-तिवारी यादव पर्सा, बारा र मकवानपुर तीन जिल्लाको सीमाक्षेत्रमा रहेको पर्सा राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा कान्छो निकुञ्ज हो । पहिले वन्यजन्तु आरक्षको रूपमा मात्रै रहेको आरक्ष क्षेत्र अहिले राष्ट्रिय निकुञ्जमा परिणत भएको छ । निकुञ्जमा परिणत भएसँगै पर्यटकीय गन्तव्यको रूपमा पनि विकास हुँदै गएको छ । केहीवर्ष अघिसम्म घुम्न र रमाइलो गर्न चितवन राष्ट्रिय निकुञ्जबाहेक नजिकमा पर्यटकीय गन्तव्य स्थल नरहेको प्रदेश–२ मा पर्यटकका लागि पर्सा राष्ट्रिय निकुञ्ज आकर्षक गन्तव्यस्थलका रूपमा विकसित हुँदै गएको हो । नेपालमा पाइने रैथाने हात्तीको वासस्थान संरक्षण गर्ने उद्देश्यले ०४० सालमा बारा, पर्सा र मकवानुपुरसँग सीमा जोडिएको ४ सय ९९ वर्ग किलोमिटर जंगल क्षेत्रलाई पर्सा वन्यजन्तु आरक्षको रूपमा स्थापना गरिएको थियो ।
०७२ सालमा भने बारातर्फको १ सय २८ दशमलव ३९ वर्ग किलोमिटर राष्ट्रिय वन क्षेत्रलाई पनि तत्कालीन पर्सा वन्य जन्तु आरक्षमा समाहित गरेपछि अहिले यसको कुल क्षेत्रफल ६ सय २७ दशमलव ३९ वर्ग किलोमिटर छ । तत्कालीन पर्सा वन्यजन्तु आरक्षलाई ०७४ साल २५ वैशाखमा नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले पर्सा राष्ट्रिय निकुन्जका रूपमा परिणत गर्ने निर्णय गरेपछि गत १९ असारमा राजपत्रमा सूचना प्रकाशित भएपछि मात्र पर्सा वन्य जन्तु आरक्ष कानुनी रूपमा पर्सा राष्ट्रिय निकुञ्जका रूपमा परिणत भएको हो । राष्ट्रिय निकुन्जमा परिणत भएपछि स्वदेशी तथा विदेशी पर्यटकहरूलाई अवलोकन र घुमफिरका लागि खुल्ला गरिएको छ । पर्यटकहरूका लागि खुला गरेपछि अहिले पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य बनेको छ ।
परिवारसहित घुम्न निस्कने ठाउँको अभाव भइरहेका बेला निर्माण भएका रिसोर्टले त्यसको आवश्यकता पूर्ति गर्ने गरेको छ भने करोडौँ रुपैयाँको लगानीमा नयाँ रिसोर्ट तथा होटल निर्माण हुने क्रममा रहेको छ । पर्सा तथा बारा जिल्लाको सीमा पर्ने निकुञ्जमा पर्याप्तमात्रामा पूर्वाधार रहेकाले अब यसको दिनचर्या बदलिँदो अवस्थामा रहेको छ । ६ सय २७ वर्ग किमिमा फैलिएको यो निकुञ्जको पूर्वमा धार्मिक रंतनपुरी जंगल, पश्चिम चितवन राष्ट्रिय निकुञ्जको सिकारीबास, उत्तरमा बफरजुन र दक्षिणमा पुरानो निर्मलबस्ती, सुवर्णपुर रहेको छ ।निकुञ्जलाई रौतहटसम्म विस्तारको लागि पनि माग भइरहेको छ । रौतहटसम्म पनि चार कोसे झाडीले छोएकोले रौतहटसम्म निकुञ्ज विस्तारको माग भएको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ ।
पर्यटनको लागि पूर्वाधारहरूको पनि आवश्यकता हुने भएकोले अहिले निकुञ्ज वरिपरि आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी साना होटल देखि ठूला र सुविधा सम्पन्न होटल तथा रिसोर्टहरू पनि खुल्न थालेको छ । त्यसले त्यो क्षेत्रमा पर्यटक गतिविधिलाई पनि बढाएको छ । निकुञ्जभित्र रहेका ऐतिहासिक तथा प्राचीन हलखोरियादह, कामिनी दह, माया मन्दिर, दुग्धेश्वर महादेव मन्दिरका साथै निकुञ्जभित्र पर्यटकका लागि निश्चित शुल्क लिएर पर्सा राष्ट्रिय निकुन्जभित्र रहेका विभिन्न महत्वपूर्ण तथा दुर्लभ वन्यजन्तु र चराचुरुंगीहरू अवलोकन गर्नका लागि खुला गरिएको उनले बताए । पर्सा राष्ट्रिय निकुन्जमा प्रवेशका लागि नेपाली पर्यटकको हकमा ५० रुपैयाँ, सार्क मुलुकका पर्यटकका लागि पाँच सय रुपैयाँमा १३ प्रतिशत भ्याट थप तथा अन्य मुलुकका पर्यटकका लागि एक हजार रुपैयाँमा भ्याट थप गरी शुल्क निर्धारण गरिएको आचार्यले जानकारी दिए ।पर्सा राष्ट्रिय निकुन्जमा दुर्लभ वन्यजन्तुहरू पाटेबाघ, रैथाने हात्ती, एक सिंगे गैँडा, भालु, रतुवा मृग, चित्तल, जरायो, बँदेल, नील गाई, गौरी गाईका साथै झन्डै दुई सय प्रजातिका चराचुरुंगी छन् । यस्तै निकुन्जभित्र कामिनी दह, हलखोरीया दह र लौकी दह गरी तीन वटा प्राकृतिक मनोरम तालहरू पनि छन् । पर्यटकहरूको अवलोकन र घुमफिरका लागि निकुन्जको जंगलभित्र पर्ने मकवानपुरको प्रतापुर, पर्साको रातोटे र रामभौरी भाथा, बाराको हलखोरीयामा गरि एक दर्जन भ्यु टावर पनि बनाइएको छ । यसैगरी पर्यटकहरूलाई जंगल सफारी गर्न निकुन्जको हात्तीसारमा एक दर्जन हात्ती पनि राखिएको छ ।
निकुन्जभित्र फायर लाइन पनि भएकाले हात्तीको जंगल सफारी गर्न नचाहने पर्यटकहरूले आफनो निजी सवारीमा सवार भई जंगल सफारी गर्नसक्ने व्यवस्था पनि मिलाइएको प्रमुख संरक्षण अधिकृत आचार्यले बताए । बाराको आधाभारमा रहेको पर्सा राष्ट्रिय निकुन्जको कार्यालय अनुसार, पर्यटकहरूका लागि खुल्ला गरिए यता मंसिर मसान्तसम्म स्वदेशी तथा विदेशी गरी ३४ जना पर्यटकले निकुञ्जको भ्रमण र अवलोकन गरेका छन् । मंसिर मसान्तसम्म नेपालका २१, सार्क मुलुकका पाँच र अन्य मुलुकका सात जना पर्यटकहरूले निकुञ्जको अवलोकन भ्रमण गरेका हुन् । यस्तै मंसिर मसान्तसम्म १९ जना पर्यटकले हात्तीमा चढेर हात्ती सफारी पनि गरेको पर्सा राष्ट्रिय निकुन्जको कार्यालयका रेन्जर विनय झाले जानकारी दिए ।
उनीहरूबाट प्रवेश शुल्क र हात्ती सफारी शुल्क गरी २५ लाख २६ हजार रुपैयाँ तीन सय १५ रूपैया राजस्व संकलन पनि भएको झाले बताए ।आरक्षबाट निकुञ्जमा स्तरोन्नति भएपछि आकर्षक तथा मनमोहक प्राकृतिक दृश्य, जैविक विविधताले भरिएको वनजंगल, जनावर हेर्न प्रत्येक वर्ष एक हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक आउने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले बताए । निकुञ्जभित्र ऐतिहासिकस्थल, दुर्लभ वन्यजन्तु, रमणीय तथा प्राकृतिक दृश्य हेर्न आउने विदेशी पर्यटकका लागि प्रतिव्यक्ति भ्याटसहित एक हजार, हात्ती चढेको ६ सय ५० तथा नेपाली पर्यटकका लागि प्रतिव्यक्ति प्रवेश शुल्क ५० रुपैयाँ तोकिएको छ ।
चिडियाखानाको पनि आवश्यकता महसुस
प्राकृतिक रूपमा वासस्थान र प्राकृतिक रूपमा नै आहारा प्रदान गर्ने निकुञ्ज रहेको भए पनि सरकारी नीति अनुसार प्रत्येक प्रदेशमा एउटा चिडियाखाना स्थापनाको तयारी पनि भएको छ । निकुञ्ज प्राकृतिक रूपमा वासस्थान र प्राकृतिक रूपमा नै आहारा प्रदान गर्ने हो भने, चिडियाखाना शैक्षिक अवलोकन भ्रमणद्वारा जानकारी गराउने उद्देश्यले स्थापना गरिने भएकोले त्यस्तो चिडियाखाना पनि आवश्यकता महसुस भएको निकुञ्जका संरक्षण अधिकृत आचार्यले बताए ।
प्रदेश–२ मा एउटा चिडियाखाना आवश्यकता देखिएको छ । स्थापना गर्ने नगर्ने त्यो सरकारले गर्ने नीतिगत निर्णयमा भर भर्छ । त्यसको पनि अध्ययन गर्नुपर्ने आवश्यकता रहेको निकुञ्जको भनाइ छ । आचार्यका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले जुओलजिकल गार्डेन र चिडियाखानको अध्ययन भइरहेको छ ।
दुग्धेश्वरनाथ मन्दिर र राजमार्ग निकुञ्जका लागि समस्या
निकुञ्जको नजिक रहेको विकास पूर्वाधारहरू सडक, विद्युत, खानेपानी, विद्यालय, तथा राजमार्गले भने निकुञ्जमा रहेका वन्यजन्तुलाई असर पारेको छ । निकुञ्जको कार्यालय नजिकैबाट पास हुने त्रिभुवन राजपथ पनि निकुञ्जको लागि समस्या रहेको छ । निकुञ्जमा रहेका वन्यजन्तु आवतजावत गर्ने बाटोबीचबाटै राजमार्ग पनि रहेकोले सडकमा गुड्ने, सवारी साधनले वन्यजन्तुलाई अवरोध गर्ने तथा कहिलेकाही वन्यजन्तुले पनि अवरोध गर्ने हुँदा दुवैपक्षको द्वन्द्वले खतरा रहेको निकुञ्जको भनाइ छ । प्रमुख संरक्षक अधिकृत भन्छन्, ‘संरक्षण र विकासलाई सँगै लिएर जान सकेनौँ भने दीगो विकास हँदैन, जनावरहरूलाई सहज रूपमा आवतजावत गर्न दिनका लागि वैकल्पिक बाटोको रूपमा फ्लाइओभर बनाउन सुझाव दिएका छौँ ।’
जनावरले आफू जान चाहेको गन्तव्य सुरक्षित छ कि छैन भनेर विचार गर्छ । त्यसरी हिँड्ने वेलामा जनावरसँग जम्काभेट भयो भने दुर्घटना हुन सक्छ ।यसरी जम्काभेट हुँदा मानवीय क्षति भएका थुपै्र घटना छन् । अझ जंगली हात्तीको आक्रमणमा परेर ज्यान गुमाउनेको संख्या पनि कम छैन । प्रमुख समस्या नै यसलाई लिन सकिन्छ । किनकि वन्यजन्तु दैनिक जीवनका लागि हिँडडुल गरिरहनु पर्दछ । फास्ट ट्रयाकबाट पनि रौतहटमा हात्ती र गैँडा पुगेको प्रमाण छ । हलखोरियासम्म पनि बाघ बढ्दै गरेको छ ।त्यो पनि चुनौती रहेको छ । बीचमा जनावर देखियो भने दुर्घटना हुनसक्ने संभावना हुन्छ ।
यो निकुञ्जको एउटा ठूलो समस्याको रूपमा रहेको छ, भने अर्कोतर्फ निकुञ्जभित्रै रहेका वन्यजन्तुको सबैभन्दा सहज वासस्थान घाँसे मैदान रहको रामभौरीभाठ्ठास्थित दुग्धेश्वर नाथ महादेवको मन्दिर र मन्दिरमा लाग्ने मेलाले अवरोध गरेको छ । यसको व्यवस्थापनका लागि संवाद भए पनि स्थानीय तह तथा राजनीतिक दलका नेताहरूले मेलालाई व्यावस्थापनमा मात्रै जोड दिएका छन् । जंगली जनावरको लागि आवश्यक आहारा पाइने घाँसे मैदान सोही क्षेत्रमा रहेको र जीवजन्तुहरूको रोजाइको ठाउँ पनि रहेकाले त्यहाँ रहेको मन्दिरमा मानिसको आवतजावत भएमा जनवारहरूको लागि असहज हुने भएकोले निकुञ्जले मन्दिर छेउमा लाग्ने मेलालाई त्यो क्षेत्रभन्दा बाहिर ल्याउनुपर्ने प्रस्ताव गरेको छ ।
तर, मेला व्यावस्थापन समिति र राजनीतिक दलका नेताहरूले भने धार्मिक आस्थालाई जोडेर मेलालाई व्यवस्थित गर्नुपर्ने अडान लिएका छन् । वन्यजन्तुको आहारा रहेको मुख्य क्षेत्रमा नै मेला लगाउन दिँदा वन्यजन्तु बिच्किने र मानिसलाई पनि खतरा रहेकोले उसको वासस्थानलाई सहज बनाउन मेलालाई जंगलभन्दा बाहिर लगाउन दिने र मन्दिर दर्शनका लागि भने आउन जान दिने योजना बनाएको छ । मेला व्यावस्थापनका लागि भने निकुञ्जले गठन गर्ने मध्यवर्ती उपभोक्ता समितिको जिम्मामा रहने गरी व्यावस्थापन गर्न लागिएको छ । तर, स्थानीय मेला व्यवस्थापन समितिले निकुञ्जको प्रस्तावलाई मेला सार्नेभन्दा व्यावस्थापन गरेर लानुपर्नेमा जोड दिएको छ ।
प्रतिक्रिया