‘राजनेता‘ खाेज्दै मुलुक

-अनिल योगी  संसारभरका शासकहरूको पतन सत्तामा पुगेपछि राज्यबाट सबै सुविधा लिने र आफ्नो पूर्ववत् जीवनको धरातललाई बिर्सिदिने रोगका कारण हुने गर्दछ । समाज र राष्ट्रको उत्थानका निमित्तभन्दा पनि आफ्नो उत्थानका निमित्त राज्यसत्ता र शक्तिको चरम् दुरूपयोग गर्ने प्रवृत्तिबाट शासकहरू मुक्त हुन सक्दैनन् । राष्ट्र र समाजप्रति फराकिलो दृष्टिकोण बनाउन नसक्ने शासकहरू लोकसम्मतिको शासन व्यवस्थाको वकालत त गर्छन्, तर व्यवहारमा लोकतन्त्रवादी हुन सक्दैनन् ।

जनतालाई आश र त्रास दुवै अश्त्र प्रयोग गरेर राज्यसत्तालाई सधैँ आफूअनुकूल बनाइराख्ने ध्याउन्नमा फसेका हुन्छन् । नेपालका नेताहरूका प्रवृत्तिलाई बुझ्दा नेपालका राजनीतिक दल र नेताहरू शासक बन्न र शासन गर्न योग्य छैनन् भन्ने कुरा सहजै बुझ्न सकिन्छ । हुलहुज्जत गर्नु, समाजमा दंगाफसाद गर्नु मात्र राजनीति होइन । सत्तामा पुगेपछि राष्ट्र र जनताको उत्थानका लागि कस्तो राजनीतिक चरित्र र चिन्तन प्रदर्शन गर्छन्, त्यो मुख्य कुरा हो । नेपालमा कुनै पनि राजनीतिक दल र नेताहरूले जनताका सामु जतिसुकै क्रान्तिकारी गफ गरे पनि सत्तामा पुग्दा सच्चा नेपाली भएर राजनीतिक चरित्र प्रदर्शन गर्न सकेनन् ।

नेपालका नेताहरूले सामाजवाद, साम्यवाद, उदारवादका नानाथरि हावादारी राजनीतिक दर्शनका निकै चर्को स्वरमा भाषण त गरे, तर आफूले फलाक्दै आएको राजनीतिक सिद्धान्तलाई आत्मसात गर्न सकेनन् । शासनसत्तामा पुग्ने भनेको राष्ट्रको विकास गर्नका लागि र जनतालाई शान्तिपूर्ण तरिकाले बाँच्न सक्ने स्थिति र विधि निर्माण गर्नका लागि हो भन्ने कुराको चेतना नेपालका नेताहरूका दिमागमा छिर्न सकेन । मुठ्ठीभर नेताहरूले मुख मिलाएर सञ्चालन गरिने शासन व्यवस्थाले प्रजातन्त्र र जनमतको प्रतिनिधित्व गर्न सक्दैन भन्ने कुरा आफूलाई प्रजातन्त्रका मसिहा ठान्नेहरूले बुझ्नै चाहेनन् । प्रजातन्त्र अर्थात् लोकतन्त्र अर्थ एउटै हो, त्यो शासन व्यवस्था सञ्चालनको माध्यम मात्र हो । प्रजातन्त्र अर्थात् लोकतन्त्र कुनै खाध्यवस्तुजस्तो आयात गरिने वस्तु होइन । प्रजातन्त्र वा लोकतन्त्र भनेको मानिसको अन्तरहृदयबाट मुखरित हुने नैतिक र मौलिक चरित्र र चिन्तन हो ।

यो देशका नेताहरू बारम्बार प्रजातन्त्र वा लोकतन्त्रका आदर्शवादी कुरा गर्छन्, जनतालाई आन्दोलित गराउँदै राष्ट्र र जनताको क्षति गराउँछन्, तर वास्तविक प्रजातन्त्रअनुकूल शासन शैली र राजनीतिक चरित्र जनताका बीच प्रस्तुत गर्न सक्दैनन् । जनमुखी प्रजातान्त्रिक शासन व्यवस्था सञ्चालन गर्नका लागि सक्षम राजनेता हुने हो भने दशकाैँ लग्दैन । सक्षम राजनेतासँग बनिबनाउ विकासका कार्यक्रम र समाज व्यवस्थापनको राजनीतिक र सामाजिक दृष्टिकोण हुन्छ । त्यस्तो चेतना भएको नेतालाई मात्र राजनेताको उपाधि दिनु न्यायसंगत हुन्छ । एकले अर्कोलाई धारेहात लगाउने र दुनियाँलाई विभाजित गर्दै आफ्नो स्वार्थ पूरा गर्नेहरूलाई राजनेता भन्न सुहाउँदैन, र भन्नु पनि हुँदैन । हाम्रो राष्ट्र कमजोर हुनुको मुख्य कारण राजनेता नहुँदाको परिणाम हो ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एकजनाको पहलमा र बाँकी हाम्रा पुर्खाहरूका तागतमा नेपाल राष्ट्र निर्माण हुन सक्यो । राजा महेन्द्र एकजनाको बल र विचारमा नेपाल राष्ट्र पूर्ण रूपमा स्वाधीन बनाइयो र देशमा विकासका पूर्वाधार पनि निर्माण गरिए । मलेसियामा एकजना डा. मोहमद माहाथिरले त्यति ठूलो काम गरे, लिक्वान यु एकजनाले सिंगापुर बनाए । राष्ट्रको विकास गर्न र जनतालाई सुखको जीवन दिनका लागि राजनेता धेरै चाहिँदैनन् भन्ने कुराको प्रमाण हुन् यी । एक–दुईजना गतिला विचार भएका राजनेता मात्र भए पुग्दो रहेछ ।  नेपालमा लम्पड नेताहरूको संख्या हजाराैँ पुगिसक्यो, भाषणमा सबैले नेपाल राष्ट्रलाई सिंगापुर बनाउँछौँ भने र अहिले पनि भन्दैछन् ।

तर, देशलाई विगतको भन्दा कमजोर र नेपाली समाजलाई छिन्नभिन्न बनाए । गरिबीको रेखामुनि रहेका नेपालीका लागि नेपालका नेताहरूले ठोस उत्थानको कुनै कार्यक्रम अघि सार्न सकेनन् । यो वा त्यो व्यवस्थाका नाममा जनताको बाँच्न पाउने नैसर्गिक अधिकार दलका नेताहरूले बन्धक बनाए । जनताका लागि राजनीतिक दल र यी दलका नेताहरूले शिक्षा, स्वास्थ र रोजगारीको उपयुक्त प्रबन्ध मिलाउन सकेनन् । शिक्षा, स्वास्थजस्ता जनताका लागि सर्वसुलभ हुनुपर्ने निकायमा दलकै धनी नेताहरू र अन्य आर्थिक माफियाहरूले लगानी गरेर जनताको चरम् शोषण गरे र अहिले पनि गर्दैछन् । यो दुई दशकमा धेरै नेताहरू धनी बनेका छन्, तर गरिब नेपाली जनताको जीवन जहाँको त्यहीँ छ ।

देशभित्र काम र मामको व्यवस्था हुन नसक्दा पचासाैँ लाख नेपाली युवाहरू विदेशी मुलुकमा रगत–पसिना बगाउँदैछन् । यस्ता विषयले यो देशका नेताहरूलाई अलिकति पनि छुँदैन । पुँजीको गरिबी र दरिद्रताभन्दा चेतना र विचारको गरिबी र दरिद्रता निकै डरलाग्दो हुने रहेछ । राष्ट्र र राज्यको पहिलो धर्म भनेको आफ्नो दुनियाँलाई कसरी हुन्छ सुख र सुविधा दिने हो । शासकहरू त्यसैका लागि जन्मिन्छन् र जन्माइन्छन् । हाम्रो देशमा राष्ट्र र राज्यका विरुद्ध अपराध गर्ने नेताहरू जन्मिन्छन् र जन्माइन्छन् । राज्यसत्तामा पुग्दा कथित नेताहरू भ्रष्टाचार गर्न र गराउन उद्धत हुन्छन् । नेताहरूले आफूलाई नियन्त्रण गर्ने कुनै पनि निकाय बाँकी राखेका छैनन् ।

नेताअनुकूल हुँदा सबै ठीक हुने र अनुकूल नहुँदा लोकमानसिंह कार्की र शुशीला कार्कीले माहाअभियोगको सामना गर्नुपर्नेजस्ता घटना घटाउने नेताहरू इमानदार हुन् भन्ने कुनै आधार छैन । अदालतका न्यायाधीश, अख्तियारका प्रमुख, प्रहरी र सेनाका प्रमुख नेताहरूका तजबिजमा छानेर राखिनाले दलका नेताहरूलाई नियन्त्रण गर्न सक्ने कसैको हिम्मत हुँदैन । यसरी नियुक्त गरिएका पदाधिकारी राज्य र आम दुनियाँप्रति इमानदार हुनुपर्ने बाध्यता पनि हुँदैन । दलका नेताहरूले जे–जे भन्छन्, त्यो–त्यो गर्न बाध्य हुने राज्यका सबै उच्च निकायमा बस्नेहरूसँग राष्ट्रिय चरित्र समाप्त भएको छ ।

राष्ट्रिय चरित्र र चिन्तनविनाको उच्च ओहदा विवेकयुक्त मानिसका लागि गलपासो हुन्छ । जुन राष्ट्रका शासक–प्रशासकहरूको दिमागमा राष्ट्रिय चरित्रको खडेरी परेको हुन्छ, त्यो राष्ट्रको उच्च ओहदामा बस्नेहरूले आफ्नो ओहदाको औचित्य पुष्टि गर्नु आवस्यक हुँदैन । राजनीतिक दलका नेताहरूले मात्र होइन, यो देशका विद्वान बुद्धिजीविहरूले समेत राष्ट्र र नेपाली जनतालाई धोका दिए । आफ्नो स्वार्थका लागि जे पनि गर्ने नेताहरू र समाजका अगुवा भन्नेहरूले राष्ट्र र नेपाली जनताप्रति घोर अन्याय गर्ने काम गरेका छन् । राज्यसत्ता र यो व्यवस्था आफ्नो राष्ट्र र समाजप्रति न्याय गर्न नसक्नेहरूका कब्जामा परेको छ भने बुद्धिजीवी भन्नेहरूले नेपाली समाजमा चरम् रूपमा भ्रम सिर्जना गर्ने काम गरेका छन् ।

के गर्दा नेपाल राष्ट्र र नेपालीको उत्थान हुन्छ र के गर्दा राष्ट्र र नेपालीलाई दुःख हुन्छ भन्ने कुरा सोच्न र बुझ्न नसक्ने निम्नस्तरको चेतना र चिन्तनले राष्ट्र र समाजको प्रतिनिधित्व गर्न सक्दैन । जातीय र क्षेत्रीय विभाजन निम्त्याउने राजनीतिक नेतृत्वको घोर विवेकहीनताप्रति मुकदर्शक भएर बस्न सक्ने विद्वता भएका समाजका बुद्धिजीवीहरूलाई मातृभूमिको पाप अवश्य लाग्नेछ । जब देश विखन्डन र विग्रहको भुमरीमा फस्नेछ, त्यसपछि मात्र समाजका बुद्धिजीवीहरूको दिमागमा लागेको ढक्कन खुल्नेछ । संविधान, नियमकानुन कमजोर भएको हुनाले राष्ट्रको विकास हुन नसकेको हो र नेपालीले सुखको जीवन बाँच्न पाएनन् भन्नेजस्ता हावादारी तर्क गर्ने पाखण्डता सचेत नागरिकका लागि पाच्य हुने विषय हुँदै होइन ।

राष्ट्र र समाजलाई हाक्ने भनेको मानिसका विवेकयुक्त विचारका आधारमा हो । संविधान, नियमकानुन साधन मात्र हुन्, साध्य होइनन् । राजनीतिक विचार भएको विवेकयुक्त राजनीतिक नेतृत्वले मात्र राष्ट्रको उत्थान गर्न सक्छ । मूल विषयलाई ओझेलमा राखेर हुलका हुलकथित नेताहरू जन्माउँदैमा उन्नत प्रकारको चिन्तन र राजनीतिक आदर्श भएको राजनेता जन्मिने पनि होइन । यस्तै, अराजकता र अव्यवस्थामा मानिसको जन्म त हुन्छ, तर समाजको चेतना परिपक्व नहुँदासम्म मानिस जन्मेर पनि केही लछार्न सक्दैन । अशल मान्छेका लागि यस्तो अनैतिक विधि र व्यवस्था घाँडो हुन्छ ।

यस्तो व्यवस्थाले राष्ट्र र समाजको कल्याण गर्न सक्दैन भन्ने विषयप्रति सजग भएर समाजमा अदृश्य भएरै धेरै मानिस बाँचेका हुन्छन् । राष्ट्रलाई म यस्तो बनाउँछु र दुनियाँको जीवन यस्तो सुखद् बनाउँछु भन्ने चेतना शासकहरूका दिमागमा हुनुपर्छ । विदेशीले प्रतिपादन गरेका सिद्धान्तका किताब घोकेर मात्र राष्ट्र र दुनियाँको उत्थान गर्न सक्ने जबर्जस्त विचार पैदा हुन सक्दैन, आजको संकट विचारविहीनताको मात्र हो । विचार गतिलो भएको राजनेता यस धर्तीमा जन्मेको हुँदो हो त राष्ट्र र दुनियाँलाई यस्तो विपद्मा पार्ने नै थिएन ।

 

प्रतिक्रिया