रोग भएकालाई बढी नियन्त्रणमा लिएर उपचार गर्नुपर्ने हुन्छ । यस्ता समस्या भएकालाई बढी शान्त गराउने, निन्द्रा लाग्ने औषधिको प्रयोग गर्नुपर्ने हुन्छ ।

कतिपय सवालमा बिरामीलाई हानी नपुग्ने गरी भौतिक हिसाबले नियन्त्रित गरी ओछ्यानमा नै राखेर पनि उपचार गर्नुपर्ने हुन्छ । यसको लागि सुरक्षित वातावरणमा बसेर स्वास्थ्य सेवा दिनुपर्ने अवस्था छ । औषधि प्रयोग मात्रै सबै उपचार होइन । त्यसैले मानसिक समस्या भएका बिरामीलाई परिवारले समय, साथ, सहयोग दिनुपर्ने हुन्छ । बिरामीलाई बुझेर व्यवहारमा परिवर्तन ल्याउनुपर्छ ।

मानसिक रोगीका बिरामीलाई औषधि उपचारका लागि नियमित फलोअप पनि गर्नुपर्ने हुन्छ । आर्थिक, सामाजिक समस्याका कारणले गर्दा समयमा नै फलोअप नहुने, चिकित्सकले दिएका औषधि सहीरूपमा सदुपयोग नहुने, औषधि प्रयोग गर्नै नजान्ने वा गर्न नसक्ने यी यावत कारणले गर्दा पनि बिरामी व्यवस्थापनमा समस्या भइरहन्छ । मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई भिडभाडमा राख्न नहुने भन्ने हुँदैन ।

बिरामीलाई के समस्या भएको हो त्यसको सही पहिचान गरेर उपचार गर्नुपर्छ । उसलाई जोखिम अवस्था आयो भने अस्पतालमा भर्ना गरी उपचार गर्नुपर्छ तर जोखिमरहित अवस्था छ, ऊ सामान्य अवस्थामा छ भने व्यक्तिलाई समाजमा बढी घुलमिल हुन दिनुपर्छ । यस्ता समस्या भएका बिरामीलाई पारिवारिक, सामाजिक जिम्मेवारी लिन सक्षम बनाउनुपर्छ ।

बिरामीलाई उसको आफ्नो भूमिका पनि प्रष्ट पारिदिने गर्यो भने सामाजिक पुनःस्थापना हुन सक्छ । मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई छुट्टै कुनै व्यवहार गर्नुपर्छ भन्ने हुँदैन तर परिस्थिति अनुसारको व्यवहार गर्नुपर्छ । मानसिक स्वास्थ्य समस्या धेरै किसिमका हुन्छन् । निद्रा नपर्ने नै मानसिक स्वास्थ्य समस्या होइन । निद्रा नपर्ने मानसिक स्वास्थ्य समस्याको एउटा लक्षण हो ।

मानसिक स्वास्थ्य समस्या नभई निद्रा नपर्ने समस्या अरू पनि हुन सक्छ, मानसिक रोगमा मात्रै पर्दैन । सबैलाई एउटै लक्षण देखिए पनि रोग भने फरकफरक हुन सक्छ । सामान्यतया जनमानिसले मानसिक स्वास्थ्य समस्याका लक्षण बुझ्नसक्ने हुन्छ ।

तनाव भए के हुन्छ ?
मानसिक तनावका कारण मानिसलाई धेरै किसिमका रोगहरू लाग्न सक्छन् । जस्तैः डिप्रेसन, निराशापन, एन्जाइटिक डिसअर्डर, छटपटी, अनिन्द्रा) आदी समस्या हुन्छ । तनाव हुँदा प्रायःले रक्सी, गाजा खाने गरेका छन् तर यो पूर्णरूपमा गलत हो । तनावले गर्दा मानिसमा आफैँ पागलपनको समस्या पनि उत्पन्न हुन सक्छ । तनावको प्रमुख समस्या एउटा टाउको दुख्नु पनि हो ।

तनाव हुँदा टाउको गह्रौ हुने, भारी हुने, तातो भएजस्तो महसुस हुने हुन्छ ।  तनावका कारण दिक्क लाग्ने, नरमाइलो लाग्ने, निराश हुने छटपटी हुने, अत्यास लाग्ने, ढुकढुकी बढ्ने पनि हुन्छ । कतिपय अवस्थामा डर लाग्ने, पेट पोलेजस्तो हुने हुन्छ । हातगोडा झमझमाउने, पोल्ने पनि हुन्छ यस्तो समयमा जाँच गर्दा पनि रिपोर्टमा केही आउँदैन, यो सबै तनावका कारणले हुने हो ।

रोग लुकाउनु हुँदैन
मानसिक समस्यालाई लुकाउने दबाउने पनि गरिन्छ । चिकित्सकसँग सल्लाह लिन गयो भने पनि अन्य समाजका नागरिकले बिरामीलाई हेर्ने दृष्टिकोण फरक छ यसलाई परिवर्तन गर्न जरुरी छ । मानसिक स्वास्थ्य समस्या आफैँमा रोग होइन, मानिस कमजोर भएर हुने हो । डिप्रेसनलाई लुकाएर राख्न हुँदैन । बिरामी आफैँले पनि डाक्टरको सहयोग लिनुपर्छ लिए भने मात्रै समस्या निको हुन्छ भन्ने बुझ्न जरुरी छ ।

दुई प्रकारका मानसिक स्वास्थ्य समस्या
१. व्यक्ति आफूलाई स्वास्थ्य समस्या छ भन्ने पहिचान नहुने तर अरूले थाहा पाउने यो कडा प्रकृतिको मानसिक स्वास्थ्य समस्या हो ।
२. व्यक्तिलाई बाहिरबाट हेर्दा अत्यन्तै सही देखिन्छ, शारिरिक, व्यावहारिक कुनै पनि हिसाबमा उसमा समस्या देखिँदैन । तर, व्यक्ति आफैँले महसुस गरिरहेको हुन्छ । म आफूलाई यस्तो गाह्रो भइरहेको छ भन्ने हुन्छ र उसलाई डर, चिन्ता हुने, साह्रै दुःखी महसुस हुने अवस्था हुन्छ जो बाहिरी दुनियाले देख्न सक्दैन । यससँगसँगै लागुऔषधको प्रयोग बढ्दो रहेको पाइन्छ ।

व्यक्तिको व्यक्तित्वको समस्या, बौद्धिक क्षमताको विकासको समस्या हुन सक्छ । यसैले फरकफरक मानसिक स्वास्थ्य समस्या हुन सक्छ । हामीले समुदायमा मानसिक स्वास्थ्य समस्याका कार्यक्रम लिएर जाँदा सबै मानसिक समस्यामा भन्दा पनि बढी देखिन सक्ने, सामान्य तालिम, अभ्यासबाट नै छुट्याउन सक्ने स्वास्थ्य समस्याको बारेमा चर्चा गर्छाैं ।

कडा मानसिक स्वास्थ्य समस्याको पनि कुरा गर्छौं, जो व्यक्तिले झ्वाट्ट हेर्ने बित्तिकै देखिन्छ ।  छारेरोगको स्वास्थ्य समस्या देखिन्छ, भावनात्मक समस्या भएकाले यसलाई छुट्याउन सजिलो हुन्छ । उदासीनता, चिन्ताको समस्या, किशोरकिशोरी अवस्थामा बढी जसो देखिने तर जुनसुकै उमेरसमूहमा (कन्भरजन डिसअर्डर) शारीरिक असर देखिने हुन्छ ।

तर, यसको प्रमुख कारण मानसिक स्वास्थ्य समस्या हो । शरीर दुख्ने पोल्ने, सधैँ आफूलाई असहज परिस्थितिको महसुस भइरहने तर जति शारीरिक जाँच गर्दा पनि लक्षण अनुसारको रोग पत्ता नलाग्ने र त्यस्तो परीक्षणमा प्रष्ट आधार नदेखिने रोग बारेमा हामी जाँच गर्छौं । यसलाई वर्गको आधारमा भन्दा ६÷७ प्रकृतिका मानसिक स्वास्थ्य समस्याको बारेमा छलफल गर्नुपर्छ भनेर सुरुआत गर्न गइरहेका छौँ ।

छारेरोग आफैँ मानसिक स्वास्थ्य समस्या मात्रै होइन । त्यसैले छारेरोगको मात्रै व्यवस्थापन मानसिक स्वास्थ्यसँग सम्बन्धित विशेषज्ञहरूले र स्नायु तथा नसा रोग विशेषज्ञहरूले पनि उपचार गर्ने गरिन्छ । कुनै समयमा स्नायु चिकित्सकबाट पनि यसको उपचार गरिन्छ । सबैको साझा समस्या हो छारेरोग । उपयुक्त रोगको पहिचान गरेर उपचार गर्नुपर्छ ।

कतिपय समयमा स्नायु चिकित्सकले उपचार गर्दा हुन्छ भने कुनै समयमा मानसिक स्वास्थ्यका चिकित्सकले हेर्नुपर्ने हुन्छ ।छारेरोग नसासम्बन्धी रोग पनि भएकाले नसा रोगको चिकित्सकले पनि यसको उपचार गर्ने गरेका छन् । छारेरोग आफैँमा एक्लै आउँदैन । यो लामोसमयसम्म भइरहँदा यसले विभिन्न खालको व्यवहार, भावनात्मक, सोचका समस्याहरू आउने कारणले गर्दा यस्ता व्यक्तिमा अरू कुनै मानसिक स्वास्थ्य समस्या पनि हुन सक्छ ।

त्यसैले मानसिक रोगबाट मुक्त हुन छारेरोगसँग जोडिएका अरू पक्षलाई केलाएर हेर्नुपर्छ । छारेरोगलाई सही व्यवस्थापन गरी एउटा व्यक्तिलाई पूर्ण रूपमा सञ्चो बनाउन सक्ने भएकाले समुदायस्तरमा छारेरोगसम्बन्धी संस्थागत हिसाबले पनि कार्यक्रमहरू गर्दै आएका छौँ । हाल मानसिक अस्पतालले आफ्नाे निजी स्रोतको परिचालन गरेर पाँच जिल्लामा कार्यक्रम गरिरहेको छ।

अब फरक ढंगबाट कार्यक्रम सञ्चालन गर्नुपर्छ भन्ने हिसाबले अरू संस्था दातृनिकायसँग प्राविधिक, आर्थिक सहयोग लिएर अन्य ठाउँमा पनि कार्यक्रम सुरु गर्न गइरहेका छाैँ । अहिले सामान्य स्रोतको व्यवस्था गरेर कार्यक्रम गरिरहेको पाँच जिल्ला रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट र धादिङ हुन् । सिन्धुपाल्चोकको कार्यक्रम अलि फरक हिसाबले गर्नुपर्छ भन्ने सोचिरहेका छौँ ।

महिनाको एकपटक बहिरंग सेवा सञ्चालन गर्नुभन्दा पनि त्यहाँ नै बिरामीहरूलाई पहिचान गरेर व्यवस्थापन गर्न सक्ने सीपको विकास गर्नुपर्छ भनेर कैलालीमा विश्व स्वास्थ्य संगठनको सहकार्यमा कार्यक्रम सुरु भइरहेको छ । हामी त्यही कार्यक्रमको सिलसिलामा नै छौँ । प्रारम्भिक चरण भएकाले परिस्थितिको मूल्यांकन गर्ने विषयमा सबैलाई कार्यक्रमको बारेमा जागरुक गराउने काम पनि भइसकेको छ ।

अब त्यहाँका स्वास्थ्यकर्मीहरूलाई सामान्यतया देखिने समस्याहरूको पहिचान गर्न र त्यसपछि स्थानीय स्तरको व्यवस्थापन गर्न सक्ने सीप विकास तालिम दिनमा अग्रसर छौँ । स्वास्थ्य मन्त्रालयअन्तर्गत मानसिक स्वास्थ्यको विषयमा कार्यक्रम बन्दै गरेका अवस्थामा छन् । मन्त्रालयसँगै निजी र सरकारीको साझेदारीमा मानसिक स्वास्थ्य समस्याको विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् ।

नेपाल सरकारले अहिले आफैँ कार्यक्रम सञ्चालन गर्ने भनेर सात प्रदेशका जिल्लालाई मध्यनजर गरेर स्थानीय निकायमा कार्यक्रम लैजाने तयारी छ । यहि आर्थिक वर्षदेखि नै छ, सम्भवतः यो कार्यक्रम एक महिनाबाटै सुरु हुन्छ । हामी आफैँले सम्बन्धित निकायसँग सहकार्य गरेर कार्यक्रम गर्ने कुरा पनि भइरहेको छ । नेपाल मानसिक अस्पताल पाटनले विश्व स्वास्थ्य संगठनसँग सहकार्य गरेर कैलालीका कार्यक्रम सुरु गरेपछि बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि इलाममा कार्यक्रम गर्ने भएको छ ।

सरकारले आफ्नै स्रोतलाई अधिकतम प्रयोग गरेर दातृनिकायको पनि कार्यक्रम संलग्न भएर मानसिक स्वास्थ्यको कार्यक्रमहरू भइरहेका छन् र अझै बढ्दो छ । कार्यक्रम व्यापक बनाउने सोच र त्यहि अनुसारको कार्यक्रम भइरहेको छ । (मानसिक अस्पतालका मनोचिकित्सक डा. कार्कीसँग सौर्य दैनिककी यसिमा महतले गरेको कुराकानीको सम्पादित अंश)

प्रतिक्रिया