यसिमा महत
काठमाडौं, ७ चैत । दुई पाङग्रे सवारी साधन प्रयोग कर्तालाई हेल्मेटको प्रयोग गरौं भन्ने सन्देश दिन मंगलबार राष्ट्रिय ट्रमा सेन्टरले जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।
अन्र्तराष्ट्रिय ‘हेड इन्जुरी’ दिवसको अवसरमा राष्ट्रिय ट्रमा सेन्टर र महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा र्याली निकाली ट्रमा सेन्टर, बीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क र सहिदगेट हुँदै र्याली ट्रमा सेन्टरमा आई रोकेको थियो ।
र्यालीमा ‘टाउको हाम्रो जोगिएमा बाँच्छौ हामि ढुक्क, हेलमेट लगाई यात्रा गरौं नमानौ है दिक्क’ लेखिएको टिसर्ट तथा ब्यानर, प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा राष्ट्रीय चिकित्सा विज्ञान प्रतिष्ठानका उपकुलपति डा. गणेश गुरुङले शरिरको महत्वपुर्ण भाग टाउको भएकाले दुई पाङग्रे सवारी साधन चलाउँदा अगाडी र पछाडी बस्ने दुबै जनाले अनिबार्यरुपमा हेल्मेट लगाउँदा हेड इन्जुरी कम हुने बताए ।
उनले भने, ‘ट्रमामा सवारी दुर्घटनाबाट अहिलेसम्म आउने विरामीमध्ये सबैले हेलमेट नलगाएको कारण बढीको मृत्यु भएको छ । यदि हेलमेटको प्रयोग भएको भए टाउको जोखिन्थ्यो र मृत्यु हुने दर कम हुन्थ्यो ।’
त्यस्तै ट्रमा सेन्टरका निर्देशक डा. प्रमोदकुमार उपाध्यायले ५० प्रतिशत दुर्घटनाबाट मृत्यु हुने भएको भन्दै दुई पाङ्ग्रे सवारी गर्दा सबैले हेलमेटको प्रयोग गर्न आग्रह गरे ।
उनले भने, ‘अरु विभिन्न देशमा सबैले हेलमेटको प्रयोग गर्छन्, तर हाम्रो देशमा त लगाउने भनेर अभियान सञ्चालन गर्यो भने त्यहि दिन मात्र लगाउँछन् ।’ उनले अब सबैले आफूबाटै सुरुवात गर्नुपर्ने बताए ।
त्यस्तै न्युरो सर्जन डा. राजिव झाले मानिसको महत्वपूर्ण भाग टाउको भएको र दुर्घटना हुँदा पनि सबैभन्दा अगाडि टाउको नै जाने भएकाले हेलमेटको प्रयोग जरुरी रहेको जानकारी दिए ।
उनले भने, ‘हाम्रो शरिर दुर्घटना हुँदा सबैभन्दा अगाडि टाउको बजारिन्छ, त्यसैले बाइकको अगाडि भन्दा पछाडी बस्ने मानिसले हेल्मेट लगाउन जरुरी छ ।’
उनले अबको दुई वर्षपछि जति पनि हेड इन्जुरी हुन्छ, त्यो सवारी दुर्घटनाबाट मात्रै हुने भन्दै दुई पाङ्ग्रे सवारी गर्दा अनिवार्य हेल्मेट प्रयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा डाक्टर, नर्स (चिकित्सक), ट्राफिक प्रहरी, पत्रकार, कर्मचारी र अन्य बिभिन्न संघ संस्थाका प्रतिनिधीको सहभागिता रहेको थियो ।
प्रतिक्रिया