पुष्करराज प्रसाई
नेपालकोे मानचित्रमा उत्तरपूर्वमा अवस्थित १४ अञ्चल मध्ये जनकपुर अञ्चलमा पर्ने रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुली, ओखलढुंगा र सोलुखुम्बु जिल्लाको बीचमा हलो आकारमा अवस्थित मध्यमाञ्चल वर्तमान संरचनामा प्रदेश–३ भित्र पर्दछ । यस जिल्लाको नाम रामेछाप रहनुको पछाडि विभिन्न किंवदन्ती पाइन्छ ।
त्रेतायुगमा राजा रामको जनककी छोरी सीतासँग विवाह भएपछि अयोध्याको उत्तरतर्फको भ्रमण सन्दर्भमा आधुनिक प्रचलनमा मधुमास मनाउन अहिलेको रामेछाप गएको अवस्थामा आफनो साथमा लिएर गएका हातहतियार (जसलाई त्यतिवेला चाप पनि भनिन्थ्यो) सोही रामेछापकोे डाँडोमा राखेका थिए र सोही हतियार (चाप) राखेको नामले त्यस ठाउँलाई रामचापभन्दा भन्दै पछि रामेछाप हुन गएको हो भन्ने पौराणिक कथन पाइन्छ भने अर्काे रामेछाप नगिचै रागेछाप पनि भएकोले र राम भन्ने व्यक्तिले छापबाट विर्ता पाएकोले पनि रामेछाप हुन गएको भन्ने पनि गरिन्छ ।
यस जिल्लामा नयाँ सरचनाको हिसाबले दुई नगरपालिका र ६ गाउँपालिका रहेका छन् । राजनीतिक चेतनाको हिसाबले वामपन्थी कम्युनिस्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल, मकैको खेती नामक पुस्तकलेखी राणाविरुद्ध जनचेतनाको विगुल फुक्ने कृष्णलाल अधिकारी र गंगालालसहित तीन सपुतको नाम तीनलालको जिल्ला भनेर चिनिन्छ । यहाँको प्राकृतिक, ऐतिहासिक, सम्पदाको हिसाबले शेर्पा जातिको धार्मिक आस्थाको प्रतिबिम्ब वौद्ध गुम्बा जसमा १ सय ५० वर्षभन्दा पुरानो गुरु रिम्बोर्चेको माटोद्वारा निर्मित विशाल र आकर्षक मूर्ति हेर्नलायक मात्र होइन यति ठूलो मूर्ति सायदै अन्यत्र होला ।
त्यसैगरी किसेपु चरि पिप्राङ राम्दिङ कुडर ज्याङनसा जस्ता झरनाहरू र यालाम्चो भाले तीनलाल पोखरीजस्ता पोखरीहरू विशाल कडा चट्टानद्वारा प्राकृतिकरुपमा नै निर्मित हिन्दूहरूको मान्यतामा कैलाश, उमातीर्थ, उमामहेश्वर, उत्तर काशीको नामले चिनिने लिखु र हिमगंगाको संगम, वौद्ध धर्मावलम्वीहरूको मान्यतामा सात तले स्वयम्भू मन्दिर अनि मुगिटारमा रहेको दुर्गा नदी (भटौली), दुर्गा भवानीले राक्षस शुम्भ निशुम्भ वधगरी खुडा पखालेको नदीको रूपमा लिइन्छ । यस नदीलाई अन्यत्र काहीँ नभएको एक मात्र पवित्र नदीको रूपमा लिइन्छ भने सोही खोला र पवित्र तामाकोसी अनि लिखु, खिम्ती, सुकाजोर, रनजोर खोलाले सिंचित क्रमशः मादी फाँट, खिम्तीफाँट, मन्थलीफाँट साँघुटार फाँटमा किसानको सीप र सिर्जनाले सिंगारिएको हरियाली सुन्दर टार हेर्नलायक छ ।
कृषिलाई नै राष्ट्रिय अर्थतन्त्रको मूल आधारस्तम्भको रूपमा लिइएको वर्तमान अवस्थामा रामेछापको सामाजिक आर्थिक भौगोलिक तथा जैविक विविधताले विकास गतिविधिलाई गहिराईसम्म प्रभाव पारिरहेको पाइन्छ यो प्रभाव कहिले समस्या त कहिले सम्भावना भएर उजागर हुने गरेको र त्यस्ता समस्या, सम्भावनाहरूलाई समष्टिगत रूपमा स्वीकारी किसानमा आधारित दिगो तथा सबल कृषि अर्थतन्त्रको गतिविधिहरू केही मात्रामा सञ्चालन भइरहेका छन् । जनसंख्याको अधिकांश अंश करिब ७६ प्रतिशत मानवीय संसाधन कृषिकै गतिविधिमा बाह्रैमासे वा मौसमी रूपमा जीविकोपार्जनमुखी कृषि व्यवसायमा आवद्ध छन् । यहाँको स्थानीय विशिष्ठताकै कारणले मुलुककै स्वादिष्ट जुनार र आलु उत्पादन हुने एक मात्र जिल्ला रामेछाप हो भन्दा अन्यथा हुँदैन । त्यसैगरी मसलाबाली अदुवा, बेसार, अलैँची एकबाली वा अन्तरबालीको रूपमा खेती गरिँदै आएको पाइन्छ ।
यी बिरुवाको नर्सरी उत्पादनदेखि मौरीपालनसम्मको कार्यक्रम पनि सञ्चालन भएका छन् । खानी खनिज (फलाम, तामा) सम्पदाहरू पनि उत्खनन्को पर्खाइमा छन् । जडिबुटीहरूमा पदमचाल पाँचऔँले लज्जावती चिराइतो आदि इत्यादि प्रजातिहरूको पनि खेती गरिन थालेको छ भने लोक्ताको कागज उत्पादन हुन थालेको धैरै भइसकेको छ । यी सबै चिजहरूको बजारीकरणको निमित्त बजारविकास कार्यक्रम अर्थात कृषि सडक र स्थानीय हाट बजारलाई व्यवस्थित गर्ने, नयाँ हाटको व्यवस्था गर्ने, जुनार संकलन केन्द्र, सोलार स्टोर निर्माण, स्थानीय प्रशोधन तथा घरेलु उद्योगको स्थापना, थोकबिक्रेतासँगको समन्वय आदिको प्रबन्ध गरिएको पाइन्छ ।
प्राप्त तथ्यांकअनुसार देशभरका १ सय ३ किसिमका जातजातिहरू रहेकोेमा यस जिल्लामा ४९ किसिमका जातजातिको बसोबास रहेको पाइन्छ । झन्डै अढाइ लाख जनसंख्या रहेको यस जिल्लालाई लोपोन्मुख हायू जातिहरूको उद्गम स्थलको रूपमा समेत चिनिन्छ भने बाहुन, क्षेत्री, नेवार, शेर्पा, मगर, सुनुवार, तामाङ, भुजेल, राई दमाइ, विकजस्ता जातिको बस्ति भएको पाइन्छ । जिल्लाको कुलजनसंख्याको झन्डै ६० प्रतिशत साक्षरता यहाँ रहेको पाइन्छ ।
यतिका माथि उल्लेख गरिएका अमूल्य स्रोत सम्पदाहरूले भरिएको भण्डार भएको रामेछापमा विविध पेसा व्यवसाय चलिरहँदा पनि अझै गरिबीले राज गरिरहनु भनेको व्यावसायिक दक्षताको कुशल व्यवस्थापन हुन नसकेर मात्र हो भन्न सकिन्छ । महात्मा गान्धीले भनेजस्तै पृथ्वी हरेक व्यक्तिको आवश्यकता पूरागर्न तयार छ तर हरेकको लोभ पूरा गर्न होइन र साथै केबल कुनै लोभी तथा धनीका लागि जथाभावी लुटामार गर्नका लागि पनि होइन, यो सबै जनताका लागि हो । प्रकृतिले दिएको छ तर हामीले बनाउन सकेनौँ । त्यसैले हामी गरिब होइनाँै अपार खनिज स्रोत सम्पदाको भण्डारबाट चिज झिकेर खान नसक्ने हामी र हाम्रा जनप्रतिनिधि दोषी हौँ । नेताको इच्छाशक्तिको कमी र राज्यले ध्यान पु¥याउन नसकेको मात्र हो ।
अब अहिले वर्तमान अवस्थामा यस जिल्लाले प्रदेश–३ को अर्थमन्त्री कैलाश ढुंगेलजस्ता जनप्रतिनिधि पाएको छ । अब वास्तविक जिल्लाको विकास र समृद्धि ल्याउने हो भने जिल्लाको वस्तुगत चित्रण, क्षेत्रगत रूपमा समस्याको विश्लेषण, सम्भावनाको पहिचान, तर्कसंगत योजनाको खाका, बजेट विश्लेषण, उत्तरदायित्व र पारदर्शिताको सुनिस्चितता, कार्यक्रम विश्लेषण, वार्षिक लक्ष्य तथा कार्यक्रम, प्रस्तुत गरेमा मात्र योजनाले आफनो सबलता र स्पष्टताको परिचय दिने गर्दछ । समस्या तथा सम्भावनाहरूलाई भौतिक र स्थानगत आधारमा मूल्यांकन गरी सम्भावित जोखिम पक्षहरूको पूर्वानुमान समेतको खाकामा आधारित रही, पूर्णत प्राविधिक र प्रक्रियागत ढाँचाको आधारमा हामीले काम गर्न सकेमा मात्र योजनाले लक्षित लक्ष्य हासिल गर्न सक्छ ।
१९७२ को स्टकहोम सम्मेलनले विश्वसमुदायलाई मानव वातावरणको सरक्षण र क्षेत्र विस्तार गर्ने निर्णय गरेकोले प्राकृतिक संसाधनको प्रयोग मानव जातिको कल्याणका खातिर दिगो रूपमा आधारित रहेर गर्न सकेमा गरिबी र अभावमा पिल्सिनुपर्ने अवस्था आउँदैन । अब विकासको मूल प्रवाहले नाफालाई भगवान् सम्झने तथा कुल राष्ट्रिय उत्पादनलाई नैै राष्ट्रको सम्पन्नता नाप्ने आधार बनाइनु हँुदैन । मानिस प्रकृतिकोे देन हो न कि मानिसको देन प्रकृति । आधुनिक विकासले सार्वजनिक सम्पत्तिहरूलाई नाफा कमाउने क्षेत्रको रूपमा प्रयोग गरेको छ, अब त्यसो गरिनु हुँदैन, उत्पादनको केन्द्र घरलाई बनाइनु पर्दछ उद्योगलाई मात्र होइन ।
जब घर उत्पादनको केन्द्र नभई स्थानीय जनताहरूले हजारौँ वर्षअघि विकास गरेको स्थानीय उत्पादनमुखि कृषि पशुपालन ओखतिमूलो र घरेलु उद्योगसम्बन्धी ज्ञान सीप हराउँदै जान्छ र उत्पादन घरपरिवारबाट बाहिरिएर उद्योगमा पुग्छ तब उत्पादनमाथि महिलाहरूको निर्णय अधिकार र नियन्त्रण हराएर स्थानीय स्वाधीनता, स्वराज गुम्छ । त्यसैले स्थानीय स्वाधीनता र स्वराज बचाउन परम्परागत ज्ञान, सीपलाई सम्मान गरी उत्पादनको केन्द्र घरलाई नै बनाउनु पर्दछ यही नभएर अहिले विकासको नाममा स्थानीय जनताले आफनो स्वराज गुमाई परनिर्भर हुनुपरेको छ ।
त्यसकारण अब खानेपानी नपाउने गाउँमा कोकाकोला बियरको आधिपत्य हुने र ढिँडोको अभाव हुने ठाउँमा बिस्कुट र चाउचाउ चपाउने अवस्थाको अन्त्य गर्नुपर्दछ । हामीले हाम्रो जिल्लामा रहेका विविधतालाई संरक्षण गर्न सक्नुपर्दछ । बहुफसल प्रणाली एकलफसलतर्फ सीमित नगरी गाउँघरमा रहेका आप्mनै मौलिकताको धान र गहँुका हजाराँै प्रकारलाई उत्पादनमा ल्याउनु पर्दछ । एकल फसलमा सीमित गरिनु हँुदैन । हामीले यहाँ परम्परागत र आधुनिकताको समिश्रणबाट नयाँ पद्धतिको सिर्जना गर्नुपर्दछ ।
नागरिक तहबाट पनि राज्य प्रदत्त विकासमा चासो राख्ने र विकासमा स्वयम्सेवा दिने संस्कारको विकास गरिनु जरुरी छ । विकास मेरा लागि हो भन्ने कुराको सोच हरेक नागरिकले बनाउनु जरुरी छ । आर्थिक विकासको लागि आर्थिक क्रियाकलाप हुनु जरुरि हुन्छ हाम्रो आम्दानीभन्दा खर्च गर्ने बानीबेहोराले पँुजी सञ्चय हुन सकेको छैन । वचतले पुँजी निर्माण हुन्छ र लगानिको सम्भावना वृद्धि हुन्छ । यसका लागि प्रत्येक गाउँपालिकाहरूमा बंैक वित्तीय संस्थाहरू रहनु जरुरी छ । अहिले यसो हुन सकिरहेको छैन । स्थानीय सरकारले पनि आपूmले पाएको बजेट असारमा छर्ने र साउनमा साउने भेलसँगै बगाउने संस्कृतिको अन्त्य गर्नु जरुरी छ । स्थानीय सरकारले पञ्च वर्षे नगरी फास्टट्रयाकको रूपमा दुई या दुईभन्दा बढी स्थानीय सरकारका बीचको संयुक्तरूपका विकासे परियोजनाहरू सञ्चालन गर्नसके विकास अझ बृहत् विस्तृत जनउपयोगी हुन जाने देखिन्छ । अस्तु ।
प्रतिक्रिया