बाजा बजाएर कुरीतिको अन्त्य हुँदैन

-वीरेन्द्र रावल  समाजमा व्याप्त कुरीति, विसंगति, विकृति अन्याय, अत्याचार, शोषण र दमनको अन्त्यको लागि आवाज उठाउनेदेखि लिएर त्यसको कार्यान्वयन गर्ने निकायका प्रबुद्ध व्यक्तिहरू सहभागी भएको ¥याली बिहीबार धनगढीको मुख्य सडकमा १०८औँ अन्तर्राष्ट्रिय नारी दिवसको पक्षमा नारा लगाउँदै जिल्ला समन्वय समितिको प्रांगणमा पुगेर कोणसभामा परिणत भएर समापन गरियो ।

समाजमा व्याप्त सबैखाले विभेदको अन्त्य भन्दै बडो तामझामका साथ नेपाल प्रहरीको ब्यान्ड, विभिन्न संघ÷संस्थाका महिला नेतृहरू, सरकारी कार्यालयका प्रमुखहरू, सामाजिक विकास मन्त्री दीर्घ सोडारी र प्रमुख जिल्ला अधिकारीसमेत सहभगी रहेको ¥याली धनगढी चौराहाबाट जिल्ला समन्वय समितिसम्म पुगेर अन्तर्राष्ट्रिय नारी दिवस सम्पन्न गरिरहँदा जिल्लाकै मध्यवर्ती क्षेत्र, त्यसमा पनि थारू समुदायकी एक किशोरीले बोक्सी प्रथा (कुरीति) को सिकार बनिरहनुप¥यो अन्तर्राष्ट्रिय नारी दिवसका दिन ।

विडम्वना भनौँ या संयोग घोडाघोडी नगरपालिका–५ देउकलियाका जोखन चौधरी र केशरी चौधरीकी १८ वर्षिया छोरी राधा चौधरीमाथि बोक्सीको आरोप लगाउँदै गाउँलेकासामु अपमान गर्दै निर्घात रूपले मरणासन्न हुनेगरी कुटपिट गरियो ।
प्रदेश–७ को राजधानी धनगढीमा नारीहरूको पक्षमा अनि सामाजिक विभेदका विरुद्धमा गगनचुम्बी नाराहरू लगाउँदै गर्दा उता देउकलिया गाउँमा भने राधा चौधरीको बचाउ–बचाउ भन्ने चित्कार छुट्दै थियो ।

नतमस्तक र टोलाएर हेरिरहेका गाउँलेका बीचमा राधा एक्लै भोले बाबा भनिने रामबहादुर चौधरी र उनकी सहयोगी पार्वतीको यातना खेपिरहेकी थिइन राधा । बिहीबारको बिहानको ८ बजेको समयमा गोठमा गएर गोबर मल सोहरेर घरतिर लाग्दै गरेकी राधालाई एक्कासि ८÷१० जनाको समूह गोठमै आएर ‘ल बोक्सीलाई समात’ भन्दै लछारपछार गर्दै गाउँका गुरुबा भोलेबाबा भनेर चिनिने रामबहादुर चौधरीको आश्रमस्थलको आँगनमा लगियो ।आश्रमको आँगनमा पु¥याइएकी राधालाई चारैतिर गाउँलेको घेरा बनाएर रामबहादुर र उनकी सहयोगी पार्वतीले देउता र गुरुबा निकाल्दै लगातार रूपले भुइँमा लछार्दै कुटपिट र यातना दिन सुरु गरे ।

सोही ठाउँकै राष्ट्रिय मावि सुख्खडमा कक्षा ११ मा अध्ययन गरिरहेकी राधाले स्कुलमा सामाजिक कुरीति, छाउपडी प्रथा, दाइजो, जातीय छुवाछुत र सामाजिक विभेदको बारेमा राम्ररी जानकारी पाएकी भए पनि अन्तर्राष्ट्रिय नारी दिवसकै दिन आजको २१आैँ शताब्दीमा पनि अन्यायी र निर्दयी क्रुर समाजको यातना खेप्न बाध्य हुनु प¥यो राधाले । बोक्सी एक कुप्रथा हो । समाज विकासको बाधक हो यो कुप्रथा भन्ने कुराको राम्ररी जानकारी पनि छ राधालाई र थियो पनि । समाजमा व्याप्त सबैखाले विसंगति र विकृतिले समाजको विकासलाई जहिल्यै पनि पछाडि धकेलिरहेको हुन्छ भन्ने कुराको सम्पूर्ण जानकारी राधालाई नभएको पनि होइन ।

तर, विडम्बना नै भन्नुपर्दछ त्यही अन्यायी र विभेदकारी समाजले राधालाई चरम यातना दिएर नेपाली समाजको चेतनास्तरको खिल्ली उडाइदिएको छ विश्वसामु । एउटा निर्दोष अबोला किशोरीमाथि चरम यातना भइरहेको अवस्थामा एउटाले पनि उसको पक्षमा बोल्न नसक्नुले आफैँ अनुमान लगाउन सकिन्छ कि अझै पनि नेपालीसमाजको चेतनास्तर कुन स्तरको रहेछ भनेर । भोले बाबा भनिने रामबहादुर र उनकी सहयोगी पार्वतीले निर्ममता प्रदर्शन गरिरहँदा भने एक जना पनि गाउँलेले त्यसको प्रतिकार गर्न सकेनन् । चारैतिर रमिते गाउँले, आफन्त तथा छरछिमेक हुँदामा पनि भोले बाबाको आँगनमा ज्यानको भिख माग्दै थिइन् राधा ।

झन्डै आधा घन्टा ‘पार्वतीमाता’ को उन्मादपूर्ण कुटपिटपछि राधा थिल्थिलो भसकेकी थिइन् । तर, उनीमाथिको यातना रोकिएन । ‘पार्वतीमाता’ एकाएक भुइँमा उत्तानो परेर बर्बराउन लागिन् । अब त्यहाँ काप्दै, नाच्दै ‘भोलबाबा’ को प्रवेश भयो । अनी भोलेबाबाले सुरु गरे आफ्नो निर्मम यातना । कुनै निर्जीव वस्तुलाई हिर्काए झैँ उनले न्वारनदेखिको बल लगाउँदै राधामाथि लात्तीघुस्सा प्रहार गरिरहे । राधाले रोइकराई गरिरहिन् । हारगुहार गरिन् । आफूले कुनै गल्ती नगरेको भन्दै नकुट्न बिन्तीभाउ गरिरहिन । तर, भोलेबाबाको दानवीय व्यवहार फिल्मी शैलीमा प्रहसन भई नै रह्यो । निरन्तरको कुटाइबाट राधा बेहास भइन् ।

तर, भोलेबाबाहरूले ‘बोक्सी’ भगाउन घन्टौसम्म गाउँलेका अगाडि धार्मिकताका नाममा दानवीय चरित्र प्रदर्शन गरी नै रहे । बिहीबार संसारभरिका महिलाले १०८औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहका वेला भोले बाबा र उनकी सहयोगी पार्वती माताले भने विज्ञानलाई चुनौति दिइरहेका देखिन्थे । नेपाली महिलामाथि होस् या संसारभरका महिलामाथि हुने सामाजिक विभेदलाई सदाका लागि अन्त्य गर्नुपर्छ भनेर ¥याली, सभा, समारोहमा चर्काचर्का नारा लगाएर सभा गोष्ठीमा करोडौँ बजेट खर्चिने संघ÷संस्थाहरूको बेमौसमी नारालाई यस्ता घटनाले महिलामाथि हुने विभेद र हिंसा रोक्नुको सट्टा झनै समाजमा विग्रह सिर्जना गरिरहेको आभाष हुन थालिसकेको छ ।

२१औँ शताब्दीको सभ्यता अनि विज्ञानलाई समेत चुनौती दिइरहेका भोलेबाबा भनिने रामबहादुर र उनकी सहयोगी पार्वतीमाताले प्रदर्शन गरेको पाशविकता र क्रुरताले नेपाली समाजलाई झनै मध्ययुगको अवस्थातर्फ धकेलिरहेको आभाष हुन थालिरहेको छ । लगातारको यातनापछि अर्धबेहोस भएर भुइँमा लडेकी राधालाई स्थानीय केही व्यक्तिले भिडबाट उठाएर एम्बुलेन्सको सहायतामा स्थानीय घोडाघोडी अस्पतालसम्म पु¥याएका थिए । त्यहाँ उनको प्राथमिक उपचारपछि राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय धनगढीको पहलमा थप उपचारका लागि सेती अञ्चल अस्पतालमा राखिएको र त्यहाँ उनको उपचार भइरहेको छ ।

आफूमाथि भएको निर्मम प्रहार केका लागि हो ? किन गरियो । आफूलाई कुनै पनि जानकारी नै छैन । उनले प्रतिप्रश्न गरिन् विनागल्ती मलाई किन सामाजिक अपराधदेखि लिएर ज्यान मार्ने समेतको हर्कत र कर्तुत गरियो ? ‘नमार्नुस् भनेर १० औँला जोडेर विन्ती गरेँ’, उनले गहभरी आँसु झार्दै भनिन्, ‘म निर्दोष छु । मलाई किन मारपिट हुँदै छ भन्दासमेत न भोले बाबाले पिट्न छाड्यो न त पार्वती माता भनिने दानवीय प्रवृत्ति भएकी महिलाले नै ।’ भोले बाबा भनिने रामबहादुर चौधरीले अाफू भगवान्को दूत भएको र राधा बोक्सी भएको भन्दै निर्ममता प्रदर्शन गरेको घटनाले नेपाली समाज अझै पनि दास युगमा रहेछ कि भन्ने तीतो अनुभूति दिलाएको छ ।

निर्घात पिटिएकी राधाकी आमा फूलकेसरी र बाबा जोखनले आफू माथि भएको अन्यायका विरुद्धमा इलाका प्रहरी कार्यालय सुखडमा गएर सहयोग गरिदिन छिमेकीकोमा गुहार मागे पनि भोलेबाबाले आफू भगवान्को अवतार भएको धम्की दिँदै छिमेकीलाई सहयोग नगर्न उर्दी जारी गरिरहेको पनि राधाका बाबा र आमाले बताएका छन् । हाल सेती अञ्चल अस्पतालमा उपचाररत राधाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको भए पनि उनलाई मानसिक तनाबले गर्दा अलि समस्या भएको राधाको उपचारमा संलग्न चिकित्सकले बताए । स्थानीय राष्ट्रिय उच्च माविमा कक्षा ११ मा अध्ययनरत राधाका बुबाआमासहित दुई दाजुभाइ तथा एक बहिनी छन् ।

बोक्सी आरोपलगाई कुटपिट गर्ने भोलेबाबा भनिने रामबहादुर चौधरीलाई शुक्रबार प्रहरी पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा राखेको र घटनामा संलग्न अन्यबारे अनुसन्धान भइरहेको कैलाली प्रहरी प्रवक्ता डीएसपी सागर बोहराले बताए । रामबहादुरबिरुद्ध शुक्रबार सुखड इलाका प्रहरी कार्यालयमा राधाका बुबा जोखन चौधरीले मुद्दा दर्ता गराएको डीएसपी बोहराले बताए । उनले घटनाको गहनरूपमा अनुसन्धान गरी घटनामा संलग्न कसैलाई नछोड्ने बताए । रामबहादुरबिरुद्ध शुक्रबार सुखड इलाका प्रहरी कार्यालयमा राधाका बुबा जोखन चौधरीले मुद्दा दर्ता गराएको डिएसपी बोहराले बताए । घटनाको अनुसन्धान भइरहेको र त्यसमा संलग्न सबैलाई प्रचलित कानुनबमोजिम कारबाही गरेरै छाडिने पनि प्रहरीले जनाएको छ ।

के हो कुरीती ?
नेपालमा अधिकांश अशिक्षित स्थानहरूमा विद्यमान छुवाछुत, जातीय विभेद छाउपडी कुप्रथा, देउकी, हलिया, दाइजो लगायतका कुप्रथाका कारण पनि समाज आक्रान्त बनिरहेको छ । समाजमा विद्यमान अन्धविश्वासजन्य संस्कार नै कुरीति भएको र यसले मानव सभ्यता र संस्कृतिलाईसमेत आघात पु¥याइरहेको पनि छ । नेपाली समाज धार्मिक एवं सांस्कृतिक रूपमा धनी भएता पनि कतिपय गलत संस्कारले नेपाली समाजका अन्ध विश्वासका कारक तत्वले नेपालको शिर विश्वसामु झुकाएको पनि छ ।

समाजमा व्याप्त छाउपडी, जातीय छुवाछुत, रंग भेद, क्षेत्र विशेषको विभेद, अछेता, दाइजो, देउकी, बोक्सी, धामीझाँक्री लगायतका प्रथा भित्रका कतिपय गलत संस्कारको सिकार नेपाली समाजले हुनु परिरहेको छ । यस्ता संस्कारभित्र भगवान्, धर्म, संस्कृति जोडेर मानिसहरूले गरिने अपराधलाई सामान्य रूपमा लिने परम्परागत गलत संस्कारका कारण आज कतिपय ठाउँमा निर्दोष र कमजोर मानिसले चरम यातनादेखि लिएर ज्यानसमेत गुमाउनु परिरहेको छ ।

कुरीतिजन्य हिंसाका हस्ताक्षरहरू : 
धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी मुनीदेवी दमाईलाई स्थानीयले २०५९ साल चैत १९ गतेका दिन बोक्सीको आरोपमा दिशा खुवाएर गाउँ डुलाएर बेइज्जती गरे । तत्कालीन अवस्थामा राष्ट्रिय मानवअधिकार आयोगको पहलमा दोषीमाथि कारबाही स्वरूप ३० हजार जरिबाना गराई पीडितलाई दिइयो । दलित आयोगले पनि उनलाई सहयोग ग¥यो ।

त्यो घटना सेलाउन नपाउँदै पुन धनगढी–६ बेलाकी राजकुमारी रानालाई छिमेकीले बोक्सीको आरोपमा ०६९ साल चैत महिनामै घरको आँगनमा आँपको रुखमा बाँधेर गुप्तांगमा लठ्ठी छिराएर चरम पाशविक एवं दानवीय यातना दिइएको थियो । उनीमाथि बोक्सीको आरोप लगाउने एक जना आफ्नै देवर र देवरानी नाता पर्ने व्यक्ति थिए । उनलाई यातना दिनेमाथि अहिले पनि जिल्ला अदालतमा मुद्दा जारिरहेको छ । यातना पाएकी वृद्धा राजकुमारीको २ वर्ष पहिले मृत्यु भइसकेको छ ।

यी माथीका घटना र परिघटनाहरू नेपाली समाजका प्रतिनिधि पात्र मात्र हुन् । नेपाली समाजमा विद्यमान गलत संस्कार र कुरीतिको जरैदेखि उन्मूलन गराउनेतर्फ सरकार र सम्बन्धित निकायको पहल निर्मम र सघन रूपले अगाडि नबढ्ने हो भने समाज अन्यायी कु–संस्कारको जालोभित्र लट्टिँदै जाने खतरा झनै देखिन्छ ।

 

अबको विकल्प,
चेनतामुखि अभियानका : नेपाली समाजमा जरा गाडेर बसेको कुरीतिजन्य प्रथाको अन्त्य गर्नका लागि ग्रामीण तहसम्म प्रभावकारी अभियानको थालनी आजको अपरिहार्य आवश्यकता हो । जबसम्म विद्यालय स्तर र प्रौढ महिला पुरुष अनि समाजका बुढापाकाहरू माझ अभियान र आन्दोलनको रूपमा लिन सकिँदैन तबसम्म कुरीतिको अन्त्य सम्भव छैन ।

गैरसरकारी संस्थालाई लगाम जरुरी : नेपालमा क्रियाशील गैरसरकारी संस्थाहरूलाई नेपाल सरकारले सर्वप्रथम लगाम लगाउन जरुरी देखिन्छ । उनीहरूले नेपालमा जसरी अधिकारमुखी आन्दोलनको सुरुआत गरेका छन् त्यसरी नै विकृतिको पनि बीजारोपण गरेर गएका छन् । समाजमा शान्तिभन्दा द्वन्द्व फैलाउने कार्यहरू उनीहरूबाट भइरहेका छन् । नेपाली भू–बनोट, यहाँको समाज र वर्ग चेतनाको अध्ययन नेपाल सरकारलाई हुनुपर्दछ त्यसको कार्यान्वयन नेपाली शैलीबाट गरिन जरुरी छ ।

छाडा र अनियन्त्रित तरिकाले वकालतका नाममा समाज भाड्ने गैरसरकारी संस्थामाथि राज्यले कडा निगरानी राख्न जरुरी देखिन्छ । राज्य नै जिम्मेवार बनोस् ? जनता र राज्य एकअर्काका परिपूरक हुन् । जनताविना राज्य पनि सम्भव छैन । जनता र देशको कुरा गर्दा जनहितमा राज्य हुन जरुरी छ । जनता र सरकारको दोहोरो सहभागितामा मात्रै नेपाली समाजमा विद्यमान सबै समस्याको समाधान खोज्न सम्भव रहला । सरकार जनता र समाजका सबै गतिविधिको जानकार हुन पनि नितान्त जरुरी देखिन्छ ।

चेतनास्तरमा वृद्धि :
जनता आफैँमा पनि सचेत छन् । जनता सचेत हुन सकेको खण्डमा मात्र राज्य सचेत र सजग बन्न सक्दछ । नेपाली समाजमा भइरहेका सबैखाले कुरीतिको अन्त्य गर्ने अभिभारा नेपाली जनताको नै हो । सरकारले कानुनको रक्षा गर्न सक्नुपर्दछ भने जनताले कानुनको पालना गर्न सक्नुपर्दछ । समाजमा असल कार्यको प्रभावकारी सञ्चार गर्ने र गलत कार्यको भण्डाफोर गर्दै समाज सुधारको अभियानमा सरकार र जनता एक ठाउँमा उभिन जरुरी देखिन्छ । गाउँदेखि सहरसम्म कुना कन्दरासम्म कुरीतिविरुद्धको अभियानलाई प्रभावकारी गराउन सकेको खण्डमा समाजमा सकरात्मक परिवर्तन सम्भव पनि रहन्छ ।

कानुनको सही प्रयोग हुन जरुरी : नेपालमा हुने सबै खाले जातीय भेदभाव, छुवाछुत, बोक्सी, छाउपडी, दाइजो लगायतका कुरीति अन्त्यका लागि राज्यले कानुन पनि बनाएको छ । तैपनि कानुनको कार्यान्वयनमा सरकारी पक्षबाटै राजनीतिक आर्थिक दबाबका कारण दोषीमाथि कारबाही हुन नसकेका थुप्रै तीता सत्यहरू हाम्रासामु छर्लंग छन् । राज्यले कानुन बनाएर मात्र नहुने भएकाले त्यसको सही कार्यान्वयन भएको छ या छैन ?

अन्यायमा परेकाले न्याय पाएका छन कि छैनन् भन्ने बारेमा पनि सरकारले गहन ढंगले सोच विचार गर्न जरुरी छ । कानुन बनाउनेभन्दा पनि त्यसको सही कार्यान्वयन आजको आवश्यकता हो भन्ने अभियान सरकारी र निजी क्षेत्रबाट अभियानकै रूपमा अगाडि बढाउन जरुरी देखिन्छ ।

प्रतिक्रिया