पर्यटकको पर्खाइमा साततले गुफा

सौर्य समाचार
सल्यान । यहाँको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र ढकढके उचित संरक्षण र प्रचारको अभावमा ओझेलमा पर्र्दै गएको छ । क्षत्रेश्वरी गाउँपालिका–५ लेखपोखरामा अवस्थित यो क्षेत्रमा गुफा, मन्दिर, ढुंगाको मादल, ढुंगेपानी, ढकढके ढुंगा रहेका छन् ।

जिल्लाको सदरमुकाम खलंगादेखि झन्डै आठ कोष टाढाको दुरीमा रहेको यस क्षेत्रले चर्चा बटुल्न सकेको छ्रैन् । चारैतिर हराभरा जंगल लेकको टुप्पोमा रहेको शिद्ध बाबाको मन्दिरले पनि यसको महत्व बढाएको छ । जहाँ हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिनमा भव्य मेला लाग्ने गर्दछ । मन्दिरमा गएर पूजापाठ गर्दा आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।

मन्दिरको नजिकमा ढकढके ढुंगा रहेको छ । जुन ढुंगाको रहस्य पनि विचित्र रहेको छ । त्यस ढुंगाको टुप्पोमा जान सबै सक्दैनन्, जुन व्यक्ति जान्छ, त्यो भाग्यमानी हुने विश्वास रहेको छ । यस ढुंगा हल्लिएरमा मात्रै पानी पर्ने जनविश्वास पनि रही आएको छ । मन्दिरको नजिकमा ढुंगैढुंगाको ढुंगे पानी रहेको छ । जो दूध दुहुने गाबु आकारको रहेको छ । यसमा पानी बाह्रै महिना भइरहन्छ । न त यसको कतै पानी आउने मुहान छ, न त पानी बगेर जाने ठाउँ छ, तर यहाँ बाह्रै महिना पानी रहेको हुन्छ । त्यहाँबाट पानी निकालेको केही दिनपछि आउँदा पानीले भरिएको हुने गरेको स्थानीयको भनाइ छ ।

मन्दिरदेखि करिब पाँच सय मिटर तल लेकको फेदमा चाँदनी सात तले गुफा रहेको छ । हेर्दा आश्चर्य लाग्ने यस गुफाभित्र विभिन्न प्रकारका प्राकृतिक मूर्तिहरू रहेका छन् । गुफाभित्र भगवान्का आकृतिहरू हुनुको साथै विभिन्न जनावरका आकृतिहरू पनि रहेका छन् । यस गुफाभित्र ढुंगाको मादल रहेको छ । त्यहाँ रहेको ढुंगालाई हिर्काउँदा मादल बजेजस्तै आवाज आउने स्थानीयले बताए । गुफामा सात वटा तला भएको स्थानीयको भनाइ छ । गुफाभित्र हजारौँ चमेराहरूसमेत रहेका छन् ।

यस गुफाको प्रवद्र्धनमासमेत सम्बन्धित निकायले खासै ध्यान नदिँदा ओझेलमा परेको स्थानीयवासी ध्वजबहादुर पुनको भनाइ रहेको छ । ‘प्राकृतिक सुन्दरताले भरिएको गुफाको अहिले संरक्षणमा कुनै पहल हुन सकेको छैन, यसको संरक्षण र प्रचारप्रसार गर्न सके संभावनाका धेरै मुहानहरू खुल्थे’, उनले भने ।

गुफाको अनुसन्धान भएन
नेपालकै ठूलो गुफाको रूपमा स्थानीयले दाबी गर्दै आएको यस गुफाको बारेमा अध्ययन अनुसन्धान अझै हुन सकेको छैन् । एक शताब्दी पहिले स्थानीय कुलबहादुर पुनले गाईबाख्रा चराउन जंगल गएको वेला उक्त गुफा देखेका थिए ।

अहिलेसम्म गुफाको विषयमा अध्ययन र अनुसन्धान नभए पनि करिब ३० मिटर चौडाइ, १५ मिटर उचाइ र लम्बाइ तीन सय मिटर बढी भएको स्थानीयको दाबी छ । यस्तै गुफा सात तलाको भए पनि अहिले तीन तलासम्म मात्रै पुग्ने गरेको स्थानीय बताउँछन् । गुफामा चाँदीजस्तै टल्कने टल्कायमान वस्तु भए पनि त्यसको अझैसम्म अनुसन्धान हुन सकेको छैन ।

सांसद विकास कोषले केही राहत
०६५ सालको गाउँपरिषद्बाट रकम विनियोजन गरेर यस गुफामा गेट निर्माण गरिएको थियो । त्यस यता सांसद प्रकाश ज्वालाको सांसद विकास कोषको रकम र पर्यटन कार्यालय भैरहवाको आर्थिक सहयोगबाट अहिले गुफाको नजिकमा पर्खाल, गुफादेखि मन्दिरसम्म सिढी लगायतका निर्माणका कामहरू सम्पन्न भएका छन् ।

यस गुफाको संरक्षण गर्नुपर्छ भनेर स्थानीयले चाँदनी सात तले गुफा संरक्षण समिति नामक एक समिति गठन गरेर संरक्षणका लागि अगाडि बढे पनि सरोकारवालाहरूले ध्यान नदिँदा यस गुफा अझै पनि ओझेलमा परेको समितिका अध्यक्ष यामबहादुर पुनले बताए । यस गुफामा मोटरबाटो, बिजुली बत्ती, खानेपानी आदिको व्यवस्था नहँुदा आन्तरिक तथा बाह्य पर्यटकहरू कम मात्रामा आउने गरेको उनले दुःखेको पोखे ।

गुफामा मोटरबाटो, बिजुली बत्ती, खानेपानी आदिको व्यवस्था भएसँगै प्रचारप्रसारलाई व्यापक रूपमा अगाडि बढाउनसके पर्यटकहरूको संख्यामा पनि वृद्धि हुने उनले बताए । सो क्षेत्रको उचित संरक्षण र प्रचार गर्न सके आन्तरिक र बाह्य पर्यटनमा विकास हुने स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया