राजनीतिक परिदृश्यभित्र अल्मलिएको प्राज्ञिकता


-भुवन डोटेल  आजको विविधतापूर्ण युगमा विविधता देखिनु कुनै नौलो होइन । तै पनि विविधताको बीचमा पनि केही समानता प्रायः समाजमा देखिन्छ । सबैजसो समाजमा हरेक अवस्थामा पनि खोजिमा तल्लीन हुने तत्व हो, शक्ति । शक्तिले हरेक समयमा समाजको स्वरूप तय गर्दै आएको छ र गर्ने नै छ, त्यो आदिम काल होस् या आजको प्राविधिक युग ।

समाजको गति निर्धारण गर्ने तथा समाजको मार्ग तय गर्दै दिशा प्रदान गर्ने व्यक्तिहरू, समाजका अगुवा शक्तिका पुजारी बन्नु र शासक वर्गले जनमत जनचाहनाको प्रतिबिम्ब केवल शक्तिको स्रोत मान्दै यसको अन्तरतत्व जनभावना मात्र राजनीतिशास्त्रको ठेलिमा समेटिएको आभास गराउनु कति उचित अनुुचित समयले निर्धारण गर्दै जाला । वास्तवमै राजनीति समाजमा रहेका हरेक विषयभित्र रहेको अन्तरनिहित तत्व जसको बोध आजका गतिविधिबाट किमार्थ आभास गर्न सकिँदैन ।

समाजका अगुवाहरू आज जनचाहनाका आधारमा नभएर जनमतका आधारमा आफूलाई शक्तिशाली सावित गर्दै आफैँलाई समाजको आधारकेन्द्रका रूपमा उभ्याउन अभ्यस्त भइसकेका छन् जसलाई चिर्नु आजको प्राथमिक कार्य हुनुपर्ने हो र पनि कहीँ कतैबाट त्यस्तो गहनतम दाहित्व बोध गरेको पाइँदैन सायद संक्रमण यसैलाई भनिएला । यहि अवस्थामा यही संरचनाभित्र यही नेतृत्वबाट समाजको समुचित गन्तव्य र भविष्यको आँकलन या भरोसा कति गर्न सकिएला यसलाई तपसिलमा राखौँ ।

समाज अनौठा यात्राहरू पार गर्दै विविध परिवर्तनहरू झैल्दै आइपुगेको आजको युगमा इतिहास मेसोपोटामिया (पस्चिमी इतिहासका आधारमा) देखिको भनौँ या इतिहासले कोर्न नभ्याएको, इतिहासकारले कोर्न नचाहेको, अनुसन्धाताले खोतल्न नसकेको आदि आदिदेखि आजको चरम प्राविधिक युगसम्मको सामाजिक रुपान्तरणको सिलसिला पक्कै सिलसिलेबर छैन । अतः समाज विविधताको प्रतिबिम्ब भएकाले यसबाट सिलसिलावद्व विकासको अपेक्षा गर्नु सान्दर्भिक पनि हुँदैन । समाज डो¥याउने तत्व, विकास र रुपान्तरणको खाका निदिष्ट गर्ने तप्का राजनीतिले समाजका सबैखाले गतिविधिलाई एकै शब्दमा प्रतिबिम्बित गर्दछ तसर्थ यो हो विकास या विनास दुवैको एकसाथ प्रतिबिम्ब ।

समाज रूपान्तरणमा खास भूमिका निर्वाह गर्ने नेतृत्वदायी तप्काका रूपमा राजनीतिकर्मीलाई लिइन्छ । सामान्य मान्यता, राजनीतिकर्मीकोे समाजमा अलग भूमिका हुन्छ जहाँ अन्य सम्प्रदाय (प्राध्यापक, वकिल, व्यापारी आदि) को अनेकन सहयोग त होला तै पनि प्रत्यक्ष सहभागिताको आकांक्षा कम हुन्छ तथापि आज यही मान्यता माथिको अप्राकृतिक गमन सामाजिक अकर्मण्यताको एक जटिल कारक बनेको छ । कुनै समय परिवेशले सिर्जना गरेको नेतृत्व कोही तानाशाहिताको चरम विन्दुबाट सतहमा चिहाए त कोही अत्यन्त गाम्भीर्यताका साथ जनचाहनाप्रति आदर तथा सामाजिक उत्तरदायित्व वहन गर्दै तत्कालीन आवश्यकताका पूर्तिका लागि तल्लिन रहे यो विश्व मानचित्रमा हुने व्यक्ति र व्यक्तित्वको अन्तर नेतृत्वमा पनि स्वभाविक रहन्छ नै र रह्यो पनि ।

तसर्थ हिटलर, मुसोलिनी, लिंकन, मण्डेला, गान्धी, बिपी हुँदा अरूअरू सबैलाई एकै तुलोमा जोख्न नमिल्ला सायद । आजको राजनीतिक रंगमञ्च पनि यस्तै हो । सबैखालका नेतृत्वदायी व्यक्ति तथा व्यक्तित्वलाई एकै चंगोलमा राखेर गरिने सत्तोसराप या त कुनै बहानामा गरिने देवत्वकरणले समाजलाई के नवीन प्रगति पथमा लैजाला ? कदापि ! तसर्थ समाजमा सामाजिक गतिविधिको वस्तुनिष्ठ विश्लेषण गर्दै सुधारको बाटोमा हिँडाउनु आजको आवस्यकता हो ।

हाम्रो आचरण, व्यवहार र ज्ञानमा हामीले अंगालेको व्यवसायले केही वृद्धि गराउँछ भने भएको ज्ञान पनि व्यावसाहिकतामा स्वभाविक मद्दतकार बन्ला । आफ्नो व्यावसायिकतामा उच्च ध्यान दिने व्यवसायी भए आजको समाज केही फरक हुने थियो कि । प्राध्यापक समाज प्रगतिपथको उचित बाटो देखाओस् त राजनीतिज्ञ कल्याणकारी राज्यको अवधारण उचित तवरले पूर्णता दिनेतर्फ लागोस् । व्यापारी व्यापारी रहोस् न कि बेविचारी ।समाजमा व्यावसायिक मर्यादा कायम होस् ।सायद यसले समाजको भलै भलो मात्र हुने थियो तर आज हामीकहाँ सबै खाले व्यवसायीसँग एकैखाले भएको भोक प्यास ‘शक्तिमोह’ ले संकट चुलिँदै छ ।

लामो मानव इतिहासले सिद्विगरेको वास्तविकता के हो भने विकास र विनास एकनासले अगाडि बढेको छ । केही सिर्जनाका छाल सँगै केही विनासका धब्बाहरू देखिन्छ नै ।मानव सभ्यताको जग विश्वास पनि त्यस्तै छ कुनै समयको विश्वास सूर्यले पृथ्वीको परिक्रमा ग¥थ्यो त आज पृथ्वीले सूर्यको, हुनसक्छ कुनै कालखण्डमा कसैले उचित तर्क अर्को कुनै तथ्यसहित ल्यायो भने आजको मान्यताभन्दा स्वाभाविक फरक । समाजशास्त्रका सिद्धान्त पनि यस्तै हुन जसमा सास्वतता खोजिनु हँदैन ।आजको समसामयिक पाटोलाई केलाउदाँ एक अजीव अवस्था देखिन्छ कि सम्बन्ध राजनीति र अपराधको ; सम्बन्ध राजनीतिज्ञ र अपराधीको … ।

यो अन्योन्याश्रित्त र यसले निम्त्याएको एक अलौकिक बहस, यस भित्रका राजनीतिक दौडान सबैले आजको मार्ग चित्रण गर्दछ भने सामाजिक क्षेत्रमा देखिएको विचलन उदांगै छ कि आजको राजनीतिक दृष्टि साधन हो साध्य होइन ।यसको अर्को देखिने तथ्य यो पनि हो कि राजनीति आजको प्रयोग हो गन्तव्य होइन, तसर्थ यसलाई न मार्ग चाहियो न गन्तव्य सिवाय ‘प्रयोग’ ।आजको व्यवसायी व्यवसाय गर्न चाहन्छ तर उसले आधार मान्दछ र बनाउँछ राजनीति केबल व्यावसायिक लाभका लागि ।

आजको राजनीतिज्ञ चाहान्छ आफ्नै सामाजिक यात्रामा उच्चतम प्राप्ति सामाजिक जीवनबाट उत्पन्न हुने सन्तुष्टिलाई अलग्याउँदै मौद्रिक मूल्यमा । व्यवसायी आफ्नो धनको हवाला दिँदै शक्ति सञ्चय गर्ने र अन्ततः यो धनआर्जनका निमित्त उपयोग गर्ने तृष्णा राख्दछ त राजनीतिज्ञ शक्तिको हवाला गर्दै धन आर्जन गर्न, अन्ततः प्रयोग शक्ति सञ्चित गर्नेमै गर्दछ । यी दुवैलाई आआफ्ना विधा आआफैँ शक्ति हो भन्ने कुराको हेक्का दिलाउनु जरुरी छ जसले सामाजिक सामन्जस्यता कायम राखोस् । यसर्थ व्यावसायिक विचलनता आजको सबैभन्दा जटिल चुनौति हो जसको निर्मम शल्यक्रिया आवश्यक छ । सामाजिक कार्यको प्रमुख आधार गुन्डागर्दी, सामाजिक अभियन्ताको खम्बा टोलेगुन्डा हुँदै बहुराष्ट्रिय माफिया; यहि वास्तविकतामा अल्झिएको छ आजको राजनीति ।

विद्घताको अर्को श्रेणी छ हामीकहाँ । विद्घत वर्ग जसले सामाजिक विकासको रेखांकन गर्नुपर्ने हो त्यसको अधिकांश हिस्सा आचरणहीनताको दलदलमा विलिन छ । यो वर्ग राजनीतिक मार्ग देखाउने साहस गर्दैन । सामाजिक सद्भाव, सहिष्णुता तथा सामानजस्यता सत्वृद्विका क्षेत्रमा आफ्नो विद्घता प्रयोग गर्नुपर्नेमा सानामसिना प्राप्तिमा पुलकित हुँदै आफ्ना ज्ञानभण्डारलाई अस्वभाविक समर्पण गराउनु, चिरकालीन उपलब्धि समाप्त गर्नु, ज्ञान, समाज र स्वयं आफैँप्रति पनि न्याय नहोला कि ?

यसर्थ आजको प्रमुख आवश्यकता प्राज्ञिकताको समुचित उपयोग गर्दै समाजमा परस्पर सद्भावको विकासका लागि प्राज्ञिक वर्ग लाग्नु र राजनीतिज्ञप्रति लाग्ने कलंकमा कमी ल्याउँदै नेतृत्वप्रतिको उच्च सम्मान जाग्रित गराउनु नै हो । आजको प्राज्ञिकताको दाहित्व र वास्तविक सामाजिक विकास पनि त्यही हो जसको आधारमा मात्र नवीन समाजको रेखांकन सम्भव होला । प्राज्ञिकता र अस्वाभाविक पुलकित, प्राज्ञिकता र चाकरी आपसमा मेल खाँदैन, प्राज्ञिक वर्गको ध्यान आकृष्ट होस् । निभिग्नता प्राज्ञिकताको चिनारी हो जुन महाभारत रचहिताले विदुरका माध्यमबाट चित्रण गरेका छन् । अतः आधुनिक युगका विदुरहरू विदुरपथमै लाग्नु सान्दर्भिक होला कि !

प्रतिक्रिया