निजीकरणबारे सरकार र प्रतिपक्षको जुहारी

लेखकः हरि लम्साल

आम्दानीभन्दा धेरै खर्च भएर आन्तरिक ऋणका भरमा मुलुक चलिरहेका बेला अर्थमन्त्री डा.युवराज खतिवडाले सरकारी ढुकुटी रित्तिएको भन्दै अर्थतन्त्र अप्ठ्यारोमा परेको भनी ८९ बुँदे श्वेतपत्र सार्वजनिक गरे । यो श्वेतपत्रपछि प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेस आक्रोशित भएको छ । देशको ढुकुटी रित्तो छ कि छैन ? यदी रित्तो छ भने के कारणले रित्तो भएको हो ? यस विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग नेपाली कांग्रेसले गरेको छ ।

निजीकरण मुलुकका लागि गलत थियो भन्ने कुरा श्वेतपत्रमा उल्लेख गरिएपछि पनि नेपाली कांग्रेस आक्रोसित देखिएको हो । निजीकरण नेपाली कांग्रेसको अवधारणा हो । निजीकरणका सन्दर्भमा अर्थमन्त्री डा. खतिवडाको विरोधलाई चुनौती दिँदै निर्वतमान अर्थ राज्यमन्त्री उदयशमशेर राणाले भनेका छन्, ‘यदी निजीकरण गलत हो भने सरकार आफैँले उद्योग खोले के भयो त ?

एक दिनको राजश्वले एउटा ठूलो उद्योग खोल्न सकिने गरी मुलुकको अर्थतन्त्रको विकास कांग्रेसले गरिदिएकै छ ।’ श्वेतपत्रपछि सरकार र प्रतिपक्षबीचको जुहारी निकै रोचक देखिएको छ । अर्थमन्त्री डा. खतिवडाले स्वेतपत्रमा भनेका छन्– ‘वित्तीय अनुशासन र स्थापित मान्यताविपरीत कर छुट दिँदा सरकारी ढुकुटी लगभग रित्तिएको छ । लक्षित राजस्व संकलन पूर्ण नहुने देखिएको छ । समष्टिगत आर्थिक परिसूचक प्रायः नकारात्मक छन् । वित्तीय अनुशासन कायम हुन नसक्दा स्रोतको अनिश्चितता बढ्दो छ ।

स्रोत नै नभई बजेटको आकार बढाउन मनोगत आधारमा स्रोत देखाइएको छ, वैदेशिक सहायता प्राप्त हुन्छ भन्ने अड्कल गरिएका कतिपय आयोजनामा कुनै छलफलसम्म भएको छैन । अत्यन्त गोप्य राखिने बजेट निर्माणमा खेलाँची हुने गरेको छ । मुलुक संघीयतामा गइसकेपछि एकातिर स्वभाविकरूपमा प्रशासनिक खर्चमा बृद्धि हुनेछ भने अर्कोतिर सबै तहमा विकासका लागि थप साधन–स्रोत चाहिने अवस्था छ ।’

अर्थतन्त्रको आकार २५ अर्ब अमेरिकी डलर रहेको उल्लेख गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले श्वेतपत्रमा भनेका छन्, ‘नेपाल विकसित राष्ट्रमा स्तरोन्नति भएन, आयको ९० प्रतिशतभन्दा बढी खर्च उपभोगमा छ । एक दशकसम्म आर्थिक वृद्धिदर औषतमा चार प्रतिशत मात्रै भयो । ८० प्रतिशतभन्दा कम बजेट भौतिक पूर्वाधारमा खर्च भएको छ । ३ सय ७९ पालिका बैंकिङ पहुँचबाहिर छन् । व्यापार घाटा २५ वर्षमा ४२ गुणाले वृद्धि भएको छ । समग्र अर्थतन्त्र नै आयातमुखी भएको छ ।

तर, नेपाली कांग्रेसका नेता पूर्वअर्थमन्त्री डा.रामशरण महतले खतिवडाको भनाइको कटाक्ष गरेका छन् । उनले भनेका छन्– ‘अझै पनि अर्थतन्त्रको आधार बिग्रिसकेको छैन, सुधारको काम व्यवहारमा देखाउनुपर्छ ।’ अर्थविद् एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकर शर्माले भने– ‘अर्थतन्त्रमा समस्या छ भनेर हामीले बारम्बार भनिरहे पनि सरकारले सुनेको थिएन, यसपटक कमसेकम समस्या छ भन्ने सरकारले बुझ्यो र अब समाधान पनि सबै मिलेर गर्नुपर्छ ।’

अर्थमन्त्रीले देखाएका समस्या

संरचनात्मक : नेपालीको आयको ९० प्रतिशत उपभोगमा नै खर्च हुने र बचत न्यून छ । सबैजसो उपभोग्य वस्तु आयात हुने भएकाले उत्पादन लागत र व्यापार घाटा बढ्दै । उत्पादनमूलक क्षेत्र खुम्चिँदो र रोजगारीको अवसर कुण्ठित छ । कमजोर पूर्वाधारका कारण आर्थिक क्रियाकलाप खुम्चिँदो छ ।

वित्तीय  : कुल जनसंख्याको ४० प्रतिशतलाई मात्रै बैकिङ सेवा र पाँच प्रतिशतभन्दा कमलाई मात्रै ऋण सेवा छ । सात सय ५३ पालिकामध्ये तीन सय ७९ पालिकाहरूमा मा अझै वाणिज्य बैंकहरू पुगेका छैनन् । उत्पादनशील र निर्माण क्षेत्रमा कुल कर्जाको १६ दशमलव ३ र १० दशमलव ६ प्रतिशतमात्र लगानी छ । बिमाको दायरा सीमित र सहरकेन्द्रित छ ।

बाह्य क्षेत्र : २५ वर्षमा व्यापार घाटा ४२ गुणाले बढ्यो । चालू आर्थिक वर्षको सात महिनामा ६ खर्ब १४ अर्ब व्यापार घाटा भयो । कुल व्यापार घाटाको ६६ प्रतिशत भारतसँग मात्रै छ । सबैभन्दा बढी आयात इन्धन र कृषिजन्य पदार्थमा छ । चालु आर्थिक वर्षको ७ महिनामा रेमिट्यान्स वृद्धि १ दशमलव ७ प्रतिशत छ । अघिल्लो वर्ष ५ दशमलव २ प्रतिशत थियो ।

वैदेशिक सहायता : पाँच वर्षमा प्रतिबद्धता गरिएको रकमको ५१ प्रतिशतमात्रै प्राप्ति भएको छ । गत आवमा ऋणमार्फत २६ र अनुदानतर्फ ३२ प्रतिशतमात्रै खर्च भएको छ । वैदेशिक सहायतामा सञ्चालित अधिकांश आयोजना समयमा सम्पन्न हुन सकेका छैनन् । नेपाल आउने वैदेशिक सहायतामध्ये २५–३० प्रतिशत रकम बजेटमा समावेश हुन्न ।

सार्वजनिक खर्च : हरेक वर्ष औषतमा १७ प्रतिशतले सार्वजनिक खर्चमा वृद्धि भएको छ । राजस्वको तुलनामा १ सय १० प्रतिशत सार्वजनिक खर्च छ । बजेटमा प्रस्ताव गरिएको खर्च गर्ने स्रोतमा नै झण्डै २ खर्ब नपुग छ । ७० प्रतिशत पुँजीगत बजेट अन्तिम चौमासिकमा खर्च भएको छ । चालु आर्थिक वर्षको ६७ प्रतिशत समयमा ४१ प्रतिशत बजेटमात्रै खर्च भएको छ । ५ वर्षमा पेन्सन खर्चमा १ सय ५६ प्रतिशतले वृद्धि भएको छ । १० वर्षमा पेन्सन खर्च ३ खर्ब नाघ्नेछ ।

राजश्व : आयकरतर्फ १० लाख र मूल्य अभिवृद्धि करतर्फ १ लाख ९० हजारमात्र करदाता दर्ता छन् । कूल राजस्वमा आयातमा आधारित राजस्वको योगदान ४७ प्रतिशत छ । कुल राजस्वमा आन्तरिक राजस्वको योगदान ३६ प्रतिशतमात्र छ, त्यसमध्ये पनि सेवा क्षेत्र बढी छ । मूल्य अभिवृद्धि करदातामध्ये ३० प्रतिशतले कर विवरण बुझाएका छैनन् , विवरण बुझाउने ३४ प्रतिशतले कारोबार नभएको देखाउने गरेका छन् ।

प्रतिक्रिया