डोकलाम बारे भारतीय मिडियामा खैलाबैला : चीनले भन्यो – डोकलाम हाम्रो हो र सधैँ हाम्रै रहन्छ


एजेन्सी
बेइजिङ । करिब चार महिनाअघि भारत र चीनबीचको डोकलाम विवादले भारतीय पत्रपत्रिकामा फेरि ठाउँ पाएको छ । चीनले सो क्षेत्रमा धमाधम पूर्वाधार विकास गरिरहेको विषयलाई भारतीय सञ्चार माध्यमले जोडतोडकासाथ प्रचार गरेका छन् । संसद्मा भारतीय कांग्रेसले सरकारसँग यसबारे प्रष्ट गर्न माग गरेको छ ।

यसैबीच चीनले भने शुक्रबार यसबारे बोल्दै डोकलाम क्षेत्रमा पूर्वाधारको थप विकास गरेको कुरा स्वीकार गर्दै यो आफ्नो आधारभूत काम भएको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु क्वाङले यसबारे भनेका छन्, ‘यो जायज हो र यहाँका बासिन्दाको जीवनस्तर राम्रो बनाउनु हाम्रो कर्तव्य हो ।’ हालैका दिन सञ्चार माध्यममा आएका सैनिक कम्प्लेक्सका फोटाका बारेमा उनले भनेका छन् ‘यस्ता फोटो मैले पनि देखेको छु । मलाई थाहा छैन यस्तो फोटो कसले कसरी, कहाँ खिचेर पठाउँछन् । तर, मलाई यसबारे सबै जानकारी भने छैन ।’ भारतीय सेनाप्रमुख विपिन रावतले हालै दिएको वयानमा भनेका छन्, ‘त्यहाँ हाम्रा पनि सेना छन् । त्यहाँ चीनका सेना हुनु ठूलो कुरा होइन ।’

डोकलाम सधैँ चीनको रहनेछ
लु क्याङले भने, ‘डोकलाममा चीनको स्थिति स्पष्ट छ । यो क्षेत्र हाम्रो थियो र सधैँ हाम्रै रहिरहनेछ । यो कुरामा कुनै विवाद छैन । सीमा क्षेत्रको राम्रो निगरानीका साथै यहाँ स्थानीयहरूको जीवनस्तर राम्रो बनाउन चीनले यहाँ निर्माणका काम गरिरहेको छ र त्यसमा सडक पनि पर्छ ।’

अर्को देश नबोलुन्
‘यो जायज हो र तर्कसंगत छ । जसरी हामी भारतीय क्षेत्रमा भइरहेको पूर्र्वाधार निर्माण बारे बोल्दैनौँ, हामी आशा गर्छौं अरू देशले पनि हाम्रो क्षेत्रमा भइरहेको निर्माणका काम बारे टिप्पणी नगरुन् ।’

भारतले सबक सिकोस्
भरतीय सेना प्रमुखको भनाइमा डोकलाम विवादित इलाका हो । तर, लु क्वाङले भने, ‘भारतको वरिष्ठ सैनिक अधिकारीले प्रष्ट पारिसकेको उनीहरूका सैनिकले सीमा पार गरेका थिए । यो घटनाले भारत र चीनको सम्बन्धमा कठिन परीक्षाको सामना गर्नुपरेको थियो । हामीलाई आशा छ की भारतीय पक्षले यसबाट केही सिक्नेछ र फरि यस्तो गर्ने छैन ।’

के थियो डोकलाम विवाद
डाकलाम विवाद १६ जुनमा त्यतिबेला सुरु भयो जब त्यहाँ चीनियाँ सैनिकलाई सडक बनाउन रोकियो । सो क्षेत्र आफ्नो भएको चीनको दाबी थियो । यो क्षेत्रको भारतीय नाम ‘डोका ला’ भूटानीहरू ‘डाकलाम’ भन्छन् । चीनको दाबी छ कि यो उसको ‘डोंगल्वाङ’ क्षेत्रो एउटा भाग हो । भारत र चीनको जम्बु–काश्मिरदेखि अरुणाचलसम्म ३ हजार ४ सय ४८ किलोमिटरको लामो बोर्डर छ । यसको २ सय २० किलोमिटर भाग सिक्कममा पर्छ ।

ज्ञात रहोस् भारत र चीनबीच डोकलाममा २०१७ को १६ जुनदेखि २८ अगस्तसम्म टकरावपूर्ण अवस्था थियो । अवस्था धेरै तनावपूर्ण भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ब्रिक्स सम्मेलनमा चीन जानुअघि सेना फिर्ता गरेका थिए ।

दुवै देशले सेना फिर्ता गर्ने सहमति भए बमोजिम भारतीय सेना फिर्ता भएको भारतीय पक्षको दाबी छ । तर, चीनले भने भारतीय सेना फिर्ता भएकाले तनाव घटेको बताउने गरेको छ । अहिले पनि चिनियाँ सेनाले त्यहाँ निर्माणका काम गरिरहेकाले भारतीय सञ्चार माध्यमले यसलाई उछालेका हुन् ।

प्रतिक्रिया