कृष्ण अधिकारी काठमाडौं । मानिस र प्रकृतिका लागि अत्यावश्यक वस्तु पानीको समस्या अहिले विश्वव्यापी चिन्ता र चासोको विषय बनेको छ । अहिले विश्वमा दुई अर्ब १० करोड मानिस सुरक्षित पिउने पानीबाट वञ्चित छन् । संसारका १ अर्ब ८० करोड मानिस फोहोर पानी त्यसमा पनि दिसाको अंश मिश्रित पानी पिउन बाध्य छन् । असुरक्षित पानी र कमजोर सरसफाइका कारण हरेक वर्ष करिब ८ लाख ४२ हजार जना मान्छे मर्ने गरेका विश्व स्वास्थ्य संगठनले जनाएको छ । तीव्र जनसंख्या वृद्धि भएसँगै पानीको चुनौती थपिएको छ ।
सन् २०५० सम्ममा विश्व जनसंख्या नौ अर्ब पुग्नेछ तर पानीको माग हालभन्दा ३० प्रतिशतले बढ्नेछ । अहिले नै करिब १ अर्ब ८० करोड मानिस मरुभूमीकरणको जोखिममा रहेको अवस्थामा आगामी दिनमा पानीको समस्या अझ जटिल बन्दै जानेछ । राजनीतिक विश्लेषकहरूले तेस्रो विश्वयुद्ध भएको अवस्थामा त्यो पानीकै लागि हुने बताएका छन् । पृथ्वीको ७५ प्रतिशत भाग पानीले ओगटेको भए पनि त्यसको करिब तीन प्रतिशत मात्र खास प्रयोगमा आउन सक्छ ।
समुद्रमा रहेको ९७ प्रतिशत पानीलाई पिउनयोग्य बनाउन ठूलो लगानीको जरुरत पर्दछ ।शुद्ध मानिएको पानीको ३० प्रतिशत भूमिगत रहेको छ, जसलाई उपयोगमा ल्याउन ऊर्जाको जरुरत पर्दछ । अहिले प्रयोगमा ल्याइएको पानीमध्ये सिँचाइमा ६९ प्रतिशत, उद्योगमा २० प्रतिशत, घरायसी प्रयोगमा १० र पिउनका लागि एक प्रतिशत मात्रै भएको पाइन्छ । पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले मार्च २२ तारिख (आज) मा विश्व पानी दिवस मनाइँदैछ ।
सन् १९९२ मा रियो दि जेनेरियोमा भएको संयुक्त राष्ट्र संघको वातावरण र विकाससम्बन्धी सम्मेलनले पानी दिवस मनाउनका लागि सिफारिस गरेअनुसार सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले २२ मार्चलाई विश्व पानी दिवसको रूपमा घोषणा गरेपछि विश्वभर यो दिवस मनाउन सुरु गरिएको हो । विश्वभर पानीका स्रोत क्रमशः सुक्दै गएकाले तिनको संरक्षणमा संसारका सबै राष्ट्र अग्रसर हुनुपर्नेमा जोड दिँदै राष्ट्रसंघीय वातावरण तथा विकास महासभाले सन् १९९३ को मार्च २२ तारिख विश्व पानी दिवस मनाउने घोषणा गरेको थियो ।
पानीको महत्वबारे जनचेतना जगाउने र स्रोतको दिगो व्यवस्थापन गर्न नीति निर्माण तहको ध्यानाकर्षण गराउन साताव्यापीरूपमा दिवस मनाउन लागेको जल तथा ऊर्जा आयोगका सहसचिव तथा प्रवक्ता माधव बेलबासेको भनाइ छ । हरेक वर्ष मार्च २२ मा मनाइने विश्व पानी दिवस तथा मार्च २३ मा मनाइने मौसम दिवसकै सन्दर्भ पारेर नेपालमा पनि पानी तथा मौसम दिवस सँगसँगै मनाउने गरिन्छ । प्रकृति र पानीको अन्तरसम्बन्धलाई महत्व दिँदै यस वर्षको विश्व पानी दिवसको नारा ‘पानीका लागि प्रकृति’ तय गरिएको छ । प्रकृतिले पानीका स्रोतहरू संरक्षण गर्ने र प्रकृतिको उचित संरक्षण गर्नका लागि पनि पानी नै चाहिने भएकाले नारा सान्दर्भिक देखिन्छ ।
पानीका स्रोत तथा मुहान बचाउन प्रकृतिको संरक्षण अपरिहार्य रहेको छ । उक्त नाराले हाल विश्वले भोगिरहेको स्वच्छ पानीका लागि प्रकृतिमा आधारित समाधान खोज्न प्रेरित गर्नेछ । यसलाई दिवसको रूपमा एक दिन वा साताव्यापी मनाएर औपचारिकता पु¥याउनुभन्दा मानव जीवनका लागि नभइनहुने वस्तु सर्वसुलभ, गुणस्तरीय र सबैको पहुँचमा पुग्ने सुनिश्चित गर्न नयाँ सरकारको मुख्य दायित्व हुने खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र अर्यालको जोड छ । राष्ट्रसंघका अनुसार विश्वभर ७६ करोडभन्दा बढी मानिसले पानीको सुधारिएको स्रोतको उपयोग गर्न पाएका छैनन् ।
जलवायु परिवर्तन एवं औद्योगिक प्रदूषणले विश्वमा पानीका मुहान सुक्दै गएका कारण मानवीय जीवन कष्टकर बन्दै गएको छ । पानीका स्रोतको उचित संरक्षण हुन नसक्दा विश्वव्यापीरूपमै खानेपानीको हाहाकार हुँदै छ । नेपालमा पानीको उपलब्धता प्रशस्त रहे पनि नदी, खोला तथा समग्र पानीको उचित व्यवस्थापन नहुँदा पानीको समस्या देशभरमै बढ्दै गएको छ । नेपालको संविधानले धारा ३५ (४) मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने गरी स्वास्थ्यसम्बन्धी हकको सुनिश्चित गरेको छ ।
सन् २०१७ सम्म आमनागरिकलाई खानेपानी तथा सरसफाइको प्रत्याभूत गर्ने घोषणा गरे पनि अहिलेसम्म खानेपानीमा ८७ प्रतिशत र सरसफाइमा ९५ प्रतिशत सफलता प्राप्त भएको सरकारी तथ्यांकमा उल्लेख छ । सरकारले खानेपानी तथा सरसफाइको आवश्यकतालाई महत्व दिँदै अलग्गै मन्त्रालयको व्यवस्था गरेकामा अहिले मन्त्रालय समायोजनको क्रममा खानेपानी मन्त्रालयको मात्र व्यवस्था भएकाले यसमा सरसफाइ पनि समावेश गर्नुपर्ने सम्बद्ध सरोकारवालाले माग गरेका छन् । महासंघका अध्यक्ष राजेन्द्र अर्याल प्रदेशस्तरमा खानेपानी र सरसफाइसम्बन्धी एकअर्काबीच परिपूरक भएकाले प्रदेशमा जस्तै यसलाई एउटै मन्त्रालयमा राखिनु उपयुक्त हुने बताउँछन् ।
सन् २०३० सम्मका लागि निर्धारण गरिएको दिगो विकास लक्ष्यको छैटौँ लक्ष्यमा सफा पानी तथा सरसफाइअन्र्तगत सबैका लागि सफा पानी तथा सरसफाइमा पहुँच सुनिश्चित गर्ने, सबैका लागि सुरक्षित तथा खर्चले धान्न सक्ने मूल्यमा पिउने पानीमा सर्वसुलभ तथा समतामूलक पहुँच हासिल गर्ने, सबैका लागि पर्याप्त तथा समतामूलक सरसफाइ र स्वच्छतामा पहुँच हासिल गर्ने र खुला ठाउँमा दिसा गर्ने चलनको अन्त्य गर्ने तथा पानी तथा सरसफाइ व्यवस्थापनको सुधारका लागि स्थानीय समुदायहरूको सहभागितालाई साथ दिई त्यसलाई अझ सबल बनाउने उल्लेख छ ।
सन् २०३० सम्ममा विश्वव्यापी र समन्यायिकरूपमा सबैका लागि सफा र सबैले उपयोग गर्नसक्ने खानेपानी सुविधा उपलब्ध हुने अपेक्षा राखिएको छ । नेपालले सन् २०३० सम्मका लागि निर्धारण गरिएको विश्वव्यापी दिगो विकासका लक्ष्यअनुसार केही सूचकहरू निर्धारण गरेको छ । यस अवधिमा ९९ प्रतिशत घरपरिवारले आधारभूत पानीको सुविधा प्राप्त गर्नेछन् भने ९५ प्रतिशत घरधुरीसँग पाइपबाट पानीको आपूर्ति हुनेछ र सुधारिएको सरसफाइको अवस्थाको सुनिश्चितता हुने जनाएको छ ।
नेपालले सहस्राब्दी विकास विकासमा खानेपानी र सफाइका क्षेत्रमा राखेको लक्ष्य निर्धारित समयमै पूरा गर्न सके पनि अन्य लक्ष्यहरूमा सफलता पाउन सकेको थिएन । स्रहस्राब्दी विकास लक्ष्यमा ५३ प्रतिशत जनतालाई सरसफाइ र ७३ प्रतिशत जनतालाई खानेपानीको सुविधा पु¥याउने लक्ष्य भने पूरा भएको छ । स्वच्छ खानेपानीको पहुँचलाई जीवनस्तरको एक महत्वपूर्ण सूचकको रूपमा लिने गरिन्छ । सन् २०१३÷१४ मा गरिएको वार्षिक घरधुरी सर्भेक्षणले करिब ५१ दशमलव ६ प्रतिशत घरधुरीका जनताले पाइपबाट वितरण गरिएको पानी प्रयोग गरेको देखाएको छ ।
प्रतिक्रिया