चारभन्दा बढी बच्चा जन्माए पुरस्कार

एजेन्सी
नयाँ दिल्ली । भारतको उत्तर–पूर्वी राज्य मिजोरममा एउटा गिर्जाघरले चार वा सोभन्दा बढी बच्चा जन्माउने मिजो जनजातिका दम्पतीलाई प्रोत्साहन रकम दिने घोषणा गरेको छ ।  त्यहाँ निरन्तर जन्मदर घट्न थालेपछि गिर्जाघरले पछिल्लो कदम चालेको हो । यद्यपि, उक्त घोषणाबारे सञ्चारमाध्यममा चर्चा भएपछि गिर्जाघरले त्यसबारे समीक्षा गर्ने जनाएको छ । मिजोरममा खास गरी मिजो जनजातिमा घट्दो जन्मदरलाई लिएर त्यहाँका मिजो संगठन र गिर्जाघर निकै चिन्तित छन् ।

हुन त सो राज्यका दुई ठूला गिर्जाघर प्रेस्बिटेरियन र द बापटिस्ट चर्च अफ मिजोरमले बढी सन्तान जन्माउन निरन्तर आह्वान गर्दै आएका छन् । हालै लुंगलेई सहरस्थित बापटिस्ट गिर्जाघरको शाखाले सो क्षेत्रका खास गरी मिजो दम्पतीले चार वा सोभन्दा बढी बच्चा जन्माए प्रोत्साहनस्वरूप रकम दिने घोषणा गरेको थियो । गिर्जाघरले चाँैथो बच्चाका लागि ४ हजार भारतीय रुपैयाँ, पाँचौँका लागि पाँच हजार र सोही क्रमअनुसार पछिका बच्चाका लागि प्रोत्साहन रकम दिने जनाएको छ ।

गिर्जाघरको त्यस्तो घोषणाबारे मिश्रित प्रतिक्रिया आइरहेको बताइएको छ । कतिपयले त्यसको सराहना गरिरहेका छन् भने कतिपयले गैरजिम्मेवार कदम भनेका छन् । बापटिस्ट गिर्जाघरका प्रमुख दुलाले बिबिसीलाई भने, ‘त्यो घोषणाबारे अन्तिम निर्णय लिइसकिएको छैन । घोषणाबारे छिट्टै हामीले समीक्षा गर्नेछौँ ।’

मिजोरममा जन्मदर निकै कम रहेको भन्दै त्यो चिन्ताको विषय भएको उनले बताए । मिजो समुदायका मानिसको जनजीवनका अनेकौँ पक्षमा गिर्जाघरको महत्वपूर्ण भूमिका रहने गरेको छ । लुंगलेई बजार क्षेत्रमा गिर्जाघरको दबदबा रहिआएको छ ।  राजधानी आइजलका एक २९ वर्षीया वकिल एमिली छांगते गिर्जाघरको पछिल्लो कदमको समर्थन गर्छिन् । त्योसँगै आर्थिक रूपमा कमजोर ग्रामीण क्षेत्रका मानिसलाई सरकारले पनि सहयोग गर्नुपर्ने उनको धारणा छ ।

उनी भन्छिन्, ‘मिजोरम सानो राज्य हो र यहाँ मिजो जनजातिको जनसंख्या बढ्न सकिरहेको छैन । अतः गिर्जाघरले सही निर्णय लिएको छ ।’ आइजलमा ट्राभल एजेन्सी चलाउने मिरियम बोचुंगको पनि त्यस्तै धारणा छ । उनले भनिन्, ‘मिजोरममा मिजो समुदायको जनसंख्या निकै कम छ र यो चिन्ताको विषय हो । अरू जातिको जनसंख्याचाहिँ बढिरहेको छ ।’

मिरियमले जातिविशेषको नाम उल्लेख नगरे पनि ग्रामीण क्षेत्रमा चकमास र ब्रुस लगायतका अल्पसंख्यक जाति पनि बस्छन् । सन् २०११ को जनगणनाअनुसार मिजोरमको जनघनत्व प्रतिवर्गकिलोमिटर ५२ जना रहेको छ जुन अरूणाचल प्रदेशपछि सबैभन्दा कम हो । तथ्यांकअनुसार यो दशकमा मिजोरमको जनसंख्या वृद्धि २३.४८ प्रतिशत रहेको छ जबकि, पछिल्लो दशकमा २९.१८ प्रतिशत थियो ।

 

प्रतिक्रिया