सिरियामा अमेरिकी चाहना : तीन टुक्रामा पारेर सैनिक राख्ने गृहकार्य

ईश्वरी काफ्ले
काठमाडौं । सिरियाको अवस्था दिनप्रतिदिन खराब हुँदै गइरहेको छ । सिरियाका विद्रोहीले कब्जा गरेको पूर्वी गुइटा क्षेत्रमा सिरियाली सरकारी सेनाले गरेको आक्रमणमा एक सातामै करिब पाँच सयको मृत्यु भएको छ ।

जबकि, संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले सिरियामा ३० दिनको युद्धविराम गर्न सर्वसम्मतिले पारित गरेको छ । तर, यहाँ एउटा ठूलो प्रश्न के छ भने सिरियाको यस्तो हालत हुनुमा को जिम्मेदार छ त ? यो बाहेक युद्धविरामले कतिसम्म शान्ति स्थापित गर्न सक्ला ? तपाई जानकारी दिउँ कि, सिरियामा चलेको यो द्वन्द्वले अहिलेसम्म हजारौँ मारिइसकेका छन् भने लाखौँ बालबालिका टुहुरा भएका छन् ।

सिरियाली सरकारलाई अमेरिकी ब्ल्याकमेल
यस विषयमा कुरा गर्र्दा सिरियाका वरिष्ठ पत्रकार डा. ओइल आवादले सिरियाको यस्तो हालत हुनुमा सिधै अमेरिकाको हात रहेको बताए । उनले प्रष्ट भने ‘अमेरिकाको नीति भनेको सिरियालाई विभाजित गर्नु हो । उ सिरियालाई टुक्रा टुक्रामा विभाजित गर्न चाहन्छ ।’ आवादका अनुसार संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको अनुमतिविना नै अमेरिकाले सिरियामा सैन्य हस्तक्षेप गरिरहेको छ । अन्तर्राष्ट्रिय कानुनका विरुद्ध अमेरिकाले सिरियामा सैनिक उतारेको छ । उसले सिरियाली सरकारलाई ब्ल्याकमेलसम्म गरिरहेको छ । अमेरिकाले सिरियामा सैनिक क्याम्प खडा गर्ने प्रयास गरिरहेको छ जसको सिरियाली सरकारले लगातार अस्वीकृत गरिरहेको छ । यहाँको अवस्था नराम्रो बनाउन अमेरिकाले लगातार आइएसआइएस र अलकायदाजस्ता आतंककारी संगठनलाई साथ दिइरहेको छ । आवादले आक्रोशित हुँदै भने ‘अमेरिकाले ती संगठनलाई आर्थिक सहयोग पनि गर्दै आएको छ ।’

समाचार उब्जाएको आरोप
सिरियामा वर्षौंदेखि चलेको द्वन्द्वले लाखौँ मानिस मारिएका छन् र लाखौँ बालबालिका टुहुरा भएका छन् । त्यसपछि पनि लगातार सर्वसाधारणलाई निशाना बनाउन छोडिएको छैन किन ? भन्ने प्रश्नमा आवाद भन्छन् ‘वास्तविकता यस्तो छैन ।’ आवादका अनुसार यस्तो किसिमको अवस्था भएपछि कुनै पनि देशमा मानवअधिकारको मुद्दा उठ्ने गर्छ । तर, यस्तो किसिमको समाचार तिनै आतंककारी संगठनका तर्फबाट फिँजाइएको छ, जो सिरिया विभाजित गर्न चाहन्छन् । उनी भन्छन् – ‘यहाँ यस्ता किसिमका समाचार उब्जाइन्छन् र अलकायदालगायत अन्य आतंककारी संगठन यी समाचारलाई अमेरिकी सहायताले विश्वभर फिँजाउँछन् ।’ उनका अनुसार गुइटामा अलकायदा र आइएसआइएस सक्रिय छन् । दमास्कसबाट हतियारको भारी यहाँ पुगेको छ । यहाँ अमेरिका सिरियालाई विभाजित गरेर कुर्दिस्, सिया र सुन्नीलाई अलग–अलग पार्न चाहन्छ । उनले भने ‘यस्तोमा सरकारको जिम्मेवारी भनेको देशमा कानुनी शासनको बहाली गर्नु हो ।’

आक्रमणको निष्पक्ष जाँच होस्
सिरियाका वरिष्ठ पत्रकार डा. वइल आवाद अमेरिकाले सिरियाका आतंककारी संगठनलाई सबै किसिमको सहयोग गरिरहेको छ । सिरियामा उठाइएका कदमका लागि आफू सुरक्षा परिषद्मा अल्पमत रहेको जान्दाजान्दै पनि अमेरिका सिरियाबाट पछि हटेको छैन । आवाद भन्छन् ‘सिरियामा जे भइरहेको छ त्यसको निष्पक्ष जाँच हुनुपर्छ ।’ आवादका अनुसार इराक र लिबियामा पनि अमेरिकाले यस्तै गरेको थियो र प्रतिफल के भयो सबैको सामुन्ने छ । कुनै पनि सभ्य देशले यस्तो काम गर्नुहुँदैन । सिरियाको यस्तो अवस्था आउनुमा अमेरिका मुख्यरूपमा जिम्मेवार छ । ऊ आतंककारीलाई आर्थिकदेखि सबै किसिमको सहयोग गरिरहेको छ । उसले आतंकवादको नाममा सिरियालाई निशाना बनाइरहेको छ ।

ढिलो नगरी युद्धविराम लागू गर्ने प्रस्ताव
सुरक्षा परिषद्द्वारा पारित गरिएको युद्धविराम प्रस्तावमा कहिलेदेखि यो युद्धविराम लागू हुने भन्ने प्रष्ट नगरिए पनि ढिलो नगरी लागू गर्नुपर्ने भनिएको छ । सुरक्षा परिषद्का १० अस्थायी सदस्यले ५ स्थायी सदस्यलाई युद्धविरामको प्रस्ताव पारित गर्न बाध्य पारेका थिए । दुई दिनको ढिलाई र कैयौँ स्थगनपछि स्थायी सदस्य रुस, बेलायत, अमेरिका र फ्रान्सले शनिबार यसमा सहमति जनाएका हुन् । यसमा सुरक्षा परिषद्का अध्यक्ष कुवेतका स्थायी प्रतिनिधि मंसुर अय्याद अल–आतैबी र युएनमा स्विडेनका राजदूत ओलेग स्कुगले प्रमुख भूमिका निभाएका थिए । संयुक्त राष्ट्र संघका महासचिव एंटिनियो गुटरेसले पूर्वी गुइटालाई ‘पृथ्वीको नर्क’ भन्दै युद्धविराम तत्काल लागू हुनुपर्ने बताएका थिए । सुरक्षा परिषद्मा यो प्रस्ताव पारित हुनासाथ फ्रान्सका राष्ट्रपति एम्यानुयल म्याक्रो र जर्मनीकी चान्सलर एन्जेला मार्केलले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्पर्क गरेका थिए । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया