गुमनाम देउडा गायक

-लोकेश धामी   कुनै जमाना भोजराज भट्ट, भुवन दाहाल, नन्दराज रेग्मी, नन्दकृष्ण जोशीलगायत प्रसिद्ध देउडा गायकका गीतले गाउँ सहर गुन्जाएमान थिए । उनीहरूका हरेक गीत सबैका ओठमा झुन्डिएका थिए । तर, अहिले समय परिर्वतनका कारण उति वेलाका चर्चित देउडा गायकका गीत ओझलमा परेजस्तै छन् ।

साथै, देउडा गायक पनि गुमनाम छन् । देउडा गीत सुदूरपश्चिमको प्रमुख पहिचानका रूपमा चिनिन्छ । देउडा गीतले यहाँको परिचय बोेकेको छ भन्दा फरक नपर्ला । केही वर्ष पहिले देउडा गीतका धेरै पारखी थिए । अहिले पनि छन् । तर, पहिलेका जति अहिले छैनन् । किन देउडा पारखी दिनहुँ कम हुँदै गएका छन् त ?

यो प्रश्नको उत्तर खोज्न अब ढिला गर्नुहुन्न । पारखी मात्रै होइनन्, सर्जक÷स्रष्टा पनि कम हुँदै गएका छन् । आधा दशक पहिले जस्तो देउडा गायकको संख्या नि छैन, गीत पनि बजारमा आएका छैनन् । अहिले पनि देउडा गीत बजारमा नआएका होइनन् । तर, ती देउडा गीत देउडा गीत जस्ता छैनन् ।

केही वर्ष पहिले भारतबाट आउने हरेक प्रवासी सुदूर तथा मध्यपश्चिमेलीको हातमा एउटा क्यासेट बज्ने टेप हुन्थ्यो । त्यो टेपमा निकै मार्मिक देउडा गीत घन्किन्थे । तर, अहिले समयले निकै कोल्टे फे¥यो । अहिले भारतबाट आउने नेपालीको हातमा देउडा बज्ने टेप होइन महँगो मोबाइल हुन्छ । त्यसमा देउडा गीत होइन आधुनिक शैलीका पप गीत बजेको सुनिन्छन् । हुन त यो समय परिवर्तनको माग होला । तर, समय क्रम फेरिए पनि देउडा गायक न हराउनुपर्ने ।  किन यसरी अचानक देउडा गायक लुके त ?

यस्तो प्रश्नको सरल जवाफ छ–देउडा गीत व्यावसायिक हुन सकेनन्, क्यासेटको जमाना हट्यो, माग अनुसारका गीत गाउन सकेनन् इत्यादि । यस्ता कारणले गर्दा एकताका चर्चित देउडा गायक÷गायिक हराए । हराएका भए के खोज्न सकिन्न ? यस्तो प्रश्न पनि उठ्छ । अवश्य सकिन्छ । तर, अब समयको माग अनुसारका गीत गाउन सक्नु पर्छ । गीत गाउनु मात्रै होइन त्यस्तै संगीत, त्यस्तै शब्द दिन सक्नु पर्छ । अनि मात्रै पूराना चर्चित देउडा गायक कम ब्याक भएको अर्थ रहन्छ ।

अहिलेका दर्शक तथा श्रोता गालामा हात लगाएर सुन्ने देउडा गीतमा रुचि कम राख्ने गरेका छन् । त्यस कारण देउडा गायकले अलि–अलि भए पनि कर्मर मर्काउने गीत ल्याउन सक्नु पर्छ । अहिले नाच्न सकिने गीतले मात्रै बजार पाएको छ । यो समयमा दुःख परेका गीत ल्याएमा त्यो नचल्ने अवस्था आएको छ । देउडा गीतलाई व्यावसायिक धारमा समयमै नढाल्नाले एक समयमा चर्चित देउडा गायक अहिलेका युवा पुस्ताले नचिन्ने अवस्था आएको छ ।

आगामी युवा पुस्तालाई पनि देउडा गीत यस्तो हुन्छ है भन्ने सन्देश दिन पूराना देउडा गायकले नयाँ गीत ल्याउनु पर्छ । नयाँ गीतले युवाको मन जित्न सक्नु पर्छ । अब युवालाई रमाइलोसंगै सन्देश सहितको गीतको खाँचो छ । यस्ता गीत गाउनमा पूरानो पुस्ताका गायक÷गायिकाले जोड दिन सक्नुपर्छ । मनोरञ्जन रहितको गीत भएकाले नयाँ पुस्ताले देउडा गीत कम सुन्ने गरेका छन् । त्यसैले, अब मनोरञ्जन सहितका देउडा गीत आवश्यक छन् ।

 झण्डै आधा÷एक दशकअघि भोजराज भट्ट, भुवन दाहाल, नन्दराज रेग्मी, नन्दकृष्ण जोशी, हरिना साउँदा, डिग्रा बदेनी लगायत शिर्ष देउडा गायक÷गायिका हरेक मेला÷महोत्सवमा पुग्ने गर्दथे । र, आफ्ना लोकप्रिय देउडा गीत गाउँथे । तर, उक्त गायक÷गायिकाहरू आजकल आयोजना हुने मेला÷महोत्सवमा आक्कल–झुक्कल देखिन्छन् । मेला÷महोत्सवमा उनीहरूले त्यहि पूरानै देउडा गीत गाएर दर्शक तथा स्रोतालाई सुनाउँछन् ÷ देखाउँछन् ।

देउडा गायक तथा गायिकाले अहिले बजारको माग अनुसारका देउडा गीत आउन सकेका छैनन् । बजारले पूराना देउडा गायक÷ गायिकाका नयाँ देउडा गीत खोजेको छ । तर, देउडा गायक÷गायिकाले भने नयाँ देउडा गीत ल्याउने सुरसार देखिन्न । देउडा गीत ल्याए पनि बजारमा खासै सुन्न पाइनन् । केही वर्ष पहिले देउडा गीत चर्चासंगै व्यावसायिक रूपमा पनि सफल बन्दै गएका देखिन्थे । तर, अहिले भने देउडा गीत व्यावसायिक रूपले सफलता हासिल गर्न सकेको छैन ।

यसको प्रमुख कारण देउडा गायकले बजार अनुसारका गीत ल्याउन नसक्नु हो ।घाँस, दाउँरा गर्दा अहिले गुमनाम भएका देउडा गायकका गीत खुब सुनिन्थ्यो । उनीहरूका गीतमा भिज्दै घरायसी काम गर्दा समय गएको पत्तो नै हुन्थेन । तर, अहिले त्यो समय फेरिएको छ । अहिले घाँस–दाँउरा गर्दा कमै सुदूरपश्चिमेली देउडा गीत सुन्छन् । उनीहरू देउडा गीतभन्दा बढ्ता अन्य शैलीका गीत सुन्न रुचि राख्छन् । यस्तो हुनुका धेरै कारण छन् ।

जस्तै–देउडा गायकले बजारको माग अनुसारका गीत ल्याउन नसक्नु, समयको परिर्वतन, देउडा गीत लोप हुँदै जानु इत्यादि । केही वर्ष पहिलेका चर्चित देउडा÷गायिका अहिले विभिन्न क्षेत्रमा समर्पित भएका छन् । उनीहरूले देउडा गीत गाउन छोडेर कोही अमेरिका, कोही जापान, बेलायत भासिएका छन् । बजारमा देउडा गीत नचल्ने भए पछि नै शायद उनीहरू एकपछि अर्को गरी पलायन भएका हुन सक्छन् । यस्तै, देउडा गीत गाएर बाँच्न नसकिने भएर पनि अधिकांश देउडा गायक÷गायिका विदेश हानिएका छन् ।

पहिले विदेशमा गएका प्रवाशी नेपालीका दुःख, बेदना गीतमा उतार्ने देउडा गायक÷गायिका आफैं विदेश जानुका बाध्यता कसैले बुझ्न सकेका छैनन् । देउडा गीतले सुदूर तथा मध्यपश्चिमको मौलिकपन बोकेको छ । तर पनि राज्यले देउडा गीतमा समर्पित भएका व्यक्तिका लागि बाँच्ने आधार तय गरेको छैन । देउडा गायक÷गायिकाले न राम्रोसंग स्टेज कार्यक्रम पाउँछ नत अन्य सुवधा नै । विभिन्न मेला महोत्सवमा देउडा गायक÷गायिकालाई अबसर दिइने भए पनि उनीहरू थोरै समय र न्यून पारिश्रमीक पाउँछन् ।

यस कारण पनि देउडा गायक÷ गायिकालाई बाँच्न गाह्रो छ । त्यहि भएर पुराना देउडा गायक÷गायिका पनि गुमनाम जस्तै छन् । उति बेलाका नाम र दाम कमाएका देउडा गायकलाई मेला महोत्सवले खासै चाँसो राख्दैनन् । दर्शक तथा स्रोताको दबाबका कारणले आयोजकले देउडा गायकलाई मेला महोत्सवमा ल्याएका हुन् भनेर सजिलै अनुमान लगाउने अवस्था छ । यस क्षेत्रमा हुने मेलामहोत्सवले पनि देउडा गायकलाई यस्तै व्यवहार गरेको महसुस गर्न सकिन्छ ।

महोत्सवमा आयोजकले खासै देउडा गायकलाई स्थान दिएको पाइँदैन । स्थान दिए पनि त्यही दश, पन्ध्र मिनेट । यस क्षेत्रको कला, संस्कृतिको जगेर्नाका निमित्त आयोजना हुने मेला महोत्सवमा देउडा गायकलाई स्थान नदिएको देख्दा आयोजकले केबल व्यवसायका लागि मात्रै आयोजना गरेको महसुस हुन्छ । मेला महोत्सवका आयोजकले देउडा गायकलाई नजिकको तीर्थ हेला भन्ने भनाइलाई अख्तियार गरेको पाइन्छ ।

प्रतिक्रिया