थाङ्का : नेपाली मौलिक कला

देवेन्द्र थुम्केली
कला समाजको विम्ब हो, सभ्यताको परिचय र पहिचान हो । यसले सभ्य समाजको परिचय मात्र होइन, संस्कृति र जीवनपद्धतिको बारेमा समेत सूक्ष्म तरिकाले चिनाउने काम गर्दछ । कलाविनाको समाज सभ्य बन्न सक्दैन । जतिसुकै सम्पन्न र वैज्ञानिक आविष्कार भए पनि कला छैन भने त्यो समाज सभ्य र सुसंस्कृत बन्न सक्दैन ।

कला र संस्कृतिले मात्रै समाजको दीर्घकालीन सभ्यताको परिचय दिन सक्छन् । विश्वमा भएका कतिपय राजनीतिक परिर्वतन पनि कला र संस्कृतिको विकास हुन नसक्दा धरासायी भएर ढलेका छन् । त्यसैले समाजको स्थायी परिवर्तन र स्थायित्वका लागि पनि कला र संस्कृतिको महत्व बढेर गएको छ । यसै सन्दर्भमा नेपालका तामाङ जातिले बनाउने थाङ्का कलाले नेपालको राष्ट्रियतालाई विश्वभर चिनाउन सकेको छ ।

थाङ्का शास्त्रीय कला हो । यसले तामाङ जातिको पहिचानलाई बोकेको छ । यो कला निकै प्राचीन कलाको रूपमा विश्वमै स्थापित हुन सकेको छ । कपडामा बनाइने चित्रकला, जसमा विशेषगरी बुद्धका जीवनी र उनले फैलाएको ज्ञानलाई कलात्मक रूपमा चित्रण गरेको पाइन्छ, हेर्दा नै अनौठो लाग्ने यो कला बनाउन भने त्यत्ति सजिलो छैन । निकै कलात्मक र बुद्धका विभिन्न अवस्थाको मिहिन ढंगले चित्रण गरिने हुनाले थाङ्का कलाको महत्व नेपाली समाजमा बढ्दै गएको छ ।

कतिपय मानिसमा यो कला कसरी बनाइन्छ भन्ने जिज्ञासा रहेको देखिन्छ । बनावटीय दृष्टिले पनि यो कला बनाउने आफ्नै विधिविधान छन् । शास्त्रीय कला भएकाले यो कला बनाउने छुट्टै परम्परा र धार्मिक दृष्टिकोण रहेको छ । सेतो कपडा अर्थात् रेसीलाई सिलाई फ्रेममा तन्काइन्छ । कपडा तन्काइसकेपछि त्यसमा सेतो माटो (आजकल टेक्सर ह्वाइट) र सरेस लगाएर र घोटिन्छ र कपडाको सतहलाई चिल्लो बनाइन्छ । त्यस सतहमा रङ र ब्रसको माध्यमले आफूले चाहेको चित्र बनाइन्छ । चित्र शास्त्रमा भनिएअनुसार नै बनाइएको हुन्छ ।

थाङ्का कलाको सुरुआत कहिलेदेखि भयो, त्यसको यकिन प्रमाण नभए पनि बुद्धकै पालादेखि बनाउन थालिएको मत विद्वानहरूको रहेको छ । बुद्ध दर्शनमा आधारित भएर बनाइने यो कला धार्मिक मान्यतामा आधारित हुन्छ । आजकल हिन्दू देवीदेवतालाई पनि थाङ्का÷पौभाका मान्यतामा बनाउन थालिएको छ ।

थाङ्का तिब्बती भाषाको ‘थाङ्कु’ शब्दबाट बनेको हो । ‘थाङ्’को अर्थ समतल सतह वा कपडाको भाग भन्ने हुन्छ भने ‘कु’को अर्थ मूर्ति भन्ने हुन्छ । समतल भागमा बनाइने चित्रलाई नै थाङ्का भनेर बुझिन्छ । थाङ्कालाई नेवारी भाषामा पौभा पनि भनिन्छ । यो चित्र नेपालमा खास गरेर तामाङ, नेवार, शेर्पा, गुरुङ आदि समुदायले बनाएको पाइन्छ ।

धार्मिक कलाको रूपमा थाङ्का कलालाई नेपाललगायत विश्वका धेरै देशमा लैजाने गरिन्छ । बौद्ध गुम्बा तथा यससँग सम्बन्धित विभिन्न स्थानमा थाङ्का कलाको महत्व रहेकाले त्यस्ता स्थानमा थाङ्का राखिन्छ । त्यसबाहेक सोखका हिसाबले पनि कतिपय मानिसले थाङ्का कला संग्रह गरेको पाइन्छ । यसको महत्व र यसको कलागत शिल्प निकै उत्कृष्ट रहेकै कारण विभिन्न धर्म मान्ने मानिसले यसको संग्रह गरेको पाइन्छ ।

थाङ्काको सुरुआतका विषयमा एउटा रोचक मिथक रहेको छ । बुद्ध मूर्तिपूजामा विश्वास गर्दैनथे, तर एकपटक बुद्धका चेलाले बुद्धको आकृति कोर्ने अनुमति मागेछन् । बुद्धले स्वीकृति पनि दिएछन् । जब उनका चेलाले बुद्धको आकृति कोर्नका लागि उनको अनुहार हेरे, त्यसवेला बुद्धको अनुहार निकै प्रज्वलित भयो । चेलाले बुद्धको अनुहार हेरेर चित्र कोर्न सकेनन् । त्यसपछि उनले बुद्धको अनुहार पानीको छायामा हेरेर चित्र बनाए । त्यही चित्र नै बुद्धको जीवनकालको चित्र थियो भन्ने भनाइ पनि रहेको छ । त्यस्तै, कसैकसैले बुद्धले आफ्नो जीवनकालमै चेलाहरूका अगाडि ‘म मरेपछि मेरो रूप तिमीहरूले देख्न सक्दैनौ, त्यसैले मेरो रूपको चित्र कोरेर पूजा गर्नू,’ भनेको कुरालाई केही विद्वानले अगाडि सारेका छन् ।

यही भनाइलाई आधार मानी तिब्बती र तामाङ जातिले आफ्ना आफन्त मर्दा थाङ्का कला राख्न सुरु गरेको कुरा वरिष्ठ थाङ्का कलाकार मंगल लामा बताउँछन् । मानिस मरेपछि एउटा पुस्तक, थाङ्का र मूर्ति राख्ने चलन चल्यो । सुरुमा थाङ्का लामा पुरोहितले मात्रै बनाउँथे र उनीहरूलाई आफ्नो गच्छेअनुसारको दक्षिणा दिने गरिन्थ्यो । पछि यो कला बिस्तारिँदै गयो र अन्य समुदायका मानिसले पनि कोर्न थाले । यसको व्यवसायीकरणसँगै नेपाली बजारमा मात्रै नभई विश्व बजारमा थाङ्का कलाको माग बढ्यो । अहिले वार्षिक करोडौँको थाङ्का नेपालबाट विदेशमा निकासी भइरहेको छ ।

दशौँ शताब्दीपछिका मात्रै थाङ्का कला भेटिएकाले नेपालमा थाङ्का÷पौभा कलाको विकास त्यसभन्दा अगाडिदेखि नै भएको स्पष्ट हुन्छ । छैटौँ शताब्दीमा नेपालका लिच्छवि राजा अंशुबर्माले आफ्नी छोरी भृकुटीको विवाह तिब्बती राजा स्रंचङ्ग ग्याप्पोसँग गराएका थिए । उनले नेपालबाट थाङ्का कला तिब्बत लगेको र त्यहाँ यसलाई निकै मन पराइएको भन्ने भनाइ पनि रहेको छ । त्यसपछि, तिब्बतमा थाङ्का कलाको विकास भएको मत पनि रहिआएको छ । थाङ्का कलाको विकास कसरी भयो भन्ने विषयमा विभिन्न विद्वानले आफ्ना भनाइ राखेका छन् । तर, थाङ्का कला भारतमा सुरु भई नेपालबाट तिब्बत पुगेको र पछि फेरि तिब्बतबाट नेपालमा यसको विकास हुन पुगेको मत पनि छ ।

कलाकार÷कला–समीक्षक मदन चित्रकारका अनुसार यो कला पहिला भारतमा विकास भएको हो । त्यसपछि नेपालमा यसको विकास चरम रूपमा भयो । नेपाल हुँदै तिब्बतसम्म यसले आफ्नो पकड जमाउन सक्यो । पुनः तिब्बतबाट नेपालमा यो कला फैलियो । विभिन्न समयमा भएका राजनीतिक तथा धार्मिक गतिविधिले यो कला नेपालमा अलि कम मात्रामा बन्न थाल्यो । भृकुटीको विवाह तिब्बती राजा स्रंचङ्ग ग्याम्पोसँग भएपछि भृकुटीले विभिन्न सामानका साथ थाङ्का पनि लगेको र पछि त्यसको लोकप्रियता तिब्बतमा बढेको भन्ने भनाइ पनि रहेको छ ।

बीसको दशकअगाडि यो कलाको विश्व बजारमा खासै चर्चा थिएन । बिस्तार–बिस्तार यो कलाले चर्चा र बजार पाउन थालेको पनि तीसको दशकपछि नै हो । नेपालमा पयर्टक आगमनको बृद्धिसँगै यसको बजारको पनि बिस्तार हुन सकेको हो । बीसको दशकपछि थुप्रै तामाङहरूले यो कलामा आफ्नो जीविकोपार्जन गर्न सके । उनीहरूको जीवनमा आर्थिक प्रगति हुन थाल्यो । नेपालमा व्यावसायिक रूपमा थाङ्का बनाउनेमा रामेछाप, काभे्र, सिन्धुपाल्चोक, ललितपुर, रसुवालगायत जिल्लाका तामाङ जाति अगाडि रहेका छन् ।

एउटा तथ्यांकले अहिले नेपालमा करिब २० हजारको हाराहारीमा थाङ्का बनाउने कलाकार रहेको जनाएको छ । थाङ्का कलामा चार दशक काम गरिसकेका वरिष्ठ कलाकार मानबहादुर दोङका अनुसार ०४६ सालताका नेपालमा ३५ देखि ४० हजारको हाराहारीमा थाङ्का आर्टिस्ट थिए । आजकल यो संख्या घटे तापनि करिब २० हजार यसै पेसामा रहेको अनुमान छ ।

साढे तीन दशकदेखि थाङ्का व्यवसाय तथा कला बनाउँदै आएका अर्का वरिष्ठ कलाकार होमबहादुर तामाङ भन्छन्, ‘कलापारखीका मनमा यो कलाले राम्रो प्रभाव पारेकै कारण यसको महत्व र व्यवसाय बढेको हो । नेपालमा थाङ्का व्यवसायबाट लाखौँको घरमा चुलो बलेको छ । त्यसैले, यो कलालाई सरकार तथा सम्बन्धित सबै निकायबाट व्यवस्थित गर्न सकेमा लाखौँ मानिसले रोजगार पाउन सक्छन् ।’ उनी थप्छन्, ‘थाङ्कालाई हाम्रो आफ्नो मौलिक पहिचान र संस्कृतिको रूपमा अझ सुदृढ गर्न सक्छाँै ।’

थाङ्का विशेषगरी गुम्बाहरूमा बनाएको पाइन्छ । नेपालका हिमाली भेगमा अवस्थित प्रायः गुम्बामा थाङ्का कला बनाइएको पाइन्छ । डोल्पा, मुस्ताङ, मनाङलगायत त्यसपूर्वका बौद्ध धर्म मान्ने विभिन्न जातिले यो कलालाई गुम्बा तथा छ्र्योतन लगायतका स्थानका भित्तामा पनि कोरेको पाइन्छ । यसरी थाङ्का कलाले नेपालको मौलिक कलाको पहिचान बनाउन सकेको छ । यसले नेपाली जातिको सांस्कृतिक पहिचनालाई विश्व समुदायमा चिनाउन सकेको छ । खासगरी थाङ्का कलाको व्यापार नेपाललगायत भारत, जापान, कोरिया, अमेरिका, बेलायत लगायतका युरोपेली मुलुकमा अधिक रहेको छ ।

अर्का युवा कलाकार पाल्साङ्मो लामा भन्छन्, ‘थाङ्का कलाको व्यापारसँगै हाम्रो मौलिक पहिचान विश्वमा फैलाउन नेपाली कलाकार सफल भएका छन् । यसले हाम्रो विशिष्ट सांस्कृतिक पक्षको उद्घाटन गर्न सकेको छ ।’ थाङ्का कलाबाट प्रभावित भई विभिन्न देशबाट यो कला सिक्न आउने जमात पनि ठूलै रहेको छ । दोङ भन्छन्, ‘नेपालमा वर्षेनी सयौँ विदेशी थाङ्का कला सिक्न आउँछन् । यो सँगसँगै थाङ्का किनेर नेपाली कलाकारलाई प्रोत्साहन पनि दिन्छन् ।’

नेपालमा ठूलो समुदायले बनाउने यो कलाको विकास र विस्तार गर्न सबैको ध्यान जान जरुरी छ । जति यसको विषयमा जनचेतना फैलाउन सकियो, त्यत्ति नै नेपालमा यसको मौलिक कलाको विकास मात्र नभई आर्थिक विकासमा पनि महत्वपूर्ण योगदान रहन सक्छ ।

प्रतिक्रिया