माध्यमिक शिक्षा परीक्षाको गरिमा

-बाबुकाजी कार्की  यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) ८ चैतबाट सुरु हुँदै छ । परीक्षा सँगसँगै चिट चोर्ने चोराउने प्रसंग विगतदेखि नै उत्तिकै चर्चाको विषय बन्ने गरेको छ । परीक्षालाई वस्तुनिष्ठ, निष्पक्ष, मर्यादित र गरिमामय बनाउने प्रयासहरू निरर्थक सावित भएको गुनासाहरू सत्यताको नजिक छ । शिक्षा ऐनमा आठौँ संशोधन भएपश्चात् कक्षा १० मा एसइई र कक्षा १२ मा एसएएसी परीक्षा हुने भएको हो । परीक्षा नियन्त्रण कार्यालयले परीक्षालाई मर्यादित गरे पनि चिट चोर्ने चोराउनेको चर्चामा कमी आएको छैन् ।

एसएलसीको नाम र नतिजा प्रकाशन प्रणाली परिवर्तन भए पनि चिट चोर्ने चोराउने संस्कारमा कमी आउने छाँट देखिँदैन । परीक्षाको हाउगुजी चाहिँदोभन्दा बढी प्रचारका कारणबाट पनि विद्यार्थीमा मनोवैज्ञानिक त्रासदी फैलिएको छ । विद्यार्थीलाई एक्जामिनेसन फिभरले छोइसकेको छ । फलामे ढोकाको रूपमा चित्रित यस परीक्षामा अधिकतम अंक ल्याएर उत्कृष्ठ स्थानमा हाँसिल गर्न परीक्षार्थीले आफ्नो अध्ययनलाई घनिभूत पारिराखेका छन् । अंग्रेजी शव्दको फरक हिज्जेअनुसार चिट शव्दको अर्थ एक सानो कागजको टुक्रा र अर्को निहीत स्वार्थपूर्तिका लागि विश्वासघात गरी गरिने अनुशासनहीन धूर्त कामलाई जनाउँछ ।

परीक्षामा सानो कागजको टुक्रामा उत्तर लेखेर निरीक्षकको आँखा छली चोर्ने काम हुने भएकोले वर्तमानमा चिट शव्द अंग्रेजीका उल्लिखित दुबै अर्थको रिमिक्सका रूपमा प्रयोग भएको पाइन्छ । अझ एसइई परीक्षाको समयमा त चिट सर्वत्र बहसको विषय बन्ने गरेको छ । अन्य क्षेत्रमा पनि नेपालीले यसलाई विनाहिचकिचाहट आफ्नो बानीबेहोरामा उतारेको बंग्रेल्ती उदाहरण पाइन्छ । एकले अर्कालाई ठग्ने झुक्याउने धोखा दिने काम हाम्रो संस्कार र संस्कृति बन्दै गएको छ । राष्ट्रियस्तरमा सञ्चालित यस परीक्षामा एककिसिमले चिट हाहाकार नै हुने गरेकोले परीक्षा मर्यादित बनाउन हरप्रयास गरेता पनि निमिट्यान्न पार्न पनिकालाई हम्मेहम्मे परेको यथार्थ जगजाहेर छ । एसइई परीक्षामा मात्र चिटको चर्चा किन व्यापक हुन्छ ? कारण खोजिनु पर्दछ ।

चिट चोर्न चोराउन विद्यार्थी शिक्षक र अभिभावक किन मरिहत्ते गर्छन् ? बहसको विषय बन्नुपर्दछ । परीक्षा सञ्चालन समयमा गरिने कडाई चिट निराकरणको एक मात्र उपाय हो त ? सार्थक अध्ययन अनुसन्धानबाट समस्याको जरो र समाधानको चुरो पहिल्याउन विलम्व भइसकेको छ । शैक्षिक विकृति विसंगतिरूपी रोगको एक लक्षण मात्र हो सदाबहार चिट लोकप्रियता । पाठ्यक्रमले तोकेको सिकाइ उपलव्धी हाँसिल गर्ने गरी तोकिएको समयावधि पठनपाठन गरेर विद्यार्थीलाई सहज परीक्षा दिने गरी सक्षम बनाउन असफल हुनुको विकल्प हो चिट । यसप्रकार चिटको दोषी विद्यार्थीलाई मात्र बनाएर अन्य सरोकारपक्ष उम्किन खोज्नु अक्षम्य भूल हो ।

अर्कोतर्फ चिट चोर्नु चोराउनु र चोर्न विवश बनाउने सबै गतिविधि एक प्रकारको शैक्षिक भ्रष्टाचार हो । चिट चोरेर पास हुनु र सुन्नियर मोटाउनु एकै हो । चिट चोरेर अधिक अंक ल्याएर सफल भए पनि पछि व्यवहारमा असफल हुँदाको ग्लानीयुक्त यथार्थता बेहोर्दाको क्षण पश्चात्तापपूर्ण हुन्छ । तसर्थ वास्तवमा चिटले गर्दैन कसैको हित । चिट चोर्ने चोराउने तथा परीक्षालाई बिथोल्ने जो कोहीलाई कसुरअनुसार परीक्षाबाट निष्कासन तथा ६ महिनासम्म जेल सजाय वा एक लाखसम्म जरिवाना गर्ने प्रावधान रहेको छ । अनि मर्यादित परीक्षा सञ्चालन गर्ने उत्कृष्ट विद्यालयलाई पुरष्कृत गर्ने नीतिले परीक्षा सञ्चालनमा सुधार आउने अपेक्षा गर्न सकिन्छ ।

शैक्षिकसत्र भरी हुने पठनपाठनलाई प्रभावकारी बनाउन सरोकार पक्ष उदासीनताको प्रतिफल हो चिट । शिक्षक, अभिभावक, विद्यालय तथा नीतिनिर्माताले विद्यार्थीलाई केन्द्रविन्दुमा राखेर इमानदारीपूर्वक शैक्षिक गतिविधि सञ्चालनले मात्र परीक्षाको समयमा धेरै चर्चामा आउने चिटिङ संस्कारलाई निरुत्साहित गर्न बल पुग्दछ । परीक्षालाई अधिकतम उपलब्धीमूलक बनाउन अभिभावकको पनि उत्तिकै महत्व रहन्छ । छोराछोरीलाई अनावश्यक दबाब नदिने, उनीहरूको आहारविहारलाई स्वस्थकर बनाउने, पढ्ने लेख्ने सामग्री तथा बस्ने स्थानको सहजता प्रदान गर्ने तथा उत्साह र ढाढस दिएर मर्यादित रूपमा परीक्षा दिन प्रोत्साहित गर्नु एक असल अभिभावकको जिम्मेवारीभित्र पर्दछ ।

जसले विद्यार्थीलाई परीक्षादेखि डराउने रोग एक्जामफोबिया हुनबाट बचाउँछ । यस मानेमा एसइई अभिभावकका लागि पनि एक समझदार अभिभावक भए नभएको जाँचिने परीक्षा हो भन्दा अन्यथा नहोला । विद्यालयले पनि विद्यार्थीको रुची क्षमता अनुसारको विषयको छनोट तथा परीक्षालाई सहजरूपमा सामना गर्नसक्ने योग्यताको विकास गराउनु पर्दछ । विद्यार्थीको वैयक्तिक विभिन्नता तथा उसको प्रगतिको गति र क्षमताको आधारमा पठनपाठनको अभ्यास गर्ने अवसरको चाँजोपाँजो मिलाउनाले समग्रमा विद्यालयको उपलब्धी उच्च हुने यथार्थता हो । किनकि एसइई नतिजाको आधारमा विद्यालयको छवी सरकार र समुदायमा कायम हुने गरेको छ ।

तसर्थ आफ्ना विद्यार्थीको उपलव्धिस्तर उच्चतम बनाउन अधिकाधिक सकारात्मक प्रयास गर्नुपर्ने हुन्छ । प्रश्नपत्र निर्माणमा वैज्ञानिकता, बस्तुनिष्ठता तथा गुणस्तरीयताले पनि परीक्षाको नतिजालाई असर पार्दछ । व्यवस्थित, मर्यादित, निष्पक्ष, स्वच्छ र सौहाद्र वातावरणमा परीक्षा सञ्चालन गर्न परीक्षा केन्द्र निर्धारण, भौतिक तथा मानवीय व्यवस्थापन एवं उनीहरूले परीक्षार्थीलाई गर्ने व्यवहारबाट परीक्षाको गुणस्तरीयताको हैसियत निक्र्योल गर्दछ । विद्यार्थीले परीक्षालाई सामान्यरूपमा आत्मसात गर्ने खालको वातावरण बनाउन सकेमा पनि चिट संस्कारलाई निरुत्साहित गर्न टेवा पुग्दछ ।

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा प्रत्यक्षरूपमा विद्यार्थीका लागि मात्र फलामे ढोका भए जस्तो लागेता पनि परोक्ष रूपमा राज्यले विद्यालय शिक्षासम्बन्धी अख्तियार गरेको नीति नियम तथा कार्यक्रम जाँच्ने कसी पनि हो । त्यस्तै विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावकले विद्यार्थीको पठनपाठनमा कतिको योगदान पु¥याउन चासो देखाए भन्ने कुराको एकिन गर्ने एक सशक्त सूचक विद्यार्थीले प्राप्त गरेको प्राप्तांक र उत्तीर्ण प्रतिशत नै हो । तसर्थ एसइई विद्यार्थीका लागि मात्र परीक्षा नभएर सम्बन्धित निकाय, विद्यालय, शिक्षक, अभिभावकलगायत सरोकारपक्षको पनि परीक्षा हो ।

असफलताको प्रत्यक्ष क्षतिको भागेदार विद्यार्थी भएता पनि परोक्ष रूपमा अन्ततोगत्वा समग्र राष्ट्रलाई पर्छ । यसको सही विश्लेषण र व्याख्या गरी आआफ्नो जिम्मेपारी र जवाफदेहिता बहनगर्न ढिलो भइसकेको छ । तसर्थ एसएलसीलाई मर्यादित एवं अनुशासित रूपमा सञ्चालन गर्न सबै क्षेत्रबाट इमानदारीपूर्वक आआफ्नो भूमिका निर्वाह गर्न सक्यौँ भने विद्यार्थीले कर र डरले नभई रहरले परीक्षा दिन उत्साहित हुन्छन् ।  (काकी पूर्व जिल्ला शिक्षा अधिकारी हुन्)

प्रतिक्रिया