११ वर्षदेखि ओडारकै वास

सौर्य समाचार
संखुवासभा । जिल्लाको सदरमुकाम खाँदबारीबाट धरान इटहरी तथा काठमाडौं जाँदा करिब १७ किलोमिटर हिँडेपछि विश्वको होचो उपत्यका अरुण उपत्यका पुगिन्छ, अनि आउँछ तुम्लिङटार बसपार्क, त्यहाँबाट तलतिर हेर्दा तुम्लिङटार विमानस्थल, माथितिर हेर्दा एउटा ठूलो चट्टान, चट्टानी पहाडको बीचमा रहेको सानो ओडार, दिउँसै अँध्यारो हुने ओडारको भित्तामा थोत्रा लुगाफाटा झुन्ड्याइएको छ ।

डोको र लौरो पनि सँगै ठड्याएर राखिएको छ । कुच्चिएको सिलाबरे थाल अनि भात पकाउँदा कालाम्मे भएको डेक्ची र बिट भाँचिएको एउटा गिलास छ । खाँदबारी नगरपालिका–९ तुम्लिङटारको पाखामा रहेको ढुंगाको ओडारभित्र देखिएको दृश्य हो यो ।

विज्ञानको चमत्कारले अन्तरिक्षमा बस्ती बसाउने होडबाजीमा विश्व दौडिरहेका वेला यस्तो दृश्यबारे पढ्दा ढुंगे युगजस्तो ओडारमा मान्छे बसेको कुरा सबैलाई अपत्यारिलो र कथाजस्तै लाग्न सक्छ । तर, यस्तै सत्य घटनाका पात्र हुन् उमेरले करिब ६० वर्ष काटिसकेका भान्जा भनेर चिनिने बलभद्र आचार्य ।

संखुवासभाको तुम्लिङ्टारमा लामो समयअगाडिबाट अधिकांश समय भारी बोकेर जीविका चलाउँदै आएका बलभद्र आचार्यलाई त्यहाँका सबैले ‘भान्जा’ भनेर बोलाउँछन् । कान सुन्ने, राम्ररी बोल्ने र कुरा बुझ्ने भएकै कारण प्यारो नाम पाएको हुनुपर्छ । ‘भान्जा’ले काम गर्दा पारिश्रमिक यति पाउने भनेर निर्धारण गरेका छैनन् । भान्जाकी श्रीमति पनि छिन् । उनको नाम चन्द्रमाया भारती हो । उनले आफ्नो ठेगाना खाँदबारी नगरपालिकाकै तल्लो माल्टा रहेको बताइन् । भारती पनि भान्जाभन्दा कम बाठी छैनन् ।

उमेरले ६२÷६७ वर्ष पुगेको बताउने भान्जा र भारती तुम्लिङटार एयरपोर्टनजिकै रहेको एउटा ओढारमा बस्दै आएका छन् । ‘अहिले लगातार पाँच वर्ष भयो यहाँ बसेको, अन्त कतै डेरा छैन । त्योभन्दा अघि म माइत पनि बसेँ । आमासँग पनि बसेँ । आमासँग हुँदा पनि यो ओढारमा आएर बसेको थिएँ,’ चन्द्रमाया भारतीले भनिन्, ‘भान्जा पनि बसेको यो ओढारमा थुप्रै भयोे । उसको जेठी बुढी अर्कै थियो । उनीहरू कति बस्यो यहीँ बस्यो ।’ भान्जाका अनुसार जेठी पत्नी हुँदा उनीसँग र उनी अर्कैसँग गएपछि कान्छीसँग ११÷१२ वर्ष ओढारमै बित्यो ।

तुम्लिङटार एयरपोर्टनजिक रहेको त्यो ओढारमा कुनै विशेष सुविधायुक्त वातावरण त्यस्तो केही देखिँदैन । भान्जा र भारतीले केवल गुजारा चलाउन ओढारको बास रोजेको बताए । भान्जाले भने, ‘एयरपोर्टको भारी, यसो ओर्तिर–पर्तिर ओसारेको भरमा कति पनि कमाइ हुँदैन । कोठा भाडामा बस्न पैसा पुग्दैन ।’ भान्जाले जसको काम गर्दा जसले जति दिन्छ, त्यही थाप्ने, हिँड्ने गरेका रहेछन् । उता भारतीले तीन वर्षयता काम गर्न नसक्ने र छारे रोग रहेको भन्दै ओढारमा बस्दै आएकी छन् । चिसो छल्न जोहो गरेको कपडा ओढारमा थन्क्याउने कतै ठाउँ नहुँदा बिचल्ली देखिएको छ । ओढारआसपास बढेको चिसो र फोहोरका कारण त्यहाँ रोग लाग्न सक्ने थप सम्भावना बढेर गएको छ । यो जोडीलाई अन्यत्रै स्थान्तरण गराउनसमेत कुनै पक्ष (व्यक्ति÷समूह) बाट पहल गरिएको छैन ।

 

प्रतिक्रिया