प्रतिभाशाली’ व्यक्ति हुँ : ट्रम्प

वासिंगटन । अक्षम राष्ट्रपति भएको भन्दै आफ्नो तीव्र आलोचना गरिएको एक पुस्तक सार्वजनिक भएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो जोडदार बचाउ गरेका छन् । उनले आफू एक ‘स्थिर प्रकृतिको प्रतिभाशाली व्यक्ति’ भएको बताएका छन् । त्यसअघि ‘फायर र फ्युरी’ पुस्तकका लेखक माइकल उल्फले आफ्नो पुस्तकले राष्ट्रपतिलाई पदत्याग गर्न बाध्य तुल्याउने बीबीसीलाई बताएका थिए ।

आफ्नो कटु आलोचना गरिएको पुस्तक सार्वजनिक भएपछि ट्वीटरमा निकै सक्रिय भएका राष्ट्रपति ट्रम्पले आफ्नो मानसिक स्थिरता आफ्नो सबैभन्दा ठूला सम्पत्तिमध्येमा पर्ने उल्लेख गरेका छन् । उनले रुससँग जोडिएका अनुसन्धानहरू पूर्णरूपमा असत्य सावित भएपछि विपक्षी डेमोक्रयाटहरूले आफ्नो मानसिक अवस्थाबारे प्रश्न चिह्न लगाएको बताए ।

ट्रम्पका वकिलहरूले ‘फायर एन्ड फ्युरी’ शीर्षकको किताब प्रकाशनमा रोक लगाउने कोसिस गरेका थिए । तर शुक्रबार प्रकाशित त्यो पुस्तक निकै धेरै संख्यामा विक्री भइसकेको बताइएको छ । ट्रम्प सन् २०१८ का प्राथमिकताहरू चयन गर्न डाकिएको आफ्नो पार्टीको बैठकमा व्यस्त भएको वेला त्यो पुस्तक सार्वजनिक भएको हो ।

क्याम्प डेभिडमा हुने राजनीतिक भेला नोभेम्बरमा हुने संसद्को चुनावको रणनीतिमा केन्द्रित हुने बताइएको छ । सो रिपब्लिकन भेलाले पार्टी र चुनावका लागि रकमको जोहो कसरी गर्ने भन्ने विषयमा समेत छलफल गर्दै छ । तर, माइकल वोल्फको पुस्तकले ट्रम्पको मानसिक अवस्थाप्रति नै प्रश्न चिह्न लगाउँदै उनी पूर्णतः विफल भएको उल्लेख गरेको छ । उनको पुस्तकमा ट्रम्पको चुनावी टोली उनको जितबाट आश्चर्यचकित भएको, ह्वाइट हाउसका कमर्चारीले ट्रम्पको मानसिक स्वास्थ्य बिगँ्रदै गएको भनेको जस्ता प्रसंग समेटिएका छन् ।

तर, एक ट्वीटर सन्देशमा ट्रम्पले आफ्नो मानसिक स्थिरता र आफ्नो चनाखोपन आफ्नो जीवनका दुई ठूला सम्पत्ति भएको उल्लेख गरेका छन् । उनले आफ्नो चुनावी प्रतिद्वन्द्वी हिलरी क्लिन्टनले पनि आफूलाई त्यस्तै दोष लगाएको तर त्यो टिक्न नसकेको बताए ।
आफू एकदमै सफल व्यापारीबाट एकदमै ठूलो टिभी व्यक्तित्व हुन पुगेको लेख्न पनि ट्रम्पले छुटाएका छैनन् । एजेन्सी

प्रतिक्रिया