देशको मुहार बदल्ने ओली डक्ट्रिन

जोखिम नमोलिकन र नयाँ नीति संरचना र शैली अबलम्बन नगरी कुनै पनि देशहरूले फड्को मारेका छैनन् । देश बनाउन जोखिम मोल्नै पर्छ । स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई ढुक्कसँग लगानी गर्ने वातावरण सरकारले गर्नुपर्छ । यति राम्रो देश सबै स्रोत साधनले भरिभराउ छ । तर किन विकास भएन ?

नयाँ वर्षको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट गर्नुभएको सम्बोधन मार्मिक र सान्दर्भिक छ । यसलाई सबैले स्वागत गर्नुपर्छ । त्यस सम्बोधनभित्र देश बनाउने अठोट र सपना देखिन्छ । प्रधानमन्त्री ओलीले भन्नुभएको छ, देशको भविष्य उज्ज्वल छ ।

अब नेपालमा बेरोजगारी समस्या समाधान गरेर अघि बढने ओलीको अभियान कायम नै छ । देश विकास र समृद्धि वर्तमान सरकारका प्रमुख एजेन्डा भएको भन्दै ओलीले देश विकासलाई प्रमुख महत्व दिएको बताउँदै आउनुभएको छ । देशमा आर्थिक विकासलाई महत्व दिनु पर्नेमा सरकारको चासो र कार्ययोजना भएको ओलीको भनाइ छ ।

मुलुकमा धेरै वर्षदेखि रहँदै आएको संक्रमणकालको अन्त्य भएको भन्दै ओलीले अब विकास र समृद्धिलाई कसैले नरोक्ने बताउनुभएको छ । नेपाली जनताको लामो समयदेखिको सपना पनि नयाँ संविधान जारी भएपछि पूरा भएको छ । यो सपना पूरा गर्न जनताको ठूलो मिहेनत र संघर्ष , बलिदानी रहेको छ ।

अन्योल र अनिश्चयका बीच हिंसा र अस्थिरताका प्रयास छिचोल्दै नेपाली जनताले यसपाली वाम गठबन्धनलाई बहुमत दिएका छन् । अब वाम सरकारले जनताका अपेक्षा पूरा गर्दै जानुपर्छ । देश बनाउनका लागि बलियो आत्मविश्वास चाहिन्छ । आफ्नो देश आफैँ बनाउने संकल्पका साथ सबै नेपाली अघि बढनुपर्छ । अनि मात्र देशको भविष्य निर्माण गर्न सकिन्छ । विगतमा नेपाली जनताले गरेका संघर्ष एवं प्राप्त गरेका राजनीतिक उपलब्धिले पनि विश्वकै ध्यान नेपालतिर केन्द्रित भएको छ ।

त्यसैले अब विकास र समृद्धिको यात्रामा मुलुकलाई लैजानुपर्छ । सार्वभौमसत्ता , भौगोलिक अखण्डता , स्वाधिनता राष्ट्रिय हित र स्वाभिमानको रक्षा गर्नु सरकारको कर्तव्य हो । राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर हाम्रा दुई छिमेकी देशसँग सम्बन्ध विकास गर्नुपर्ने आवश्यकता देखिएको छ । सरकारका कार्ययोजना र कार्यक्रम जनताको घर आँगनमा पुग्नुपर्छ । प्रदेश , र स्थानीय तहहरूलाई सक्षम र आत्मनिर्भर बनाउन विशेष भूमिका सरकारले खेल्नुपर्छ । सहकार्यता ,समन्वय र एकताको आधारमा केन्द्रीय सरकार , प्रदेश र स्थानीय तहको विकास हुने छ ।

आफूखुसी काम गर्न थालियो भने विकास सम्भव छैन । धनी र गरिबबीचको खाडल छिटो पुरिनुपर्छ । जनताको चाहना पनि यो हो । हामी बहुजातीय , बहुभाषिक , बहुसांस्कृतिक र बहुधार्मिक विविधताले भरिएका नेपाली हौँ । हाम्रो बलियो राष्ट्रिय एकता यसैमा अडिएको छ । मिलेर बसेको नेपाली समाजलाई केही तत्वहरूले खल्बल्याउने चलखेलमा अझै लागिरहेका छन् । यो प्रयासलाई असफल बनाउन सबै लाग्नुपर्छ । देश आत्मनिर्भर भएर बाँच्न सिक्नुपर्छ । सरकारको ध्यान त्यतातिर जाओस् ।

भ्रष्टाचारले मुलुक बर्बाद बनाएको छ । वर्तमान सरकार भ्रष्टाचारविरुद्ध खरो भएर उत्रिनुपर्छ । यसका लागि कानुनी र संरचनागत सुधार गरेर सरकार अघि बढ्नुपर्छ । जोखिम नमोलिकन र नयाँ नीति संरचना र शैली अवलम्बन नगरी कुनै पनि देशहरूले फड्को मारेका छैनन् । देश बनाउन जोखिम मोल्नै पर्छ । स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई ढुक्कसँग लगानी गर्ने वातावरण सरकारले गर्नुपर्छ । यति राम्रो देश सबै स्रोत साधनले भरिभराउ छ । तर किन विकास भएन ? अब वाम सरकारबाट हुनुपर्छ । वाम गठबन्धनले जनतालाई चुनावमा बचन पनि दिएको थियो । अहिले उ सरकारमा छ ।

स्थायी सरकार , विकास र समृद्धि यी जनताका चाहना हुन् । हाम्रा नेताहरूको सोचाइमा भित्रैदेखि विकास र समृद्धिको चाहना हुनुपर्यो । त्यसो भयो भने देश बन्छ । एमाले माओवादी केन्द्रबीचको एकता पनि ‘भ्यागुताको धार्नी’ भएको छ । नेपालमा २००६ सालमा कम्युनिस्ट पार्टी स्थापना भयो । इतिहासको विभिन्न कालखण्डमा धेरै टुटफुट र विभाजन भए । एमाले र माओवादी केन्द्रको ऐतिहासिक विकास क्रमलाई हेर्ने हो भने सबै कुराको जानकारी हुन्छ ।

एमालेले झापा आन्दोलन हुँदै कोअर्डिनेसन केन्द्रमार्फत वर्गसंघर्षको विषयलाई जोडदार रूपमा उठायो । त्यो कोके माले हुँदै एमाले सम्म आइपुगेको छ । अर्को धार चौथो महाधिवेशनका रूपमा मोहनविक्रम सिंह निर्मल लामाहरूले नेतृत्व गरेका थिए । त्यतिवेला एमाले क्रान्तिकारी पार्टी थियो । तर पछि संसद्मुखी बन्यो । वर्गसंघर्षका कुरा छाड्यो । त्यसपछि क्रान्तिकारी धार बोकेर प्रचण्डको नेतृत्वमा माओवादी पार्टीको जन्म भयो । एउटा क्रन्तिकारी धारको विकास गर्दै अगाडी बढ्यो ।

यसरी १० वर्षे जनयुद्धको जगमा ०६२÷६३ को जनआन्दोलन सफलतामा पुग्यो । राजतन्त्रको अन्त्यसँगै देशमा गणतन्त्र घोणणा भयो । एमाले ०२८ सालतिर झापा विद्रोह गरेको पार्टी हो । ०४६ को जनआन्दोलनमा वाममोर्चा र कांग्रेस मिलेर आन्दोलन सफल भएको हो । ०४७ सालको संविधानलाई एमालेले आलोचनात्मकरूपमा समर्थन गरेको थियो । प्रचण्ड नेतृत्वको पार्टीले ०४७ सालको संविधानलाई अस्वीकार गरेको थियो । संविधान नमान्ने घोषणासहित विस्तारै जनयुद्धको घोषणा गरी १० वर्ष युद्ध गरेर आएको पार्टी हो ।

यो पार्टीले पनि विस्तारै क्रान्तिकारी धार छोडेर संसद्मुखी बनेको छ । एमाले र माओवादी केन्द्र उस्तै पार्टी हुन् । अब पार्टी एकतालाई ढिलाइ गर्नुहुँदैन । अब दुई पार्टी मिल्नुको विकल्प छैन । किनभने अब देशको विकास गर्नुपर्ने आवश्यकता देखिएको छ । २००७ सालदेखि दलहरूले बहुमत ल्याए पनि पूर्ण अवधि कुनै पनि दलहरूले सरकार चलाउने वातावरण बनेन । ०४८ सालमा कांग्रेसले बहुमत ल्यायो । तर, पार्टीको आन्तरिक विवाद बढेपछि कांग्रेसले पनि मुलुकलाई निकास दिन सकेन ।

त्यसवेला पनि जनताका चाहना पूरा हुन सकेनन् । त्यति बेला राजतन्त्रले आफूलाई सेरेमोनियल भने पनि सक्रिय हुन थाल्यो । जसले गर्दा दलहरूलाई आन्दोलित हुन राजतन्त्रले बाध्य बनायो । आन्दोलन , युद्धजस्ता घटनाक्रम विकसित हँुदै गए । जनता सडकमा आए । जसको फलस्वरूप राजतन्त्रको अन्त्य भयो । नयाँ गणतान्त्रिक संविधान जारी भयो । सबै अधिकार जनताका हातमा आए । जनता नै सर्वोच्च भए । अहिले वाम सरकार झण्डै दुई तिहाइ बहुमतको साथ अघि बढिरहेको छ ।

यो स्थिर सरकार हो । विकास र समृद्धि गर्ने हो भने मुलुकमा स्थिर सरकारको जरुरी पर्छ । त्यो सरकार अहिले छ । अब सरकारले विकास र समृद्धिको खाका कोरेर अघि बढनुपर्छ । अहिलेको जनमतले मात्र समग्र राष्ट्रको हित गर्छ । आर्थिक विकासको गति दिन्छ । जनताका आधारभूत आवश्यकता पूरा गर्न आर्थिक विकास हुनुपर्छ । आर्थिक विकास बिना विकास र समृद्धि सम्भव छैन । राजनीतिक स्थिरता र मुलुकको समृद्धिका लागि दुई पार्टी मिल्न जरुरी छ ।

दुई पार्टी नमिलि विकास र समृद्धिको यात्रा पूरा नहुन सक्छ । त्यसैले दुई पार्टी मिल्ने वातावरण मिलाउनुपर्छ । ९ वैशाखमा पार्टी एकताको कुरा चलेको थियो । त्यो पनि पर सर्यो भन्र्ने हल्ला सुनिन्छ । वास्तविकता के हो ? पार्टी एकता गर्ने नै हो भने अब ढिला गर्नुहुँदैन । अहिलेको संविधान अनुसार ५ वर्षसम्म यो सरकारले जनमत पाएको छ । ढुक्कसँग काम गर्ने वेला हो यो । यो अवसरमा पनि वामगठबन्धन सरकारले काम गर्न सकेन भने कहिले गर्छ ?

प्रधानमन्त्री केपी ओली को चट्टानी अडान र पुष्पकमल दाहालको साथ र सहयोग हुँदाहुँदै पनि विकास र समृद्धि भएन भने कहिले हुन्छ ? प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेपाली जनताले अहिले धेरै विश्वास गरेका छन् । जनताको विश्वासअनुसार यी दुई नेता अघि बढ्नुपर्छ । यो नै अहिलेको आवश्यकता हो ।

प्रतिक्रिया