सुभानु आचार्य
संस्कृत भाषालाई प्राचीन भाषाको रूपमा चिनिन्छ त्यसैले यसलाई देव भाषासमेत भनिन्छ । विश्वमा बोलिने प्रायः सबैभाषाको जननी संस्कृत भाषा नै हो । पूर्वेली संस्कृतिमा यो भाषालाई विशेष महत्व दिइन्छ भने हाल आएर पश्चिमा मुलकले पनि संस्कृत भाषालाई महत्व दिन थालेको आभाष पाइन्छ । संस्कृत भाषामा लेखिएका पूराना ग्रन्थलाई केलाउँदै नयाँ नयाँ आविष्कारहरू गर्न उनीहरू लागिपरेका छन् । जर्मनीमा गीताको अध्ययन गराउन थालिएको समाचार आइरहेका छन् ।
नासाका वैज्ञानिकहरू पनि यसको अध्ययनमा लागिरहेका छन् । अन्तरिक्ष केन्द्रमा सन्देश पढाउनसमेत यस भाषाको प्रयोग गरिएको भन्ने सुनिन आएको छ । भारतवर्षमा प्रचलित देवभाषाको रूपमा प्रख्यात यस संस्कृत भाषा पढ्नका लागि पहिले पहिले भारतको बनारस जाने प्रचलन नै थियो । पछि नेपालमा पनि संस्कृत भाषा अध्ययनका लागि धेरै विद्यालयहरू खुले । भोजपुरको बालगुरु षडानन्दले खुलेको संस्कृत विद्यालयलाई पुरानो संस्कृत विद्यालय मानिन्छ । संस्कृत भाषाको विकास तथा रक्षाका लागि सरकारले ०४३ सालमा नेपालकै पहिलो महेन्द्र संस्कृत विश्वविद्यालय स्थापना ग¥यो ।
सुरुमा यस विश्वविद्यालयको नाम महेन्द्र संस्कृत विश्वविद्यालय रहेको भए पनि ०६२÷६३ को आन्दोलनपछि यसको नाम नेपाल संस्कृत विश्वविद्यालयको नाममा परिवर्तन भएको छ । यसको मुख्य कार्यालय दाङमा रहेको छ भने देशभर यसका १४ ओटा आंगिक विद्यापीठ रहेका छन् । यस विश्व विद्यालय स्थापना गर्नुअघि त्रिभुवन विश्व विश्वविद्यालय नै हेर्ने गरेको थियो । जब यस विद्यालयको स्थापना भयो मृत भाषामा परिणत भइसकेको संस्कृत भाषाले पनि पुनर्जीवन पायो । दाङमा स्थापित यस विद्यालयको उपत्यकामा सम्पर्क कार्यालय सुरुमा वसन्तपुरमा थियो । २०७२ को भूकम्पले उक्त स्थान सखाप पारेपछि हाल भक्तपुरको मनोहरामा सरेको छ ।
संस्कृत भाषाको अध्यापन गराउनका लागि १९३४ सालमा संस्कृत माविको स्थापना भयो । जुन हाल रानीपोखरी नजिकै रहेको दरबार हाइस्कुलको भुइँ तल्लामा रहेको छ । यस विद्यालयमा पहिला कक्षा ८ देखि पढाइ सुरु हुने गरेकोमा हाल कक्षा ६ देखि नै पढाइ हुने गरेको छ । हाल उक्त विद्यालयमा अंग्रेजी, विज्ञान लगायतका अनिवार्य विषयका साथै ऐच्छिक प्रथम विषयमा ज्योतिष, न्याय, व्याकरण, वेद तथा न्याय रहेका छन् भने कर्मकाण्ड, आयुर्वेद र इच्छाधिन गणित ऐच्छिक द्वितीय विषय रहेका छन् । यस विद्यालयबाट पूर्वमध्यमा (एसइई) उत्तीर्ण गरेपछि यहाँका विद्यार्थी वाल्मीकि विद्यापीठमा अध्यययन गर्ने गरेका छन् ।
यसै गरी उच्च शिक्षा अध्ययनका लागि उपत्यकामा भएको एक मात्र संस्कृत भाषाको क्याम्पस हो वाल्मीकि विद्यापीठ । यो प्रदर्शनी मार्गको टुकुचा पुल नजिकै रहेको छ । ०९ सालमा स्थापना भएको राजकीय संस्कृत विश्वविद्यालयलाई ०२४ सालमा वाल्मीकि संस्कृत महाविद्यालयको रूपमा विकसित गरिएको थियो । ०३० सालमा आएर यसको नाम परिवर्तन गरी वाल्मीकि विद्यापीठ राखिएको हो । सुरुमा त्रिभुवन विश्व विद्यालयअन्र्तत राखिएको यो विद्यापीठ ०४३ सालमा संस्कृत विश्व विद्यालय खुलेपछि यसकै आंगिक विद्यापीठमा रह्यो । अन्य विद्यापीठभन्दा वाल्मीकि विद्यापीठलाई उत्कृष्ठ मानिन्छ । वाल्मीकि विद्यापीठमा उत्तरमध्यमा (प्रमाणपत्र तह), शास्त्री (स्नातक) तथा आचार्य (स्नातकोत्तर) सम्मको पढाइ हुने गरेको छ । हाल यहाँ आधुनिक विषयको पनि पठनपाठन हुने गरेको छ ।
संस्कृत भाषाप्रति सबैको मोह बढाउन यस विद्यापीठ लागेको वाल्मीकि विद्यापीठका प्राचार्य डा. गणेशप्रसाद घिमिरे बताउँछन् । नेपालीलगायत अन्य कतिपय भाषाको जननी भाषा भएको भएकाले यसको संरक्षण गर्नु अपरिहार्य भएको छ । त्यसैले हामीले संस्कृत भाषाप्रति सबैलाई आकर्षित गर्नका लागि प्रोत्साहन भत्ताको व्यवस्थासमेत गरेका छौँ, उनी थप्छन् । ‘संस्कृत भाषा लोप हुदै जाने अवस्थाको सिर्जना भएसँगै सरकारले सबै जातीलाई संस्कृत अध्ययन गर्ने अवसर दिएको हो,’ प्रार्चाय घिमिरे बताउँछन् । यस विद्यापीठमा अध्ययन गर्ने मध्ये छात्रावासमा नबसेका महिला छात्राले मासिक एक हजार रूपैयाँ प्रोत्साहन भत्ता पाउने गरेका छन् । संस्कृत शिक्षा अध्ययन संख्यामा बढवा दिन जनजाति र दलित वर्गलाई मासिक दुई हजार भत्ताको व्यवस्था गरिएको छ । बाल्मीकि विद्यापीठमा हाल संस्कृत अध्ययन गर्ने ‘३० जना जनजाति रहेका छन् । कोटाभित्र परेका तर छात्रावासको सुविधा नलिएका अन्य ब्राह्मणक्षेत्री विद्यार्थीले मासिक नौ सय प्रोत्साहन भत्ता पाउने गरेका छन् ।
हाल यस विद्यापीठमा आधुनिक तर्पmका पाँच ओटा विषय तथा प्राचीनतर्पmका १७ ओटा विषयको अध्ययन अध्यापन हुने गरेको छ । हाल यस विद्यापीठमा ९ सय २५ विद्यार्थी अध्ययन गरिरहेका छन् भने करिब ६० को हाराहारीमा छात्रा रहेका छन् । सुरुमा बाह्मण जात त्यसमाथि पनि पुरुषले मात्र अध्ययन गर्ने गरेका हाल सबै जात तथा वर्ग पनि यसमा आकर्षित भएका छन् । विश्वमा संस्कृत भाषाको महत्व चलेसँगै यस विद्यापीठमा विदेशी मुलुकका विद्यार्थी पनि भर्ना भएका छन् । कोरिया, डेनमार्क, अमेरिकाका करिब १७ जना विद्यार्थी हाल यस विद्यापीठमा अध्ययन गरिरहेका छन् । विद्यालय स्तरमा संस्कृत नपढेका स्वदेशी तथा विदेशीले यस विद्यापीठमा ६ महिने भाषा शिक्षण गर्नुपर्नेछ । उक्त भाषा शिक्षण उत्तीर्ण गरेपछि मात्रै उनीहरूले यस विद्यापीठमा प्रवेश पाउँछन् ।
यस विद्यापीठमा शास्त्री कोर्ष अध्ययनका लागि विदेशी नागरिकले मासिक ४ सय ७० डलर र आचार्य कोर्षका लागि १ हजार ६ सय डलर वार्षिक तिर्नुपर्ने नियम छ । बाल्मीकि विद्यापीठमा अध्ययन अध्यापन हुने विभिन्न विषय मध्ये ‘तत्काल प्रतिफल पाउने आधारमा ज्यौतिष र व्याकरण विषयमा विद्यार्थीको संख्या बढी भएको प्राचार्य घिमिरे बताउँछन् । वाल्मीकि विद्यापीठमा योग तथा प्राकृतिक चिकित्सासम्बन्धी विषयको पनि अध्ययन हुने गर्छ । यस विषयकोे कोर्स ६ महिनाको हुने गर्छ । १२ हजार शुल्क तिरेर यो विषयको अध्ययन गर्न पाइन्छ । हाल यो विषयको पढाइ बेलुका ४ देखि ७ बजेसम्म हुने गरेको छ ।
रानीपोखरीस्थित संस्कृत माध्यमिक विद्यालय, प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठ तथा संस्कृत विश्वविद्यालयका उपत्यका बाहिर रहेका आंगीक विद्यापीठमा अध्ययन गर्नेहरू मध्ये केही दरबारमार्गस्थित तीनधारा पाकशालामा आवासीय सुविधासमेत पाउने गरेका छन् । तत्कालीन समयमा राणा प्रधानमन्त्री श्री ३ वीर शमशेरले १९४१ साल १ वैशाखमा उक्त पाकशालाको स्थापना गरेका थिए । सुरुमा उनले ५४ जना बाह्मणलाई भोजनका लागि दानपत्र गरी व्यवस्था गरिएको तीनधारा ब्राह्मण भोजन गुठीमा १९४३ साल ४ वैशाखबाट ५४ थप गरेर कुल १०८ जना गरिएको थियो ।
बीचमा तीन सिट हटाई १ सय ५ जना कायम भएको थियो भने फेरी एक जना थपेर १ सय ६ सिट कायम भएको थियो । सुरुमा यस आवासीय सुविधा लिनका लागि बाह्मण भनी प्रमाणित गर्नु पर्दथ्यो हाल यो व्यवस्था हटाइएको छ । सर्वाेच्च अदालतको २०६२ माघ ६ गते बिहीबार विशेष अदालतले सबै जात तथा वर्गले यसको सुविधा लिन पाउनेछन् भनी परमादेशमा जारी गरेकाले २०६५ सालमा संस्कृत विश्वविद्यालयका उपकुलपति विदुर पोडेलको समयमा यसको नयाँ व्यवस्था गरिएपछि १ सय ६ सिटबाट बढाएर १ सय ११ कायम गरिएको छ । सुरुमा बाह्मण मात्र प्रवेश पाउने यस पाकशालमा ०६५ पछि सबैले प्रवेश पाउने भएका छन् । केही समय अगाडि महिलालेसमेत आवासीय सुविधा लिएका थिए भने हाल यहाँ दुई जना दलित विद्यार्थीले आवासीय सुविधा लिइरहेका छन् ।
पाकशालाका सुपरीक्षक अर्जुनबाबु दाहालका अनुसार तीनधारा पाकशालमा बस्ने १ सय ११ जनामा कोटा निर्धारण गरिएको छ । संस्कृत माविबाट ३५ जना, वाल्मीकि विद्यापीठमा अध्ययन गर्ने मध्ये उत्तरमध्यमाबाट १८, शास्त्रीबाट १७, आचार्यतहबाट ११ जनाको कोटा निर्धारण गरिएको छ । बाँकी ३० जना भने उपत्यका बाहिर रहेका संस्कृत विश्वविद्यालयका आंगिक विद्यापीठलाई विकास क्षेत्रको आधारमा विद्यार्थी संख्यालाई आधारमानी निर्धारण गरिएको छ । यहाँ बस्नेले निःशुल्क खाना बस्न पाउँछन् । पहिले दिइएका अन्य कतिपय सुविधा भने हाल हटाइएको छ । कुनै विद्यार्थीले ५५ प्रतिशत ल्याएर उत्तीर्ण हुन सकेनन् भने उसले आवासीय सुविधा छोड्नुपर्ने हुन्छ । कक्षा ८ पढ्दा आवासीय सुविधा लिएका विद्यार्थीले पूर्वमध्यमा दिएपछि छाड्नुपर्ने नयाँ नियम बनेको छ । उत्तरमध्यमामा आवासीय सुविधा लिएकाले ५५ प्रतिशत ल्याएर उत्तीर्ण नभएमा आवासीय सुविधाबाट वञ्चित हुनुपर्नेछ । यदि ५५ प्रतिशत ल्याएर उत्तीर्ण भएमा आवासीय रूपमा नै शास्त्री पढ्न पाउनेछन् ।
प्रतिक्रिया