पाँच वर्षदेखि अस्पतालको बेडमा अनशनरत गंगामाया


सञ्जिता आचार्य
काठमाडौं । अस्तव्यस्त रहेको काठमाडौंको वीर अस्पताल, अनेकौँ रोगसँग लड्दै आउने बिरामी कोही सकुशल भएर जान्छन् कोही आफन्तलाई गुमाएर जान्छन् । हजारौँ मान्छे आफ्ना पीडा र दुःखाई बिसाउन आउँछन् यस अस्पतालमा । तर, यही अस्पताल हो जहाँ कुनै रोग नभएर पनि आफन्त गुमाउँदाको पीडा र त्यसको न्याय माग्न बिरामी सुत्ने बेडमा विगत पाँच वर्षदेखि सुतिरहेकी छन् गोरखा फूजेल गाउँकी गंगामाया अधिकारी ।

गंगामाया यही वीर अस्पतालको क्याबिन नम्बर सातमा छिन् । बाहिरबाट छिर्दा अस्पताल भए पनि उनको त्यो क्याबिन एउटा घरको कोठा अनि ओछ्यानजस्तै लाग्छ । भित्तामा झुन्डिएको महाकवी लक्ष्मीप्रसाद देवकोटाको तस्बिर अनि भित्तामा काँटी ठोकेर झुन्डाइएको पोका पुन्तुरा र भित्तेपात्रोले यस्तै चित्रण गरेको छ । भित्तामा पात्रो भए पनि उनले पछिल्ला समय दिन बार सबै भुलेकी छन् । यी दृष्य अनि उनको अनुहार र हाउभाउले उनी किन यो अस्पतालमा बसिन् होला भन्ने जसलाई पनि लाग्छ ।

उनी यही अस्पतालको बेडमा बसेको पाँच वर्ष भयो । उनको शरीरमा रोग छैन । तर, मनमा पीडा भने रोगभन्दा कम छैन । ‘पञ्चायती व्यवस्थाका समयमा जनवादी गायकहरूले गाउँथे, ‘कोहीको घरमा डाक्टरको चाकरी । कोही त मर्छ अस्पताल नहेरी हाम्रो नेपालमा’ भन्दै । उनी पनि बिरामी भएर वा रहरले अस्पतालको बेडमा सुतेकी भने होइन ।

छोराको हत्यारालाई कारबाही होस् भन्दै अनसन् बसेकी हुन् । उनको भाषामा भन्ने हो भने उनी न्याय माग्ने क्रममा अस्पतालको बेडमा बिरामीजस्तै भएर विगत पाँच वर्षदेखि अनसनमा छिन् । तर, न्याय भन्ने कुन चराको नाम हो भन्नुपर्ने अवस्था आएको उनले बताइन । ‘पाँच वर्ष भयो नानी खाना खाएको छैन, दूध र सुप मात्र खाँदै आएको छु’, उनले भनिन् ।

कोही घरमा अन्न नभएर खाँदैनन् । कोही भएर पनि खाँदैनन् । एक दिन खाना नखाँदा मान्छेको स्वास्थ्य बिग्रन्छ । तर, गंगामायालाई हेर्ने जो कोहीलाई लाग्छ उनी स्वस्थ्य र तन्दुरुस्त छिन् । ०६९ साल १६ साउनदेखि क्याबिन नम्बर सातमा अनसन बसेकी गंगाको हाउभाउ बोली व्यवहार सबै सामान्य देखिन्छ । झट्ट हेर्दा कसैलाई पनि लाग्दैन उनी विगत लामो समयदेखि अन्सनरत छिन् । उनलाई भेटन जाने जो कोहीलाई उनले आफ्नो पीडा सहज रूपमा सुनाउँछिन । उनलाई लाग्दो हो आफ्नो पीडा सुनाए न्याए पाउँला भन्ने ।

वीर अस्पतालको बेडमा मोबाइलमा बजेका नेपाली गीत नै उनको पीडाको साथीजस्तै बनेको छ । यदाकदा पत्रकारबाहेक उनको बारेमा बुझ्न कोही आउँदैनन् । आफ्नो पीडा सुनाउँदै उनले भनिन्, ‘दुई भाइ छोरा थिए एउटालाई मारे अर्को कता छ थाहा छैन, धेरै भयो ऊसँग पनि भेट भएको छैन, भेट्न आओस्जस्तो पनि लाग्दैन,’ उनको भनाइमा वेदना थियो । गहभरी आँसु पार्दै उनले भनिन्, ‘न्यायको निम्ति बसेको हुँ मरे पनि यही मर्छु, आखिर एक दिन मर्नु नै छ ।’ एक प्रहरी उनका सुरक्षा र हेरचाह गर्न बसेका छन् ।

आखिर आमा न हो १० महिना कोखमा राखेर जन्माएको १७ वर्षे छोरा गुमाउनको पीडा कसरी भुल्नु । उनी भन्छिन्, ‘मैले तेरो छोराको हत्या गरेको हँु भन्दै स्वतन्त्र रूपमा हिँडनेलाई पनि कारबाही भएन, मेरो छोरालाई विनाकारण मारियो, जबसम्म हत्यारालाई कारबाही हुँदैन तबसम्म बस्छु,’ आक्रोशित हुँदै उनले भनिन् । उनले भनिन्, ‘छोराको हत्यारालाई जुत्ताको माला लगाउन मन छ ।’

सशस्त्र द्वन्द्वका समयमा उनको छोरा कृष्णप्रसाद अधिकारीलाई गोरखाको फुजेल गाउँबाट अपहरण गरी चितवन लगेर हत्या गरिएको थियो । छोराको हत्यारा पत्तालगाई सक्दासमेत दोषीलाई कारबाही नभएको भन्दै अधिकारी दम्पतीले अनसन बसेका थिए । अनसनकै क्रममा गंगामायाका पतिको ०७१ सालमा अस्पतालको शैय्यामा नै मृत्यु भयो ।

आफू पनि पतिजस्तै मर्न परे पनि पछि नहट्ने उनले बताइन् । उनको पतिको शव हालसम्म पनि दाहसस्कार गरिएको छैन । आफ्नो पतिको रगत र मासु सकिए पनि हड्डी बाँकी रहेका र न्याए नपाएसम्म अन्त्येष्टी गर्न नदिने उनले बताइन् । उनले आक्रोशित हुँदै भनिन्, ‘यदि सरकारले दोषीलाई कारबाही गर्न सक्दैन भने सक्दिनँ भन्नुप¥यो, पीडितलाई न्याय दिन सक्दिनँ भन्नुप¥यो ।’

उनलाई पनि अस्पतामला त्यसरी बस्न मन छैन । ‘अस्पतालको बेडमा यसरी मरेतुल्य भएर बाँच्नुभन्दा खुल्लामञ्चमा लगेर फासिदिए हुन्छ, म सहन तयार छु ।’ मैले ठूलो कुरो मागेको होइन, छोराको हत्यारा पत्ता लागेको छ उसलाई कारबाही गर भनेको हुँ, एउटा हत्यारालाई फलामे डन्डीभित्र राखेर सरकारी भात खुवाउँ मात्र भनेको हुँ ।’ उनी भन्छिन् ,‘नेपाल मात्र यस्तो देश हो जहाँ न्याय माग्दा मृत्यु हुन्छ । यदि मरिहाले भने पनि सरकारी लाचारिले मरेको ठहर्नेछ ।’ न्याय माग्दा विस्तृत छोराको न्यायको अन्य कुनै विकल्प नभएकाले अनसन बसेको उनले बताइन् ।

बुढेसकालमा सन्तानको शोकमा मर्नुपर्ने भयो । बुढेसकालको साहरा पाल्ने छोरा र आपूmलाई खान पुग्ने सम्पत्ति आपैmँले जम्मा गरेकी थिइन् । तर, आज न साथमा छोरा छन् न अन्य कोही आफन्त अस्पतालमा एक्लै बस्नुपरेको छ । न्यायको आशमा जीवन समर्पण भए पनि पछि नहट्ने उनले पटकपटक दोहो¥याइन् । अधिकारी दम्पतीले ०७२ मा सर्वोच्च अदालतको आदेशमा उनको छोराको हत्याको अभियोग लागेका व्यक्तिलाई फक्राउ गरेर अनुसन्धान गर्न थालेपछि उनीहरूले अनसन तोडेका थिए । त्यसयता उनलाई दूध र सुप खुवाउने गरिएको छ । सर्वोच्च अदालतको आदेश पालना हुने आशमा अनसन तोडेको उनले बताइन् । न्याए नपाए आमरण अनसन बस्ने उनले उनले बताइन् ।

प्रतिक्रिया