प्रधानमन्त्री ओलीलाई भेट्ने अधुरो सपना…

           लेखक

-सिताराम बडाल ०७३ साल असार २४ गते शुक्रबार त्यस्तै दिउँसो १२ बजेतिर म आफ्ना केही सहकर्मीसँगै बासुदेव मुनाललाई भेट्ने उत्साहका साथै र उहाँसँग रेडियो, गीत, संगीत, बाल साहित्य लगायतका विविध विषयमा भलाकुसारी गर्ने उद्देश्यका साथ कालोपुलस्थित उहाँको निवासमा जाँदै थिएँ । सोही अनुरूप कालोपुल गइरहँदा त्यहाँ पुगेपछि मलाई उहाँले दिनुभएको ठेगाना ठम्याउन गाह्रो भयो र सो कुरा मैले उहाँलाई फोनबाट जानकारी गराएँ । त्यसपश्चात उहाँले एकजना भाइलाई हामीलाई लिन पठाइदिनु मात्र भएन, पछिपछि आफैँ पनि आउनुभएको रहेछ । यसरी बल्ल हामी उहाँको घरमा पुग्यौँ ।

घरमा पुग्दा उहाँ मात्र एक्लै हुनुहुन्थ्यो । घरका अन्य सदस्यहरू आफ्नो दैनिक तथा पारिवारिक कामका सिलसिलामा बाहिर हुनुँहुदो रहेछ । विद्यालय जीवनमा मैले रेडियो नेपालमार्फत सुनेको ‘आओ मेरा प्यारा भाइबहिनी हो, रेडियो नजिक आओ’ भन्दै बाल कार्यक्रम चलाउने व्यक्तिलाई प्रत्यक्ष रूपमा पहिलोपटक भेटिरहँदा म एकदमै खुसी थिएँ । भेट भइसकेपछि एकछिन भलाकुसारी गरौँ र अन्तर्वार्ता सुरु गरौँला भन्ने  सोचका साथ एकछिन अल्मल्लिरहँदा उहाँले ‘चिसो खाउँ है’ भन्नुभयो । हामीले पर्दैन पर्दैन भन्दाभन्दै पनि उहाँ चिसो ड्रिंक्स लिन बाहिर जानुभयो र एकैछिनमा घर नजिकै भएको पसल बन्द भएको भन्दै चुकचुक मान्दै फर्किनुभयो ।

त्यसपछि मैले उहाँसँग अन्तर्वार्ता सुरु गर्ने निधो गरेँ र अन्तर्वार्ता सुरु भयो । गायकको रूपमा भन्दा पनि मैले उहाँलाई एउटा कुशल रेडियो कार्यक्रम प्रस्तोताको रूपमा बढी चिनेको थिएँ । तत्कालीन परिवेशमा गाउँमा रहँदा हाम्रो पहुँचमा रहेको सञ्चार माध्यम भनेको रेडियो नेपाल नै थियो र त्यहाँ प्रसारण हुने धेरै कार्यक्रम तथा प्रस्तोताको आवाजहरू अझै पनि मानसपटलमा गुन्जिरहन्छन् । तत्कालीन समयमा रेडियो नेपालबाट मुनालका कार्यक्रम सुनिरहँदा म उहाँको काल्पनिक रूप सम्झिन्थेँ । मैले कल्पना गरेको त्यो रूपको अगाडि प्रत्यक्ष रूपमा भेट्दा ममा हर्षको सीमा थिएन । म मात्र होइन, त्यससमयमा उहाँको कार्यक्रम सुन्ने जो कोही पनि ती दिनहरू सम्झिँदा अलिकति भावुक त पक्कै हुन्छन् ।

०७ साल २० चैतदेखि प्रसारणमा आएको (औपचारिक रूपमा) रेडियो नेपालले त्यसवेला नेपाली समाजमा छुट्टै तरंग ल्याएको थियो । नेपाली समाजमा त्यसवेला कसैसँग रेडियो हुनु नै अभूतपूर्व उपलब्धी थियो तर त्यसवेला रेडियो सर्वसाधारणको पहुँचमा पनि थिएन । ठूलाबडा भनिनेहरूकोमा गएर रेडियो सुनेर धेरैले विभिन्न कल्पनाहरू गर्थे, मैले पनि रेडियोमा मुनालका कार्यक्रम सुन्दा अरूले जस्तै कल्पना गर्थें । अहिलेको सूचना तथा प्रविधिको व्यापक विकास भएको समयभन्दा त्यो समय निकै रमाइलो थियो । अन्तर्वार्ताको क्रममा मुनालले हामीलाई सबैभन्दा पहिले ०२८ सालतिर फर्काउनुभयो । त्यतिवेला विराटनगरमा भानुमोरङ सांस्कृतिक केन्द्रको कार्यक्रम हुने गर्दथ्यो र त्यसको हेड हुनुहुन्थ्यो : चतुर्भुज आशावादी ।

सोही सांस्कृतिक कार्यक्रममा गीतको कम्पिटिसनको कार्यक्रम पनि हुने गर्दथ्यो । त्यसै सिलसिलामा चतुर्भुज आशावादीको कुराले बासुदेव कोइरालालाई एउटा यस्तै संस्था खोल्ने जाँगर लाग्यो र त्यतिवेला आफ्ना केही सहकर्मीहरू रोहितजंग राणा, केदार कोइराला, हिरा तिवारी, नरेन्द्र अधिकारी, विजय सिंहसँग सल्लाह गरेर क्लब खोल्ने निधो भयो र क्लबको नाम जुराए नरेन्द्र अधिकारीले ‘मुनाल क्लब’ भनेर । यसै वेलादेखि यस क्लबमा आबद्ध सबैले आफ्नो नाम पछाडि मुनाल लेख्न सुरु गरेका थिए । बाल्यकालदेखि नै लोकगीत गाउने र नाटकको क्षेत्रमा क्रियाशील रहँदै आएका बासुदेव मुनाललाई यसले झन् यसै क्षेत्रमा अघि बढ्ने हौसला प्रदान ग¥यो ।

यहीवर्ष एकपटक त्यतिवेला रेडियो नेपालमा धार्मिक कार्यक्रम चलाउने पुरुषोत्तम सापकोटा विराटनगर आउनुभयो र उहाँले मुनाललाई सोही क्लबमा भेट्नुभयो र भन्नुभयो, ‘ओ ! बाजे, क्या हो गीत सुनाउनुहुन्छ ।’ जवाफमा मुनालले भन्नुभयो, ‘त्यही गीत गाउन त हामीले क्लब खोलेको किन नगाउनु ।’ त्यसपछि सापकोटाले ‘म रेडियोदेखि आको तपार्इंलाई थाहा होला । ल ! भरेको लागि गीत रेकर्ड गर्न व्यवस्था मिलाउनुस् ।’ भनेर भन्नुभयो । साथीहरूसँग सल्लाह गरी तयारी गरेर उहाँले त्यस दिन ९ बजे राती त्यहाँको सत्यनारायण स्कुलमा गीत रेकर्ड गर्नुभयो । त्यसपछि काठमाडौंमा त्यो गीत नातिकाजीले सुन्नुभएछ । ‘त्यो गीत गाउने को हो हँ ?’ भन्ने नातीकाजीको प्रश्नमा पुरुषोत्तम सापकोटाको जवाफ थियो ‘बासुदेव मुनाल’ ।

नातीकाजीले सापकोटालाई मुनाललाई ‘लौ बोलाउ’ भनेर भनेपछि उहाँ काठमाडाैँ यात्रामा निस्कनुभयो । त्यसवेला रेडियो नेपालका डाइरेक्टर हुनुहुन्थ्यो : रामराजा पौडेल । पौडेलसँग कुराकानी गरेपश्चात मुनालको जिन्दगीले एउटा फरक यात्रा तय ग¥यो अर्थात उहाँ रेडियो नेपालमा जागिरे हुनुभयो । यो ०२९ सालको कुरा थियो । यस्ता विविध प्रसंगहरू सुनाउने क्रममा मुनालले पाण्डव सुनुवारसँगको उठबस, गीत संकलन गर्न जाँदाका बखतका घटनाक्रमहरू, रेडियो नेपालमा राती १०÷११ बजेसम्म गीत प्राक्टिस गरेको कुरा, लगायतका काठमाडौंमा आएपश्चात्का जीवनका संघर्षका दिनहरूको बेलिबिस्तार सुनाउनुभयो ।

यी मध्ये उहाँलाई सबैभन्दा बढी चिन्ता थियो लोकगीतको बारेमा । ‘हिजोआजका गीत सुन्छु, धेरै दिक्क लाग्छ ।नक्कली कुरा कहिलेसम्म टिक्छ हेरिराख्नु न । आखिरमा त्यहि मादल चाहिन्छ, त्यही ढोलक चाहिन्छ, त्यहि तबला चाहिन्छ ।’ उहाँले भन्नुभयो । पुराना गीतमा जुन मिठास थिए, त्यो मिठास हिजोआजको गीतमा किन नपाइएको होला भन्ने मेरो प्रश्नमा एकछिन सोचेर उहाँले भन्नुभयो, ‘आजभोलि तँ कुन पार्टीको ? कांग्रेस, कम्युनिस्ट आदिआदि भनेर सोध्छन् । यसरी अघि बढेपछि कहाँ गीतको मौलिकता र मिठासको कुरा आउँछ ? हामीजस्तो मान्छेलाई अझ मलाई, अझैँ १०÷१५ वर्ष बाँचाैँ भन्ने इच्छा छ । सय वर्षसम्म बाँचे भनेँ त के–के गर्छु गर्छु ।’  यसो भनिरहँदा उहाँमा ठूलो उत्साह देखिन्थ्यो । सोही उत्साहलाई जोड्दै उहाँले फेरी थप्नुभयो, ‘अझैसम्म पनि लोकगीत मरेको छैन्, त्यसका लागि गाउँ ठाउँ जानुपर्छ । नभए अबको ५–१० वर्षमा कुन लोक गीत, कुन आधुनिक गीत छुट्याउन सकिँदैन ।

खोज, अनुसन्धान भए बाँच्ला, नभए स्वाहा !’ अन्तर्वार्ता सकिएपश्चात् हामी फर्किने सुरसार गरिरहँदा उहाँले त चिसो खानुस् भनेर पैसा पो हातमा राखिदिन खोज्नुभयो । हामीले भन्याैँ, ‘तपाईंलाई भेटेरै हामी एकदमै खुसी छौँ केही पर्दैन । अर्कोपटक फेरी आउँला ।’ तर, हामीले दिएको जवाफ उहाँलाई चित्त बुझिरहेको भने थिएन । ०२० सालदेखि ०४० सालसम्मको अवधिलाई नेपाली संगीतको स्वर्ण युग मान्ने डिठ्ठा नारायणप्रसाद कोइराला तथा भगवती कोइरालाका सुपुत्र मुनाल ‘पानी खाने निहुँले तिम्रो घरमा आउँला’, ‘झमझम इस्टकोट’, ‘भए पनि ठीकै छ नभए पनि ठीकै’, ‘बाँसुरीको धुनमा’, ‘हाय मेरी मलमल जुनकिरी’, ‘हिमचुलीमा हिम खानी तमाम छ’, ‘गुराँस फुलेर, बाख्रा झ¥यो भिरैभिर’, ‘दुई एकान दुई’, ‘तिखा काँडाका बीचमा’ लगायतका गीतबाट गायक मुनाल नेपालीमाझ परिचित हुनुहुन्छ । 

०६४ सालमा रेडियो नेपालबाट अवकाश हुनुपूर्व लोक गीत, बाल गीत, आधुनिक गीत र राष्ट्रिय गीत गरी ३ सय ८१ वटा गीत गाइसक्नुभएकोे थियो । उहाँले मुनाल पत्रिका तथा सुनकेस्रा बाल पत्रिकाका सम्पादक (सय अंकसम्म) साथै १ हजार ४ सय बाल नाटक लेखन समेत गर्नुभएको थियो । सोही समयका दौरान मुनालले दक्षिण कोरिया, भारत, बंगलादेश, हङकङ लगायतका देशको समेत भ्रमण गरिसक्नुभएको थियो । त्यसपछि बीचमा ०६५ सालको दसैँको टीकाको दिन उहाँको जीवनमा कालो दिन बनेर आइदियो । त्यसै दिन आफ्नै घरमा लडेर उहाँको ब्रेन ह्यामरेज भयो ।

उपचारपछि उहाँले सामान्य रूपमा फर्किने कोसिस त गर्नुभयो तर उहाँको पहिलाको त्यो रूप जति गरे पनि देख्नै सकिएन् । यस्ता विविध घटनाक्रमसँग जुधिरहँदा पनि उहाँले आफ्नो जीवनबाट कहिल्यै हरेस खानु भएन । त्यसपछिका दिनहरूमा पनि कविता, मुक्तक, लोक गीत, नाटक भने उहाँले लेखिरहनुभयो । सो भेटमा उहाँले मलाई आफूले जीवनमा गर्न चाहेको तीन वटा कुरा बताउनुभएको थियो ।

१. तत्कालीन प्रधानमन्त्री केपी शर्मा वलीलाई भेटेर साहित्यकार झमककुमारी घिमिरेजस्तै आफ्नो अवस्था पनि सोही अनुरूपको भएको जानकारी गराई सहयोगका निमित्त आग्रह गर्ने ।

२. आफ्नो गीत ‘हिमचुलीमा हिम खानी तमाम छ राजै हिमखानी तमाम छ, बल्ल आज दर्शन पाएँ कान्छीलाई सलाम छ’ लाई प्यारोडी बनाएर केपी शर्मा वली (जो सो समयमा पनि प्रधानमन्त्री हुनुहुन्थ्यो र अहिले पनि हुनुहुन्छ) लाई ‘हिमचुलीमा हिम खानी तमाम छ राजै हिमखानी तमाम छ, बल्ल आज पिएमलाई भेटेँ पिएमलाई सलाम छ’ भनेर सुनाउने ।

३. ०६४ सालमा रेडियो नेपालबाट अवकाश भएपछि आफूले सिर्जना गरेका मुक्तक, कविता, लोक गीत र नाटकलाई पुस्तकको रूप दिई तीन वटा पुस्तक सार्वजनिक गर्ने । (यसअघि पनि उहाँका तीन वटा पुस्तक प्रकाशित भइसकेका थिए ।)

एवंरितले जीवनमा अघि बढिरहँदा ०७४ साल भदौ १२ गते उहाँलाई घाँटीमा समस्या आएपछि चेकअपका लागि चाबहिलस्थित मेडिकेयर अस्पताल लगिएको थियो तर स्वास्थ्य परीक्षणपछि उक्त अस्पतालले मुनाललाई भक्तपुर क्यान्सर अस्पताल रिफर गरेपछि १३ गते मात्र उहाँलाई घाँटीमा क्यान्सर (पाइरोफोम साइनस) रोग लागेको पत्ता लाग्यो । त्यसपछि सुरु भयो एडभान्स स्टेजमा पुगेको क्यान्सर रोगसँग उहाँको संघर्ष । अन्तवार्ता दिएपश्चात एक–दुईपटक फोनमा कुराकानी भइरहँदा आफू सञ्चै भएको उहाँ बताउनुहुन्थ्यो तर यस खबर सुनिरहँदा म आफैँ छाँगाबाट खसेजस्तो भएँ र उहाँका छोरा मोहित मुनाललाई सम्पर्क गरेर हस्पतालमा आउने जानकारी गराई उहाँको स्वास्थ्य स्थितिबारे बुझ्न भक्तपुर क्यान्सर अस्पताल पुग्दा उहाँ सेतो बुट्टेदार सर्ट तथा खैरो पाइन्ट अनि ढाकाटोपीमा अस्पतालको बेडमा हुनुहुन्थ्यो भने साथमा उनका छोरा मोहित मुनाल तथा अन्य गीतसंगीत क्षेत्रका केही व्यक्तिहरू उपस्थित हुनुहुन्थ्यो ।

सोही भेटमा प्रस्तोता समाजका अध्यक्ष तुलसी पराजुलीले अधिवक्ता परशुराम कोइराला तथा हास्यकलाकार दिपाश्री निरौलाबाट प्राप्त क्रमशः २१ हजार र १० हजार रकम उहाँका छोरा मोहित मुनाललाई हस्तान्तरण गर्नुभएको थियो । दिपाश्रीले पठाउनुभएको पहेँलो खाममा लेखिएको थियो । ‘बुबा नमस्कार ! धेरै माया, चाँडै निको हुनु ल ।’ नर्सले स्लाइनका लागि र ब्लड टेस्ट गर्न ब्लड लिनका आग्रह गरिरहँदा उनको आँखाबाट तरक्क आँशु झरेको दृश्य अझै मेरो मष्तिष्कमा घुमिरहेको छ । उनको त्यो अवस्था देखिरहँदा त्यहाँ उपस्थित हामी सबैले उहाँलाई ढाडस दिँदै भन्यौँ, ‘तपाईंलाई केही हुँदैन्, ढुक्क हुनुस् ।’ सायद उहाँ हाम्रो कुराले उहाँलाई केही भए पनि राहत अवश्य भयो र उहाँका आँखाबाट आँशु झर्न रोकिए ।

एकछिन् उहाँसँग भलाकुसारी गरिसकेपछि मैले उपचारमा संलग्न डक्टरलाई मुनालको अवस्थाबारे सोधेको थिएँ । डक्टरले भन्नुभयो ‘रेडियसनको माध्यमबाट उपचार हुन्छ, दुई÷तीन महिना र त्यसपछि के प्रोग्रेस हुन्छ हेर्छौं र अघि बढ्छौँ ।’ त्यसपछि कुराकानीकै सन्दर्भमा भक्तपुर क्यान्सर अस्पतालका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले उहाँको बेड, ट्रिटमेन्टका लागि अस्पतालले निःशुल्क व्यवस्था गरिदिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘राज्यको सम्पतिलाई राज्यबाट अवहेलना भएको मैले महसुस गरेको छु । किनभने राज्यबाट दिइनुपर्ने सुविधा जति पनि छ त्यो दिएको मैले पाएको छैन । सरकारबाट विपन्न नागरिक भनेर सानो एउटा टोकन मनिको रूपमा एक लाख रुपैँया बराबरको विधि छ तर तर त्यो एक लाखले पुग्दैन ।

मिनिमम केही नभए पनि तीन लाखदेखि पाँच लाखसम्मचाहीँ नेताजीहरू बोलिदिनुहुन्छ, हामी गर्छौं भनेर तर अहिलेसम्म उहाँहरूले पूरा गर्नुभएको छैन । उक्त रकम तीन लाखसम्म पुर्याएको खण्डमा समग्र नेपालीलाई क्यान्सरको रोग उपचार गर्न केही सहयोग पुग्ने थियो ।’ श्रेष्ठको यो कुरा सुनिरहँदा मलाई सोही समयमा नयाँदिल्लीमा क्यान्सरको उपचार गराइरहनुभएकी गायिका संगीता थापा शाक्य तथा दुवै मिर्गाैला फेल भएर अमेरिकामा उपचाररत गायक ओमविक्रम विष्टको मात्र नभई, केही समयअघि क्यान्सर रोगबाट मुक्त हुनुभएकी गायिका तारा थापाको समेत याद आयो । के कलाकारहरूले आफ्नो पूरा जीवन यसै क्षेत्रमा खर्चेर देशको नाम चिनाइरहँदा त्यसको बदलामा पाउने त्यही बेवास्ता र अपमान नै हो त ?

के उनीहरूलाई देशको गहनको रूपमा परिभाषित गरिरहँदा यस्ता कुरामा उनीहरूले ध्यान दिनुपर्दैन ? कहिलेसम्म यसरी चल्ला त ? यस बीचमा मुनाललाई उक्त रोगबाट मुक्त गराउन धेरै प्रयासहरू भइरहे । आफन्त, सहकर्मी तथा शुभचिन्तकका सल्लाह बमोजिम उहाँलाई कहिले हरिसिद्धिस्थित क्यान्सर अस्पताल त कहिले भक्तपुर क्यान्सर अस्पताल लगियो पनि । तर, ती सबै प्रयास सफल हुन सकेनन् । अन्ततः ०७४ साल असोज १२ गते ६८ वर्षको उमेरमा उहाँको भक्तपुर क्यान्सर अस्पतालमा निधन भयो । सबैले उहाँको स्वास्थ्यलाभको लागि गरेको कामना, शुभेच्छा र प्रयासहरू अन्ततः असफल भयो । उहाँले आफु उक्त रोगबाट ग्रसित भइरहँदा हात थरथर कमाएर क्यान्सरसम्बन्धी सचेतना फैलाउने एक गीत त्यही वेला लेख्नुभयो र हाम्रै अगाडि उक्त गीत भक्तपुर क्यान्सर अस्पतालका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठलाई पनि दिनुभयो ।

सो गीतलाई मुनालका छोरा मोहितको संगीत तथा विभिन्न गायकगायिकाहरूको आवाजमा रेकर्ड गराइने कुरासमेत भएको थियो तर उहाँको निधन भएको ६ महिना पुग्दा पनि उक्त गीत अझैँ रेकर्ड हुन सकेको छैन । यी विविध कुराहरू लेखिरहँदा मेरो मनमा खेलिरहेको कुरा के हो भने मुनालले जीवनको अन्तिम दिनहरूमा गर्ने चाहना राख्नुभएका किन कुनै पनि कामहरू पूरा भएनन् भन्ने हो । अहिले पनि उहाँको ती चाहनालाई पूरा गर्न सकेमा मात्र उहाँप्रति सच्चा श्रद्धान्जली हुनेछ । यसबीचमा मुनालको स्मृतिमा उहाँको परिवारले हालै ‘बासुदेव मुनाल स्मृति प्रतिष्ठान’ को स्थापना गर्नुभएको छ ।

प्रतिष्ठानले मुनालको वार्षिक पुण्यतिथीमा हरेक वर्ष बाल साहित्य, गीत, संगीत, नृत्य, संस्कृति, खेलकुद वा बाल हितसम्बन्धी काममा योगदान पुर्याएका व्यक्ति वा संस्थालाई पुरस्कार र सम्मान गर्ने जनाएको छ । परिवारले गरेको यस कार्य त निकै सरहानीय नै छ । प्रतिष्ठानले उहाँका ऐतिहासिक महत्व बोकेका सम्पूर्ण चिजलाई संरक्षण गरेर राख्नु निकै जरुरी छ । भोलिका पुस्ताका लागि यो ऐतिहासिक दस्तावेज हुनेछ । व्यक्तिगत रूपमा मैले पनि उहाँका धरै कुराहरू संरक्षण गरेर राखेको छु । त्यस कार्यका लागि एउटा हिस्सा बन्न पाउँदा धेरै खुसी लागेको छ । आखिर हामीले नगरे कसले गर्ला र ?

प्रतिक्रिया