भियना, ११ माघ । सिरियामा जारी हिंसाको शान्तिपूर्ण निकासका लागि संयुक्त राष्ट्रसंघले पुनः वार्ताको प्रयास गरेको समाचार छ ।
यस वार्ता प्रयासलाई राष्ट्रसंघले सिरियाका लागि गरिएको एक अन्तिम आशाका रुपमा लिएको पनि भियनाबाट राष्ट्रसंघीय अधिकारीले जानकारी दिएका छन् ।
भियनामा केही दिनयतादेखि सिरियाको विपक्षी समूह, राष्ट्रपति बसर अल असदका पक्षधरा साथै राष्ट्रसंघीय अधिकारीहरुसँग वार्ता भएको थियो ।
सुरुमा वार्तामा बस्न असहमत भएको सिरियाली विपक्षी समूहका प्रतिनिधिहरु पनि यस भियनामा भएका यी त्रिपक्षीय वार्ताहरुपछि वार्ताका लागि सहमत भएका बताइएको छ । सिरियाका लागि राष्ट्रसंघीय विशेष प्रतिनिधि स्टेफन डि मिस्टुराले सो जानकारी दिएका हुन् ।
भियना वार्तामा उनी संलग्न थिए । उनले सिरियाली सरकारी र विपक्षको सहमतिमा यो वार्ताको लागि वातावरण बनेको बताएका छन् । उनले यसका लागि संयुक्त राष्ट्रसंघले पहल गरेको र वार्ताको संयोजन तथा मध्यस्थता पनि गरिने जानकारी दिए ।
आगामी दुई दिनमा धेरै कुराको सहमति बनिसक्ने र सिरियाली सरकार र विपक्षीहरुबीचको शान्ति वार्ताका लागि पनि एक महत्वपूर्ण दिनका रुपमा रहने उनले बताए ।
उनका अनुसार यो एक अन्तिम आशा हो र यसले आगामी दिनमा निर्माण गर्ने वातावरणले सिरियाली नागरिकको भविश्य कोर्ने पनि अपेक्षा गरिएको छ ।
सिरियामा जारी रहेको करिब पाँचवर्ष लामो युद्धको अन्त्यका लागि अवलम्बन गर्नुपर्ने उपायका बारेमा उनीहरुले छलफल गरेको रुसी विदेश मन्त्रालयका अधिकारीले जनाएका छन् ।
सिरियामा गएको करिब सात वर्षदेखि जारी हिंसामा परी कम्तीमा पनि तीन लाख ४० हजार जना नागरिकको ज्यान गएको छ । सो हिंसामा परी त्यहाँका दशौँ लाख नागरिक घरबारबिहीन वा शरणार्थी भएका छन् ।
सिरियामा जारी रहेको हिंसाको अन्त्यका लागि यसअघि पनि संयुक्त राष्ट्रसंघले वार्ताको प्रयास गरेको हो । तर वार्ता सफल हुन सकेको छैन । अमेरिका र रुसको अगुवाईमा यसअघि विभिन्न समयमा वार्ता भएको थियो ।
वर्ष दिनमात्र अघि पनि पछिल्लो पटकको वार्ता साउदी अरेबियाले आयोजना गरेको थियो । साउदी अरेबियाको पहलमा सुरु भएको सो वार्तामा संयुक्त राष्ट्रसंघको पनि सहभागिता थियो ।
यहाँको समस्याको समाधानका लागि शान्तिवार्ताको माध्यम अवलम्बन गर्नुपर्नेमा संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका र साउदी अरेबिया तथा रुस स्वयंले पनि जोड दिने गरेका छन् ।
सन् २०१७ को जनवरीमा पनि मध्यस्थकर्ता समूह गठनगरी वार्ताको व्यवस्था मिलाउने प्रयास गरिएको बताइएको थियो । उक्त प्रयास पनि सफल हुन सकेको छैन । सो समूहले गरेका वार्ताका प्रयासहरु सफल हुन सकेका छैनन् ।
प्रतिक्रिया