निनाम लोवात्ती कुलुङ आजभोलि राई भन्न÷भनिन चाहनेहरूबीच मधुरो स्वरमा छलफल हुने गरेको सुनिन्छ ‘राई बन्ने कि राउटे ?’ यो बहस संख्याको आधारमा राजनीति गर्ने खासगरी भोट बैंकको लागि राजनीति गर्नेहरूका लागि वास्तवमै चाखलाग्दो विषय हुन सक्छ ।
त्यसमाथि कानुनी रूपमा नामको पछाडि ‘राई’ लेख्न नपाउँदा (०२१ सालको भूमिसुधार ऐन आउनुअघि) सम्म वल्लो किराँत, माझ किराँत र पल्लो किराँतको वल्लो भेग (अरुण पूर्वको धनकुटा, संखुवासभालगायत क्षेत्रमा) त्यो बेलाका रैतीहरूलाई खासगरी किराँती मुलका रैती (अहिले चलेको भाषामा भन्नुपर्दा सर्वसाधारण नागरिक) हरूलाई नामको पछाडि ‘राई’ लेख्न पाए आफू पनि जिम्मावाल÷तालुकवाला ‘राई’ जस्तै ठूलो मान्छे होइन्थ्यो !
भन्ने लालसाले गर्दा पनि भूमिसुधार ऐनसँगै आएको व्यक्ति÷परिवारको नाममा जग्गा–जमीन दर्ता गर्ने, लालपूर्जा लिने÷दिने क्रममा माझ, किराँतलगायतका ढाक्रे÷रैतीहरूले आफ्नो नामको पछाडि ‘राई’ लेख्न चाहे । तर, जिम्मवाल÷तालुकवाला ‘राई’हरूले ‘असलीयतमा त म पो ‘राई’ हुँ, सरकारलाई कर तिरेर ‘राई’ भएको छु, यिनीहरू कसरी ‘राई’ हुन् ? यिनीहरू त मेरो ढाक्रे हुन्, रैती हुन्, यिनीहरूलाई म मरिगए पनि ‘राई’ लेख्न दिन्न भनी अड्डी कसेका थिए ।
तर, ती जिम्मावाल÷तालुकवाला ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’हरूले भूमिसुधार ऐन आएसँगै आफूले पाएको हकअधिकार अथवा एक किसिमले भनौँ भने आफ्नो हैकम पनि ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’सँगै उन्मुलन भएको धेरैपछि मात्रै थाहा पाए । त्यतिमात्रै होइन, त्यसपछि स्थानीयस्तरमा शक्तिशाली रहेका जिम्मावाल÷तालुकवाला ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’हरूको हातबाट जग्गा–जमीन (किपट) खोस्नुका साथै उनीहरूले स्थानीयस्तरमै छिनोफानो गर्न पाउने गरी पाएको पञ्चखतबाहेकका नियाँ–निसाफ गर्ने अधिकारसमेत खोसियो ।
जे होस्, यसरी ०२१ सालमा भूमिसुधार ऐन आउनुअघि जिम्मवाल÷तालुकवाला ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’हरूको हातमा रहेको जग्गा–जमीनको हकअधिकार खोसिएपछि जग्गा–जमीन व्यक्ति÷परिवारको नाममा दर्ता गर्ने, लालपूर्जा लिने÷दिने क्रम सुरु भयो । यसरी जग्गा–जमीन व्यक्ति÷परिवारको नाममा दर्ता गर्ने, लालपूर्जा लिने÷दिने क्रममा धेरै ठाउँमा व्यक्ति÷रैतीहरूको नामको पछाडि के लेख्ने ? अन्यौल र विवाद भयो । खासगरी यो लफडा किराँती क्षेत्रमा बढी भएको थियो ।
किनभने, ०२१ सालमा आएको भूमिसुधार ऐनअघि स्वयम ‘राई’ पदवी÷पगरी पाएका व्यक्तिहरूले पनि नामका अगाडि नै ‘राई’ भनी लेख्थे भने, ती ठूला भनिएका राईहरूले पनि रैतीहरूको जस्तै आफ्नो नामको पडाडि बल्ल ‘ज्यमी’÷‘जिमी’ लेखेको पूरानो कागजपत्रहरूमा देखिन्छ÷भेटिन्छ । यसबारेमा सन् ००७ मा भएको विश्व आदिवासी दिवसको अवसरमा काठमाडाैँको मल्ल होटलमा भएको छलफलको क्रममा यो पंक्तिकारले वास्तवमा ‘राई’ नेपालको कुनै जात वा जाति नभएर विगतमा (नेपालको भौगोलिक एकीकरणपछि) शासकहरूले दिएको पदवी÷पगरी मात्रै हो ।
तर, हाल त्यही ‘राई’ पदवी÷पगरीलाई नै जाति मान्दा २८ भन्दा बढी किराँतीहरूको पहिचान लोप भएर जान लागेको छ भनी फ्लोरबाट कुरो उठाएको थियो । त्यसपछि खाना खाने ब्रेकको समयमा डा. शिव राई (जो माओवादीको सरकारको पालामा राष्ट्रिय योजना आयोगको सदस्य पनि भए) ले यो पंक्तिकारको छेउमै आएर भनेका थिए –“भाइले सारै राम्रो प्रश्न उठाउनुभयो । म पनि भोजपुरको ठूलो राईको छोरा हुँ ।
म सानो छँदा हाम्रो घरमा विभिन्न झैँ–झगडा छिन्न, घरायसी राजीनामा लेख्न, बन्धकी तमसुक लेख्न रैतीहरू आउँथे । म नै त्यस्ता घरायसी राजीनामाको कागज, बन्धकी तमसुक, झैँ–झगडाको मिलापत्र (लेख्नुपर्ने भए नत्र झँै–झगडा आपसमा कागज नगरी नै मिलाउथेँ) लेख्थेँ । त्यसबापत गच्छेअुसार आना, सुका, मोहर, कसैकसैले एक रूपैयाँ पनि दिन्थे । भूमिसुधार ऐन आएपछि ऐनसँगै आएको व्यक्ति÷परिवारको नाममा जग्गा–जमीन दर्ता गर्ने, लालपूर्जा लिने÷दिने क्रममा ढाक्रे÷रैतीहरूले नामको पछाडि ‘राई’ लेख्न चाहे भने मेरो बाबुले कुनै हालतमा ढाक्रे÷रैतीलाई ‘राई’ लेख्न नदिने भए !
केही सीप नलागेपछि पञ्च–भलादमीहरू भेला भएर ५÷६ दिनसम्म छलफल गरे । अन्ततः केही सीप नलागेपछि मेरो ‘राई’ बाबु गले । रैतीहरूको ठूलो जीत भयो । अर्थात् अब रैतीहरू पनि ‘राई’ भए । यसरी भूमिसुधार ऐन आउनु अघिसम्म रैती भएकाहरू पनि भूमिसुधार ऐन आएसँगै ठूला ‘राई’ भए ! भनी बताएका थिए । त्यसैले, ‘राई’ भन्नाले सुरुदेखि नै नेपालको कुनै जात वा जाति जनाउँथेन भन्ने थाहा नभएका जातजातिहरूले राई भन्ने शब्दले जाति नै जनाउँछ भन्ने भ्रम रहनुमा कुनै आश्चर्य भएन । तर, विगतमा जे भएपनि अहिले राईले नै चिनियौँ, त्यसैले अब राई नै हुनुपर्छ, फुटेर किन राउटे हुने !
भन्नेहरूले भने आफैँप्रति निर्मम हुँदै एकपटक इतिहासतिर फर्कनैपर्छ । किनभने पृथ्वीनारायण शाह र उनका सन्तानले नेपालको भौगोलिक एकीकरण गरेपछि केन्द्रमा रहेका शाह÷राणा शासकहरूले पूर्वमा रहेको एउटै किराँत भूगोललाई फुटाएर तीनटुक्रामा विभाजन गरेर वल्लो किराँत, माझ किराँत र पल्लो किराँत बनाए । वल्लो किराँतका स्थानीयस्तरका प्रभावशाली किराँती अर्थात् सुनुवार (कोइँच) लाई मुखिया’, माझ किराँतका प्रभावशाली किराँतीहरू जस्तै, कुलुङ, साम्पाङ, बान्तावा, चाम्लिङ आदिलाई ‘राई’, पल्लो किराँतका लिम्बु र लाप्चालाई ‘सुब्बा’, याक्खालाई ‘देवान’ र तराईका थारुलाई ‘चौधराई’ दिइयो ।
पछि यी पदवीहरू थकाली, क्षेत्री, बाहुन, मगर, गुरुङ, दनुवार, माझी, मधेसी, मुसलमानलगायतले पनि पाएको देखिन्छ । जस्तै ०६४ मा बाँके क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका तत्कालीन संविधानसभा सदस्य मोहमद इस्तियाक राई, सोलुखुम्बुका छत्रध्वज बस्नेत, शिवबहादुर बस्नेत, कृष्णबहादुर बस्नेत, ओखलढुंगाका टेकमानध्वोज कार्की, तेजप्रसाद कोइराला (हाल उनको निधन भैसकेको छ), संखुवासभाका दुर्गामणि देवान (उनलाई काठमाडाैँमै भेट्न सकिन्छ । जो राईको जेठो छोरो भएको नाताले ०४५ मा आफ्नो असली राई बाबुको निधनपछि ०५१÷५२ सम्म राई भएका थिए ।
यसरी हेर्दा राजाको जेठो छोरो नै राजा भएजस्तै राईको जेठो छोरो नै राई हुन्थे । भुटानका गर्जबहादर गुरुङ, बेलायतका बाली राई जिम्बाबेका प्रधानमन्त्री मोर्गान सुभाङ्गी राई, मंगोलियाका पूर्वप्रधानमन्त्री जस राई आदिलाई उदाहरणको रूपमा लिन सकिन्छ । मुख्य कुरो राईको इतिहास हेर्ने हो भने, नेपालको भगौलिक एकीकरण भन्दाअघि जान सकिँदैन । यो भनेको लगभग दुई सय ५० वर्ष मात्रै हो । भाषाशास्त्री ÷मानवशास्त्रीहरूका अनुसार एउटा जाति वा भाषाको उत्पत्ति हुन कम्तिमा पनि हजार÷१२ सय वर्ष लाग्छ ।
त्यसैले ठूलो संख्या तर, मातृभाषा, ऐतिहासिक भूगोल, मौलिक धर्म, संस्कार, संस्कृति, भेषभूषा र पहिचानविहीन ‘राई बन्ने कि, सानो संख्या भए पनि पहिचानसहित राउटे वा कुसुन्डा बन्ने ?’ हालसम्म जानेर वा नजानेर राईकरणको मारमा परेका किराँतीहरूबीच अझै पनि व्यापकरूपमा बहस र छलफल गर्न ढिला भएको छैन । किनभने ०६८ को राष्ट्रिय जनगणनाको नतिजाले पनि देखाइसकेको छ कि, कथित राई अर्थात् ठूलो संख्यामै रहन चाहने राई सर÷राईनी म्याडमहरूको हालत के हुँदैछ ? किनभने, ०५८ मा भएको राष्ट्रिय जनगणनामा ६ लाख ३५ हजार एकसय ५१ जना रहेको राईको जनसंख्या ०६८ मा एक प्रतिशत मात्रै बढेको मान्ने हो भने पनि पौने ७ लाख चानचुन हुनुपर्ने हो ।
तर, उल्टै १५ हजार एक सय ४७ जना घटेर ६ लाख २० हजार चार जनामा झरेको छ । किन झर्यो ? त्यस्तै भाषाको सवालमा पनि २०५८ को जनगणनामा ३ लाख ७१ हजार चानचुन राई भाषी रहेको मा ०६८ मा १ लाख ५९ हजार एकसय १४ जनामा किन झरेको हो ? हो, यो प्रश्नका लागि पनि ‘ठूलै हुने तर, राई नै हुने’ मानसिकता बनाएका र, राईको नाममा लाहुरेहरूबाट मनग्गे चन्दा असुल्ने र विदेशी डोनरहरूबाट सक्दो डलर ल्याएर खाने केही राईवाला सर÷म्याडमहरूले बेला छँदै सोच्ने हो कि ?
किनभने राईवाला सर÷म्याडमहरूले नचाहँदा नचाहँदै र अनेक तिकडम गर्दागर्दै पनि ०६८ को राष्ट्रिय जनगणनामा १, कुलुङ–२८,६१३ । २, नाछिरिङ–७,१५४ । ३, याम्फु–६,९३३ । ४, चाम्लिङ–६,६६८ । ५, आठपहरिया–५९७७ । ६, बान्तावा–४,६०४ । ७, थुलुङ–३,५३५ । ८, मेवाहाङ–३,१०० । ९, बायुङ÷बाहिङ–३,०९६ । १०, साम्पाङ–१,६८१ । ११, खालिङ–१,५७१ । १२, लोहोरुङ–१,१५३ जातिहरू अलग्गै जातिको रूपमा आएका छन् । त्यस्तै, भाषाको हकमा ०६८ को जनगणनामा १, आठपहरिया–५,५३० । २, बेल्हारे–५९९ । ३, फाङ्दुवाली–२९० अलग्गै र नयाँ भाषाको रूपमा आएको छ ।
त्यसअघि २०५८ को जनगणनामै कुलुङ, बाहिङ, चाम्लिङ, साम्पाङ, तिलुङ, याम्फु, लोहोरुङ, मेवाहाङ, खालिङ, थुलुङ, नाछिरिङलगायत भाषाहरू अलग्गै भाषाको रूपमा आइसकेको छ । स्वपहिचानको कुरो गर्दा राउटेभन्दा पनि कम संख्यामा रहेको कुसुन्डा जातिबारे त कमैलाई थाहा होला । किनभने, ०५५÷५६ सालतिर तनहुँ जिल्लामा एकजना राजा मामा अर्थात् कुसुन्डा कान्छा भन्ने मान्छे अर्थात् कुसुन्डा जाति भेटियो भनी हल्लाखल्ला भयो । उनको वंश वृद्धि गर्न सजातीय बेहुली नभेटिएपछि काभ्रे जिल्लाको इन्द्रमाया तामाङसँग विवाह गरियो ।
स्मरण रहोस्, सरकारले कुसुन्डा कान्छा अर्थात् ‘राजा मामा’को लागि तनहुँमा घरसमेत बनाइदिएको छ । तर, उनले पनि ‘ठूलै हुन्छु, राई नै हुन्छु ।’ भनेको भए (हुन त धेरै जसो कुसुन्डाहरू हैजालगायतका असाध्य रोग लागेर भन्दा पनि ठूला जात ठकुरी, क्षेत्री, आदि भएर सकिएको भन्ने भनाइ रहेको छ) सायदै सरकारले उनको विवाह गर्ने र घर बनाइदिने जिम्मा लिन्थ्यो होला ! त्यसैले फेरि पनि ‘राई हुने कि राउटे ?’ भन्ने विषयमा राई पदवी÷पगरी हो भन्ने जानीबुझी राई जातै हो, जसले राई होइन भन्दैछ, उसको नागरिकतामा मात्रै होइन, नागरिकताको तीनपुस्ते, स्कुल पढेको प्रमाणपत्र, पेन्सनपट्टामा समेत राई छ !
भन्ने र, कथित् राई जातिको वकालत गर्ने राई यायोक्खा नामक गैर सरकारी संस्था (समाज कल्याण परिषद् दर्ता नम्बर–२६५६) का हर्ताकर्ता राई सर÷राईनी म्याडमहरूले मात्रै नभएर राई के हो ? भनेर बुझ्न बाँकी रहेका वा नबुझेका कुलुङ, बाहिङ, चाम्लिङ, साम्पाङ, तिलुङ, याम्फु, लोहोरुङ, मेवाहाङ, खालिङ, थुलुङ, कोयु, बान्तावा, जेरो, पुमा, ओम्बुले÷वाम्बुले, लगायत अगुवाहरूले एकपटक आत्मालाई साक्षी राखेर सोच÷विचार गर्नोस् है !
प्रतिक्रिया