नेपालमा किन बढ्दै छन् क्षयरोगी ?

विश्वनाथ खरेल आज संसार क्षयरोगको महामारीबाट त्रसित हुन पुगेको छ । विश्वमा प्रत्येक वर्ष लाखौँ मानिस क्षयरोगको सिकार हुन पुगेका छन् । क्षयरोग एक संक्रामक रोग हो । यो माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस भन्ने आँखाले देख्न नसकिने ससाना किटाणुहरूबाट हुने रोग हो । विकसित देशहरूमा यो जोखिम दर त झन् बढेर ९० प्रतिशतसम्म रहेको पनि देखिन्छ ।

प्रतिवर्ष विश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन् भने २० लाखको क्षयरोगकै कारणले मृत्यु हुने गर्दछ । यस वर्षको क्षयरोग दिवसको नारा ‘हामी जो कोही पनि क्षयरोगबाट संक्रमित हुन सक्दछौँ तर सबै मिलेर यसविरुद्ध लड्न सकिनेछ’ भत्रे रहेको थियो । हाम्रो देशको कुरा गर्ने हो भने क्षयरोगको तथ्यांक झन् भयावह छ । हरेक वर्ष नयाँ क्षयरोगीहरू नेपालमा थपिने र करिब पाँचदेखि सात हजार नेपाली क्षयरोगले बर्सेनि मर्ने तथ्यांक पनि देखिन्छ । क्षयरोगीहरूको उमेर समूह धेरैजसो उत्पादक उमेर समूह अर्थात् १५ देखि ४९ वर्ष हुनेगर्दछ ।

देशमा क्षयरोगको उपचारका लागि ४ हजार ३ सय २१ डट्स सेवा केन्द्रहरू रहेका छन् । सन् २०१६ सम्ममा ४५ जिल्लामा मात्र रहेको जिन एक्सपर्ट सुविधा सन् २०२१ सम्ममा ७५ वटै जिल्लामा लाने नेपाल सरकारले लक्ष्य लिएको छ । यस प्रविधि क्षयरोग पत्ता लगाउन धेरै भरपर्दो र गुणस्तरीय मानिन्छ । स्मरण रहोस् नेपालमा हुने क्षयरोग मध्ये ७५ प्रतिशत बढी त फोक्सो कै क्षयरोग हुने र अन्य ग्रन्थी, पाठेघर, पेट, कलेजो, मिर्गाैला, मष्तिष्क र हड्डी आदिका हुने गर्दछन् । नेपाल सरकारले क्षयरोगको उपचार निःशुल्क गर्दछ ।

सन् २०३५ सम्ममा क्षयरोग निर्मुल पारी क्षयरोगले हुने मृत्युमा ९५ प्रतिशतले कमी ल्याउने योजना राखेको छ । गाउँघरमा क्षयरोगविरुद्ध जनचेतनाको अभाव अनि उपचार गर्न नआउने समस्या रहेको छ । हाम्रोजस्तो विकासोन्मुख देशमा क्षयरोगको बिगबिगी धेरै रहेको पाइन्छ । गरिबहरूलाई सताउने गरेको क्षयरोगले दक्षिण एसियालाई अति असर पारेको छ । विश्वका कुल क्षयरोगीहरूमध्ये ४० प्रतिशत रोगी दक्षिण एसियामा मात्रै रहेका छन् । श्वासप्रश्वास, थुकको छिटा आदिको माध्यमबाट क्षयरोग सर्छ ।

क्षयरोग लागेको एउटा व्यक्तिलाई उपचार नगर्दा उसबाट एक वर्षमा १०÷१५ जनामा सर्ने पनि स्पष्ट छ । राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत उपचार केन्द्र, उपकेन्द्रहरूमा समाजका बुद्धिजीवी समाजसेवी र अन्य महानुभावहरूको सहभागितामा डट्स (Diredtly Observed Treatment Short course) समिति निर्माण भएका छन् । यस्ता समितिहरूले सामूहिक रूपमा र व्यक्तिगत रूपमा पनि विभिन्न स्वस्थ्य संस्थालाई डट्स विधिअनुसार बिरामीहरूलाई उपचार गर्न सहयोग गर्ने भएको छ ।

कतिपय ठाउँमा सदस्य आफैँले र समाजमा रहेका अरू समय दिन सक्ने व्यक्तिलाई स्वयंसेवकको रूपमा काम गर्न प्रेरित गर्ने भएको छ । यसरी स्वयंसेवकको रूपमा धेरै व्यक्तिहरूले बीचैमा औषधि खान छाड्ने र औषधि नियमित नखाने बिरामीहरूलाई खोजी पूरा अवधि औषधि खान सहयोग पु¥याई व्यक्तिलाई निको बनाउने र अरू मानिसलाई क्षयरोगबाट बचाउने महान्, डर र त्रासले जरो गाडेको छ, तर यस परिस्थितिमा डट्स कार्यक्रमले सफल बनाउनमा समुदायमा रहेका हरेक व्यक्तिहरूको सहयोगको आवश्यक रहेको छ ।

क्षयरोग र गरिबी एक अर्कामा आबद्ध रहेका छन् । क्षयरोगले गरिबी निम्त्याउँछ अनि गरिबीले क्षयरोग । विश्व स्वास्थ्य संगठनले क्षयरोग नियन्त्रण कार्यक्रमका मुख्य उद्देश्यहरू राखेको छ । जसमा निको हुने दर ८५ प्रतिशत र रोग पत्ता लगाउने दर ७० प्रतिशत हुनुपर्ने भनेर राखेको छ । यसरी विश्व स्वास्थ्य संगठनले राखेका उद्देश्यहरू र हाम्रा उपलव्धीहरूलाई दाँज्ने हो भने यस कार्यक्रमले निकै सफलता पाएको थियो । खकार जाँच गरी क्षयरोग पत्ता लगाइसकेपछि बिरामीलाई उपचार गरिन्छ ।

बिरामीले आठ महिना वा स्वास्थ्यकर्मीले निको भयो नभनेसम्म एक दिन नछुटाई औषधि खानु पर्दछ । औषधि नियमित खान सुरु गरेपछि अरूलाई रोग सर्दैन । बीचमा औषधि छाड्ने वा मात्रा नपु¥याई खाने गरेमा रोगी आफू पनि निको हुँदैन र अरूलाई पनि निको नहुने रोग सारिरहन्छ । त्यसकारण पूरा समय नियमित उपचार गरेमा रोग निको हुन्छ । विश्व स्वास्थ्य संगठन र छाती रोग तथा क्षयरोग विरुद्धको अन्तर्राष्ट्रिय संस्थाको आह्वानमा हरेक वर्षको मार्च २४ मा विश्व क्षयरोग मनाउने गरिन्छ ।

प्रत्येक साल यसै दिनलाई विश्व क्षयरोगको रूपमा विश्वभरी मनाइन्छ । यसै दिनको सम्झनामा नेपाललगायत विश्वभरी यो दिवस मनाइँदै छ । दिवस मनाउनु मात्र ठूलो कुरा होइन यसबाट पर्ने असरको निदानको लागि बढी मात्रमा ग्रामीण भेगमा बसोवास गर्ने सर्वसाधारण व्यक्तिहरूलाई जनचेतनाको लहर सबै क्षेत्रबाट हुनु अति नै आवश्यक छ । क्षयरोगको भरपर्दो निदान र प्रभावकारी उपचार निःशुल्क रूपमा उपलव्ध छ । तैपनि यो रोग सामाजिक समस्याको रुपमा रहिरहेको छ ।

दिनहुँ २५÷३० जना मानिस क्षयरोगबाट मर्ने गर्दछन् । यो समस्या रहनुको पछाडि क्षयरोगीले बीचमा नै औषधि खान छाड्नु वा नियमित औषधि नखानु नै यसको मूल कारण हो । यस समस्यालाई समाधान गर्नका लागि संसारभरि नै क्षयरोगीहरूले कसैको प्रत्यक्ष निगरानीमा औषधि खानुपर्ने डट्स उपचारको नीति रहेको छ भने नेपालमा तालिम प्राप्त व्यक्तिको प्रत्यक्ष निगरानीमा औषधि खानु पर्दछ ।

रोगीलाई पूरा अवधिसम्म आवश्यक औषधि सेवन गर्न र बीचैमा औषधि नछोड्न पनि उपयुक्त व्यक्तिहरूले सल्लाह दिनुपर्छ, किनकि रोगीले औषधिको अवधि पूरा नगरेमा उसको रोग कहिले पनि निको नहुने र अधुरो उपचार भएकोले क्षयरोगको रोगको साथै रोगीको घरपरिवार र छिमेकका व्यक्तिको अकालमा ज्यान लिनसक्छ । यसरी क्षयरोगसम्बन्धी अहिलेका समस्या र पछि पर्न आउने समस्याबाट बच्न खास गरेर क्षयरोगका औषधिहरूलाई प्रभावकारी बनाउने उपाय सोच्नुपर्दछ । यसका लागि क्षयरोग लागेका बिरामीले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खाने प्रक्रियालाई नै डट्स भनिन्छ र यो नै क्षयरोग नियन्त्रणको लागि एक मात्र प्रभावकारी पाइला बन्न पुगेको छ ।

समग्रमा भन्नुपर्दा नियमित औषधिको सेवनबाट क्षयरोग निको हुने भए पनि मुलुकमा क्षयरोगीको संख्या बढ्दै गएको छ । ग्लोबल फन्डको सहयोगमा सरकारले देशभरका उपस्वास्थ्यचौकीदेखि जिल्ला अस्पतालसम्म क्षयरोगको औषधि निःशुल्क रूपमा वितरण गर्दै आएको छ । तर, औषधि नियमित सेवन नगर्ने गरेकाकारण रोगीको संख्या बढ्दै गएको हो । नेपालमा क्षयरोगीको संख्या सरकारी आँकडा अनुसार वर्षमा ३५ हजार ७ सय ३५ मात्रै देखिए पनि यो संख्या ४५ हजार रहेको अनुमान गरिएको छ ।

राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार पछिल्लो एक वर्षमा डट्स विधि उपचार गराउन सम्पर्कमा आएका नयाँ बिरामीको संख्या मात्रै ३५ हजार ७ सय ३५ पुगेको छ । ती मध्ये सर्ने खालका क्षयरोगीको संख्या मात्रै १५ हजार ५७ जना रहेको केन्द्रले जनाएको छ । सम्बन्धित क्षेत्रको विज्ञको भनाइअनुसार सर्ने खालका क्षयरोगीहरूमध्ये ९० प्रतिशत उपचारपछि निको भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया