विक्रम संवत्काे नयाँ वर्षको शास्त्रीय पक्ष


विश्वनाथ खरेल  विक्रम संवत्काे ०७४ साल बितेर ०७५ सालको विरोधकृत् संवत्सर सुरु हुन गइरहेको छ । संवत्सर ६० वटा छन् । जसमध्ये ०७५ वैशाख १ गतेदेखि सुरु हुन गइरहेको विरोधकृत संवत्सर ४५ औँ हो ।

६० संवत्सरहरूमा क्रमशः प्रभव, विभव, शुक्ल, प्रमोद, प्रजापति , अङ्गिरा, श्रीमुख, भाव, युवा , धाता , ईश्वर , बहुधान्य, प्रमाथी, विक्रम, वृष, चित्रभानु, सुभानु, तारण, पार्थिव, व्यय, सर्वजित, सर्वधारी , विरोधी, विकृति, खर, नन्दन , विजय, जय, मन्मथ, दुर्मुख, हेमलम्बी, विलम्बी, विकारी, शर्वरी , प्लव, शुभकृत्, शोभन, क्रोधी, विश्वावसु, पराभव, प्लवंग, कीलक , सौम्य , साधारण, विरोधकृत्, परिधावी, प्रमाथी ,आनन्द, राक्षस, नल, पिंगल , काल, सिद्धार्थ, रौद्र, दुमति, दुन्दुभी, रुधिरोद्गारी, रक्ताक्षी, क्रोधन र क्षय हुन् ।

हाम्रो पूर्वीय साहित्यमा वसन्त ऋतुुको एक विशेष पहिचान छ । वसन्त नयाँ पालुवा, नयाँ उमङ्ग र नयाँ सिर्जनाको द्योतक हो । यसै कारण वसन्त वहारमा नयाँ वर्ष प्रारम्भ हुन्छ भन्ने हाम्रो परम्परागत शास्त्रीय मान्यता राहिआएको छ । यहि मान्यतामा हामी आजसम्म चलेका छौैँ र आजदेखि विक्रम संवत्काे ०७४ साललाई विदा गरेर ०७५ सालको नयाँ वर्षको स्वागतमा लागेका छौँ । राजा विक्रम आदित्यले थालनी गरेको यो क्यालेन्डर अंग्रेजी क्यालेन्डरभन्दा ५७ वर्षअघि छ ।

यसको मतलव जिसस क्राइस्टको जन्म भन्दा ५७ वर्ष अगाडि नै विक्रम आदित्यले आफ्नो पात्रो प्रयोगमा ल्याइसकेका थिए । हामी कहाँ प्रचलनमा रहेको नेपाल संवत्काे भने ११३८ वर्ष पहिले शंखधर साँख्वाले प्रचलनमा ल्याएका हुन् । त्यसबाहेक पनि विश्वका थुप्रै मुलुकमा आफ्नै रीति, संस्कृति र परम्पराअनुसारका क्यालेन्डर प्रयोगमा रहेका छन । विक्रमादित्यले लागू गरेको सवत्सर मान्नेहरूले आउँदो वैशाख एक गतेदेखि आफ्नो घर–घरमा झुण्ड्यार राखेको पात्रोलाई झिकी नयाँ वर्षको पात्रोलाई राख्दछन् ।

०७४ साल हामी बीचबाट सुख दुःखका विभिन्न घटनाहरू घटाएर हामीबाट सधैंको लागि बिदा भएको छ । हामी दुई करोड ८७ लाखभन्दा बढी नेपालीमध्ये धेरैले ०७४ लाई उत्साहपूर्वक स्वागत गरेर बडोे सुमधुर सम्झना संगाल्दै विदा गर्यौ भने कतिले उक्त वर्षलाई आफ्नो जीवनमा कहिल्यै नमेटिने विषाद भरेर गएको पनि महसुस गरे होलान् । मानव जीवनमा खास गरेर हाम्रा उत्सव र धार्मिक कृत्यहरूमा आठ प्रकारका काल विभाग कार्यमा आउँदछन् संवत्सर (वर्ष), अयन, ऋतुु, मास, पस, पक्ष, तिथि, बार, नक्षत्र हुन् ।

संवत्सर वा वर्ष ऋतुुहरूको पूर्ण एक चक्रलाई भनिन्छ । संवत्सर पाँच प्रकारको मानिन्छ सावन, सौर, चान्द्र, नक्षत्र र वाइस्पत्यका हुन । यिनीहरूमध्ये नक्षत्र र बार्हस्पत्य संवत्सर ज्योतिषशाषस्त्रमा मात्र प्रयोग हुन्छ भने बाँकी तीन संवत्सरहरू हाम्रो दैनिक व्यवहार र धार्मिक व्यवहारमा काम आउँदछन् । सावन संवत्सर ३ सय ६० दिनको मानिन्छ । जसअनुसार पूरा ३० दिनको महिना हुन्छ । चन्द्र संवत्सर प्रायः गरेर ३ सय ५४ दिनको हुन्छ । अधिक मासको कल्पना र व्यवस्था चान्द्र संवत्सरअनुसार नै मानिएको हुन्छ । अधिक मास परेको वर्ष १३ महिनाको हुन्छ भने सो नपरेको वर्ष १२ महीनाको नै हुन्छ ।

सौर संवत्सर ३ सय ६५ दिनको हुन्छ । यो सूर्यको गतिसँग सम्बद्ध छ । हाम्रा मेष, वृष, मिथुन, आदि बाह्र राशिहरू छन् । तीमध्ये प्रथम राशि मेषमा सूर्यको संक्रमण वा गति प्रारम्भ भएपछि सौर संवत्सर सुरु हुन्छ । यसै आधारमा हाम्रो नववर्षको व्यवस्था र प्रचलन चलेको हो । नेपाली पञ्चाङ्गहरूमा चार किसिमका संवत्हरू लेख्ने चलन छ । विक्रम संवत्, इशवीय सन्, शालिवाहनीय शक र नेपाल देशीय जसंवत् संवत् हुन । यी सबैमध्ये विक्रम संवत् सबैभन्दा जेठो संवत् हो । नेपालमा अन्य प्रचलित संवत्हरू मध्ये यूगलवाइनीय शाक संवत्, नेपाल संवत् र इस्वी सन् मुख्य छन् ।

संवत्सर प्रत्येक देशमा नयाँ वर्ष मनाउने आ–आफ्नै परम्परा छ । पौराणिक ग्रन्थअनुसार समस्त जगत्को उत्पति श्री विष्णुको नाभी कमलोद्भूत श्री ब्रह्माजीबाट भएको बताइन्छ । विद्वान ज्योतिषिहरूले यस ब्रह्माण्डको संरचना भएको ०७५ को प्रारम्भसम्ममा १ अर्ब ९५ करोड ५८ लाख ८५ हजार १ सय १९ वर्ष पुगेको ठोेकुवा गरेका छन् । सत्य, त्रेता, द्वापर र कली गरी चार युग बित्दा एक महायुग हुन्छ । एक महायुगको एक कल्प एवं दुई कल्प बराबर ब्रह्माजीको जन्मआयु १०० वर्ष हुन्छ । वैदिक सनातन धर्मशास्त्र एवं ज्योतिषशास्त्रअनुसार १४ मन्वन्तर ३० कल्प हुन्छन् ।

चतुर्युगको एक महायुग हुन्छ । सत्ययुग १७ लाख २८ हजार, त्रेता युग १२ लाख ९६ हजार, द्वापरयुग ८ लाख ६४ हजार र कलियुग ४ लाख ३२ हजार वर्षका हुन्छन् । साँढे ७२ चतुर्युगको एक मन्वन्तर हुन्छ, १४ मन्वन्तरको एक कल्प हुन्छ, जसलाई प्रलय पनि भनिन्छ । ३० कल्पको एक महाप्रलय हुन्छ । यस समयमा ब्रह्माको १०० वर्षको आयु पूरा भएको हुन्छ । त्यसपछि पुनः सर्ग अर्थात् सृष्टि हुन्छ । यद्यपि प्रत्येक कल्पमा प्रलय र सृष्टि हुन्छ भन्ने गरिएको छ । महाप्रलयपछि ब्रह्मा, विष्णु, शिव, कृष्ण, देवी आदि देवताहरूमध्ये एकलाई प्रधान मानी सृष्टि हुन्छ ।

त्यसैले हाम्रा पुराण एवं अन्य धर्मशास्त्रहरू जुन हेर्यो, त्यहि सर्वाधिक ठूलो भनि वर्णन गरिएको हुन्छ । वर्तमान समय श्वेतवाराह कल्पको सातौँ वैवश्वतमन्वन्तर २८औं कलियुगको ५ हजार एक सय १८ वर्ष पूरा भई पाँच हजार एक सय १९ वर्षमा प्रवेश गरेको छ । कलियुगको आयु चार लाख २६ हजार आठ सय ८२ वर्ष समाप्त हुन बाँकी छ । वर्षमानलाई विभिन्न विद्वानहरूले आ–आफ्नो मतअनुसार पेस गरेका छन् । यसमा सूर्य सिद्धान्तअनुसारः एक वर्ष बराबर तीन सय ६५ दिन १५ घडी ३१ पला ३० विपला हुन्छ ।

त्यस्तै, गरी सिद्धान्त शिरोमणिका अनुसार एक वर्ष बराबर ३ सय ६५ दिन एक घडी ३० पला २०÷३० विपला हुन्छ । र यूरोपियनी विद्वानका अनुसार एक वर्ष बराबर तीन सय ६५ दिन एक घण्टा ४८ मिनेट ४६ दशमलव ०५४ सेकन्ड हुन्छ । यसको साथसाथै इस्वी सन्मा ५७ जोडे विक्रम संवत् हुन्छ । विक्रम संवत् र इस्वी सन्मा वैशाखदेखि पुस १५ गतेसम्म ५७ वर्ष र पुसदेखि चैत्रसम्म ५६ वर्षको फरक पर्छ । समग्रमा भन्नुपर्दा हाम्रो नयाँ वर्ष सधै वसन्त ऋतुको आगमन साथै आउने हुँदा प्रकृतिमा नयाँ नौलो आभाष आएको अनुभव हुनु स्वभाविकै हो ।

यसै बेलामा उजाड तथा पतझड बोट विरुवाहरूमा हरियालीले छाएको हुँदा सारै राम्रो दृश्यहरूको अवलोकल गर्न सकिन्छ । यसै समय काफल गेडी पाक्ने समय र कोइलीको मधुर स्वर सँगसँगै काफल पाक्यो भन्ने चराको स्वर वन जंगलमा घन्कीरहेको हुन्छ । यति बेला नव विवाहित पति पत्नीले वन जंगल विहार गर्ने हो भने स्वर्ग नै भएको भान पर्न जान्छ । यसरी प्रकृतिले पनि आफ्नो स्वरुप बदल्ने यसै अवसर परेको हुँदा के बुढा, के युवक सबै नयाँ वर्षलाई भावि भविष्यको रूपमा हेर्दछन् ।

यसै पावन अवसरमा आफ्ना इष्ट मित्र, नाता कुटुम्ब, साथीसंगिनी आदिलाई भेट गर्ने मिठोे मसिनो खाने र ख्याउने भएको हुदाँ यस पर्वको महत्व ज्यादै लोकप्रियता हुन गएको छ । सबैले नयाँ वर्षको पात्रो किनेर आ–आफ्नो राशिफल के कस्तो छ भन्ने उत्सुकता रहेको हुन्छ । विगत वर्ष जे जस्ता घटनाहरू घटे तिनीहरूलाई चटक्क बिर्सि नयाँ वर्षमा आफ्नो कार्य शैलीलाई अगाडि बढाउन तछाड–मछाडको भावना अभिपे्ररीत भएको हुन्छ । हिजोका कार्यलाई समष्टिरूपमा मूल्यांकन गरी भावी कार्यक्रमहरूको थालनी गर्ने जमर्काे गरिएको हुन्छ ।

प्रत्येक वैशाख १ गतेदेखि नयाँ वर्ष सुरु हुन्छ । यसरी आउँने नववर्षलाई स्वागत र पुरानो वर्षलाई बिदाई गरिन्छ । यसरी स्वागत र बिदाई गर्ने परम्परा आ–आफ्नो देशमा आ–आफ्नै प्रकारका हुन्छन् । यसरी आउने नववर्षलाई हार्दिक शुभकामनाका साथ एक अर्कोमा शुभकामना सन्देशहरूलाई आदान–प्रदान गर्ने कार्य तदारुकका साथ गरिन्छ । आफ्ना शुभचिन्तकहरूलाई यस सुर्वण अवसरमा भविष्यकको उत्तरोउत्तर प्रगतिको साथसाथै चिरायुको कामना सबैमा गरिन्छ ।

प्रतिक्रिया