‘०५१ सालमा ७२ वर्षको उमेरका कोइरालाले गरेको उद्घोष र यतिवेला ७० वर्र्षको उमेरका देउवाले गरेको उद्घोषमा तात्विक भिन्नता छैन । फरक कति मात्रै हो भने त्यतिवेला कोइरालाको पार्टीभित्रको हैसियत केन्द्रिय सदस्य मात्रै थियो भने यतिवेला देउवाको हैसियत सभापतिको छ । पार्टीभित्रको आफ्नो विरोधी कित्तालाई छिन्नभिन्न पार्न त्यतिवेला कोइरालाले जुन सफलता प्राप्त गरेका थिए यतिवेला देउवाले पनि करिबकरिब त्यही सफलता प्राप्त गरेका छन्‘
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच वर्षभित्र आफ्नो पार्टीलाई दोस्रो स्थानबाट पहिलो स्थानमा उकाल्ने उद्घोष गरेका छन् । ‘अर्ली’ महाधिवेशन बोलाएर देउवालाई सभापति पदबाट विस्थापित गर्ने अभियान रामचन्द्र पौडेल पक्षले सुरु गरेकै वेला देउवाद्वारा गरिएको यो उद्घोषअर्थपूर्णछ ।
देउवा कुनै पनि हालतमा अर्ली महाधिवेशनको पक्षमा छैनन्, एक वर्ष कार्यकाल थपेर अझै तीन वर्ष पार्टीको नेतृत्व गर्ने र त्यसपछि हुने १४औँ महाधिवेशनमा पनि आफैँ सभापति निर्वाचित हुने अभियानमा छन् भन्ने संकेत हो यो ।
भन्निछ इतिहास दोहोरिँदैन, इतिहासका घटना दोहोरिन्छन् । देउवाको यो उद्घोष र ०५१ सालको मध्यावधि निर्वाचनपछि नेपाली कांग्रेसका तत्कालीन केन्द्रीय सदस्य गिरिजाप्रसाद कोइरालाले गरेको उद्घोषबीचको समय अन्तर २४ वर्षको छ । तर, उद्घोषको सन्दर्भ र परिवेश एउटै छ । त्यतिवेला कोइरालाले नेपाली कांग्रेसको एकलौटी बहुमत भएको संसद्लाई विघटन गरी मध्यावधि निर्वाचनमा मुलुकलाई होमेका थिए ।
मध्यावधि निर्वाचनको परिणमले नेपाली कांग्रेसलाई दोस्रो स्थानमा धकेलेको थियो । त्यो दुर्घटनाको दोषी एक मात्रै पात्र कोइराला थिए । मध्यावधि निर्वाचनपछि कोइरालाको पार्टीभित्र हैसियत केन्द्रीय सदस्य मात्रै थियो । सभापति कृष्णप्रसाद भट्टराई थिए, संसदीयदलको नेता देउवा थिए । छँदाखाँदाको बहुमतको संसद् विघटन गरेर पार्टीलाई रसातलमा पु¥याएबापत कोइराला कारबाहीको पात्र हुनुपर्ने थियो, नभए पनि पार्टीभित्र उनको शक्ति क्षीण हुँदै जानुपर्ने थियो ।तर, उनी झन्झन् बलिया हुँदै गए ।
पार्टीलाई पुरानो अवस्थामा नपुर्याएसम्म आफूले विश्राम नलिने उद्घोष कोइरालाले गरे । कोइरालाको उमेर त्यतिवेला ७२ वर्षको थियो । ०५३ सालमा सम्पन्न नवौँ महाधिवेशनमा कोइरालाले अध्याधिक बहुमतका साथ सभापति पदमा चुनाव जिते । जसका कारण पार्टी रसातलमा पुगेको थियो उनै कोइरालालाई कांग्रेसका कार्यकर्ताहरूले अत्याधिक बहुमतका साथ सभापति पदमा चुनाव जिताए । कोइराला सभापति निर्वाचित भएको एक वर्षपछि ०५४ सालमा मुलुकमा स्थानीय निर्वाचन सम्पन्न भयो ।
उक्त निर्वाचनमा नेपाली कांग्रेसले यति करारी पराजय बेहोरेको थियो कि, त्यसको दाँजोमा अहिले बेहोरेको पराजय केही पनि होइन । तर, जुन अनुपातमा नेपाली कांग्रेस अरू पार्टीद्वारा पराजित हुँदै गयो त्यही अनुपातमा कोइराला कांग्रेसभित्र बलियो हुँदै गए । ०६४ सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसले बेहोरेको ठूलो पराजयले पनि कोइरालाको शक्ति पार्टीभित्र क्षीण भएन, अझै बलिया हुँदै गए । मृत्यु शै्ययामा नपुग्दासम्म उनी पार्टीको सभापति भई नै रहे । यतिवेला नेपाली कांग्रेसभित्र करिबकरिब त्यही इतिहास दोहोरिएको छ ।
स्थानीय तहको निर्वाचनमा माओवादीसँग तालमेल गर्दा पनि नेपाली कांग्रेसले करिब ३५ प्रतिशत स्थानमा सीमित भयो । प्रदेशसभामा करिब १९ प्रतिशत र प्रतिनिधिसभामा करिब २२ प्रतिशत सिटमा सीमित भयो । यो पराजयको जिम्मेवारी लिँदै देउवाले यथाशीघ्र सभापतिपदबाट राजीनामा दिनुपर्ने कुरा पार्टीभित्र उठ्यो । पौडेल र कृष्णप्रसाद सिटौलापक्ष मात्रै होइन देउवाको टिमबाट १३औँ महाधिवेशनमा निर्वाचित भएका कतिपय केन्द्रीय सदस्यहरूसमेत देउवाले यथाशीघ्र विशेष महाधिवेशन बोलाएर पद छाड्नुपर्ने अभियानमा जुटे ।
विशेष महाधिवेशन नबोलाइए विधानबमोजिम आफूले बोलाउने भन्दै महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन गर्ने उद्घोष गगन थापालगायत सात जना युवा केन्द्रीय सदस्यहरूको टोलीले गर्यो । सभापति देउवाविरुद्ध पार्टीभित्रबाट भएको यो अभियान मिडियामा र सडकमा छताछुल्ल भयो । पार्टीभित्र देउवा कमजोर भएकै हुन् कि ? भन्ने अनमान थियो तर संसदीय दलको निर्वाचनले त्यो अनुमान गलत सावित भयो । देउवा पक्षका सांसद सबै इन्ट्याक रहे । पौडल र सिटौला पक्षका केही सांसदहरूले समेत देउवालाई साथ दिए ।
यसअघिका निर्वाचनमा भन्दा पनि फराकिलो मत अन्तरमा देउवाले संसदीयदलको नेतापदमा चुनाव जिते । जसरी ०५१ र ०५४ र ०६४ सालको पराजयमा गिरिजाप्रसाद कोइराला एक्ला कारक थिए त्यसरी ०७४ सालमा सम्पन्न तीन वटा तहको निर्वाचनमा पार्टी पराजित हुनुमा सभापति देउवा एक्ला कारक होइनन् भन्ने निष्कर्षमा कांग्रेसका अधिकांश कार्यकर्ता पुगेको देखिन्छ । देउवाले स्थानीय निर्वाचन हाँक्ने कमान्डर वरिष्ठ नेता पौडेललाई दिएको र सहमतिका आधारमा उम्मेदवार चयन गरिएको कुरा बाहिर ल्याए । यसलाई पौडेल पक्षले होइन भन्न सकेन ।
यसैगरी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि देउवाले प्रचारप्रसार समितिको संयोजक युवानेता गगन थापालाई तोकेका थिए भने संसदीय समिति गठन गरेर उम्मेदवार चयन गरेका थिए । प्रत्यक्षतर्फ पौडेल समूहलाई ३५ प्रतिशत र सिटौला समूहलाई पाँच प्रतिशत दिएका थिए । उम्मेदवार चयन प्रक्रियामा आफैँ संलग्न भएका पौडेल आफैँ पनि पराजित भए । जसका कारण पौडेलद्वारा देउवा उपर गरिएको विरोधको स्वर फितलो हुन पुग्यो । यसैगरी चुनाव प्रचारप्रसार समितिको संयोजकको रूपमा युवा नेता गगन थापाले निर्वाह गरेको फितलो भूमिका पनि कांग्रेस पराजयको एक कारण रहेको कुरा देउवा पक्षधरहरूले सशक्त रूपमा उठाए ।
जसका कारण गगनद्वारा देउवा उपर गरिएको विरोधको स्वरलाई पनि कार्यकर्ताहरूले रुचाएनन् । संसदीयदलको निर्वाचनमा देउवाले विगतमा भन्दा फराकिलो मत अन्तरले चुनाव जित्नुको मुख्य कारण यही हो । समय बित्दै जाँदा नेपाली कांग्रेसभित्र देउवा विरोधी स्वर पातलिँदै गएको देखिन्छ । सुरुको चरणमा देउवाका विपक्षीहरूले तत्काल राजीनमा दिएर नेतृत्व हस्तान्तरणको माग गरेका थिए । दोस्रो चरणमा पुगेपछि विशेष महाधिवेशन बोलाएर नेतृत्व हस्तान्तरणको माग गरे । तेस्रो चरणमा पुगेपछि अर्ली महाधिवेशनको माग सुरु भएको छ ।
यसरी आफ्ना विपक्षीहरूलाई क्रमशः गलाउन सफल हुँदै गएका देउवाले गत शुक्रबार मुखै खोलेर भने, ‘पाँच वर्षभित्र पार्टीलाई पहिलो पोजिसनमा पुर्याउँछु ।’ ०५१ सालमा ७२ वर्षको उमेरका कोइरालाले गरेको उद्घोष र यतिवेला ७० वर्र्षको उमेरका देउवाले गरेको उद्घोषमा तात्विक भिन्नता छैन । फरक कति मात्रै हो भने त्यतिवेला कोइरालाको पार्टी भित्रको हैसियत केन्द्रीय सदस्य मात्रै थियो भने यतिवेला देउवाको हैसियत सभापतिको छ । पार्टीभित्रको आफ्नो विरोधी कित्तालाई छिन्नभिन्न पार्न त्यतिवेला कोइरालाले जुन सफलता प्राप्त गरेका थिए यतिवेला देउवाले पनि करिबकरिब त्यही सफलता प्राप्त गरेका छन् ।
खुमबहादुर खड्काको निधनपछि देउवा आफ्नो गुटमा हुकुमको एक्का सावित भएका छन् । उनलाई आफ्नो गुटभित्र चुनौती दिनसक्ने नेता अब छैनन् । आफ्नो विपक्षी गुटभित्र महामन्त्री डा. शशांक कोइराला र पूर्वउपसभापति प्रकाशमान सिंहबीच अविश्वासको ठूलै दरार उत्पन्न गराउन देउवा सफल हुँदै गएका छन् । आफ्ना विपक्षीहरूलाई पार्टीबाटै धकेलेर परिवारको विरासत स्थापित गर्ने गिरिजाप्रसाद कोइरालाको अभियानलाई देउवाले पनि नक्कल गर्ने डरलाग्दो संभावनालाई अहिलेको पराजयले कमजोर बनाएको विश्लेषण गर्नेहरू पनि कांग्रेसभित्र कम छैनन् ।
पत्नी आरजुको पराजयका कारण देउवाले कोइरालाहरूले जस्तै पार्टीभित्र आफ्नो पारिवारिक विरासत स्थापना गर्ने अभियानलाई त्याग्न वाध्य हुने विश्लेषण गरिएको थियो । तर, पछिल्ला दिनमा आरजुले आफ्नो निर्वाचन क्षेत्र कैलालीमा फेरी गतिविधि बढाउन थालेकी छिन् । केही साताअघि मात्रै उनले कैलालीमा पुगेर डुबानबाट मृत्यु भएका तीन जना बालबालिकाका परिवारलाई पाँच÷पाँच लाख रुपैयाँका दरले रकम प्रदान गरिन् । देउवा संसदीयदलको नेता निर्वाचन हुने बित्तिकै आरजुको कैलाली क्षेत्रमा बढेको सक्रियता संयोग मात्रै होइन ।
प्रतिक्रिया