गुरमुरत यादव
बाँके । मध्यपश्चिम विकास क्षेत्रकै ठूलो र पुरानो नेपालगञ्ज औद्योगिक क्षेत्रमा रहेको भौतिक पूर्वाधार मर्मत–सम्भार र व्यवस्थापनको अभावमा जीर्ण बन्दै गईरहेका छन् । पूर्वाधारहरू जीर्ण बन्दै गएपछि यहाँ सञ्चालनमा रहेका उद्योगधन्दाले समेत तीव्ररूपमा उत्पादनको गति लिन सकेका छैनन् । यिनीहरूको मर्मत तथा व्यवस्थापनका लागि सम्बन्धित निकाय उदासिन रहेको छ ।
औद्योगिक क्षेत्रमा बिजुली बत्तीको समेत अभाव देखिएको छ । यति मात्रै नभई वर्षामा डुबानका कारण व्यावसायीले सास्ती खेप्दै आएका छन् भने अर्कोतिर सडकको अवस्था पनि दयनिय बनिरहेको यहाँका उद्योगीहरू बताउँछन् । नेपालगञ्ज औद्योगिक क्षेत्रमा उद्योग सञ्चालन गर्ने उद्योगीले सधँै यस्तै किसिमका गुनासा र पीडा व्यक्त गर्दैआएका छन् । गुनासो गर्न थालेका वर्षौं भयो, तर सुनुवाइ कतैबाट हुन सकेको छैन ।
उद्योग सञ्चालन गरिरहेको पुरानो भवन मर्मतका लागि पटकपटक आग्रह गरेपनि बजेट अभावको कारण उक्त भवनसमेत मर्मत हुन नसक्दा ४ दशक पुरानो जीर्ण भवनमा उद्योग सञ्चालन गर्नु परिरहेको व्यावसायीहरूले गुनासो गरेका छन् । अहिले औद्योगिक क्षेत्रमा नाम चलेका लक्ष्मी प्लास्टिक, टण्डन प्लास्टिक, शिखर प्लाई, विनोद मेटल, विजय मेटल, नेपालगञ्ज इन्जिनियरलगायत हाल ३३ उद्योग सञ्चालनमा रहेको औद्योगिक क्षेत्रले जानकारी दिएको छ ।
तर वर्षौँदेखि औद्योगिक क्षेत्रको स्तरोन्नति नहुँदा सोचेजस्तो प्रतिफल प्राप्त गर्न नसकेको बताईएको छ । औद्योगिक क्षेत्र प्रशासन र उद्योगी, व्यावसायीबीच समन्वयको अभाव रहेको कारण औद्योगिक क्षेत्रको स्तरोन्नतिमा बाधा पुगेको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले बताएका छन् । कुल २ सय ३३ रोपनी जग्गा अधिग्रहण गरी ४३ वर्षअघि स्थापना गरिएको सो औद्योगिक क्षेत्र प्रशासनले उद्योग सञ्चालनका लागि प्रतिरोपनी जग्गाबापत ७ हजार २ सय ४५ वर्षेनी तिर्नुपरेको छ । जग्गा लिजबाट प्राप्त रकमले औद्योगिक क्षेत्रको मर्मत सम्भार गर्न नपुगेको कार्यालय प्रमुख कृष्णबहादुर पुनले बताए ।
केन्द्रले मर्मतका लागि आवश्यक बजेट नदिएसम्म स्थानीय तहबाट केही गर्न नसकिने उनले जानकारी दिए । औद्योगिक क्षेत्रभित्रको कालोपत्रे सडक खाल्डामा परिणत भएका छन् । पानीको निकास छैन । पूर्वाधार थप गरिएको छैन । यतिसम्म कि, औद्योगिक क्षेत्रको विद्युत्को विद्युत्भारसमेत कटौती हुने गरेको छ ।
यहाँ सञ्चालित उद्योगका उपकरणहरूको समेत उचित सुरक्षाको व्यवस्था हुन नसकेको व्यावसायीहरू बताउँछन् । यहाँ गर्ने काममा नेपालीभन्दा भारतीय कामदारलाई प्राथमिकता दिँदै आएको कारण पनि केही समस्या थुपिँ्रदै आएको बताईएको छ । औद्योगिक क्षेत्रमा अहिले ७० प्रतिशत भारतीय र ३० प्रतिशत मात्र नेपाली कामदार रहेको तथ्याङ्क छ । यहाँ रहेका सबै सरकारी तथा पेसागत सङ्गठन मिलेर दबाब दिन सके मात्र नेपाली कामदारको संख्या बढाउन सकिने नेपाल ट्रेड युनियन महासंघका प्रतिनिधिहरूको भनाइ रहेको छ ।
प्रतिक्रिया