सन्दर्भः १०८औँ नारी दिवस : नारी जागरण र आजको जटिल समस्या


–विश्वनाथ खरेल  पृथ्वीमा मानवको उत्पत्ति भएदेखि नै नर र नारीको उत्पत्ति भएको कुरा इतिहासले प्रमाणित गरिसकेको छ । नारी र पुरुष एक सिक्काको दुई भाग हुन् । कुनै रथ चल्नका लागि जसरी दुई पांग्राको आवश्यकता छ त्यसरी नै समाज चल्नका लागि नारी र पुरुषको सहयोग अपरिहार्य छ । नारी दिवस ग्रामीण महिलाहरूको आँखामा छारो हाल्ने काम मात्र भएको छ । महिलाको हकहित गर्ने भनी खोलिएका थुप्रै गैरसरकारी संघ, संस्था मूकदर्शक भएर बसेका छन् ।

विश्व २१औँ शताव्दीमा पुगे पनि पितृसत्तात्मक हाम्रो समाजमा भने महिलाप्रति गरिने भेद्भाव र त्यसबाट उत्पन्न समस्या गम्भीर चिन्ताको विषय हो । हाम्रो समाजमा चेतनाको अभाव छ । जबकी राष्ट्रको उत्थानका लागि महिलाहरूको योगदान पुरुषको भन्दा कम देखिँदैन । नेपोलियन बोनापार्टले भनेका पनि छन्, एउटी असल आमाबाटै असल राष्ट्र निर्माण हुन्छ । यो भनाइ कति सान्दर्भिक छ ।  हाम्रो देशमा मात्र होइन, संसारकै आधाभन्दा बढी खाद्यान्न मागको पूर्ति महिलाहरूले नै गर्दछन् । महिलाहरू परिवारको सृष्टिकर्ता मात्र नभएर पालनकर्ता पनि हुन् ।

सन् १९१० मार्च ८ तारिखका दिन महिलाले पनि पुरुषसरह शैक्षिक, सामाजिक, आर्थिक र राजनीतिक अधिकार पाउनुपर्छ भनी सर्वप्रथम आवाज उठाएको सन्दर्भमा सोही दिनलाई अन्तर्राष्ट्रिय नारी दिवसको रूपमा विश्वभर मनाउन थालिएको हो ।संसारका धेरैजसो देशमा महिला र पुरुषको संख्या बराबर भए पनि महिलाप्रति असमान व्यवहार भएको र प्रत्येक क्षेत्रमा महिलाहरू पछिपरेको हुनाले आजभन्दा १ सय ८ वर्षअघि चीन, ब्राजिल, डोमिनिकन गणतन्त्र र संयुक्त राज्य अमेरिकाका केही महिलाहरूले सर्वप्रथम संगठित भएर महिलामाथि भएको व्यवहारप्रति चिन्तन गरेका थिए । त्यसैगरी सन् १९४५ मा संयुक्त राष्ट्र संघले सिद्धान्तको आधारमा महिला र पुरुषमा समानता कायम हुनुपर्छ भनी स्पष्ट गरिएको बडापत्र पारित गरेको थियो ।

सोहीअनुसार सन् १९४६ मा महिलाको स्थितिसम्बन्धी आयोगको गठन, सन् १९५१ मा समान ज्यालासम्बन्धी महासन्धि, सन् १९५२ मा मत दिन पाउने राजनीतिक अधिकारसम्बन्धी महासन्धि, सन् १९५७ मा महिलाको नागरिकतासम्बन्धी महासन्धि, सन् १९६० मा पेसागत भेदभाव उन्मूलन, सन् १९६७ मा महिला उपर हुने सबै प्रकारको भेदभाव उन्मूलन जस्ता अन्तर्राष्ट्रिय निर्णयहरू भए । हाम्रो वेद, धर्मग्रन्थहरू र विभिन्न विद्धानहरूले नारीहरूको उथानमा जोड दिएको पाइन्छ । त्यसैगरी हिन्दू संस्कृतिमा पनि ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः’ अर्थात जहाँ नारीको पूजा हुन्छ त्यहाँ ईश्वर रमाउँछन् भनी नारीवर्गलाई उच्चस्थानमा राखिएको छ ।

यसै परिप्रेक्ष्यमा विकासको अग्रणी भूमिका निर्वाह गरी नारी तथा पुरुषको समान योगदान हुनुपर्ने कुरा महसुस गरिएको छ । तैपनि, हामी नेपालका अधिकांश ग्रामीण नारीहरू निरक्षरताको अँध्यारोमा पूर्वाग्रहपीडित धारणाहरूको धुवाँमा आफूले आफैँलाई भेट्टाउन नसकी परिचयहीन जिन्दगी बाँचिरहेका यथार्थ हामी कसैबाट लुकेको छैन । कति नारीहरूले त भान्छा, पँधेरा र गोठ र दाउराभन्दा पर पनि संसार छ भन्ने कुराको चाल नै पाएका छैनन् । आज हामी २१औँ शताब्दीको संघारमा आएर पनि कति नारीवर्ग त दासीपूर्ण जीवनयापन गर्नमा नै बाध्य हुन्छन् । वास्तवमा भन्ने हो भने समाज, संस्कार, संस्कृति, धर्म सबै पक्षले नेपाली नारीहरूलाई यस्तै जीवन बाँच्न सिकाइरहेछ ।

आज मुलुकमा विद्यमान नारी समस्याको सरसर्ती मात्र अध्ययन गर्ने हो भने पनि सन्तोष गर्ने ठाउँ कतै नभएको कुरा नेपाली नारीहरूले आभाष गरिरहेका छन् । परिवार, समाज, राष्ट्र सबैले नारीलाई गौण स्थान दिएको देखिन्छ । घर परिवारमा मात्र होइन देशको कृषि, उद्योग, शिक्षा, स्वास्थ्यजस्ता हरक्षेत्रमा नारीवर्गको देन छरिएको कुरा कसैबाट लुकेको छैन तैपनि यस कुराको सही मूल्यांकन कतै गरिएको पाइँदैन । नेपाली नारीहरूको सामान्य परिर्वतन ल्याउन, नारीप्रति पुरुष र समाजको धारणा, सोचाइ, मनोभावना, दृष्टिकोेण अथवा वैचारिक परिवर्तन नै जरुरी छ । यसरी विभिन्न तहमा कार्यमूलक योजनाका प्रभावकारी कार्यान्वयनको आवश्यक छ ।

योविना खाली भाषण नारा र प्रस्तावमा मात्र सीमित रहेर पुग्दैन । यसमा योजनाको कार्यान्वयनका लागि ठोस कार्य गरिनुपर्ने आवश्यक देखिन्छ ।विश्वमा २१औँ शताब्दीको चपेटामा हँुदा पनि महिलाहरूको दयनीय स्थिति हुनु सबैका लागि लाजमर्दो कुरा हो । यसरी महिलाहरूको पछौटेपन र उनीहरूको शोषणका लागि मुख्यतः हाम्रो सामाजिक, आर्थिक र पारिवारिक संरचना नै जिम्मेवार भए पनि समाधानका लागि हालसम्म अपनाएका प्रतिरोधात्मक र उपचारात्मक दुबै किसिमका उपायहरू परिमाणमुखी हुनसकेका छैनन् । विगत केहीवर्ष यता नेपाली महिलाहरूको हकहित तथा अधिकारका लागि नेपाली विधायकहरूले पनि जनताको ध्यान बहसमा सीमित गर्न थालेका छन् । यसवेला महिला मुक्तिका अभियानहरू पनि प्रसस्तै चलाइरहेका छन् ।

भनिन्छ एउटा पुरुषलाई शिक्षित बनाउनु भनेको केबल एक व्यक्तिलाई मात्र शिक्षित गराउनु हो । तर, एउटी नारीलाई शिक्षित बनाउनु भनेको पूरै परिवार नै शिक्षित बनाउनु हो । समान हक र समान अधिकारको नाराले मात्र चेतना विकास हुँदैन । नेपालमा त्यस्ता थुप्रै गाउँ बस्तीहरू छन् जहाँ बालबालिका र महिलाहरूको दैनिक जीवन दाउरा घाँस काट्ने, स्याउला बोक्ने, गाईभैँसी चराउने योभन्दा बाहिरी धारमा आउन सकेका छैनन् । त्यहाँ शिक्षाको महत्व बुझाइदिने कसले ? एक ग्रागी पानी लिन चार घण्टा हिँड्नुपर्ने त्यस्तो दुर्भाग्यपूर्ण जीवन बाँचिरहेका ग्रामीणवासीहरू पनि नेपालकै एक परिवेश हो । त्यस्ता ठाउँहरूमा न सरकार पुग्छ, न त एनजिओ, आइएनजिओ नै पुग्छ ।

नारी दिवसको नाममा ठुल्ठूला व्यक्तिहरूले ठुल्ठूला पाँचतारे होटलमा गएर तीन÷चार लाइन गरेका भाषणले मात्र नारी समस्या समाधान हुँदैन । यसका लागि त नारी चेतनाको विकास जरुरी छ । त्यसकारण हरेकको लागि शिक्षाको किरण प्रखर पार्नु प¥यो । अन्त्यमा यो दिन संसारभरि विभित्र कार्यवक्रमहरू गरेर सामाजिक, आर्थिकलगायत विकासका अन्य धेरै आयामहरूमा नारीहरूको सक्रिय सहभागिता अनि नेतृत्वको प्रशंसा गरिन्छ । संसारमा लैंगीक समानता एउटा अभियान केबल लमतत्र नारा मात्र भएको छ, निकै विकसित भनिएका देशहरू पनि नारी उत्पीडन अनि असमानताका मुद्दाहरू लुकाएर बसिरहेका छन् ।

तथापि नेपालले भने यसपाला नारी समानतामा एउटा युगान्तकारी, गौरवशाली अनि संसारलाई नै उदाहरणीय कदम चालेर देखाइदिएको छ । यसमा राष्ट्राध्यक्षका रूपमा महामहिम राष्ट्रपतिदेखि संविधानसभाको सभामुखलगायत न्यायपालिकाको प्रमुखजस्तो गरिमामय अनि महत्वपूर्ण पदहरूमा नेपालले नारी नेतृत्वको अद्भुत चयनको उदाहरण संसारलाई दिएको छ । शक्तिराष्ट्र अनि प्रजातान्त्रिक अभ्यासको अद्वितीय देश अमेरिकाले समेत आजको दिनसम्मा महिला राष्ट्रप्रमुखको स्वागत गर्न नसकेको इतिहासमा नेपालले नेपालीपन अनि नारी लैंगिक समानता बीचको एउटा गज्जब उदाहरण बनाएकै हो ।

यसको साथसाथै संसारले यसअर्थमा नारी दिवसको यो दिन नेपालीले राष्ट्रको महत्वपूर्ण नेतृत्व तहमा मातृत्वलाई गरेको छनोटलाई बेवास्ता गर्न सक्दैन । तैपनि, कमजोर कानुनी प्रावधान अनि नेपाली समाजको पैतृक लंगिक संरचनाका कारण दैनिकजसोका समाचारमा महिला हिंसाका कैंयन घटना सार्वजनिक हुन्छन्, कति कानुनी उपचारको बाटोमा लाग्छन् भने कति घटना समाजका अनेक मुखौटाबीच लुकाइन्छ, दबाइन्छ । अतः नारी एक गृहणी मात्र नभएर समाजको आधा बोझ थाम्ने दरिलो आधार पनि हो ।

तसर्थ नारीका सम्पूर्ण समस्याको निराकरणका लागि नारीवर्ग नै शिक्षित एवं जागृत हुन एकातिर आवश्यक छ भने अर्कोतिर नारी समानताका जति कुरा गरे पनि व्यवहारमा नारीवर्गमाथि देखिने भेदभाव, शोषण र अन्याय अत्याचार भइरहेका छन् । औपचारिक पक्षलाई हेर्दा पनि समानताका लागि सरकारले कानुनसमेत ल्याउन सकेको छैन । यसैले जनसंख्याको यो आधी भागलाई समानता र मुक्ति दिलाउन विश्वव्यापीरूपमै संघर्षको एउटा लहरको अझै आवश्यकता छ ।

प्रतिक्रिया