-डा. डिआर उपाध्याय विकास समृद्धि र स्थिर सरकार आजको आवश्यकता हो । स्थिर सरकार नभएसम्म विकास र समृद्धिको सम्भावना छैन । हाम्रो देशमा विगतका दिनहरूमा स्थिर सरकार कै अभावमा विकास र समृद्धिले बाटो लिन सकेन । अब हामी सबै मिलेरै विकासको गतिमा मुलुकलाई अगाडि बढाउनु पर्छ । आजको विकास लक्ष्य भनेको दिगो विकासको अवधारणा हो । राजनीतिक स्थायित्वविना कुनै पनि कुराको विकास हुँदैन । विगतमा जे जसरी सत्ता स्वार्थमा अधिकांश समय बर्बाद गरियो, अब त्यस्तो स्थिति दोहो¥याउनु हुँदैन ।
देश र जनताको भाग्य र भविश्य निर्माण गर्ने कुरामा सम्बन्धित पक्ष गम्भीरताका साथ अगाडि बढ्नुपर्छ । खेलचारी र हचुवाको भरमा मुलुक निर्माण हुन सक्दैन । हिजो चुनावको बेलामा यो यो काम पूरा गर्छै भन्दै कुर्लीकुर्ली भाषण गरेको कुरा जनताले बिर्सिएका छैनन् । चुनावका वेलामा बोलेका कुरा वाम गठबन्धन सरकारले पूरा गर्नुपर्छ । चुनावमा भोट बटुल्ने र चुनाव जितेपछि सरकारमा जाने खेल मात्र हो भने भन्नु हुँदैन । साँच्चै नै मुलुकको भविष्य सपार्ने सपना हो भने हामी सबैको साथ र सहयोग छ । अब सरकारले युवाको विषयमा गम्भीरताका साथ सोच्नुपर्छ । युवाको सहभागिताविना देश विकास सम्भव छैन । युवाहरू विदेश पलायन भइरहेका छन् ।
यो डरलाग्दो अवस्था हो । अब बाँकी रहेका युवा जनशक्तिलाई विदेश काम गर्न जानबाट रोक्न सरकारले आकर्षण कार्यक्रम छिट्टै ल्याउनुपर्छ । नत्र युवा जनशक्ति रोकिँदैनन् । यो देशको मुहार फेर्ने भनेकै युवा हुन् । युवा नै देशमा नभएपछि कसले देशको मुहार फेर्छ । वाम सरकारले अगाडि सारेका विकास समृद्धि र स्थिर सरकारको सपना फेरी अधुरो रहनेछ । विकास र समृद्धि भन्दै हिँड्दैमा र कराउँदैमा विकास र समृद्धि हुँदैन । विकास र समृद्धि गर्न युवा शक्तिको खाँचो हुन्छ । देशमा काम गर्ने युवाको चरम अभाव छ । अब सरकार गम्भीर बन्नुपर्छ । देश र जनताको भाग्य र भविष्य निर्माण गर्ने मार्गचित्र जसले कोरे पनि त्यसलाई कार्यान्वयनमा ल्याउन सबैको साथ र सहयोगको जरुरत पर्छ ।
एक्लो प्रयासले देश बन्दैन । यो संसारको विकशित देशहरूको अनुभव हो । देशको ठूलो हिस्सा ओगटेको १५ देखि ४५ वर्षका युवाको चाहना विदेशमा गएर काम गर्नु होइन, स्वदेशमै बसेर काम गर्ने चाहना हो । तर, यी उमेरका युवाहरूलाई विदेशिनु बाध्यता हो ।देशमा अझैँ पनि योजनाबद्धरूपमा राज्यले काम गर्न सकेन भने युवाको संख्या विदेशमा जाने घट्दोरूपमा होइन, बढ्दो रूपमा हुनेछ । संसारका जे जति अविकशित देशहरू विकासको गतिमा फड्को मारेका छन्, त्यो युवाको प्रयास र श्रमले नै हो । हाम्रो मुलुक संविधान निर्माणपछि समृद्धिको चरणमा छ । देशलाई समुन्नत र सशक्तबनाई अगाडि बढाउनु हामी सबैको कर्तव्य पनि हो ।
मुलुकमा सबैको प्रयासले नै सम्पन्नताको मार्ग प्रशस्त गर्छ । युवाहरू क्रान्ति, निर्माण सुधारका इन्जिनियर हुन् । युवाहरूले चाहे भने हरेक कुराको सम्भव छ । युवा जनशक्ति भनेका राष्ट्र समृद्धिका प्रतिनिधि हुन् । परिवर्तनका पहरेदार र संगठित शक्ति हुन् । आर्थिक तथा समृद्धिको बाटोमा अगाडि लम्कन सबै युवाको खाँचो छ । मुलुकको विकास र समृद्धिका लागि सुशासन अनिवार्य सर्त हो । सुशासनविना विकास सम्भव छैन । भ्रष्टाचारले मुलुक धमिराको गोलोजस्तै भएको छ । भ्रष्टाचारमुक्त राज्यसत्ता निर्माण गर्नु आजको आवश्यकता हो । वैदेशिक औपनिवेशिक शोषण, स्रोतमाथिको थिचोमिचो वैदेशिक सहयोगका नाममा सर्तबन्दी शक्ति राष्ट्रको हेपाहा प्रवृत्ति र चिन्तन विकास र समृद्धिका वाधक तत्व हुन् ।
यी वाधक तत्वलाई समाप्त नगरेसम्म विकासका नीति सिद्धान्त र कार्यक्रम जति सुन्दर भए पनि दिगो हुने छैन । देशमा विकास र समृद्धि राजनीतिक निर्णय इच्छा शक्ति र क्षमतामा भर पर्दछ । यतिखेर युवा शक्तिहरूले आफूमाथि देशले सुम्पिएको अभिभारा साहस र धैर्यसाथ बहन गर्न सक्नुपर्छ । युवापुस्ता देश विकासका लागि अगाडि बढ्नुपर्छ । युवाशक्ति भनेका परिवर्तनका संवाहक नै हुन् । युवाले चाहे छिटो परिवर्तन हुन सक्छ । विगतका हरेक परिवर्तन युवाको शक्तिले सम्भव भएको हो विगतका आन्दोलनहरूमा युवाहरू सडकमा ननिस्केको भए कुनै पनि परिवर्तन सम्भव थिएन । त्यसैले युवा जनशक्तिलाई राज्यले सम्मानका दृष्टिले हेर्नुपर्छ । अहिलेसम्म युवाका बारेमा राज्यले कुनै कुरा सोचेन ।
युवा जनशक्तिलाई स्वदेशमा काम दिने वातावरण निर्माण गर्नुपर्छ । यो राज्यको कर्तव्य हो । राज्य यो कर्तव्यबाट पन्छिनु कुनै पनि हालतमा हुँदैन । देश बनाउन युवाहरूको खाँचो छ । युवाहरूलाई परिचालन गरेर मात्र देश विकास सम्भव छ । राष्ट्र र जनताको अगुवाइमा दत्तचित्त भई युवाशक्ति नै लाग्नुपर्छ । युवा पछाडि हटेर मुलुक बन्दैन । मुलुक बनाउन युवा नै स्वदेश बस्नुपर्छ । युवा अति गतिशील र क्षमतावान् हुन्छन् । अब युवाको भविष्यबारे राज्यले विचार पुयाउनुपर्छ । अब मुलुकको भविष्य युवाको काँधमाथि आएको छ । युवाले सधैँ नयाँ सोच नयाँ चिन्तन नयाँ दृष्टिकोण लिएर अगाडि बढ्नुपर्छ । पुरानो चिन्तन र यथास्थितिमा युवाहरू बस्नु हुँदैन । परम्परागत कार्यशैलीले मुलुक बनाउन पनि सकिँदैन ।
देशका युवाहरूले परिस्थिति हेर्ने होइन, फेर्ने काममा लाग्नुपर्छ । यो देशको विकास निर्माणलाई कसरी अगाडि बढाउन सकिन्छ, त्यो बारेमा चिन्तन मनन गर्नु युवाहरूको दायित्व हो । विदेशमा रहेका युवाहरूले देशको यो अवस्थालाई सीमापारीबाट टुलुटुलु हेरेर बसिरहनु उचित हुँदैन । स्वदेशमा बसेर देश निर्माणमा अगाडि बढ्नुपर्छ । सबै युवाहरूको सामूहिक प्रयत्नबाट नै देश बनाउन सकिन्छ । तर, राज्यले उचित किसिमको वातावरण मिलाइदिनुपर्छ । त्यसो भयो भने मात्र यो मुलुक छोटो समयमा अरू विकसित देशको तुलनामा प्रतिष्प्रर्धा गर्न सक्नेछ । शासनसत्ता परम्परागत र कछुवाको गतिमा चलाउने काम भयो भने विकास र समृद्धि छिटो हुन सक्दैन । वाम सरकारले आकार लिँदै छ । वाम सरकार स्थिर बन्ने सम्भावना पनि देखिएको छ ।
माओवादी केन्द्र र एमाले पार्टीबीच एकता भयो भने स्थिर सरकार हुन्छ । पार्टी एकता नभए स्थिर सरकार नहुन सक्छ । किनकी दुई पार्टीमा सत्ताको लुछाचुँडी हुनेछ । वाम गठबन्धन सरकारले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई साथमा लिएर विकास र समृद्धिको मार्गचित्र कोर्न सक्नुपर्छ । त्यसो भयो भने मात्र विकास र समृद्धिको यात्रा पूरा हुन सक्छ । वाम गठबन्धनले बहुमतको दम्भ देखाएर कांग्रेसलाई निषेध गर्ने काम भयो भने विकास र समृद्धिको गतिले फड्को मार्न सक्ने छैन । विकास र समृद्धिका लागि सबैलाई साथ लिएर अगाडि बढ्नुपर्छ । विगतमा जस्तै सत्तामा बसिरहने र देश र जनताको पक्षमा सिन्कोसम्म नभाँच्ने हो भने भन्नु केही छैन । राष्ट्र निर्माणमा सबैको आआफ्नाे भूमिका रहेको हुन्छ ।
त्यो भूमिका बहन गर्न सरकारले वातावरण निर्माण गर्ने काममा लाग्नुपर्छ । युवाहरू देश, राष्ट्र, जनता विकास र समृद्धिका लागि सधैँ खटिरहन तयार छन् । युवा शक्तिको समपर्णले मात्र मुलुकको विकास र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा सम्भव छ । आजका कतिपय युवा भ्रष्ट, दलाली, दुव्र्यसनी, गुन्डागर्दी, चोरी, आतंकजस्ता गलत काममा पनि लागेका छन् । ती युवालाई सही बाटोमा ल्याएर सुधार गर्नुपर्ने आवश्यकता पनि देखिएको छ । त्यसको नेतृत्व युवाशक्तिले नै गर्नुपर्छ । नराम्रो काममा फसेका युवालाई सत्मार्गमा ल्याउनु हामी सबैको कर्तव्य हो । देशमा रोजगार नपाएर भौतारिएका युवाहरू नै गलत काममा लागेका छन् । तिनीहरूलाई रोजगार दिने हो भने धेरै सुधार आउन सक्छ । चोरी डकैती गुन्डागर्दी सबै बेरोजगारीको समस्या हो । अब छिटो राज्यले बेरोजगारी समस्या हल गर्नुपर्छ ।
देशमा उद्योगधन्दा कलाकारखाना सबै बन्द छन् । देश विदेशी रेमिट्यान्सको भरमा चलेको छ । सधैँभरि अरू देशको भरमा मुलुक चलाउन थालियो भने युवाहरू बिग्रन्छन् । युवालाई सुधार्न र देश विकासमा लगाउन आफ्नाे देशको विकास गर्नुपर्छ । समय धेरै नै गतिशील छ । अबको युगमा समयअनुसार चल्न सक्नुपर्छ । देश नबनेसम्म हाम्रो भविष्य राम्रो हुँदैन । धेरै युवा डिप्रेसनको सिकार भएका छन् । कारण केहो ? यो सबै बेरोजगारी समस्या नै हो । युवाहरू डिप्रेसनमा जानु भनेको देशको भविष्य बिग्रनु हो । युवालाई राज्यले आश जगाउने खालको काम गर्नुपर्छ । युवाहरू नै आशा र भरोसाका केन्द्र हुन् । युवाले चाहने हो भने धेरै कुरा असम्भव पनि सम्भावमा बदलिन्छ । आज धेरै युवा विदेश पलायन छन् । अव ती युवाहरूलाई स्वदेशमै रोजगार पाउने खालको नीति निर्माण राज्यले बनाउनुपर्छ ।
प्रतिक्रिया