वैद्धिक सनातन संस्कृतिमा धर्मका विविध पक्षहरू छन् । जसरी दक्षिणायणमा पर्ने शुक्ल र कृष्ण पक्षमा आ–आफ्नै किसिमका पर्वहरू पर्दछन्, त्यस्तै गरी वैशाख महिनामा पर्ने उत्तरायणको मध्यभागमा पर्ने वैशाख शुक्ल तृतीया तिथिको एउटा महत्वपूर्ण धार्मिक स्थान राख्दछ । अक्षय तृतीया तिथि पर्वभरका अत्यन्त पवित्र दिनमध्ये एक मानिन्छ ।
यससँग जोडिएको धर्म शास्त्रीय धारणा अनुरूप यस दिन गरिएको सानोतिनो दान धर्म अविनासी भएर रहन्छ । जसले गर्दा यसको नाउँ नै अक्षय रहन गयो । विश्वको एकमात्र वैदिक सनातन देश नेपालले यस पर्वलाई पवित्र चाडको रूपमा मनाउँदै आएको छ । यस पर्वमा स्नानको साथ साथै जौ हवन, जौबाट बनेका सातु दान र पितृका निम्ति श्राद्धजस्ता कार्यहरू पर्दछ । नयाँ वर्षको आरम्भ सँगसँगै यस चाड ज्यादै गर्मी मौसममा आउँने भएको हुदाँ उपयोगी जुत्ता, छाता, लठ्ठि, कमण्डलु आदि वस्तुहरूको साथै खुदोको सर्वत दान गरिने प्रचलन अद्यावधिक नै छ ।
खास गरेर यस दिन हाम्रो पहाडी भेगका देउराली थुम्काहरूमा जौको सातु र सर्वत ख्वाउने प्रचलन आजसम्म पनि यथावतै छ । नयाँ वर्ष सुरु हुने वैशाख महिनाको नाउ माधव पनि हो र माधव विष्णुको पनि प्रसिद्ध नाम हो ।जुनसुकै धर्म व्रत, तिर्थ गरिन्छ, त्यस्ले धर्ममात्र प्राप्त नभएर सामाजिकका साथ आरोग्यलाई पनि छोएको वा आत्मसाथ गरेको पाइन्छ ।जसरी नागपञ्चमीमा हरियो मकै चढाएर वा दान गरेर मात्र खाइन्छ त्यस्तै, गरी यस महिनामा पाक्ने गहुँ, जौ, चना, मटर जस्तै हिउँदे बालीलाई भित्राएर दान गरी खाने परम्परा वैदिककाल देखि नै सुरुआत भएको हो ।
धर्म शास्त्रमा दानमा सबैभन्दा ठूलो दान अन्नदान हो भनेर भनिएको छ । त्यस्तै, गरी गर्मी याममा जलका मुहानहरू सुक्दै गएका हुन्छन् । यस्ता अवसरमा प्राणी मात्रलाई नभै नहुने जल ख्याउने चलन व्यापकरूपमा रहेको हो । यस दिन प्राणीमात्रको जीवन अन्न र जलमा अडेको कुरालाई स्मरण गर्दै अक्षय तृतीया पर्वमा प्राचीन कालदेखि नै बाटो घाटोहरूमा जौको सातु सर्वत बटुवाहरूलाई ख्वाउने प्रचलन धेरै पहिलेदेखि भएको हो ।
धार्मिक शास्त्र अनुरूप कालचक्रको गणना गर्दा कात्तिक शुक्ल नवमीका दिनदेखि सत्ययुगको आयु १७ लाख २८ हजार, वैशाख शुक्ल नवमीमा त्रेतायुगको आयु १२ लाख ९६ हजार, माघको पूर्णिमादेखि द्वापर युगको आयु ८ लाख, ६४ हजार र भदौ कृष्ण त्रयोदशीदेखि कालियुग सुरु भएको पाइन्छ जसको आयु ४ लाख ३२ हजार वर्ष रहेको छ । यसमा ५ हजार १ सय १८ वर्ष कलियुगको वर्ष समाप्त भई अब ५ हजार १ सय १९ वर्षमा प्रवेश गरेका छ र अब कलियुगको आयु ४ लाख २६ हजार ८ सय ८२ वर्ष समाप्त हुन बाँकी रहेको छ ।
यो युग परिवर्तनका दिनहरू पुण्यकाल मानिन्छ । यसरी राजा भागीरथको तपस्याबाट गंगाजी यही अक्षय तृतीयाका दिन पृथ्वीमा झरेकी थिइन् र यसै दिन रेणुकाका गर्भबाट परशुराम जन्मेका थिए । यसको साथसाथै अन्न र पानी प्राणी मात्रको लागि नभई नहुने वस्तु हो । त्यसकारण प्राणीमात्रको जीवन अन्न पानीमा बाँचेको छ । धूप मौसममा चिसो पानीको सर्वतले प्राणी मात्रको आँत रसाउँछ जौको उपयोगिता र गुण सम्बन्धमा के प्रसिद्धि छ भने फल पाकेपछि बोट सुक्ने औषधिहरूमा यसको श्रेष्ठ स्थान छ ।
यसको साथै आयुर्वेदमा जौको गुणबारे भनिएको छ यो टर्रो, केही मधुर, खुर्कने स्वभावको र नरम पनि बताइएको छ । यसले स्वर विकार पार्ने कण्ठरोग, चर्मरोग, स्वास र कफ रोगलाई पनि फाइदा पुर्याउँछ । अक्षयको शुभ अवसरमा वैवाहिक सम्बन्ध कायम गर्नाले पनि ठूलो पुण्य प्राप्त हुन्छ भन्ने धारणा रहेको पाइन्छ । र यसै समयमा विवाहको शुभ मुहूर्तको साइत परेको हुन्छ । यसै घडिमा विवाह भएका नव दम्पतीहरूको दाम्पत्य जीवन सधैँ सफल नै रहने जनविश्वास रहेको पाइन्छ ।
तसर्थ तिथिको फरक नपरेको खण्डमा प्रायः वैशाख शुक्ल तृतीयामा भगवान् विष्णुका छैटौँ अवतारको रूपमा चिनिएका परशुरामको जन्म जयन्ती पनि यसै दिन पर्दछ । जसको जन्म त्रेता युगमा भएको थियो । अष्ट चिरञ्जीवीहरू मध्येका एक मानिने परशुरामको जन्म जमदग्निका पुत्रका रूपमा रेणुकाको गर्भबाट ६ ग्रह उच्च स्थानमा भएको बेला सन्ध्याकालमा भएको थियो । यसले गर्दा पनि यस दिनको महत्व अझ बढी छ । अन्त्यमा भन्नुपर्दा अक्षय तृतीय पर्व पुरातन युगको शुभारम्भ सम्झाउने दिन हो ।
यसै दिन पवित्र धार्मिक स्थानहरूमा स्नान, दान, उपवास, समाजसेवालाई पुण्य सम्झने वैदिक सनातन परम्पराले यसलाई महत्व दिएको छ । वैशाख महिनाको प्रचण्ड खडेरीमा अन्न दान, जल दान आदि गर्नु अवश्य नै महत्वपूर्ण कुरा हुन् । सम्भवतः श्रद्धा गर्ने रीतिरिवाज पनि यसैदिनदेखि सुरु भएको होला भन्ने जिज्ञासा राख्न सकिन्छ । जे होस् यस्ता किसिमका धार्मिक पर्वहरूको मूल्य मान्यतालाई बढावा दिदैँ जानु हामी सबैको परम कर्तव्य हो । अतः भविष्य पुराणअनुसार यस तिथिको युगादि तिथिहरूमा गणना हुन्छ, सत्य युग र त्रेता युगको प्रारम्भ यसै तिथिबाट भएको थियो ।
भगवान विष्णुले नरनारायण, हयग्रीव र परशुराम को अवतरण पनि यसै तिथिमा भएको थियो । अक्षय तृतिया पर्व सातु–सर्वत दान गरेर र आगन्तुकहरूलाई यी खाद्यवस्तु खुवाएर मनाइन्छ । यस मौसममा फल्ने जौको सातु पौष्टिकताले भरपूर हुन्छ भने सर्वतले प्यास मेटाई शीतलता प्रदान गर्दछ । सातु अर्थात् पिसेको अत्रको धुलो जुन बोक्न सजिलो, खानलाई सहज अनि आडिलो खानेकुरा हो ।
कृष्ण र सुदामाका प्रसँगदेखि पौराणिक काल अनि मानव सभ्यताका विभित्र चरणमा सातु एउटा भरपर्दो र बोक्न सजिलो सामल अर्थात् बाटो या यात्रा गर्दा खान बोकिएको पदार्थका रूपमा रहेको छ । आजको दिन सातु खाने दिन हो, चढ्दो ग्रीष्मकालमा खाध शीतलता प्रदान गर्न जौ, मकै, गहुँ आदिजस्ता अत्रहरू पिसेर तैयार गरिएको सातुको आज विशेष महत्व रहेको छ । तसर्थ अक्षय तृतीयाको गरिमालाई झन् महत्व दिनु आवश्यक छ ।
आजको विकसित पिंढिले यस संस्कारलाई अझ बढी टेवा दिई नयाँ ज्वार्इंले ग्रागीमा सर्वत र थालमा जौको सातु पिउनु पर्दछ । यही नै अक्षय तृतीयाको शाब्दिक अर्थ र आफ्नो धर्म र संस्कृतिको जर्गेना गर्नु हो ।
प्रतिक्रिया