दृष्टिविहीन शिक्षकको पीडा : सरकारी जागिर निल्नु न ओकल्नु

अप्सरा गौतम
काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित शक्ति माध्यमिक विद्यालयकी दृष्टिविहीन शिक्षक सरिता आचार्य शिक्षा मन्त्रालय धाउँदाधाउँदै थकित भएकी छन् । गत वर्षको फागुनमा शिक्षा आयोगले निकालेको मावि तहको स्थायी दरबन्दीमा नाम निकालेकी आचार्यलाई घरबाट दुईघण्टा टाढाको विद्यालयमा खटाएपछि ‘जागिर’ वा ‘जीवन’ के राज्ने भनेर अहिले पनि पिरोलिरहेको छ ।

लामो समयको मेहनत र संघर्षपश्चात् माध्यमिक तहको स्थायी दरबन्दीमा नाम निकालेकी आचार्यलाई सरकारी जागिरले झनै पीडा थपिदिएको छ । शक्ति माविमा १२ कक्षासम्म अध्यापन गराउँदै आएकी आचार्यलाई घरबाट विद्यालय पुग्न दैनिक डेढ घण्टा उकालो चढ्नुपर्छ भने आधा घण्टा बसमा यात्रा गर्नुपर्छ । विद्यालय पुग्न उनलाई हेरक दिन अर्काको सहारा चाहिन्छ ।

उनी, आफ्नोे समस्या लिएर सरुवाका लागि दुई वर्षदेखि मन्त्रालय तथा शिक्षक सेवा आयोग धाइरहेकी छिन् । तर, उनको समस्या अहिले पनि कतैबाट सम्बोधन हुने संकेत मिलेको छैन । जीवन संघर्षपछि प्राप्त एउटा उपलब्धिलाई उनले सहजरूपमा ग्रहण गर्ने अवस्था छैन । यसै कारण उनलाई यो जागिर निल्नु न ओकल्नु जस्तै बनेको छ । उनले भनिन्, ‘बल्लतल्ल पाएको जागिर अहिले मलाई निल्नु न ओकल्नु भएको छ ।’

‘दैनिक विद्यालय ल्याइदिने–पु¥यादिने कोही छैनन् । यति मेहनतका साथ खाएको जागिर छोडौँ भने सकिन्न ।’ उनले पीडा पोख्दै भनिन्, ‘मलाई सरकारी जागिरले झन् पिडा थपिदिएको छ ।’ उनले ०७३ फागुनबाट विद्यालयमा पढाउन थालेकी हुन् । उनको यस्तो समस्यामा साथ दिने परिवारमा पनि कोही सदस्य छैनन् । कारण उनका परिवारका सबै सदस्य नै दृष्टिविहीन छन् ।

मन्त्रालयमा पटक–पटक सरुवाका लागि आग्रह गरे पनि कुनै प्रतिक्रिया नआएको भन्दै आचार्यले, सरकारले दृष्टिविहीनलाई हेयको भावले हेरेको गुनासो गरिन् । आचार्य भन्छिन्, ‘स्वयं राज्य नै दृष्टिविहीनको क्षमतामाथि विश्वास राख्दैन । दृष्टिविहीनको समस्या सम्बोधन गर्न तदारुकता देखाउँदैन । यस्तो अवस्थामा मजस्तै सयौँ शिक्षकको समस्या कसले बुझ्ने ?’

उनले काठमाडौंका विभिन्न विद्यालयमा सरुवाका लागि लबिङ गरे पनि ति विद्यालयले आफ्नो क्षमतामाथि प्रश्न उठाएको बताइन् । उनले भनिन् ‘मन्त्रालयले सरुवा हुन चाहेको विद्यालयको नाम तोक्न भन्छ । पाएक पर्ने विद्यालय छान्यो तर, ति कुनै पनि विद्यालयले राख्न मान्दैनन् ।’ मन्त्रालय र आयोग दुवैले आपूm पन्छिने काम मात्र गरेको दुखेसो पोख्दै उनले यी झमेलाका कारण वाक्क भएको बताइन् ।
मन्त्रालय र आयोगले सरुवा बढुवा अधिकार आफुसँग नभएको भन्दै फकाइदिने गरेको छ ।

स्थानीय तह तथा जिल्ला शिक्षा कार्यालयमा सम्पर्क गर्दा आफूलाई पूर्ण रूपमा अधिकार हस्तान्तरण नभएको भन्दै मन्त्रालय नै धाउन सुझाव दिने गरेको उनले बताइन् । सरुवाका लागि कहिले मन्त्रालय त कहिले स्थानीय तह धाइरहेकी आचार्य आफ्नोे समस्या सरकारले नसुनेको भन्दै रुष्ट छिन् ।

नेपाल नेत्रहीन संघका अध्यक्ष रमेश पोखरेल दृष्टिविहीन शिक्षकको समस्या राज्यले नबुझेको भन्दै राज्यको काम कारबाहीप्रति आफू असन्तुष्ट रहेको बताउँछन् । अन्य शिक्षकको भन्दा आचार्यको समस्या जटिल भएको बताउँदै पटक–पटक मन्त्रालय धाउँदा पनि उनले न्याय नपाएको टिप्पणी गरे । पोखरेलले भने, ‘राज्यलाई दृष्टिविहीन शिक्षकले पढाउन सक्छन्, काम गर्न सक्छन् भन्ने विश्वास नै छैन । अन्य दृष्टिविहीन शिक्षक भन्दा उनको समस्या जटिल छ । त्यसैले, सरुवाका लागि अग्रह गरेका हौँ ।’

शिक्षण पेसामा आबद्ध थुप्रै दृष्टिविहीन शिक्षकको समस्या सरितासँग मिल्दोजुल्दो छ । शिक्षक सेवा आयोग, शिक्षक युनियन तथा विभिन्न शिक्षक संगठनले पनि दृष्टिविहीनको समस्या सम्बोधन नगरेको उनको गुनासो छ । यता, आचार्यको समस्याबारे शिक्षा मन्त्रालयका प्रवक्ता बैकुण्ठनाथ अर्याल बारम्बार आग्रह आए पनि तत्काल समाधानको बाटो नरहेको बताउँछन् । ‘धेरै दृष्टिविहीनको समस्या यस्तै छ ।’ उनले भने, ‘सरिता आचार्यको समस्या तत्काल समाधान गर्ने कुनै नीतिनियम छैन । समाधानको पाटो विस्तारै खुलाउँदै जान्छ ।’

सबै दृष्टिविहीन नागरिकलाई राज्यले सम्मान तथा उनीहरूका समस्या पहिचान गरि सम्बोधन गर्ने बताउँदै आएको छ । तर, मन्त्रालय तथा आयोगको आश्वासन मात्र पाएको भन्दै नेत्रहिन संघका अध्यक्ष पोखरेल तथा दृष्टिविहीन शिक्षिक आचार्य भने सरकारको झमेलामा आपूmहरू फसेको बताउँछन् ।

प्रतिक्रिया